भाषा हाम्रो अस्तित्वको मूल हो : नोम चोम्स्की

Girl in a jacket

अनुवादः शैलेन्द्र समदर्शी


वर्षौंदेखि विशेषज्ञहरू भाषा अनौठो हुन्छ भन्ने कुरालाई मान्दै आइरहेका छन्। 1956 –को एकदिन भाषाविज्ञानका एक युवा प्रोफेसरले शीर्ष अमेरिकी शिक्षा संस्थान एमआईटीमा सूचना सिद्धान्तमाथि आयोजित एक गोष्ठीमा ऐतिहासिक भाषण दियो। उनको तर्क थियो, प्रत्येक अर्थपूर्ण वाक्यले केवल आफ्नो भाषाको नियम मात्र होइन तर सबै भाषामाथि लागु हुने वैश्वि‍क व्याकरणको नियमलाई मान्दछ। यति मात्र होइन, साना नानीहरू ठूलाहरूले गरेको कुराकानीलाई नक्कल गरेर या आफू वरिपरिका बाहिरी परिवेशबाट भाषा सिक्नको सट्टामा भाषामा प्रसिद्धि प्राप्त गर्ने आन्तरिक क्षमताबाट सिक्छन्। यो एउटा यस्तो शक्ति हो, जुन शक्ति जैविक विकासले केवल हामी मानिसलाई मात्र सुम्पिएको छ, अन्य प्राणीहरूलाई होइन। यी युवा प्रोफेसरको यो क्रान्तिकारी विचारले एकै रातमा भाषाविद्हरूको सोचलाई परिवर्तन गरिदिएको थियो। 

भाषाविज्ञानमाथि यस्तो क्रान्तिकारी र नयाँ प्रकारको विचार राख्ने यी युवा प्रोफेसर अरू कोही नभएर नोम चोम्स्की थिए।
चोम्स्कीको जन्म 7 दिसम्बर, 1928 -को दिन अमेरिकी नगर फिलाडेल्फियामा भएको थियो। उनका पिता विलियम चोम्स्की हिब्रू भाषाका विद्वान् थिए। र, आमा एल्सी सिमोनोफ्स्की पनि विदुषी तथा बाल पुस्तककी लेखिका थिइन्। नोमले सानैमा मध्यकालीन हिब्रू व्याकरणमाथि आफ्ना पिताले लेखेको पाण्डुलिपि पढ़ेका थिए, जसले उनको भविष्यको काममा आधार तयार पारेको थियो। सन् 1955 सम्म उनी एमआईटीमा भाषाविज्ञान पढ़ाउन थाले लगे। यहाँ बस्दा नै नोमले आफ्नो भाषाविज्ञान सम्बन्धी क्रान्तिकारी सिद्धान्तको सूत्रपात गरे। चोम्स्की त्यो दृष्टिलाई चुनौती दिन्छन्, जसबाट हामी आफैले आफैलाई देख्छौं। उनी भन्छन्, ‘भाषा हाम्रो अस्तित्वको मूल हो। हामी हरेक समय भाषामा लिन हुन्छौं। जब हामी सड़कमा हिँड़िरहेका हुन्छौं, आफूसित आफ्ना कुराकानीलाई रोक्नका लागि ठूलै इच्छाशक्तिको आवश्यकता पर्दछ। किनभने आफैसित हाम्रो कुराकानी निरन्तर भइरहेको हुँदछ।
चोम्स्कीले राजनीतिदेखि दूरी बनाउने वैज्ञानिकहरूको परम्परा विपरीत सक्रिय राजनीतिमा सक्रियतापूर्वक भाग लिए। उनी भियतनाममा अमेरिकी आक्रमणको प्रमुखविरोधी थिए। र, उनले 1967 को प्रसिद्ध पेण्टागनविरोधी मार्चको आयोजनमा पनि सहयोग गरे। जब यो आन्दोलनका नेता पक्राउ गरियो तब उनलाई जेलमा नर्मन मेलरसँग राखियो। मेलरले आफ्नो पुस्तक ‘आर्मीज अव् द नाइट’ -मा चोम्स्कीलाई, ‘लुते, तीखो नाक भएको र खास छवि भएको यस्तो व्यक्ति बताएका छन्, जसभित्र दृढ़ नैतिक बलको महक आउँछ।’

चोम्स्कीसँग यहाँ राखिएको कुराकानी ‘कनेक्टीकट’ -का पत्रकार म्यारिअन लाङ लिएका हुन्। उनी भन्छन्, त्यो समय चोम्स्कीका लागि धेरै कठिन थियो। पत्नी गम्भीर विमारीले पीड़ित थिइन्। नोम उनकै सेवामा दिनरात खटिएका थिए। यो अन्तर्वार्ता लिनभन्दा केवल दश दिनअघि उनकी पत्नीको निधन भएको थियो। यस्तो अवस्थामा लिइएको यो पहिलो अन्तर्वार्ता हुनसक्छ। यस्तो अवस्थामा पनि अन्तर्वार्ता दिन उनी इच्छुक भएका थिए। पछि उनले ‘डिस्कवर’ संवाददाता वेलरी रोसलाई पनि धेरै प्रश्नको उत्तर दिएका थिए।


तपाईं मानिसको भाषालाई अनौठो गुण मान्नुहुन्छ। के कुराले यसलाई खास बनाउँदछ?

मानिस अन्य प्राणीभन्दा भिन्नै हुन्छ। यस अर्थले प्रत्येक मानिस मूलतः एकैजस्ता हुन्छन्। यदि अमेजनको शिकार-सङ्ग्राहक आदिवासी समुदायको कुनै नानीलाई बोस्टनमा पालनपोषण गरे, उक्त नानी भाषिक क्षमताको मामलामा यहाँ हुर्की बढ़ी गरेका मेरा नानीभन्दा अलिकति पनि भिन्नै हुँदैन। विपरीत परिस्थितिमा पनि यस्तै हुन्छ। अर्थात् बोस्टनका कुनै नानी अमेजन आदिवासी समुदायबीच हुर्के-बढ़े ती आदिवासी समुदायको भाषा सहजै बोल्न सक्छ। यो अनौठो मानुष्य सम्पत्ति, जो हामी सबैसित छ, हाम्रो संस्कृति अथवा हाम्रो कल्पनाशील बौद्धिक जीवनको ठूलो अंशको बुनियादी तत्त्व हो। यसैकारणले हामी योजना बनाउन सक्छौं, सृजनात्मक कलाकर्म गर्सक्छौं र जटिल समाजको निर्माण गर्सक्छौं।

भाषाको यो शक्तिको जन्म कहिले अनि कहाँ भयो?

यदि तपाईंले पुरातात्विक अभिलेखहरू हेर्नुभयो भने प्रायः डेढ़ लाखदेखि 75 हजार वर्ष पूर्व समयको एउटा सानो खिड़कीमा रचनात्मक विस्फोट भएको देख्नुहुन्छ। यस कालमा अचानक जटिल हस्तशिल्प, प्रतीकात्मक निरूपण, आकाशीय घटनाहरूको मापन तथा जटिल सामाजिक संरचनाहरूजस्ता सृजनात्मक गतिविधिहरूको विस्फोट देख्नसकिन्छ। प्रागैतिहासिक कालको प्रायः सबै विशेषज्ञ यस घटनालाई भाषाले औचक उद्भवसँग जोड़्दछन्। यस्तो लाग्दैन, यस घटना र मानवको शारीरिक परिवर्तनबीच कुनै सम्बन्ध छ; आज पनि मानिसको बोल्ने या सुन्ने तन्त्र त्यस्तै छ, जस्तो 6 लाख वर्षअघिको मानिसको थियो। तर मानिसमा अभूतपूर्व संज्ञानात्मक परिवर्तन आएको छ। कोही जान्दैनन् किन?

मनुष्य भाषामा तपाईंको रूचि कहिलेदेखि शुरू भयो?

सानै उमेरमा मैले बाबाबाट आधुनिक हिब्रू साहित्य अथवा अन्य पाठ्य सामग्री पढ़न पाएँ। 1940 तिर उनलाई फिलाडेल्फियाको एक हिब्रू संस्था ड्रप्सी कलेजबाट पीएच.डी. प्राप्त भयो। उनी सीमेटिक थिए। र, मध्यकालीन हिब्रू व्याकरणमाथि काम गर्थे। मलाई निश्चित थाहा छैन, मैले आफ्ना बाबाको पुस्तकको आधिकारिक रूपमा प्रूफ पढ़ेको थिएँ या थिइनँ तर मैले त्यसलाई अवश्यै पढ़ेको थिएँ। केही अवस्थासम्म व्याकरण सम्बन्धी बुझ्न यसै पुस्तकले सघायो। तर यसबाट पछि गयौं भने व्याकरणको अध्ययनको अर्थ थियो, ध्वनिलाई व्यवस्थित गर्न, काललाई हेर्नु, यी कुराहरूलाई गर्न र हेर्न यी कुराहरू कसरी एकार्कामा जोड़िन्छन्।
भाषाविद् ऐतिहासिक व्याकरण र विवरणात्मक व्याकरण भिन्न बताउँछन्। यी दुइमा के अन्तर छ?

ऐतिहासिक व्याकरण यस्तो अध्ययन हो- जस्तै कसरी मध्यकालीन अङ्ग्रेजीबाट आधुनिक अङ्ग्रेजीको विकास भयो। कसरी पुरानो अथवा प्रारम्भिक अङ्ग्रेजीबाट मध्यकालीन अङ्ग्रेजीमा विकास भयो। कसरी जर्मेनिकबाट र जर्मेनिक ती भाषा स्रोतबाट विकसित भयो, जसलाई हामी प्रोटो-इण्डो-यूरोपियन भन्छौं। भाषाको समयसँगै विकास हुन्छ। तपाईं यसलाई जैविक उद्वि‍कास (बायोलजिकल इभोल्यूशन) -को अध्ययनको समकक्ष मान्न सक्नुहुनेछ।

विवरणात्मक व्याकरण कुनै समाज या व्यक्ति विशेषका लागि वर्तमान भाषाई व्यवस्थालाई जान्ने प्रयास हो। तपाईं यस अन्तरलाई जैविक विकास र मनोविज्ञानबीचको भिन्नताको रूपमा हेर्न सक्नुहुनेछ।

र, तपाईंका बाबाको समयका भाषाविद्, उनीहरू के गर्थे?

उनीहरू वास्तविक धरातलमा प्रयोग भइरहेको भाषिक विधिमाथि काम गर्थे। उदाहरणका लागि यदि तपाईं चेरोकीका लागि व्याकरणमा काम गर्न चाहनु हुन्छ भने तपाईं ती समुदायबीच जानुहुन्छ। र, स्थानीय बोल्नेहरूसँग सूचना सङ्ग्रह गर्नुहुनेछ।

तपाईंको सिद्धान्तअनुसार सबै मानिसको एक ‘वैश्विक व्याकरण’ हुन्छ। यसको के अर्थ हो?

यसको अर्थ मानिसको भाषा संकायको आनुवांशिक जड़सित छ। उदाहरणका लागि तपाईं आफ्नो अन्तिम वाक्यलाई गम्भीरतापूर्वक विचार्नुहोस्। यो ध्वनिको विस्तारित क्रम होइन। आफ्नो शब्दको अत्यन्त सुनिश्चित ढाँचा खड़ा गरिएको छ र यसको अत्यन्त विशिष्ट भाषाई अर्थ छ। यसको एक खास अर्थ, कुनै दोस्रो अर्थ होइन र यसको एक खास ध्वनि छ, दोस्रो होइन। भन्नुहोस्, तपाईं यो कसरी गर्नुभयो? यहाँ दुईवटा सम्भावना हुनसक्छन्। एक, यसलाई एक चमत्कार मानिलिए। अथवा दोस्रो तपाईंसँग नियमहरूको एक आन्तरिक व्यवस्था हो, जो शब्दको ढाँचा र त्यसको अर्थलाई निर्धारित गर्दछ। म बुझ्दिनँ यो एक चमत्कारको देन हो।
तपाईंका भाषावैज्ञानिक विचारहरूमाथि शुरूमा कस्ता प्रतिक्रिया भए?

शुरू-शुरूमा धेरैजसो मानिसहरूले मेरो विचारलाई खारेज गरे अथवा यसको उपेक्षा गरे। त्यो ‘बिहेवियरल साइन्स’ को युग थियो, मानव क्रिया र व्यवहारको अध्ययन, जसमा व्यवहार नियन्त्रण तथा रूपान्तरण पनि सामेल गरिन्छ। बिहेवियरिज्म भन्छ, तपाईं कुनै पनि व्यक्तिलाई मनले चाहेजस्तै परिवर्तन गर्न सक्नुहुनेछ। यति हो तपाईंले ती व्यक्तिको परिवेश वा प्रशिक्षण पद्धतिलाई उचित रूपले व्यवस्थित गर्नुपर्नेछ।। मानिसको रूपान्तरणमा आनुवांशिक घटक महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ, यो विचारलाई अनौठो बताएर हल्का रूपमा लिइयो।

पछि मेरो यो विधर्मी विचारलाई ‘इन्नेटनेस हाइपोथीसिस’ -को नाम दिने काम गरियो। र, यसलाई भर्त्सना गर्दै लेखिएको साहित्यको थाक लगाइयो। आज पनि तपाईं प्रमुख शोध पत्रिकाहरूमा यस्ता सूत्रवाक्य पढ़्न पाउनुहुनेछ, भाषा केवल संस्कृति, परिवेश तथा प्रशिक्षणको परिणाम हो। एक प्रकारले यो धारणा हाम्रो सहजबोधको अंश नै बनाइएको छ। हामी सबै भाषा सिक्छौं। चाहे त्यो कठिनभन्दा कठिन नै किन नहोस्। हामीलाई थाह छ, परिवेशले पनि आफ्नो प्रभाव छोड़्छ।

इङ्ग्ल्याण्डमा हुर्के-बढ़ेका मानिसहरूले अङ्ग्रेजी बोल्छन्, स्वाहिली होइन। र, वास्तविक सिद्धान्त- त्यो हाम्रो चेतनासम्म पुग्न सक्दैन। हामी आफूभित्र लुकेका ती सिद्धान्तहरू देख्दैनौं, जो हाम्रो भाषिक व्यवहारलाई निर्धारित गर्छन्। र, हामी ती सिद्धान्तहरूलाई पनि देख्दैनौं जुन हामीलाई आफ्नो शरीर हल्लाउने अनुमति दिन्छन्। यो भित्र भित्र भइरहन्छ।
भाषा वैज्ञानिक लुकेका यी सिद्धान्तहरूको खोज कसरी गर्छन्?

तपाईँ आँकड़ा सङ्ग्रह गरी कुनै भाषाबारेमा जानकारी प्राप्त गर्नसक्नु हुनेछ। अर्थात् मेरो भाषाबारे अध्ययन गरिरहेका चीनियाँ भाषाविद् यसबारेमा मबाट प्रश्न सोधेर उत्तर सङ्ग्रह गर्नसक्छन्। यो एक प्रकारको सङ्ग्रह हुन्छ। दोस्रो प्रकारको सङ्ग्रहअनुसार लगातार तीन दिनसम्म कुन कुराहरू म बोल्छु त्यसलाई टेप रेकर्ड गरिरहे। र, कुनै भाषा सिकिरहेको र प्रयोग गरिरहेको समय मानिसको मस्तिष्कमा जे कुराहरू खेलिरहेका छन्, त्यसलाई अध्ययन गरी तपाईं भाषाबारेमा जाँच-परख गर्नसक्नु हुनेछ।

आजका भाषाविद्हरूलाई चाहिएका ती नियम वा सिद्धान्तहरूमाथि ध्यान दिने प्रयास गरून्, उदाहरणका लागि तपाईं ठिक यो समय मैले भनिरहेको वाक्यको अर्थ निकाल्न र त्यसलाई बुझ्न अथवा फेरि आफ्नो वाक्य बनाउन प्रयोग गरिरहनु भएको छ।
के यो व्याकरणको त्यो पुरानो व्यवस्थाजस्तो होइन, जसलाई तपाईंले अघिबाटै खारेज गरिसक्नु भएको छ?

होइन। व्याकरणको परम्पपरागत अध्ययनमा तपाईं ध्वनि अथवा शब्द रचनामाथि तपाईं ध्यान दिनु हुन्छ। र, शायद धेरथोर वाक्य विन्यासमाथि। पछिल्ला 50 वर्षसम्मको उत्पादक भाषाविज्ञान (जेनरेटिव लिङ्ग्विस्टिक्स) –मा तपाईं, यो सोधिरहनु भएको छ, हरेक भाषाका लागि नियम वा सिद्धान्तहरूको कुन तन्त्र छ, जो व्यवस्थित अभिव्यक्तिहरूको असंख्यौ शृङ्खलालाई तय गर्दछ? यसपछि तपाईं यसलाई एक निश्चित व्याख्यासँग जोड़्नु हुनेछ।

हाम्रो भाषिक बुझाई के मस्तिष्क छविसँग जोड़िएको छ?

मिलानको एक ग्रुपले हालै भाषासँग हुने मस्तिष्कको क्रियाशीलता सम्बन्धी एक रोचक अध्ययन गरेको छ। यो ग्रुपले आफ्नो शोधपात्रलाई निरर्थक भाषावालीको दुई प्रकारको लिखित सामग्री दियो। यसमा एक प्रतीकात्मक भाषा थियो, जसलाई इतावली भाषाको नियमको आधारमा आधारित थियो। यद्यपि शोधपात्र यो जान्दैन थियो। दोस्रोलाई वैश्विक व्याकरणको नियमहरूको उल्लङ्घन गरी तयार पारिएको थियो। एक खास मामिलामा, मानिलिउँ तपाईं कुनै वाक्यलाई निषेध गर्न चाहनुहुन्छ, ‘जोन यहाँ थियो, जोन यहाँ थिएन।’ केही निश्चित कुरा छन्, जुन कुरा गर्नका लागि अनुमति भाषामा तपाईंलाई दिइन्छ। तपाईँ ‘छैन-होइन’ शब्दलाई केही स्थानमा राख्न सक्नुहुनेछ। तर केही अन्य स्थान राख्न सक्नुहुन्न। यसैले पहिलो मनगढ़न्ते भाषामा तपाईं निषेधकारी तत्त्वलाई कुनै स्वीकार्य स्थान राख्नुहुन्छ, जबकि दोस्रोमा तपाईं यसलाई अस्वीकार्य स्थानमा। मिलान ग्रुपले पायो, स्वीकार्य निरर्थक वाक्यसँग मस्तिष्कको भाषिक क्षेत्रमा सक्रियता देखापर्दछ। तर अस्वीकार्य वाक्य, जसले वैश्विक‍ व्याकरणको नियमलाई उल्लङ्घन गर्दछ, मस्तिष्कमा कुनै सक्रियता उत्पन्न गर्दैन। यसको अर्थ हुन्छ, मानिस अस्वीकार्य वाक्यसँग भाषाजस्तो होइन तर पहेलीजस्तै खेलिरहेको थियो। यो एक आरम्भिक परिणाम हो, तर यसले स्पष्ट रूपमा सङ्केत दिन्छ, भाषाहरूको खोज पड़तालबाट निस्कने भाषिक सिद्धान्तको मस्तिष्कको क्रियाशीलतासँग गहिरो सम्बन्ध छ, जस्तो कसैलाई आशा र अपेक्षा हुनसक्छ।

हालको आनुवांशिक अध्ययनले पनि भाषाबारेमा केही यस्तै सङ्केत दिन्छ। के यो उचित हो?

हालका वर्षहरूमा एक जीनको खोज भएको छ, जसको नाम हो – है, फोक्सपी 2। यो जीन वास्तवमै रोचक छ, किनभने यसमा कुनै प्रकारको ‘म्युटेशन’ हुँदा भाषिक प्रयोग सम्बन्धी कमजोरीहरू प्रकाशमा आउँदछ। यो जीनलाई त्यो क्रियासँग जोड़िँदछ, जसलाई हामी ओरोफेशियल एक्टीभेशन भन्छौं। अर्थात् बोल्ने समयमा हामी आफ्नो मुख, आफ्नो अनुहार, जिब्रो कसरी नियन्त्रित गर्छौं। यसैले फोक्सपी 2 -को सम्भवत: भाषाको प्रयोगसँग कुनै सम्बन्ध छैन। यो जीन केवल मानिसमा मात्र हुँदैन तर अन्य प्राणीहरूमा पनि पाइएको छ। र र अलग-अलग प्रजातिमा बेग्ला बेग्लै ढङ्गले काम गर्दछ। यो जीन कुनै एउटा काम गर्दैन। तर यस खोजलाई भाषाको केही प्रहेलिकाको आनुवांशिक आधारको उपस्थितिको पुष्टिको दिशामा एक रोचक आरम्भिक कदम मान्नसकिन्छ।
तपाईं भन्नुहुन्छ, जन्मजात भाषिक क्षमता मानिसको विशिष्टता हो, तर फोक्सपी 2 –को सततता कुनै प्रजातिमा देखिएको छ। के यी दुवै कुरा परस्पर विरोधाभाषपूर्ण छैन?

यो कुरा प्रायः अर्थहीन छ, यसमा प्रजातिगत सततता छ। यसमा कसैलाई शङ्का छैन, मानिसको भाषिक तन्त्र जीन, तन्त्रिका तन्त्र आदिमाथि आधारित छ। भाषाको प्रयोग, बुझाई, अधिग्रहण र निर्माणमा सम्मिलित पद्धतिहरू एक स्तरसम्म सम्पूर्ण जन्तु जगतमा देखिएका छन्। र, साँचो भन्नु हो भने, सम्पूर्ण जीव जगतमा देखिन्छ। एकाधलाई त तपाईं जीवाणुमा पनि देख्नुहुनेछ। तर यो कुरा यसको विकास या समान मूलले उत्पन्न हुनु शायदै कुनै सङ्केत दिँदछ। भाषा उत्पन्न गर्नुजस्तो विशिष्ट मामिलामा कुनै प्रजाति यदि मानिसको सबैभन्दा नजीक हुन्छ भने पंक्षी हो। तर यसको कारण समान उद्गम होइन। यो एक छुट्टै परिघटना हो, जसलाई हामी कनभर्जेन्स भन्छौं- प्रायः एकैजसो व्यवस्थाहरूलाई छुट्टै छुट्टै स्वतन्त्र रूपबाट विकास। यसबारेमा जे जति खोजी भइरहेको छ, त्यसले भाषावैज्ञानिक सिद्धान्तलाई प्रभाव पार्ने सम्भावना थोरै छ।

पछिल्ला 20 वर्षदेखि तपाईं भाषाको ‘सरलतम’ (मिनिमलिस्ट) बुझाईमाथि कार्य गरिरहनु भएको छ। यसको के खाँचो छ?

मानिलिनुहोस् भाषा हिउँको ढिकाजस्तै हो। यसले प्रकृति नियमअनुसार आकार ग्रहण गर्दछ। भाषाको खोजबारेमा यस दृष्टिलाई मिनिमलिस्ट प्रोग्राम भनिन्छ। म बुझ्छु, यसले केही महत्त्वपूर्ण परिणाम दिएको छ। यसले देखाएको छ, भाषा वास्तवमै केही शब्दार्थ सम्बन्धी अभिव्यक्तिको आदर्श हल हो तर स्पष्ट अभिव्यक्तअनुसार धेरै खराब तरीकाले डिजाइन गरिएको छ। एक विशिष्ट आवाज निकालेर तपाईं ‘बेसबल’ भन्न सक्नुहुन्छ तर यसका लागि ‘रूख’ भन्न सक्नुहुन्न।

भाषाविज्ञान अघि ठूलो प्रश्न के छ?

अझै कति अनुत्तरित रिक्त स्थान छन्। केही प्रश्न ‘के’ -देखि शुरू हुँदछ। जस्तै- भाषा के हो? यस समय तपाईँ र म जे गरिरहेका छौं, यसको नियम र सिद्धान्त के के छन्? केही अन्य ‘कसरी’ –बाट शुरू हुँदछ, तपाईं र मैले यस क्षमतालाई कसरी प्राप्त गऱ्यौं। हाम्रो आनुवांशिक भण्डार अथवा अनुभवमा र प्रकृति नियममा के लुकेको छ? र यसपछि ‘किन’ -बाट शुरू हुने प्रश्न छ, जुन सबैभन्दा कठिन छ: भाषाको नियम यस्तै किन छ, केही र अन्य प्रकारका किन छैन? कतिसम्म यो उचित छ, भाषाको बुनियादी डिजाइन ती बाहिरी शर्तहरूको अनुकूल हल प्रस्तुत गर्दछ। जसलाई भाषा अपरिहार्य रूपले पूरा गर्दछ? यो एक ठूलो कुरा हो। भाषाको प्रकृतिबारेमा जे जति हामी जान्दछौं, त्यसलाई हामी कति अवस्थासम्म मस्तिष्कमा हुने क्रियासँग जोड़ेर हेर्नसक्छौं? र अन्तत: के भाषाको आनुवांशिक आधारबारेमा कुनै गम्भीर खोज पड़ताल भएको छ? यी सबै बिन्दुमाथि निश्चय प्रगति देखिन्छ तर ठूलै रिक्त स्थान अझै पनि छ।


हिन्दी अनुवाद: आशुतोष उपाध्याय। लेखक मञ्चबाट साभार।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया