राज्यको निर्णय विरूद्ध उर्लियो जनसमुद्रःपुलिसले दियो 5 जून जुलूसको अनुमति

खबर म्यागजिन

दार्जीलिङ, 4 जून 2017


बङ्गला भाषा थोप्ने राज्य सरकारको विरोधमा आज उर्लियो दार्जीलिङमा जनसैलाब। यसै जनसैलाबलाई सम्बोधन गर्दै गोजमुमोले राज्य सरकारले आफ्नो निर्णय फिर्ता नलिएसम्म पहाड़मा आफ्नो आन्दोलनलाई जारी राख्ने पनि घोषणा गऱ्यो। यति मात्रै होइन, 5 जूनदेखि यो आन्दोलन डुवर्समा पनि शुरू हुने पनि गोजमुमोले बताएको छ। आज निर्धारित समयअघिनै गोजमुमो अध्यक्ष विमल गुरूङको नेतृत्वमा यहाँको घूम रेलवे स्टेशनदेखि शुरू भएको जुलूसूमा गोजमुमो समर्थकहरुसितै हजारौं संख्यामा आम जनता पनि सहभागी बनेका थिए।

बङ्गला भाषा थोप्ने राज्य सरकारको निर्णय विरूद्ध व्यापक नाराबाजी गर्दै शुरू भएको यस जुलूसमा सहभागी बन्ने सबैले हात-हातमा गोजमुमोको झण्डासँगै कालो झण्डा अनि राष्ट्रिय झण्डा पनि बोकेका थिए। जुन जुलूस यहाँको चौकबजारमा आएर एक जनसभामा पनि परिणत भएको थियो। यसै जनसभालाई सम्बोधन गर्दै गोजमुमो महासचिव रोशन गिरी भोलि सिंहमारीस्थित गोजमुमोको पार्टी कार्यालयअघिबाट बिहान 10.30 बजी जुलूस निकालिने अनि 6 जूनको दिन गोर्खा रङ्गमञ्च भवनअघिबाट जातीय पोसाकमा जुलूस निकालिने जानकारी गराए।

उनले भोलि सिंहमारीबाट निकालिने जुलूस जू रोड, काकझोड़ा भएर चौकबजारमा आई समापन हुने पनि बताए। उनले भने-राज्य सरकारले राज्यभरिका स्कूलहरुमा प्रथम श्रेणीदेखि 10औं श्रेणीसम्म बङ्गला भाषा पढ्नुपर्ने नियम लागू गरेर यसैको माध्यमबाट गोर्खाल्यान्डको माग मास्ने षड़्यन्त्र गरिरहेको छ। यसलाई गोर्खा जातिले कदापि सहनेछैन। यसैबीच, उनले गोजमुमोले आयोजना गरिरहेको जुलूसमा विद्यार्थीहरुलाई सहभागी नबनाएको बताउँदै अघि भने-अदालतको निर्देशलाई गोजमुमोले सम्मान गर्छ, यसैले गोजमुमोले जुलूसमा विद्यार्थीहरुलाई सामेल गराएको छैन। तरै पनि भोलिदेखि पाँचौं श्रेणीदेखि माथिका विद्यार्थीहरुले पनि कालो व्याज लगाएर बंगला भाषा थोप्ने सरकारको निर्णयको प्रतिवाद जनाउने अपील गरे।

यसका साथै उनले जुलूसमा सहभागी बन्न नपाउने जनतालाई पनि कालो ब्याज लगाएर प्रतिवाद जनाउने आह्वान गरे। उनले राज्य सरकारले बङ्गला भाषा अनिवार्य गर्ने लिएको निर्णयलाई फिर्ता नलिएसम्म गोजमुमोले आफ्नो आन्दोलन जारी राख्ने तय गरेको बताउँदै आजको प्रतिवाद जुलूस हेरेर पनि सरकारले बुझ्नपर्ने सुझाउ पेश गरे। उनले भोलि यसै विषय लिएर डुवर्सका 5 वटा स्थानमा पनि प्रतिवाद जुलूस निकालिने तय भएको पनि जानकारी गराए।

स्मरण गराइन्छ, 5 जूनको दिन राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी साँझपख मिरिक आउने भएकी छन्, जसको मिरिकमा एक सभालाई सम्बोधन गरेपछि दार्जीलिङ आउने कार्यक्रम छ। तर के मुख्यमन्त्री ममता व्यानर्जी दार्जीलिङमा रहेको समय पुलिस प्रशासनले गोजमुमोलाई राज्य सरकारकै विरोधमा प्रतिवाद जुलूस निकाल्ने अनुमति दिन्छ? भन्ने प्रश्‍न अहिले ठूलै चर्चाको विषय पनि बनेको छ।

यद्धपि, गोजमुमोलाई 5 जूनको दिन निकाल्ने जुलूसको लागि पनि प्रशासनिक अनुमति प्राप्त भएको छ। यसबारे दार्जीलिङका पुलिस अधीक्षक अमित पी. जाभाल्गीसित सोध्दा उनले भने-पुलिसले गोजमुमोलाई 5 जूनमा निकाल्ने जुलूसको लागि अनुमति दिने निर्णय लिएको छ, तर जहाँ मुख्यमन्त्रीले प्रशासनिक कार्यक्रमहरुको आयोजना गर्नेछिन्, त्यहाँ जुलूस निकाल्नेहरुलाई जाने अनुमति भने दिइनेछैन। जहाँ सरकारी कार्यक्रमहरु हुनेछ, ती स्थानहरुमा सुरक्षाको कठोर व्यवस्था गरिनेछ। यदि जुलूस सरकारी कार्यक्रम हुने स्थानमा जबर्जस्ती जान चाहन्छ भने उनीहरु विरूद्ध तत्कालै कार्वाही गरिनेछ। उनले हाल दार्जीलिङमा लगभग 5,000 केन्द्रिय सुरक्षा बल अनि अन्य सुरक्षाकर्मी रहेको पनि उनले जानकारी गराए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन