‘टेबलमा ल्याउने कुरा किन सडकमा? जीटीए चुनाउको रोटी सेक्न?’

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 3 जुन 2017


हिल महिला तृणमूल काङ्ग्रेसका अध्यक्ष शारदा सुब्बाले गोर्खा जनमुक्ति मोर्चाले टेबलमा ल्याउने विषयलाई सडक पुऱ्याएर केवल जीटीए चुनाउको गोटी चालेको बताएकी छन्।

उनले बङ्गला भाषा लाद्ने काम नहुने अनि मुख्यमन्त्रीले राज्यमा त्रिभाषा सूत्र लागू गर्नैसक्ने बताइन्। ‘तर बेङ्गल एक्ट 1961, दागोपाप ऐन र जीटीए ऐनले बाँधिएको क्षेत्र हो यो,’ उनले भनिन्, ‘यसर्थ पहाडमा बङ्गला भाषा थोप्ने सवाल उठ्दैन।’

मोर्चाले टेबलमा राख्ने कुरा सडकमा राखेर जीटीए चुनाउको गोटी चाल्ने कामबाहेक केही नगरेको भन्दै मोर्चा नेताहरू भाषाप्रति कति गम्भीर छन्, त्यो 774 वटा प्राथमिक पाठशालाहरूमा नेपाली पाठ्यपुस्तक उपलब्ध नगराएकोबाट स्पष्ट हुने पनि बताइन्।

‘यदि मोर्चाका नेता अथवा जीटीएका सदस्यहरूलाई बङ्गला थोप्छ भन्ने लाग्छ भने जीटीएले प्रस्ताव ल्याएर पठाउन सक्छ। शिक्षामन्त्रीसित जीटीएका प्रतिनिधि वा विधायकहरू बसेर टेबलमा कुरा राख्न सक्छन्,’ उनले भनिन्, ‘तर यसो नगरेर मोर्चाले विषयलाई लिएर केवल राजनीतिकरण गरिरहेको छ। यो विषय जुलुसमा होइन सम्बन्धितहरूसित छलफलमा ल्याउने विषय हो। मोर्चा आफैले मुद्दालाई अनाहकमा गम्भीर बनाएर पहाड अशान्त गरिरहेको छ। यो स्वस्थ राजनीतिको लक्षण होइन।’

सुब्बाले मोर्चाले भाषाको मुद्दालाई जीटीए चुनाउको फाइदाकोरूपमा प्रयोग गरिरहेको आरोप लगाइन्। ‘मुद्दाको गम्भीरता नबुझी त्यसलाई दुरुपयोग गर्दा जनतालाई मर्का हुन्छ, जो मोर्चाले गरिरहेको छ,’ उनले भनिन्, ‘जीटीए चुनाउको निम्ति जनताको भावनालाई भोटमा कन्भर्ट गर्ने यो खेल राम्रो होइन।’

अहिले भाषाको निम्ति भन्दै सडकमा उत्रिने मोर्चा नेता एवं जीटीए सदस्यहरू वास्तवमा भाषाप्रति इमान्दार र गम्भीर नरहेको पनि उनले बताइन्। प्राथमिकतहको पाठशालाबाट नै नेपाली भाषा नयाँ पुस्तामा पुग्ने र भाषा संरक्षित हुने बताइन्।

‘मोर्चा नेता अथवा जीटीएका सदस्यहरू भाषालाई लिएर यति गम्भीर थिए भने दुइवर्षदेखि जीटीएले किन नेपाली पाठ्यक्रम स्कूलहरूमा पठाएन?,’ उनले भनिन्, ‘जब कि जीटीए ऐनको च्याप्टर 2 को धारा 4 मा शिक्षालाई लिएर जीटीएको क्षमता सुनिश्चित गरिएको छ। कुन कुन भाषा पढाइनुपर्ने, यसबारे पनि जीटीएले निर्णय गर्न सक्छ। कि मोर्चा नेताहरूलाई आफ्नो क्षमताबारे थाहै  छैन?’

क्षमता प्रयोग नगरेर पाठ्यपुस्तक तयार नगर्ने जीटीएका सांसदहरूलाई प्रश्न गर्दै उनले ‘अर्धवार्षिक परिक्षा आउन लागिसकेको छ, विद्यार्थीहरूले कसरी किताब परिक्षा गर्छ’ भन्नेबारे किन सुर्ता नगरेको भन्दै प्रश्न उठाइन्।

उनले मोर्चाका नेताहरूलाई नेपाली भाषामा नै राम्ररी बोल्न नजान्ने नेताहरूको संज्ञा पनि दिइन्।

अर्कोतिर पार्टीको समिक्षा सभामा साहित्यकार, कलाकार, सचेतहरूलाई बोलाएर बेइज्जत गरेकोसम्म आरोप लगाइन्। पार्टीको कार्यक्रममा उनीहरूलाई बोलाएर पार्टीको कार्यक्रम थोप्नु र अनाहकमा विषयलाई गम्भीर बनाएर आफूहरूले सेकिरहेको रोजनैतिक गोटीका सिकार सामाजका दिग्गज मानिसहरूलाई बनाउनु उनीहरूको इज्जतसित खेलवाड गर्नु रहेको उनले बताइन्।

भाषाबारेका जटिलता, समस्या र यसको मूल्यबारे विषय विशेषज्ञहरू निम्त्याएर बहस गरी सामाधानको बाटो खोज्नुको साटो, शिक्षामन्त्री वा सम्बन्धित निकायसित टेबलमा मुद्दाबारे छलफल गर्नुको साटो सिधासोझा जनताका भावानासित खेलेर मोर्चाले आफै पहाडलाई अशान्त गर्न खोजिरहको पनि उनले आरोप लगाइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन