‘अटमोस्ट ह्यापिनेस्’ खोज्दै अरून्धती

 

कबीर बस्नेत


अरून्धती नाम मैले त्यसबेला सुनेको हुँ, जतिबेला बाल्यकालमा सुत्नअघि बाबाले रामायणका कथाहरू सुनाउनुहुन्थ्यो। महर्षि वशिष्ठकी विदुषी भार्याको रूपमा मैले अरून्धती नामलाई त्यसबेलादेखि नै मनमनै श्रद्धा गरेको हुँ। अरून्धती नामले मलाई अझ मोहित बनायो जब मैले आफ्नो किशोर अवस्थामा हिन्दी लेखक गुरूदत्तको ऐतिहासिक उपन्यास पुष्यमित्र पढें। यस पुस्तकमा अरून्धतीलाई एक विदुषी नारी मात्र होइन, एक वीराङ्गनाको रूपमा मैले चिन्न पाएँ। अरून्धती नामप्रतिको यो श्रद्धा त्यसबेला अझ बढेर गयो जब मैले पढें धुरन्धर लेखिका अरून्धतीको बुकर पुरस्कारले सम्मानित उपन्यास गड् अव् स्मल थिङ्ग्स। लगत्तै सन् १९९८ मा पोखरण परमाणु परीक्षणको प्रतिक्रियास्वरूप साप्ताहिक पत्रिका फ्रन्टलाइनमा साम्राज्यवाद अनि युद्धविरोधी  उनको चर्चित लेखले मलाई एकातिर राष्ट्रभक्ति अनि अर्कोतिर विश्वमानवप्रेमको दोधारे स्थितिमा ल्याई उभ्याएको थियो।

आज देश दुई खेमामा बाँडिएको छ। एकातिर छन् अरून्धती, उनको लेखन अनि विचारका समर्थक अनि अर्कोतिर छन् उनका विरोधी अनि उनलाई देशद्रोहीका रूपमा हेर्ने जमात। भर्खरै हिन्दी चलचित्र जगतका चरित्र अनि हास्य अभिनेता परेश रावलले कश्मीरमा भइरहेको तनाउमा अरून्धतीका विचारहरूलाई पनि उत्प्रेरक ठान्दै उनलाई जिपको अघिल्तिर बाँधेर घिस्याउनुपर्ने जस्तो अभद्र अनि कटु टिप्पणी  पनि ट्विटरमार्फत् गरिसकेका छन्। आफूलाई राष्ट्रभक्त ठान्ने परेश रावलजस्ता हजारौंका निम्ति अरून्धती निन्दाका पात्रा हुन्। यतिसम्म कि उनलाई तिरस्कार गर्ने जमातले उनको नग्न तस्वीरसमेत बनाएका छन्। उनलाई अशालीन शब्दमा गाली गर्नेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ।

के साँच्चै अरून्धती निन्दाका पात्रा हुन् ? के उनी साँच्चै राष्ट्रविरोधी हुन्? उनी किन यति सत्ताविरोधी भाषा बोल्छिन्? आधा देश नै उनको विरोधमा हुँदा पनि उनी एक्लै उभिने आँट कहाँबाट पाउँछिन्?

उनलाई बुझ्न तथाकथित मिडियाको किरायाको आँखाले कदापि सकिँदैन। उनलाई चिन्न तथाकथित राष्ट्रभक्तहरूको पूर्वाग्रही टिप्पणी मात्र पर्याप्त छैन। न त सोशल मिडियाहरूमा उनीप्रति गरिएको नकारात्मक अनि सतही विचारहरू नै प्रशस्त छन्। उनका तमाम क्रियाकलापहरू, उनका पुस्तकहरू, लेखहरू, उनका विचारहरू नपढी उनको मूल्याङ्कन गर्नु भनेको पोखरीको भ्यागुताले समुन्द्रको विशालतालाई नकार्नु जस्तै हो।

अरून्धतीलाई बुझ्नुपर्दा सर्वप्रथम हामीले भारतीय समाज व्यवस्थालाई, विशेषगरी आदिवासी समाजलाई, किनारीकृत समूहलाई बुझ्नैपर्ने हुन्छ। बहुसङ्ख्यक समुदायहरूबाट लाञ्छित, उपेक्षित, किनारीकृत, अधिकारच्युत समुदाय कसरी बाँचिरहेका छन्। उनीहरूका जिउने आधार कसरी विस्तारै शक्तिसम्पन्नहरूले थुतिरहेका छन्, कसरी उनीहरू आज सम्झौतामाथि सम्झौता गर्दै निरीह जीवन बाँच्न बाध्य छन्। गाँस-बास-कपासको जोगाड गर्न पनि नसक्ने बनाएर उनीहरूलाई कसरी नव-उपनिवेशवादीहरूले शोषण गरिरहेका छन्, ठगिरहेका छन्। विकासको नाममा कसरी उनीहरूलाई घरविहीन, भूमिहीन, संस्कृतिहीन, भाषाहीन बनाइँदैछ, यसको कच्चा चिट्ठा अरून्धतीले एक-एकवटा प्रमाणसहित धारावाहिक रूपमा उदाङ्गो पारिदिएकी छन्।

भन्नु नै हो भने, वास्तवमा मखुण्डो ओडेका साँच्चैको देशविरोधीहरूसङ्ग उनी एक्लै लडिरहेकी छिन्। उनको हातमा हतियारको नाममा केवल कलम छ, त्यही कलमले उनले सत्तालाई खुल्ला चुनौती दिइरहेकी छिन्। उनको कलम भाँच्ने भरमग्दूर प्रयास जारी हुँदा हुँदै पनि उनी आफ्नो मिशनमा निडर, निर्भीक र अथक रूपमा अघि बढिरहेकी छिन्। अरू सबै कुरा बिर्सिदिनु हो भने पनि उनको यो निर्भीकता र दृढता मात्रै पनि  श्रद्धाको योग्य रहेको देखिन्छ।

अरून्धती रोय आज फेरि चर्चामा छिन्। उनको नयाँ पुस्तक द मिनिस्ट्री अव् अट्मोस्ट ह्यापिनेस ६ जूनको दिन विश्वका २२ वटा देशहरूमा एकैचोटि सार्वजनिक भइरहेछ। उनका समर्थक अनि विरोधी दुवैथरिका खेमा उनको यस नयाँ पुस्तकको प्रतीक्षामा छन्। गड अव् स्मल थिङ्ग्सले नै प्रसिद्धिको चरमचुलीमा पुगेकी अरून्धती, आफ्नो जीवन नै आदिवासी, शोषित अनि सर्वहारा वर्गको उत्थान अनि उनीहरूको समस्यालाई बुझ्ने अनि बुझाउने कार्यमा अनवरत् लागिपरेकी छन्। यस्ता निर्भीक लेखिकाको यो नयाँ पुस्तक (फिक्शन) ले कुन प्रकारको राजनैतिक अनि साहित्यिक हलचल मचाउला भन्ने कौतूहल विश्वभरि नै चर्चाको विषय छ। मिडिया अनि उनको आफ्नो साक्षात्कारलाई आधार मान्दा यो उपन्यास भारतीय उपमहाद्वीपका समसामायिक समस्याहरूमाथि आधारित छ। उनी आफ्ना पात्रहरूलाई पागल आत्माको संज्ञा दिन्छिन् जो सधैं प्रेम, आत्मीयता अनि सुरक्षाको खोजीमा भौंतारिहिँड्छन्।

पात्रहरूको चयनमा अरून्धती समकालीन उपन्यासकारहरूभन्दा नितान्त भिन्नै छिन् भन्ने कुरो उनको उपन्यास गड् अव् स्मल थिङ्ग्सबाट नै थाहा पाउन सकिन्छ। भारत स्वतन्त्र भइसकेको केही दशकपछिको पृष्ठभूमिमा लेखिएको यस उपन्यासमा एक सिरियन ईसाई परिवार, त्यसका दुई जम्ल्याहा नानीहरूको सङ्घर्षपूर्ण अनि  विसङ्गत जीवनको वेदनापूर्ण चित्रण रहेको छ।  जिन्दगीभरि नै प्रेम र भावनात्मक सुरक्षाको निम्ति तड्पिएका यस उपन्यासका पात्र-पात्राहरूको मनोविश्लेषणात्मक मार्मिक चित्रणले यस उपन्यासलाई जति हृदयस्पर्शी बनाएको छ, तत्कालीन भारतको उत्तर औपनिवेशिक परिवेश लगायत जातिभेद, वर्गसङ्घर्ष, साम्यवादको विस्तार र सबाल्टर्नहरूमा यसको प्रभाव इत्यादि कुराहरूले यस उपन्यासलाई उत्तिकै सशक्त बनाएको छ।

भारतको पूर्वाञ्चल क्षेत्रका चियाकमानहरूदेखि लिएर तटीय समुन्द्री भेकसम्मको जीवन्त चित्रण रहेको यस उपन्यासको  अर्को सबल पक्ष हो यसको  चमत्कारिक काव्यात्मक भाषा-शैली। लगभग १ करोड प्रति बिक्री भएको अनि  विश्वका ४० भाषाहरूमा अनुवाद गरिएको यही पुस्तक मात्र पढे पनि अरून्धतीको साहित्यक उच्चता अनि मानवीय संवेदनालाई सहजै बुझ्न सकिन्छ।

विस्थापनलाई आजको युगको विडम्बना अनि एउटा जल्दो बल्दो समस्या ठान्ने अरून्धती रोयले मिनिस्ट्री अव् अट्मोस्ट ह्यापिनेसका पात्र-पात्राहरू भौतिक अनि भावनात्मक रूपले विस्थापित बताएकी छिन्। लिस्निङ टु  ग्रासहपर्स, द अल्जेब्रा अव् इन्फिनिट जस्टिस, ब्रोकन रिपब्लिक जस्ता पुस्तकहरूमा पनि उनले आज विभिन्न कारणले विस्थापन झेलिरहेका निर्बल, निरीह जमातको पक्षमा आवाज उठाएकी छन्। उनीहरूको सङ्घर्षमा आफ्नो आवाज पनि थपेकी छिन्।

भूमि वा पृथ्वीलाई सबैको साझा सम्पत्ति ठान्ने आदिवासी समूह उपनिवेश कालदेखि नै आफ्नो हराएको अधिकार खोज्न सङ्घर्षरत् छन्। विभिन्न काल खण्डमा भएका विभिन्न प्रकारका सङ्घर्षहरूद्वारा उनीहरूले भोग्नपरेको अन्याय, अत्याचार अनि थिचोमिचोबाट पार पाउने प्रयास गरेपनि उनीहरूको सङ्घर्ष र विस्थापन लगातार जारी छ। विकाशको नाममा बढ्दो शहरीकरण, औद्योगीकरण, विभिन्न बाँधहरूको निर्माण, प्राकृतिक संसाधनहरूको शोषण अनि दोहन आदिले उनीहरूको जीवनमा के-कस्ता नकारात्मक प्रभावहरू जन्माएका छन्, त्यो हेर्ने, बुझ्ने अनि समस्याको समाधान गर्ने प्रयास न त सरकारसित छ, न बहुसङ्ख्यक मानिने सभ्य समाजसङ्ग।

सभ्यताको नाममा बढ्दो अनावश्यक दखल अनि अतिक्रमणले गर्दा उनीहरूले गुमाउनु परेको उनीहरूको प्राकृतिक जीवनशैली,  भाषा, संस्कृति, बासभूमि, स्वतन्त्रता अनि उनीहरूले बाँच्नुपरेको परिचयहीन जीवनबारे कसैलाई केही सरोकार छैन। आफ्नो स्वार्थ वरिपरि मात्र संसार देख्ने आजको मान्छे सामाजिक समाजमा होइन राजनैतिक समाजमा बाँचिरहेको छ। यो राजनैतिक समाजको संवेदनहीन हृदयको ढोका ढक्ढकाउन चाहान्छिन् अरून्धती। धृतराष्ट्रको अभिनय गरिरहेका अनि स्वार्थजनित राजनीति गरिरहेका  हरेक सत्तासीन शक्तिहरू भने एकै स्वरले कराउँछन्- अरून्धती राष्ट्रद्रोही हो

स्वार्थजनित राजनीति, पूञ्जीवादले जन्माएको यस कुरूप विस्थापन समस्याले गाउँ, पहाड र जङ्गलहरूलाई मात्र नभएर शहरीय सभ्यतालाई पनि उत्तिकै जर्जरित बनाएको सत्यता उनको यस नयाँ उपन्यासका पात्र-पात्राहरूले छर्लङ्ग पारेको कुरा जनाउँछिन् अरून्धती रोय। ग्लोबलाइजेशन अनि तीव्र गतिमा भइरहेको नगरीकरणले तहस-नहस पारेको मानवीय मूल्य र भावनात्मक असुरक्षाले आजको मान्छे कतिसम्म पिरोलिएको छ, सो तस्वीर यस नयाँ कृतिमा अत्यन्त संवेदनशीलतापूर्वक उतारेकी जनाउँछिन् उनी।

पुरानो दिल्लीको चिहानमा बस्ने एकजना मान्छे, आफ्नो मृत छोरीलाई चिठी लेख्ने शोकाकुल बाबु, फुटपाथमा जीवन धान्न विवश एउटी नानी, आफ्नो अपार्टमेन्टमा एक्लै जीवन बिताउन बाध्य एक आईमाई, गेस्ट हाउसमा जीवन बिताइरहेका बेघर दम्पत्ति आदिका कथाहरूले भरिएको उनको यो उपन्यासले आजको मानिसको विवश अनि कष्टपूर्ण जीवनको चित्रण गरेको छ भन्ने उनको भनाइबाट स्पष्ट हुन्छ।

प्रकृतिसित जति जति मान्छेको सम्बन्ध हराउँदै जाँदैछ, मान्छे मान्छेबीचको सम्बन्ध पनि उत्तिकै कमजोर हुँदै जाँदैछ भन्ने तर्कमा बुनिएको यस उपन्यासले विश्व साहित्यमा एउटा ठूलो ज्वार ल्याउनेछ भन्ने कुरामा कुनै शङ्का छैन।

आजको समस्या भनेको नै सत्ता र पूञ्जीपति वर्गले खेलेको गरीबविरोधी चटक हो। समाजले यो सत्यलाई जति छिट्टो बुझ्छ अनि त्यो तोड्नलाई जति छिट्टो तत्पर हुन्छ, मानव समाजको दूरगामी भलो त्यसमै छ। पण्डा-पुरोहित अनि राजनेताहरूलाई विश्वास गर्ने समय अब अतीत भइसकेको छ, बाँच्नु छ भने सचेत हुन आवश्यक हुन्छ। मानव समाजलाई समय समयमा अरून्धती जस्ता विद्रोही व्यक्तित्वले झक्झकाउने गर्छन्, यो पुकारलाई सुन्न सक्नु अनि बुझ्ने कोशिश गर्नुमा नै आजको मानव समाजको अटमोस्ट ह्यापिनेस् लुकेको छ कि!!

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया