शब्दयात्रा-को रोमाञ्च र जोखिम

किताब


शैलीका छेत्री, दार्जीलिङ


पूर्वाद्ध

कविताको शब्द-यात्रा

कवितालाई दुइवटा घटकहरूले पूर्णता दिन्छ १. मन र २. मस्तिष्क। हृदयमा उब्जेको भाव जब मस्तिष्कको विचार तरङहरूसित अन्तरघुलन हुन्छ, त्यसक्षण जन्मिन्छ एउटा बलियो कविता। त्यसैले उम्दा कविता पछाड़ि मन अनि मस्तिष्कको सन्तुलित तालमेल चाहिन्छ। दुवैको प्रभाव जति राम्रोसित मिल्न जान्छ कविता उत्तिनै प्रभावकारी बन्दछ। हृदयको संवेदना सँगसँगै विचारको विश्‍लेषण क्षमतालाई पनि कविता सिर्जनामा प्रमुख सहभागिता लिएको हुन्छ। हृदय मात्रले लेखिएको कविता वा मस्तिष्क मात्रैले सिर्जना गरिएको कविताले आफ्नो गरिमा कायम राख्न सक्दैन।

समकालीन भारतीय नेपाली साहित्यमा अन्य विधाभन्दा कविता विधामा उत्तरोत्तर वृद्धि भएको देखिन्छ, त्यसैले समकालीन नेपाली साहित्यमा ‘कविता’ विधालाई अत्यन्त उर्वरक विधाको रूपमा अन्तर्निहित गरिएको छ र यही कविताको सिद्धान्तलाई विलक्षण भावधारासित सम्मिलित गरेको कविता पुस्तक रहेको छ कवि जय क्याक्टसको- ‘शब्दयात्रा’।

कवि जय क्याक्टस भारतीय नेपाली भाषा साहित्यका बेजोड़ समीक्षक साथैमा एक संवेद्य कवि पनि हुन्। ‘शब्दयात्रा’ कवि जय क्याक्टसको मानव जीवनभित्र लुकेको जीवन्त कवितीय समाजशास्त्रलाई दर्शाउने कविता सङ्गालो साबित भएको छ।

प्रयोगको प्रभावमा कविता

सन् १८८३ सालमा कविवर भानुभक्त आचार्यको रामायणबाट नेपाली साहित्यमा पुरातन अवधिको धारामा लेखिएको कविताको औपचारिक रूपमा मृत्यु भएपछि मध्ययुगीन अवधितिर प्रतीकवादी कविताको शुरूवात भयो।

काव्य साहित्यले यसरी विपरित दिशामा प्रवाहित हुँदा प्रतीकवादी कविता सन्त ज्ञानदिलदास अनि पं. धरणीधर शर्माको रचनाहरूको छायाँमा सुधारवादी स्वरमा एकीकृत बन्यो।

यसरी कविताधारामा साहित्यिक प्राण पुरानो बन्यो। त्यसपछि सन् १९५१ सालको प्रजातन्त्रमा कविता विधाले आधुनिकीकरणको वेगभित्र बूट पालिस आन्दोलन, सड़क कविता, क्रान्ति, अस्वीकृत समुदायको कविता, राल्फा आन्दोलन, भोक कविता भेटेपछि कविताको भाव-विभाव अनि अनुभाव रसमा तरति पुरातन कविता, समकालीन भारतीय नेपाली साहित्यको महत्वपूर्ण आयामेली आन्दोलन, प्रगतिवादी मूलबाट उठेको प्रबल प्रवृतिको कवितीय टोन पायो।

जय क्याक्टसहरूले पनि ‘संक्रमण-लेखन’-को-टोनमा बोलेका हुन्। संक्रमण लेखन-को टोन आयामेली जटिलता र प्रगतिवादी निष्क्रियताबीचबाट स्वाभाविक विश्वचिन्तनलाई सहजीकरणले निर्माण गरेको बुझिन्छ।

क्याक्टस र संक्रमणीय प्रक्षेपण

उनको कविताले संक्रमणको बाटोमा ‘मूल्यन’ चेतको खोजमा समय व्यतित गरेको हो।

कवितामा अस्तित्ववादको प्रभाव पर्दै गरेको समकालीन कविताहरूको कविताको बाटो उति फराकिलो नभइहालेको बोधमा आफ्ना कवितालाई टोनसहित फरक पार्दै गइरहेका क्याक्टसका कविताले संक्रमणले भन्दैगरेको कति अनुशासनसित मिल्दैन।

आर्नल्ड टायनबीद्वारा पुनरस्थापित उत्तर-आधुनिकवादी साम्राज्य शुरू भइसकेको थियो।  जहाँ उत्तर-आधुनिकतालाई आधुनिकताको विस्तारित रूप अनि अन्तिम विन्दु मानिँदै थियो। त्यसै कारण आधुनिकता छिटो छिटो बद्लिँदै तियो। बद्लिँदैथियो उसरी नै आधुनिकता-बोध पनि। आधुनिकता-बोध बद्लिँदा कविताको प्रतिमान पनि बद्लियो।

क्याक्टसका कवितामा त्यसको छाया पनि पस्यो।

उत्तराधुनिकता एउटा आयतित दर्शनकोरूपमा कपिपेस्ट भइरहेको समयमा यता ‘विचलन-लेखन’-देखा पऱ्यो। संक्रमण-ले समेट्न नसकेका मूल्यहरूको निम्ति ‘विचलन’-मा स्पेस  खोज्न क्याक्टसका कविताले विचलन पत्रिकाहुँदी अनुहार देखाएको पाइन्छ।

क्याक्टस र विचलित बाटो

‘विचलन-लेखन’ ले उत्तराधुनिताबोध गर्ने समाज आफूसित रहेको प्रमाण जुटाउन निक्कै मिहिनेत गरेको हो। रूपवाद, उत्तरसंरचना, वैचारिक गणतन्त्रता, बहुलवादी मिमांसा र शैल्पिक दुरुहता विचलनले पक्रेको बाटो थियो। सङ्क्रमण लेखनकै सिकोमा अघि बढेको विचलनले दुरुहता र शिल्पकै खेती गऱ्यो। जो आयामिकरूख कै अर्को हाँगा थियो। विनिर्माण र पुनरनिर्माणका धारा-मा पानी पिउँदै विचनल लेखकहरूले गरेको वकालत भनेको उत्तराधुनिकता कै पैरवी थियो। यसैकारण विचलनका कविहरूको कवितीय चेत केही विचलित बन्यो। न विचारको पक्ष, न शैलीको पक्ष, न रूपको पक्ष, न कलाको पक्ष। सबैमा अलिअलि योगदान गर्ने विचलनका कविहरूको लेखन सालाखाला बन्यो।

गम्भीरसित विचलनका कविहरूको कवितापढ्दै जाँदा अभिव्यक्ति शक्तिलाई तिखार्नेहरूले विचलनभन्दा पर पुगेर कवितालाई उचालेको पाइन्छ, नतिखार्नेहरूले कवितालाई सालाखाला अभिव्यक्तिमा केद्रिकृत गरेको पाइन्छ।

क्याक्टस-का कविता दोस्रो कवितीय समाजका सदस्य हुन्।

यद्धपि ती कविताले बौद्धिक समाजको दिवालियापन, राजनीतिक जटिलता, रीतिवादी सोच, विद्रोहको आवाजलाई समातेको छ। त्यही कुरा ‘शब्दयात्रा’-का शृङ्खलामा पनि विधमान छ।

जय क्याक्टसको कवितामा जीवनको सङ्घर्ष छ। डायलन टाम्स्, जुकोफ्स्की, बच्चनकाजस्ता पाश्‍चात्यीकरणप्रतिको रुष्टता काव्य-भाव छ। ‘ट्रान्सरियलिज्म’-को लयसमेतलाई परिचितिकरणमा ल्याएका छन्। कवि सुधिर छेत्रीपछि विचलन-लेखनका गुणात्मक सर्जकको सजगता कवि जय क्याक्टसको कवितामा बढ़ी मात्रामा देखिन्छ, यसो भन्न सकिन्छ।

‘शब्दयात्रा’-मा लेखनप्रतिको सजगतालाई सर्जकको सहानुभूतिसित विचार गरिएको छ। क्रान्तिकारी, दार्शनिक, आर्थिक-सामाजिक स्थितिपक्ष तथा राजनीतिक बोधलाई पनि संवादमा ल्याइएको छ।

कवितामा प्रयोग तरकारीमा मसाला जस्तै हुन्। मसलाको धेरै प्रयोगले व्यञ्जन वेस्वादिलो बन्छ। त्यसैले, कवितामा प्रयोग थोरै मात्रामा उपयोग भएको माननीय हुन्छ।

‘बेतार सङ्केतहरूमा ब्युँझन्छ

वि

ता

शब्द-शय्याबाट आँखा मिच्दै।

बाँच्नलाई पनि के के चाहिएको

शब्दहरू कविताकै प्रतिबिम्बमा आफूलाई खोज्छन्।

मिथक, प्रतीक, बिम्ब के के भेट्छन्,

भेट्दैनन् आफैलाई……।

गाउँले शहर पछ्याउँछ

मानिस सामाजिक प्राणी हो, त्यसैले ‘भिन्नतामा अभिन्नता’ अथवा ‘अनेकतामा एकता’, व्यापक विषयवस्तु बनेर यस समाजमा विद्यमान रहेको छ। मानिस सामाजिक प्राणी भएकोले, उसमा सामाजिक मन विकसित भएको हुन्छ। यस प्रकारको सामाजिक व्यवस्था मानिसमा दुइ पक्षको रहेको हुन्छ।

एउटा शहरिया अर्को ग्रामीण।

ग्रामीण परिपेक्षमा सामाजिक मन सरल बन्छ। ग्रामीण प्रकृतिमा दिव्य सौन्दर्य व्याप्त रहेकोले मानव मन यहाँ वन, उपवन, नदी, जल हरियालीमा भुलिएर रूमाणी अनुभवतिर आकर्षित बन्न लालायित हुन्छ। शहर चाहिँ व्यस्त अत्याधुनिक पृष्ठभूमि भएकोले, यसलाई ‘फेन्टासी’-को दुनियाँ मानिन्छ। तर बौद्धिक, विचारात्मक पक्षबाट हेर्दा शहर अनि गाउँमाझ समाजको प्रौढ़ता, सभ्यताको प्रौढ़ता अनि चरम विकास केवल शहरमा मात्रै सम्भव रहेको पाइन्छ। त्यसैले शहरको वातावरणले गाउँभन्दा मानव मस्तिष्कलाई अझ धरे ज्ञानको, अनुभवको, सिद्धान्तहरूको, विचारहरूको सामिप्यमा लान्छ।

हुन पनि शहर सभ्यताको मूल स्रोत हो। औद्योगिक, यातायात, राजनैतिक, शैक्षिक, नैतिक ‘सोशियो-इकोनमिक’ क्षेत्रमा शहर गाउँभन्दा उन्नत रहेको हुन्छ। यस्ता अत्याधुनिक ‘डेभलपमेन्ट’ -ले शहर विकसित रहे तापनि, यहाँ मानव-भावना वा मूल्यको कदर चाहिँ कमै हुन्छ। शहरको चिन्तनधारामा केवल अत्याधुनिक ‘डेभलपमेन्ट’-को छबि मात्र अटाउँछ।

त्यसैले अत्याधुनिकताको पृष्ठभूमिमा उभिएको शहर/समाजले सँधै कुरूपताको झलक दर्शाएको हुन्छ साथै यस्ता अत्याधुनिकताको लहरमा लतपत्याएको शहर/समाजमा बाँच्नुपर्दा, हामी पनि व्यावहारिक जीवनबाट टाढ़िँदै जान्छौं। तर सायद, शहरको कृत्रिम-सभ्यताबाट जब मानव मन उम्किन्छ त्यसले सामान्य जीवनको वर्ण्यविषय गाउँको आनन्ददायिनी प्राकृतिक सौन्दर्यमा आएर भेटाउँछ।

त्यसैले होला, कवि वर्ड्सवर्थको ‘लिरिकल बैलेड्स’ पनि गाउँको प्राकृतिक मोहमा ओतपोतिएको काव्य थियो। जसबाट कविले शहरको, आधुनिकीकरणलाई टक्कर दिँदै, साहित्यमा वैचारिक क्रान्तिको शुरूवात गरेका थिए। त्यसरी कवि वर्ड्सवर्थको प्रभावमा सन् १७८१ मा शुरूवात भएको थियो, यस्तो कविताको दौर, जहाँ साहित्य वा कविता गाउँको सरल भावसित मिश्रित भएर कलात्मक आधारमा उत्कृष्ट देखा पर्थ्यो।

तर त्यस्ता निर्मल तथा निर्दोष सौन्दर्यमा लुप्त गाउँमा के देखावटी, आडम्बर, छल-छद्म हुँदैन र? शहर जस्तैगरी गाउँको सरल-जीवनभावोमा हुर्केको सुलभ फरिया-चौबन्दी लगाउने स्त्री वेश्या बन्दैनन्?

कति हदसम्म गाउँमा छोरीको अस्मिता सुरक्षित रहनु सक्छ? के यहाँ सामुहिक बलात्कार हुँदैन? चोरी, हत्या, हिंसा गाउँमा हुँदैन? शहरी मानसिकताबाट गाउँ कति किलोमिटर टाडो छ? के जय क्याक्टसमा गिरीकालीन रोमान्टिसिज्म सकिएको छैन? उनको गाउँ रोङ्गो र उनैको शहर दार्जीलिङबीच कवि विशृङ्खलताहरूको दुरी छ? उनले आफ्नै समाजलाई कविताभूमि बनाएका हुन् कि कल्पनामा गाउँ र शहरबीच वैचारिक पर्खाल उभ्याएका हुन्। के जय क्याक्टस रोमान्टिसिज्मको नयाँ फर्मको खोजमा छन्?

शब्द-यात्रा पढ्नेलाई यी प्रश्नहरूले घेर्छ।

वास्तवमा गाउँमा पनि त हजारौं ‘निर्भया’ हरू सेक्सूअल क्राइम अन्तर्गत हत्याको शिकार बन्छन्। तर, यहाँ निर्भयाको करूण आवाज गाउँमा ठेकेदार, रूढ़ीवादी मान्यता, अनैतिक सभ्यता मुनि दबिएर हराउँछ। लाज, असक्षमताबीच दबिएर मर्छ। असचेतनाले छोप्छ।

मानव-स्वभावमा नै ‘नेगेटिभ’ भाव लुकेर बसेको हुन्छ, त्यसले न त शहर बुझ्छ न गाउँ, त्यसले केवल उम्किने बाटो मात्रै खोजी रहेको हुन्छ।

नि:सन्देह स्वस्थ मानसिकता एवम् नैतिकताले मात्रै स्वस्थ्य शहर वा गाउँको निर्माण गरेको हुन्छ। यस्ता उदात्त मनोवृति पछाड़ि पनि गाउँलाई सरल-भाविक जीवनानुभावको केन्द्र नै मानिन्छ। गाउँको समस्त अतिक्रमणलाई पन्साउँदै, कवि पनि गाउँको रमणीय प्राकृतिक मोहमा आकर्षित बन्छन् नै, कारण कविको मन अति नै साधारण विचारधारामा सङ्गृहीत हुन्छ।

कवि जय क्याक्टस अछुत छैनन्।

‘‘शहरको कुनै जात र जाति हुँदैन

शहरको कुनै वर्ग र धर्म हुँदैन

त्यसैले शब्दहरू शहरमा

नीति र रीतिको भाषा बुझ्दैनन्।’’

‘‘नुह, कृष्ण र बुद्ध

मोहम्मद अनि फेदङमाहरू

आ-आफ्ना आदर्शको मुखौटा च्यात्दै

कुनै समुद्री किनारको लक्जरी रिसोर्टमा

स्म्याक्सको प्रसाद बाँड्दै

प्रवचन छाँटिरहेछन्

ब्रा र कट्टु मात्र पहिरिएका सीता र स्पआइमीबाट द्रौपदीहरूलाई

…यसरी बाँच्न सकिन्छ

आदि पनि सिकाउँदै।’’

छद्म प्रेम भावना

अन्धकारको तुवाँलोले रूख, फूल लगायत समस्त वस्तुलाई नै मानव आँखाबाट विलुप्त पार्छ, तर अन्धकारको-अन्धकारले पनि मानव आत्माबाट साँचो प्रेम, तत्वलाई लुकाएर राख्न सक्दैन।

तर, संसारमा यस्ता कतिपय व्यक्तिहरू हुन्छन्, जसले केवल आकर्षणको वंशीभूतमा शुरू गरेको ऐक्स्ट्रा मैरिटल अफेयर-मा प्रेमको गुणौचित्य प्रतिमानलाई बदनाम गर्छ। वास्तवमा ऐक्स्ट्रा मैरिटल अफेयरको नाममा प्रायस: भावुक प्रेमीको सामाजिक अवस्था अस्तव्यस्त बन्छ। जब आकर्षण हराउँदै जान्छ, त्यसपछि त्यो झूटो प्रेमीलाई स्वअस्तित्वको मोहले च्याप्प समाउँछ  र उसले त्यसक्षण ऐक्स्ट्रा मैरिटल अफेयरमा हालेको झूटो वाचालाई पन्साउँदै, प्रेमको निर्मम हत्या गर्छ, आखिर यस्ता प्रेममा, प्रेमको नाम केवल सेक्सूअल प्लेजर मात्रै हुन्छ।

हुन पनि,  झुटो प्रेम अगाड़ि हीर-रान्जाको प्रेमगाथा, रोमियो जुलियटको प्रेम समन्वय प्रदर्शन, राधा अनि कृष्णको साँचो प्रेम बलिदान,  मिराको कृष्ण प्राप्तिको प्रेम-भक्तिरसको तुलना कसरी हुनसक्छ र?

As, Love is the only form, in which love is loved.

सायद यस्तै ऐक्स्ट्रा मेरिटलका प्लेजरफूल झूटा प्रेमबारेमा कवि जय क्याक्टस लेख्छन्:-

‘‘वेमौसम फुल्छ प्रेम पनि

पार्क, रेस्तुराँ र क्याफेहरूमा

अलिकति रोमाञ्च, अलिकति रोमान्समा

ढकमक्क फक्रिन्छ नाइटक्लब र डान्सबारहरूमा

ककटेलको उन्माद, कामुक स्पर्श र छोटो स्खलनको बान्ता

छपक्क मुर्झाउँछ प्रेम र कोरिन्छ अर्कौ असफल प्रेमगाथा।

क्याक्टसका कविता अर्का विचलन कवि उज्ज्वल बम्जनले खनेको बाटोमा हिँडेका हुन्?


उत्तरार्द्ध

मानव व्यवस्थाको चपेटामा शब्द

मनुष्य कर्म गर्नुमा केवल सापेक्ष रूपमा स्वतन्त्र रहन्छ, निरपेक्ष रूपमा सृजनशीलताको प्रदर्शन गर्ने मनुष्य होइन। मनुष्य स्वंम्भू अथवा स्व-स्रष्टा पनि होइन। वास्तवमा जानेर वा अन्जानमा मनुष्यलाई अरू कसैले सृजना गरेको हो जुन यथार्थ चाहिँ उसको निरपेक्ष स्वतन्त्रताको सबैभन्दा ठूलो सीमारेखा पनि हो।

मनुष्यले आफ्नो दैहिक-मानसिक विकासको प्रायस क्षमता जन्मजात नै पाउँछ, जस आधारमा व्यक्तित्वको अनेकौं विशेषता उसमा उन्नत बन्दै जान्छ। जुन समाजमा मनुष्य रहन्छ, त्यहीँ समाजको, विचारको लगातार आदान-प्रदानको माध्यमबाट उसले भाषा सिक्छ, यसरी नै समाजको सांस्कृतिक स्थितिबाट उसको विचारधारणा पनि बनिँदै जान्छ।

तर, समाज स्थिर छैन।  समाजको परिवर्तन अनि विकासमा पछि गएर यहीँ मनुष्यको व्यक्तिगत योगदान अमूल्य बन्छ। यसैले अन्तमा मनुष्यलाई समाजगत परम्पराको द्वन्द्वात्मक सम्बन्धी पनि मान्न सकिन्छ।

अर्थात् नेगेटिभ समाजिक परिवेशमा हुर्केको व्यक्तिले सधैंजसो नेगेटिभ वातावरणको निर्माण गर्छ, त पोजिटिभ समाजमा हुर्केको व्यक्तिले विवेकुल समाजको प्रतिनिधित्व गर्छ।

यस्तै सामाजिक विकृति र कुव्यवस्थाप्रति, षड़यन्त्र, अत्याचार, छद्मभेषमा लुकेको मानवता, वर्त्तमान युगको सामाजिक एवम् आर्थिक स्थितिले उब्जाएको विघटन एवम् समाजमा आतंकवादको बढ्दो घुइँचोले, कवि जय क्याक्टसको भावनामा उदासीनता उब्जाएको छ, र यहीँ प्रतिक्रियामा कवि लेख्छन्:-

‘रातभरि अनिद्रामा हुन्छन् कहिले

हेलोजिनका प्रकाशमा सुनेका शब्दहरू

घरिघरि झस्किरहन्छन्

शुन्यताका चर्को आवाजले

दुक्कको निद्रा हत्तपत्त पाइहाल्दैन

अशान्त मनको रक्तबलले।

एडिक्ट शब्दहरू छटपटाउँछन्

एड्सग्रस्त शब्दहरू फटफटाउछन्………।’

भर्चुअल फोभिया 

यस्तै क्रममा, कविलाई अहिलेको टेक्निकल युगमाथि पनि समसामयिक दृष्टिकोण राखेको पाइन्छ। टेक्निकल शब्दावलीमा उल्झिएको जिन्दगी, साइवर संस्कृति तथा भर्चुअल रियालिटीमा उल्झेको युवाको मोनोटोनस कल्चरल रहरलाई व्यङ्ग्यात्मक शैलीमा कविले यसरी बयान गर्छन्:-

‘भर्चुअल जङ्गलबाट घाँस-दाउरा गर्छन्

अक्सिजन सिलिन्डर पिठ्यूमा बोकी

ल्यापटपको सानो भित्ताबाटै

पर्यावरण संरक्षणका टिप्सहरू निल्दै

मिनिएचर विरूवाहरूमा जीवन खोज्छन्

र सुविधा सम्पन्न अध्ययन कक्षबाट

स्याटलाइट धरतीमा रमाउँछन्

क्लिस शब्दहरू।’

मृत्युको भाषा

जन्मको अर्थ दु:ख हो जराको अर्थ दु:ख, रोगको अर्थ दु:ख अनि मृत्युको अर्थ पनि दु:ख…. कारण मृत्यु जीवनको शाश्‍वत अन्त हो। जीवात्मा पञ्चभूतबाट उत्पन्न भएकोले यसको अन्त हुनुलाई शाश्‍वत सत्य मानिन्छ।

As, Death is a twirl; death is a shiny cloud over the horizon; death is me talking to you; death is you and your writing pad; death is nothing. Nothing! It is here, yet it isn’t here at all.

यसप्रकार मृत्यु जस्तो, शाश्‍वत सत्यलाई कविले दार्शनिक मापदण्डको आधारमा यसप्रकार बयान गरेका छन्:-

– मृत्यु

त्यतिनै पीडापूर्ण छ

व्यवहारमा यो,

जीवनसँगै आउँछ

अनि लिएरै जान्छ

न रून्छ यो

न हास्ँछ

संवेदनहीन छ मृत्यु

न आफू मर्छ

न अरूलाई नै बाँच्न दिन्छ।

मिथकिय प्रतीक

‘मिथक’- रहस्यमय पौराणिक या इतिवृत्त घटनामा आधारित छुट्टै संसार हो। प्रत्येक मिथले त्यस विशिष्ट युगको प्राकृतिक, स्वभाविक एवम् पृर्ववृत्त घटनालाई बताउँछ।

पुर्वीय मनीषीले यहीँ मिथकीय घटना उल्लेख गर्दा तर्कशास्त्रीय तथा सामान्य संकल्पनाबारेकका तथ्यहरू प्रस्तुत गरे। यसर्थ पुर्वीय मिथकलाई दार्शनिक पृष्ठभूमिमा आधुनिक भौतिक विज्ञान, गणितीज्ञ तथा धर्मतत्त्वज्ञ अनि साहित्यमा बृहत: रूपमा प्रयोग पनि गरियो।

धमर्र्तत्त्वज्ञरूपी मिथकको साहित्यमा संयोजनको शुरूवात यूनानमा पाइथागोरसबाट मध्ययुगमा भएकोदेखि अहिलेको अत्याधुनिक साहित्यमा मिथकको रूप मनोवैज्ञानिक विवेचना तर्कसंगत दृष्टिकोणमा क्रेन्दित भएको पाइन्छ।

यस्तै मिथकको मनोवैज्ञानिक प्रस्तुतिको झलक शब्दयात्रामा देखापरेको पाइन्छ:-

  1. ‘आडम्बरको रूद्राक्ष, माला, कण्टी र त्रिसुल भिरी स्वमोक्षको वाणी कलाक्दै शब्दहरू भौतँरिरहेछन् स्वनामकै मन्त्र जप्दै।’
  2. कति सजिलो विष्णुलाई भेष बदलिरहनु परेन कसैको सतीत्व लुट्न’
  3. ‘शब्दहरू ‘म्युट’ छन् तर दृश्य चलिरहन्छ

सीताको अग्निपरीक्षा

द्रौपदीको चीरहरण

दामिनीको बलात्कार

………………….।’’

 

  1. ‘महाप्रलयको आशंका बोकेर पनि

बिग्ग्याङ थियरी पर्खन

वा जीवन नै विग्ग्याङको परीक्षणमा हाली

‘सफलतामा पनि जित छ

असफलतामा पनि जित छ’

कविताको सारभाग

वास्तवमा, कवि जय क्याक्टस हृदयबाट कवि, मस्तिष्कबाट समालोचक अनि कर्मबाट शिक्षक भएकाले उनको कविता पुस्तक ‘शब्दयात्रा’ मा सम्मिलित कविता व्यक्ति, समाज, स्वेच्छातीत परिवेश, अंहगत विवेक तथा द्वन्दात्मक भौतिकतावादमा आधारित एवं तर्कमूलक छन्। हुनपनि कविताको आलोचना कविताद्वारा नै हुन्छ। त्यसैले एलेक्जेण्डर पोप अनुसार, काव्य प्रतिभा जसमा जन्मजात हुन्छ, उसैमा आलोचनाको प्रतिभा पनि जन्मजात रहेको हुन्छ।

कविता-प्रकार

  1. विचारात्मक, 2. भावात्मक, 3. वैयक्तिक अनि 4. व्यङ्ग्यात्मक।

कविता-भाषा

  1. लयबद्ध, 2. बिम्बिविधायक।

कवितामा भाषा सर्वत्र सरल, व्यवहारिक, सुबोध अनि प्रवाहपूर्ण रहेको छ। जसले कविताको शिल्पसौन्दर्य अनि भावसौन्दर्यलाई समृद्धि दिएको देखिन्छ। यसप्रकार कविता सप्रलन ‘शब्दयात्रा’-मा कविको सौम्य कवि-कौशल स्पष्ट झल्किन्छ। पाश्‍चात्य साहित्यमा कवि वर्ड्सवर्थले काव्यभाषा अनि जनभाषालाई एक रूप माने, जसको सोझो प्रभावमा कवि जय क्याक्टसको ‘शब्दयात्रा’ परेको छ।

जहाँ कविता भाषा जनसाधारणको भाषा या प्राकृत भाषाको (Natural Language) छेउमा परेको पाइन्छ।

कविता-शैली

कवितामा सामाजिक दुर्गति, द्ररिद्रता, अन्ध-संस्कारलाई घुमाइ-फिराइ अनि जटिलता मुक्त सहज-शैलीमा बयान गरेको देखिन्छ। कविताको शैलीमा वाक्य छोटो, शब्द-चयन शिष्ट, भावपूर्ण तथा संयत छ। कवितामा विषयको रूपरेखा, मानसिक दशा आदिको चित्रण पनि अत्यन्त सरस अनि सफल रहेको देखिन्छ।

कवितामा-प्रभाव

शब्दयात्रामा सम्मिलित कविताले कृत्रिमता तथा आडम्बरको आभूषणमा लदिएको साहित्यलाई उपेक्षा गर्दै प्रबुद्ध एवं सशक्त भावाभिव्यक्तितर्फ उन्मुख रहेको पाइन्छ। कविता पक्षमा लोंजाइनसको स्वच्छन्दतावाद अनि अभिव्यञजनावादको तत्व विद्यमान रहेको छ।

कवितामा बयान गरिएको मिथक तथा बिम्ब विचार चाहिँ आर. पेटाजोनी र एच. कूम्ब्सको ‘लिटरेचर एण्ड क्रिटिसिज्म’- सित प्रभावित रहेको पाइन्छ।

यसप्रकारको प्रभावले कवितामा नूतन चिन्तनको दिशा तथा भाव-प्रेरणाप्रतिको महत्वलाई अभिव्यक्त गराउन सफल रहे तापनि, कवितामा कविको शहरीया स्त्रीलाई हेर्ने दृष्टि चाहिँ एन्टीफेमिनिस्ट रहेको छ। गाउँका स्त्रीको बयानमा कवि फेरि अत्यन्त फेमिनिस्ट पनि देखापर्छन्।

कविता एक भाषिक विधान हो। जसभित्र शब्दको ध्वनि संरचना, बिम्ब, प्रतीक, वाक्यरचना, अर्थ परिवर्तन इत्यादिको तालमेलले काव्य-रचनाको स्तर निर्धारित गर्छ। यसलाई आधार बनाएर हेर्दा, कवि जय क्याक्टसको ‘शब्दयात्रा’ स्तरीय रागतत्व एवं विचारतत्वले युक्त रहेको छ।

‘शब्दयात्रा’ ले मानव-प्रकृति तथा मानस-चित्रको यथार्थ बयान गरेको छ भने शब्दयात्रामा स्त्री चरित्रको फेमिनिस्ट अनि एन्टीफेमिनिस्ट मनोवेग, साइबर संस्कृतिमाथिको आलोचक दृष्टि, अत्याधुनिकता/फैन्सी सभ्यतामाथि तिक्त चर्चा अनि मिस्क कल्चरमा सिद्धान्त, अस्पष्ट मतभेद आदि पनि सम्मिलित रहेको छ।

फेरि कवितामा समाज, राजनीति, धर्म आदिको व्याख्यामा कविले व्यङ्ग्य अनि विद्रोहको तीखो वाण छोड़े झैं अनुभव हुन्छ। कविको यस प्रकारको बयानले पाठकको हृदयमा क्रान्ति अनि विद्रोहको ज्वाला उत्पन्न गर्छ।

‘शब्दयात्रा’-मा उनको मृदुल-कठोर रूप पनि उद्घाटित छ।  ‘शब्दयात्रा’ व्यावहारिक विचारधाराको आलोच्य स्पिरिट बोकेको क्लासिक काव्य-पुस्तक बन्न पुगेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया