किन हिंसा हुनसक्छ पहाडमा? बताए विनय तामाङले

मनोहर शर्मा

मिरिक, 3 जुन 2017


गोर्खा जनमुक्ति मोर्चालाई ऱ्यालीको निम्ति मिरिक प्रशासनले अनुमति दिएन। मोर्चाले 4 देखि 8 जुनसम्म बङ्गालका मुख्यमन्त्री अनि शिक्षामन्त्रीले राष्ट्रीय मिडियासित बङ्गला भाषालाई विद्यालयहरूमा बाध्यात्मक गर्ने भनेर दिएको बयानको विरुद्ध ऱ्याली निकालेर प्रतिवाद जनाउन प्रशासनलाई अनुमति मागेको थियो।

मोर्चा केन्द्रिय सहसचिव विनय तामाङले प्रशासनले अनुमति नदिएपनि प्रतिवाद ऱ्याली मिरिकमा गरेर नै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन्।

मिरिकमा पत्रकार सम्मेलन गरेर तामाङले यो प्रतिबद्धता जाहेर गरेका हुन्। ‘प्रशासनले जनताको प्रतिवाद ऱ्यालीलाई जति दबाउन खोज्छ, जनावाज उति तीब्र बन्नेछ,’ तामाङले भने, ‘यसो हुँदा पहाड अशान्त पनि हुन सक्छ, यसो भयो भने यसको जिम्मेवार प्रशासन नै बन्नेछ।’

मुख्यमन्त्री ममता व्यानर्जीको नाम लिँदै उनले कुनै पनि भाषा, जाति र संस्कृतिको प्रतिकूल देखिने कुनै पनि सरकारी निर्णयहरूबारे प्रतिवाद जनाउनु जनाधिकार हो भन्ने कुरा मुख्यमन्त्रीले भुल्न नहुने पनि बताए। ‘जनताको अधिकार मिच्ने हक मुख्यमन्त्रीसमेतको छैन,’ तामाङले भने, ‘आवाज दबाउँदा हुने प्रतिक्रिया र यसका असरहरूबारे मुख्यमन्त्री र प्रशासनलाई हेक्का हुनुपर्छ। पहाड अशान्त भएमा वा कुनै हिंसासमेत भएमा, यस्तो वातावरण तयार गर्ने दोष केवल मुख्यमन्त्री अनि प्रशासनको नै हुनेछ।’

उनले पहाडका जनता अनि राजनीतिक दलहरूले कुनै पनि कानूनलाई पालना गर्ने तर उनीहरूको अधिकारको विरुद्ध सरकारले कुनै पनि पहल गरे त्यसको विरोध गर्नु नागरिक अधिकारको कुरा रहेको पनि बताए।

‘प्रशासनले एउटा कुरा भन्दैछ, तर मुख्यमन्त्रीले अर्कै कुरा,’ उनले भने, ‘मुख्यमन्त्रीको वयानले अझ पहाडका जनतालाई अन्योलमा पारेको छ। यसो हुँदा पहाडका जनतालाई बङ्गाल सरकारले बङ्गला भाषालाई बाध्यात्मक गरेर आफ्ना नानीहरूलाई असुविधामा पार्ने पीर छ। यसको प्रतिवाद त हुन्छ नै। प्रतिवाद रोके स्थिति खराब हुनसक्छ, यसको दायी प्रशासन नै बन्नुपर्नेछ।’

मोर्चा अध्यक्ष बिमल गुरूङले घोषणा गरेको आन्दोलन अन्तर्गत दुइदिने शैक्षिक केन्द्रहरू बन्द सफल भएको दाबी गर्दै उनले बङ्गाल सरकारले प्रशासनलाई गलत रूपले प्रयोग गरिरहेको अभियोग पनि लगाए। पहाडका प्रबुद्ध समूह, बुद्धिजीवी, शिक्षक र साहित्यकार समेतलाई बोल्ने अधिकारबाट वञ्चित गराएर मुद्दा दर्ता गर्ने बङ्गालको कालो नीतिको बिरूद्धमा मोर्चा हरेक हदसम्म गएर लडन तयार रहेको पनि उनको दाबी छ।

उनले भाषाको निम्ति सबै राजनैतिक दलहरूलाई आआफ्नो झण्डाको साथमा ऱ्यालीमा सहभागिता जनाइदिने आह्वान पनि गरे।

‘यो समय जातीय र भाषिक एकता देखाउने समय हो,’ उनले भने, ‘यतिखेर पार्टी नहेरौं, भाषा र जातिलाई परेको सङ्कटलाई हेरौं र जुटौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन