भाषाको मुद्दामा भागोपले तोड्यो मौनता : मुख्यमन्त्रीको वयानपछि भागोपले भावी रणनीति तयार गर्ने

प्रज्ज्वल छेत्री
कालेबुङ, 5 जुन।


आफैलाई भारतीय गोर्खाहरूको छाता सङ्गठन बताउने भागोप (भारतीय गोर्खा परिसङ्घ) ले अन्ततः भाषाको मुद्दामा मौनता तोडेको छ। आजसम्म भागोप मौन रहुनुका पछि परिसङ्घका राष्ट्रिय अध्यक्ष सुखमान मोक्तानले दुईवटा कारण देखाएका छ। पहिलो, जब भाषाको मुद्दा अघि आयो तब उनी उत्तर-पूर्वाञ्चलको भ्रमणमा थिए। दोस्रो, भागोपलाई लाग्छ, बङ्गला भाषा सम्बन्धी मुख्यमन्त्री, मन्त्री एवं हिल तृणमूल कङ्ग्रेसका नेताहरूको छुट्टै-छुट्टै वयान आइरहेको छ। जसले गर्दा यो बङ्गला भाषा साँच्चै अनिवार्य गराइएको हो कि होइन? भन्नेकुरामा भागोप आफै स्पष्ट थिएन। यसैले भागोप आजसम्म मोन रहेको हो।
अझपनि भागोपले मुख्यमन्त्रीको आजको वयान पर्खिरहेको छ। यसअघि मुख्यमन्त्री आफैले बङ्गालमा बसेपछि बङ्गला भाषा पढ्नैपर्ने निर्देश दिइसकेकी हुन्। तरै पनि आज मिरिकमा आएर मुख्यमन्त्रीले दिने वक्तव्यमाथि नै भाषा सम्बन्धी भागोपको अडान र भावी कार्यक्रम निर्भर रहने भएको छ।
‘आज मिरिकमा हुने सभाबाट भाषालाई लिएर मुख्यमन्त्रीको स्पष्ट विचार अघि आउनसक्छ’-पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुखमान मोक्तानले भने, ‘त्यसै वयानलाई आधार गरेर हामी भाषा नीतिमाथि बोल्नसक्छौँ।’
उनले आजको मुख्यमन्त्रीको वक्तव्यपछि गोजमुमोको कार्यक्रमलाई पनि हेरेर भागोपले कार्यक्रमको मार्ग प्रशस्त गर्ने आशय पोखेको छ।
भागोपले अझ पनि मुख्यमन्त्रीको स्पष्ट वयान पर्खिरहेको भए पनि तेस्रो भाषा थोपिएको सम्बन्धमा भने आपत्ति जनाएको छ।
‘ भाषा भनेको जातिको संस्कृतिसित जोडिएको कुरा हो। हामीलाई बङ्गाली जातिसित वैमन्ष्यता छैन। तर बङ्गला भाषा अनिवार्य बनाइएकोमा आपत्ति छ’-मोक्तानले भने।
उनले बङ्गाल सरकारको भाषिक नीतिको विरोध जनाउँदै यसबारे भाषा-साहित्यसित सम्बन्धित सङ्घ-संस्थाहरूले कार्यक्रमको दायित्व लिन आह्वान गरेका छन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मोक्तानले अझ जनाए अनुसार नेपाली भाषालाई भाषा नीति ऐन अन्तर्गत 1961 सालमा बङ्गालमा सरकारी भाषाको रूपमा अन्तर्भुक्त गरिएको हो। नेपाली भाषा संविधानमा अनि अकाडेमीमा मान्यतप्राप्त राष्ट्रिय भाषा हो। धेरै भाषाविद्हरूले नेपाली भाषालाई उन्नत र म्यूजिकल ल्याङ्वेजका रूपमा मानिलिएका छन्। मोक्तानले नेपाली भाषालाई मान्यता दिलाउन गरिएको आन्दोलनको चर्चा गर्दै सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी र दिलकुमारी भण्डारीको योगदानको पनि चर्चा गरे।
‘भाषा आन्दोलनको समय दिलकुमारी भण्डारी संसदमा रोएकी थिइन। त्यसबेला उनको आँसु पुछिदिने वर्तमान बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी पनि थिइन्’-मोक्तानले भने, ‘ममता ब्यानर्जी पनि त्यसबेला हाम्रा सहयात्रीका रूपमा थिइन्।’
त्यससमय देशका विभिन्न राज्यहरूसितै वामपन्थीहरूले पनि भाषा आन्दोलनलाई सहयोग गरेको कुरा उल्लेख गर्दै मोक्तानले नेपाली भाषासितै बङ्गालमा बस्ने अन्यभाषी समुदायको पनि भाषा, संस्कार, संस्कृतिको सुरक्षा हुनुपर्ने माग गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन