भाषिक अतिक्रमण: बोक्रे विकाश र उड़न्ते तर्क

छेवाङ योञ्जन


90-को दशकसम्म दार्जीलिङ पहाड़को शैक्षिक संस्थानहरूमा नेपाली भाषा नै पठन-पाठनको प्रमुख माध्यम थियो। इतिहास, भूगोल, गणित, विज्ञान पढ़ेरै हाम्रा पुर्वजहरूले शिक्षा आर्जन गरे। त्यस समय अङ्ग्रेजी र हिन्दी बाहेक अन्य विषयहरू नेपाली भाषामा थियो। ढुङ्गा क्लासदेखि दशौँ श्रेणीसम्म इतिहास, भूगोल, गणित, विज्ञान पढ़ेका हाम्रा बाउबाजेहरूलाई म्याट्रिक परिक्षा पछि उच्चशिक्षा आर्जनका निम्ति भने ठूलै चुनौतीको समानमा गर्नु परेको थियो।

दशौँ श्रेणी उतिर्ण गरेपछि उच्चशिक्षा आर्जनका निम्ति विषय चयन गर्न पाउने सुविधा छ। आवश्यै यो सुविधा बाउबाजेको पालामा पनि थियो। तर उनीहरूले कला, विज्ञान, कृषि, वाणिज्यहरू पढ़्न पाएनन्। भाषालाई नै प्रमुख हतियार बनाएर भारत भित्रेका अङ्ग्रेजहरूले देशको शिक्षा प्रणालीमा सुधार ल्याउने सपना देखाउँदै शिक्षा व्यवस्थामा Arts, Science, Agriculture, Commerce-हरू भित्र्याइ सकेका थिए।

अर्थात भारतीय शिक्षा व्यवस्था अङ्ग्रेजीकरण गरिँदै थियो।  गैरीगाउँ उच्च माध्यमिक विद्यालयमा पढ़्ने हाम्रा बाजेहरूले मात्रै होइन जेएनयुमा पढ़्ने राजीव गान्धीहरू र जबलपुर विश्वविद्यालयमा पढ़्ने ज्योति बसुहरू समेतले अङ्ग्रेजले भित्र्याएको विदेशी भाषामा उच्चशिक्षा आर्जन गरेका हुन्। अङ्ग्रेजहरूले जब कलाको टाउको काटेर Arts बनाए, विज्ञानको यथार्थलाई Science, कृषिको जैविकतालाई Agriculture अनि वाणिज्यको मूल्यलाई Commerce बनायो तब नै भारतीय भाषाहरू भाषिक अतिक्रमणको विशाल घेरामा परेको हो।

अङ्ग्रेजले ल्याएको शिक्षा सुधार अभियानले हाम्रा दिमागलाई यतिसम्म एकोहोरो बनाइदिएको छ कि यो Arts, Science, Commerce, Agriculture जस्ता विषयहरू अङ्ग्रेजी बाहेक अन्य भाषामा हुँदै हुँदैन भन्ने निष्कर्षमा हामी पुगिसकेका छौँ। यस्तै निष्कर्षको प्ररिणाम हो एघाह्रौँ श्रेणीदेखि हाम्रा पुर्वजहरूले आफ्ना भाषा त्याग्दै अङ्ग्रेजले जबरजस्ती लादेको अङ्ग्रेजी भाषामा Arts, Science, Commerce, Agriculture हरू पढ़्न थाले।

सन् 1999 सालको कुरा हो। म पेशोक प्राथमिक पाठशालाको पाँचौँ श्रेणीमा थिएँ। पाँचौँबाट छैटौँ श्रेणीमा पुग्दा बाउबाजेको काल चक्रले मलाई पनि नसताएको होइन। प्राथमिक पाठशालाबाट इतिहास, भूगोल, विज्ञान र गणित पढ़ेर पाँचौँ श्रेणी उत्तीर्ण गरेको थिएँ। तर हाई स्कूलको History, Geography, Science, Math हरूले मलाई अल्मल्याउनुसम्म अल्मल्यायो। पाँचौँ श्रेणीमा विज्ञानको परिभाषा लेखेर परिक्षा उत्तीर्ण गरेको थिएँ।

छैटौँ श्रेणी पुग्नसाथ किरण सरले ‘What is science?, Science को Definition भन’ -भन्दा एक छिन चुप बसेर नेपालीमै भन्ने प्रयास नगरेको पनि होइन। तर प्रयास गर्न अघिनै बाँसको भाटा छेपारीमा बज्यो। केही सिप लागेन। आज यो घटना सम्झिँदा लाग्छ- छैटौँ श्रेणीमा म भाषिक अतिक्रमणको शिकार थिएँछु।

त्यसै बेला होली क्रस इङ्गलिस स्कूल पढ़ेर आएका विद्यार्थी थिए रिवाज। त्यसले what is science मात्रै होइन Living thing र Non-living thing को Definition भन्थेँ with an example. अहिले सोच्दैछु -त्यस बेला मैले नेपालीमा विज्ञानको परिभाषा भन्नु नपाउनुको प्रमुख कारण होली क्रस थिएछ। होली क्रस पढ़्ने रिवाजहरू थिएछन्।

बेला बेला झोंक पनि चल्छ -के त्यो समय होली क्रसले रिवाजहरूलाई हतियार बनाएर नेपाली भाषामाथि अतिक्रमण गरेको थिएन होला र?

यदि  यो घटना भाषिक अतिक्रमण होइन भने एकजना नेपाली विद्यार्थीले किन नेपालीमा विज्ञानको परिभाषा दिन पाएनन् त? छैटौँ श्रेणीमा नै यो खाले भाषिक अतिक्रमण थियो भने बाउबाजेले उच्चशिक्षा व्यवस्थामा सामना गर्नु परेको भाषिक चुनौतिको कथा कस्तो थियो होला?

वर्ष 2012 नेपाली भाषाले संविधानिक मान्यता प्राप्त गरेको 20 औँ वर्षगाँठ। भाषा मान्यताको 20 वर्षे आयुले दार्जीलिङ पहाड़ नै गर्मिएको साल। म टेलिभिजन पत्रकार थिए कालेबुङमा। भाषा दिवसले भाषा सङ्ग्रामी सीके श्रेष्ठ, जेबी राईहरूको समिप पनि पुऱ्यायो। उनै भाषा सङ्ग्रामीहरूबाट भाषा आन्दोलनको कठिन यात्रा र गाइरहूँ जस्ता लाग्ने वीर गाथा सुनें।

गोर्खाहरूबारे लेखिएका वीर इतिहासहरू अरूकै निम्ति लड़िएको मात्र छ। तर भाषा आन्दोलनको मौखिक कथा भाषा सङ्ग्रामीकै मुखबाट सुन्न पाउँदा गज्जबै लाग्ने हो। नेपाली भाषालाई संविधानमा आधिकारिक मान्यता दिलाउन सीके सरहरूले लरतरो सङ्घर्ष गरेका होइनन्। भारत जस्तो सामन्ती सोचलाई अल्पसङ्ख्यक गोर्खाहरूको सम्मानमा ल्याउनु भनेको ठूलो सफलता हो।

20 अगष्ट सन् 1992 को दिन नेपाली भाषाले संविधानिक मान्यता प्राप्त गरेको कथा साच्चै गर्वीलो थियो।

वर्ष 2002 फरवरी महिनाको दोस्रो साता।

शीतकालिन बिदा पछि पहाड़का जम्मै शैक्षिक संस्थानहरू आरम्भ भएको थियो। लगभग यही सालतिर हो भाषिक अतिक्रमणले पहाड़का पाठशालाहरूमा सफलता प्राप्त गरेको थियो। इतिहास, भूगोल, गणित, विज्ञान जम्मै जम्मैको लागि पाठशालाको ढोका बन्द भयो। History, Geography, Math, Science-ले श्रेणी कक्षाहरूमा पाइला टेक्नसाथ नेपाली भाषाको आत्मा उड़्यो। इतिहास, भूगोल, गणित, विज्ञानहरूको साथमा English को A, B, C, D सधैँ एकलो पर्थ्यो। तर 2002 देखि History, Geography, Math, Science-हरूको छेउमा नेपालीको क, ख, ग, घ, ङ एकलो पऱ्यो।

नेपाली भाषाले संविधानिक मान्यता प्राप्त गरेको ठीक 10 वर्षपछि पहाड़को शैक्षिक संस्थानहरूबाट नेपाली माध्यम हटेको छ। एकातिर, भाषा मान्यताको आन्दोलन गर्दै देशनै थर्काएको इतिहास छ। अर्कोतिर, शैक्षिक संस्थानहरूले भने नेपाली भाषालाई जरैबाट उखेलेको छ। यस्तो अवस्थामा भाषा मान्यताको गर्वीलो इतिहासलाई कसरी स्वीकार्नु ? माछा कीराले खाइसकेको संविधानमा चैं नेपाली भाषा छ। तर नेपालीहरूले नै पढ़्ने पाठशालाहरूबाट चैं हुँदा हुँदैको नेपाली माध्यमको विषयहरूलाई फ्याँकिसकेको छ।

नेपाली माध्यम हटाउनुको सम्भाविक दुइ कारण:

  1. आफ्नो भाषालाई होच्याएर पश्चिमी हुन खोज्नुको निम्ति English भित्र्याएको हो?
  2. उच्चशिक्षा व्यवस्थामा नेपाली माध्यममा पढ़्ने सुविधा छैन भन्ने उद्देश्यले नै पहाड़का पाठशालाहरूले अङ्ग्रेजी भित्र्याए हो।

(नोट: पाठशालामा कुन माध्यममा पढ़ाउने त्यो अधिकार पाठशाला प्रमुखलाई ) 

यदि प्रथम कारण हो भने शैक्षिक संस्थानका प्रमुखहरू नै नेपाली भाषाको पहिलो शत्रु हुन्। पश्चिमी फेसन अप्नाउँदै पाठशालामा अङ्ग्रेजी भित्र्याउनेहरूले भाषा आन्दोलन र भाषा सङ्ग्रामीहरूका योगदानको अपमान गरेका छन्।

दोस्रो कारण लजिकल छ। साधारण रूपले हेर्दा यो कारण जायज पनि लाग्छ। तर यो वैज्ञानिक तर्क भने होइन। 90 को दशकसम्म दशौँ श्रेणीसम्मको पाठ्य सामग्रीहरू नेपाली माध्यममा थियो। त्यही कालमा हो भाषा मान्यताको आन्दोलन तेजिलो बनेको।

वर्ष 1992 मा भाषाले संवैधानिक मान्यता प्राप्त गरेपछि त झन नेपाली भाषाले पहिले भन्दा पपनि धेर  उन्नतिको बाटो पक्रिनु पर्ने हो। एघाह्रौं र बाह्रौं श्रेणीको पाठ्य सामग्रीहरूमा पनि नेपाली माध्यम ल्याउनु सक्नुपर्ने हो। तब पो गर्वसाथ भाषा मान्यताले नेपाली भाषाको विकास गऱ्यो भन्न सक्छौँ। तर यहाँ उल्टो भएको छ। भाषाले संवैधानिक मान्यता पाउनसाथ पाठशालाहरूबाट नेपाली माध्ययमको पुस्तकहरू नै गायब।

पाठशालाहरूमा भइरहेको नेपाली माध्यमको पाठ्य सामग्रीहरू नै हटाउने काम भयो। अझ महाविद्यालय र विश्वविद्यालयहरूमा नेपाली माध्यममा पढ़्ने र पढ़ाउँछु भन्ने सपना त नदेख्दा पनि हुन्छ। यही हो त नेपाली भाषाको विकास? के हाम्रो भाषा हाम्रैहरूको हातबाट अतिक्रमण भइसकेको छैन र?

साहित्यले मात्र नेपाली भाषाको विकास गर्छ भन्ने भ्यागुते सोच त झन नपालेकै उचित हो। नेपाली भाषाको जरैमा English को A, B, C, D रोपी दिएपछि टुप्पोबाट फलेको साहित्यले कसरी भाषाको विकास गर्न सक्छ। एउटा कुरो चैं पक्का हो -नेपाली भाषाको साहित्य अब लिभिङ फोसिल्स भएर चै बस्नेछ।

क, ख, पढ़ेर दुइचारवटा कविता लेख्नु, भानुभक्त र लक्ष्मीप्रसादमाथि पीएचडी गर्नु र कुनै महाविद्यालयमा प्रध्यापक भएर विद्यार्थीहरूलाई नेपाली पढ़ाउनुलाई मात्रै भाषाको विकास भएको ठान्नु? यो त घर आङ्गनमा फुलेको फूललाई मझेरीमा सजाएर घरको विकास भयो भन्नु जस्तै हाँस्यास्पदक कुरो भएन र?

यदि नेपालीमै अभियान्त्रिकी, अर्थशास्त्र, मानव विज्ञान, चिकित्सा विज्ञान, कानुन शास्त्र, कम्प्युटर विज्ञानलगायतको जम्मै विषयहरू पढ़्न पायौँ भने मात्र साँच्चै हामीले नेपाली भाषाको विकास गरिरहेका छौँ भनेर गर्वसाथ छात्ती फुलाउन सक्छौँ।

तपाईँसँग समय छ भने गुगल सर्च गरेर चीनको शिक्षा व्यवस्था हेर्नुहोस्। चीनियाँहरूले कसरी आफ्नै भाषामा उच्चशिक्षा व्यवस्थाको विकास गरेका छन्। चीनियाँहरूले Medical Science English मा पढ़ेनन्।  उनीहरूले Engineering  English मा पढ़ेनन्। चीनले जम्मै जम्मै पाठ्य सामग्रीहरू आफ्ना भाषामा अनुवाद गरेर चिनियाँ भाषालाई कुनै प्रकारको भाषिक अतिक्रमणको शिकार हुन दिएन।

वर्ष 2017 16 मई।

राज्यको जम्मै स्कूलहरूमा बङ्गला भाषा निवार्य गर्ने मुख्यमन्त्रीको घोषणा। यो खाले भाषिक हेजिमोनीको विरोध गर्नैपर्छ। तर डम्बरचोक र चौरस्ताको विज्ञापन होडिङ बोर्डहरू नेपालीमा लेखेर मात्र यसको विरोध हुन्छ? आफ्नो आँखा अघिको सबै थोकहरूको नेपालीकरण गर्नलाई चैं भाषाको केवल बोक्रे विकास मान्न सकिन्छ।

नेपाली भाषाको त जरैमा भाइरस पसेको छ। यस्तो अवस्थामा पनि बाहिरी परिवर्तन र विकासमा मात्रै हाम्रो ध्यान केन्द्रित हुनु हाम्रो निम्ति भयानक खतरा छ। सरकारी कागज नेपालीमा, जम्मै जम्मै आवेदनहरू नेपालीमा लेख्नु, पर्यटकसँग नेपालीमा बोल्नु जस्ता विरोध गर्ने शैली चैं वैज्ञानिक होइन।

नेपालीमा आवेदन लेख्दा दुइ तीनजना नेपाली भाइहरूले नै काम पाउँछन् भन्ने बोक्रे तर्क पनि छ।

शमीक चक्रबर्ती साथीले नेपाली, अङ्ग्रेजी, बङ्गाली लेख्छन् र बोल्छन् पनि। अब कसरी किटान गरेर भन्न सकिन्छ कि सरकारले नेपालीलाई नै अनुवाद गर्ने काम दिन्छ भनेर? यदि कुनै पनि भाषाले गर्ने भाषिक अतिक्रमण विरुद्ध लड़्नु हो भने हामीले हाम्रो भाषिक धरातल दह्रो बनाउनु पर्छ। हाम्रो भाषिक धरातल भनेको नै शैक्षिक संस्थान हो। जहाँ 90 को दशकमा नेपाली भाषा थियो। अहिले छैन।

अन्तमा तपाईँ आफ्नै सोच्नुहोस् भाषिक अतिक्रमण विरुद्ध लड़्न र नेपाली भाषाको विकास गर्न के गर्ने? विज्ञापनको होडिङ बोर्डहरू मात्रै नेपालीमा लेख्ने। कि उच्चशिक्षा व्यवस्थामा नेपाली माध्यम ल्याउने?

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया