कासाबेको मृत्युकथा

राजा पुनियानी


मुखको बात सुन्छन् सबै, मनको दुःख कसले बुझ्छ र

हल्लैहल्लाको बाजारमा मौनतालाई कसले चिन्छ र

-निदा फाजली
सन् १९९५-को कुरो। क्यामरुनको मामबिला प्रान्त। फील्डवर्कमा जुट्ने सिलसिलामा छन् भाषाविद ब्रुस कोन्नेल। कुनै विषयमा गवेषणारत ब्रुस हठात एक अपरिचित भाषा फेला पार्छन्। लुप्तमुखी भाषा ‘बोगोन’। यो भाषा बोल्न सक्ने एक मात्र बाँचेका अन्तिम व्यक्ति ‘कासाबे’। ब्रुसको उक्त व्यस्त दौड़ाहामा त्यो भाषाबारे धेरै जान्ने मौका रहेन। बोगोनको छुट्टै योजनामा आउँदो वर्ष मामबिला आउने निर्णयमा तिनी फर्कन्छन्। बोगोन भाषा खोतल्ने सुरमा अर्को वर्ष हत्तपत्त मामबिला पुगेका ब्रुस त्यो भाषा मरिसकेको भेट्टाउँछन्। तिनी त्यहाँ पुगुञ्जेल कासाबे नै मरिसकेका हुन्छन्।

प्रत्येक चौध दिनमा एउटा भाषा मरिरहेको छ। अतुलनीय प्रवेगमा विश्वका विद्यमान सात हजार जति भाषाबाट आधाभन्दा बढ़ी भाषा यो शताब्दी सकिँदा-नसकिँदै हराइसक्ने अड़कल काट्छन् अन्तर्राष्ट्रिय मानका भाषाविद डेभिड क्रिस्टल। यता लुप्तप्रायः टोटोहरू र धिमालहरूको भाषाको अस्तित्वको चुनौती यहाँ छिचोल्न सक्छौं। भाषा बनिनुभन्दा हराउनुको वेग नै द्रुत छ। कुनै भाषा बोल्ने अन्तिम मानिस बाँचुञ्जेल त्यो भाषा बाँचिरहन्छ। त्यसरी नै त्यो भाषाको मृत्युसँगै त्यो भाषाले बोकेका इतिहास, धरोहर, दृष्टिकोण, ज्ञान-विज्ञान, संस्कृति, पर्यावरण, मानवमस्तिष्क पनि अल्पिएर जान्छन्। त्यो भाषा बोल्नेले प्रकृतिलाई देखेको-बुझेको अनुभवले पनि त्यो भाषाको मृत्युसँगै अन्तिम सास फेर्दो छ।

एउटा विशेष सांस्कृतिक व्यवहार वा विचारको अभिव्यक्ति दिने शब्द अर्को कुनै भाषामा अनुवाद गर्न गाह्रो हुन्छ। गाह्रो यसकारणले हुन्छ कि जुन संस्कृतिमा त्यो शब्द हुर्केको हुन्छ, त्यो संस्कृति अर्को भाषाको निम्ति अबोधगम्य हुन्छ। कुनै पनि भाषाको मृत्युपछि मानव मस्तिष्कले के-के गर्नसक्छ, त्यस क्षमताको अनुमान गर्नसकिने चित्रको एकांश हामी गुमाउँदछौं। भाषाको क्षयको निम्ति प्राकृतिक आपदा, समूह-हत्या र सांस्कृतिक अतिक्रमणलाई दोष्याएका छन् क्रिस्टलले।

भाषाविज्ञानको समस्यामाथि गहिरो दार्शनिक विवेचना गर्ने जोसेफ स्ट्यालिन भाषालाई समाजको आधार (अर्थनीति) र उपरीसंरचना (राजनीति, कला, ऐन, दर्शन विषयक मत एवं संस्थान)-माझको सामान्य र वर्गहीन तत्त्वको रूपमा व्याख्या गर्छन्। समाजका आधार र उपरीसंरचना दुवैदेखि छुट्टै रहेर पनि दुवैलाई प्रभावित गरिरहने र दुवैको प्रयोगमा आइरहने भाषाको यो विचित्र गतिशील चरित्रले पनि भाषा एक जटिल मानवीय औजार हुन गएको हो। एक्काइसौं शताब्दीकै ठूला भाषावैज्ञानिक नोम चमस्की पनि भाषालाई सम्पर्कको सामान्य माध्यम ठहर्‍याउँदै यसलाई जुन वर्गले प्रयोग गर्‍यो, यो त्यही वर्गको पेवा हुने गरेको बताउँछन्। भाषाको यो संवेदनशील र लचिलो चरित्रले भाषालाई अति खतरनाक वस्तु समेत बनाइदिन्छ। समाजलाई पूँजीवादले दिएका शब्दावलीको ध्यानपूर्वक पोस्टमोर्टम गरे यसको भेउ पाइहालिन्छ।

अहिलेसम्मको इतिहासमा शक्तिशाली तब्काको भाषा बाँचेको-मौलिएको-फैलिएको छ। शक्तिहीनहरूको भाषा दबिएको-टाक्सिएको-मासिएको छ। त्यसोसले भाषाको अस्तित्व सामाजिक सम्बन्धहरूमाथि भर पर्ने हुन्छ। यहाँ भाषाको यो परिधिबाट केही बाहिरतिर गएर संवादलाई हेर्ने प्रयासमा छु। हजारौं भाषाको अस्तित्व रहेको समाजमा मूलतः दुइवटा भाषा छन्। एउटा उत्पीड़कको र उत्पीड़ितको। भाषाको कुनै वर्ग चरित्र नभए पनि भाषाभित्र लुकेको विचार, दर्शन र दृष्टिकोणको भने वर्ग चरित्र छ। त्यसर्थ, एउटै भाषाभित्र पनि उत्पीड़कको आफ्नै दर्शन बोक्ने भाषा छ, जनताको आफ्नै दर्शन बोक्ने भाषा छ। दुवै वर्गले एउटै भाषा बोले पनि त्यो भाषाभित्रका भाषा बेग्ला-बेग्लै छन्। पराभाषा भन्नसकिन्छ कि यसलाई।

सत्ता सधैं जनताको भाषा पङ्गु बनाउने दाउमा छ। मान्छेले आज जुन भाषा बोल्छ, त्यो उसको हुँदै होइन। सत्ताले थोपरेको भाषामा जनताले आफ्नो जीवनजगतलाई अभिव्यञ्जना दिइरहेको छ। सत्ताका शब्दहरू सरेर जनताको झोलीमा पर्छन्। जनता सत्ताको भाषामा बोल्न, हाँस्न, रुन, रिसाउन र जुझ्न सिकिरहेको छ। कहाँसम्म भने, उसले सपना देख्न पनि सत्ताकै आँखाबाट देख्छ। त्यसैले यशको चोरबाटो, शीघ्र धनी बन्ने लोभ, आडम्बरे जीवनशैलीको सम्मोहनले लट्टिएको बहुलांश जनता उपभोक्तावादी पञ्जामा छटपटिँदै अन्योलताको शिकार पनि हुने गरेका छन्। जनताले यो सत्ताको स्कूलिङ लोभनीय कागजी ऐन, आकर्षक मूल्यमान्यता, पवित्र नैतिकताको सांस्कृतिक पाठबाट पाइरहेका छन्। जब यो सांस्कृतिक स्कूलिङ प्रभावी बन्दैन तब सत्ता शक्तिको प्रयोगमा उत्रन्छ। सत्ताले गराएको जनताको निजी भाषाको यो पतनले मान्छे संवेदनहीन-संवादहीन बन्दैछ। सत्तासीनहरूले जनताबाट यसरी उसकै भाषाको अपहरण गर्नथालेको इतिहास लामै भए पनि यो भाषा-अपहरणको उल्लेखनीय इतिहास-रेखा लगभग पाँच सय वर्ष लामो छ। जबदेखि उपनिवेशहरूको प्रसारण आरम्भ भयो।
भाषालाई “सभ्यता” ठहर्‍याउँदै यसैलाई “सारा उदय-उन्नति” मान्ने नाट्यकार-चिन्तक बालकृष्ण समको चिन्तनलाई द्वन्द्वात्मक कसीमा राखेर हेर्ने हो भने पाउँछौं – सभ्यताको पतीत अँध्यारो पक्ष पनि भाषाले वहन गरेको हुन्छ। शोषण र हिंसाको प्रतीक पनि भाषाले बोकेर दिएको छ एउटादेखि अर्को पुस्तालाई। मान्छेलाई एक्लो, आत्मकेन्द्रिक र एकान्तिक बनाउन संवादको अपहरणले ठूलै काम गरेको छ। मान्छे नबोलिकन बोलिरहेको, नसुनिकन सुनिरहेको सामाजिक विचलनको अन्तरविरोधलाई गाएका छन् पल साइमन-आर्ट गार्फुङ्केलले। मान्छेले भोगिरहेको यो अलगावको निदान अपहरण भएको भाषाको पुनः आविष्कारमै छ। त्यसर्थ मान्छेको सङ्घर्षको मोर्चा भनेको भाषाको मोर्चा पनि हो।  किनभने उसले आपसमा संवाद गर्ने कला बिस्तार भुलिँदैछ। भाषा नै लोप भएपछि संवादको सङ्कट त देखा पर्छ नै। संवादको अनुपस्थितिमा एकजुटता सम्भव हुँदैन। संसारभरिकै नव-उपनिवेशवादी पूँजीवादी सत्ता एकजुट भएर मौलिक मानवीय मूल्यहरूलाई टेक्दै मान्छेको आवाज मिचिरहेको बेला मान्छेले चाहिँ एकजुट नबन्नु र?

विचारको कपड़ा नै भाषा हो भन्थे स्यामुएल जोनसन। तर भाषा त विचारको कपड़ा मात्र नभएर कङ्काल समेत हो। भाषा नै विचारको एकाइ हो र भाषादेखि पर न त विचार सम्भव छ न नै कल्पना। भाषा बिनाको बौद्धिक वा भावनात्मक यात्रा छँदै छैन। मान्छेले भाषालाई पछि फर्किनलगाएर गर्नखोजेको मानसिक यात्रा अर्थहीन हुन्छ। त्यो यात्राको न प्रस्थानविन्दु छ। न त अन्तिमविन्दु।

भाषाले नै सोच्छ मान्छे। उसले आफ्नो अवस्थाको अवलोकन, व्याख्या र छिनोफानो पनि भाषाले नै सोचेर गर्छ। भाषाकै माध्यमबाट शोषण गरिने जनताले भाषाकै माध्यमबाट प्रतिरोध गर्नुसक्नुपर्छ। नत्र उ जड़ बन्छ। तब थोपिएको मानसिक दासत्व र भौतिक पराधीनता उसलाई स्वीकार्य हुन्छ। भाषाको स्थूल शरीरमा शोषकवर्गले लुकाएर राखेको शोषणको सूक्ष्म बुनोट चिनेर र त्यो बुनोट फुकाएर नै जनताले नितान्त आफ्नो भाषा-संस्कृतिको नव निर्माण गर्न सक्छ। तब नै भाषा उसको हुन्छ। तब मात्र भाषाले उसको अभिव्यक्ति बोक्नेछ। त्यो संवादबाट तब उसको पीड़ा, आक्रोश र सपनाले निकासी पाउँछ। खोसिएको उसको संवाद उसले सत्ताधारीहरूबाट फर्काइल्याउने लड़ाइँ निर्णायक छ। चर्को पनि। हामीले कासाबेको मृत्युकथाबाट केही त सिक्नै पर्ने हो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares