जुलूस रोक्न सक्ने गोजमुमोको आशङ्काः अत्याचार भए अनिश्‍चितकाल पहाड़ बन्दको चेताउनी

मोहन लामा

दार्जीलिङ, 5 जून।


गोजमुमोले 6 जूनदेखि निकाल्ने प्रतिवाद जुलूसलाई पुलिस प्रशासनले रोक्न सक्ने आशङ्का व्यक्त गरेको छ। तर यदि गोजमुमोको जुलूस रोक्ने अनि जुलूसमाथि अत्याचार गर्ने कार्य भए गोजमुमोले तत्कालै अनिश्‍चितकालीन पहाड़ बन्दको घोषणा गर्ने चेताउनी दियो। आज दोस्रो दिन पनि गोजमुमोले यहाँको सिंहमारीस्थित गोजमुमो पार्टी कार्यालयअघिबाट प्रतिवाद जुलूस निकाल्यो, जसले जू रोड हुँदै शहर विभिन्न स्थानहरुको परिक्रमा गरेपछि यहाँको चौकबजारमा आएर एक जनसभामा परिणत भयो। यसै जनसभालाई सम्बोधन गर्दै गोजमुमो अध्यक्ष विमल गुरूङले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीको नीतिको कठोर आलोचना गरे।

यसैबीच, उनले भोलि यहाँको गोर्खा रङ्गमञ्च भवनबाट शुरू गरिने प्रतिवाद जुलूसमा सम्पूर्ण जनतालाई चौबन्दी-चोली, ढाका टोपी, दौरा-सुरूवाल लगाएर सहभागी बन्ने अपील गर्दै राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसँगै राज्यका अन्य मन्त्रीहरुलाई पनि हामी अलगै हौं र तिमीहरुसित हाम्रो भेषभूषा पनि मिल्दैन भन्ने देखाउनुपर्छ भन्ने आह्वान गरे। यसरीनै उनले दार्जीलिङ पहाड़का होटल व्यवसायीहरुलाई पनि ढुक्कले नबस्ने सतर्क गराउँदै भने-राज्यकी मुख्यमन्त्री भोलि दार्जीलिङमानै हुनेछिन् अनि गोजमुमोको यस प्रतिवाद जुलूसलाई रोक्नको लागि पुलिस प्रशासनले कुनै पनि चाल चल्नसक्छ। तर जनता डराउनु हुँदैन, आउनुपर्छ जुलूसमा अनि देखाउनुपर्छ हाम्रो भाषामाथि अतिक्रमण गर्ने राज्यकी मुख्यमन्त्रीसँगै सम्पूर्ण मन्त्रीहरुलाई।

यसैले भोलि ठीक बिहान 11 बजी प्रत्येक जनता यहाँको गोर्खा रङ्गमञ्च भवनअघि भेला हुनपर्छ अनि सबैले आफ्नो जातीय पोसाक लगाउनुपर्छ। यदि दौरा-सुरूवाल छैन भने केवल ढाकाको टोपी मात्रै लगाए पनि पुग्छ, उनले भने। यस जुलूसमा प्रत्येक चियाबगान, बस्ती क्षेत्रका जनतालाई पनि सामेल भइदिने उनले अपील गरेका छन्। उनले भने-हाम्रो यो लड़ाईं बंगाल सरकारको कालो नीति विरूद्ध भइरहेको छ, यसै कालो नीतिको लागि हामीले बंगाल सरकारलाई जवाब दिनुपर्छ। हामीले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीलाई धेरै खदा-मालाले स्वागत जनायौं, अब यसपाली कालो झण्डाले स्वागत जनाइनेछ। यसैले भोलिदेखि दार्जीलिङ पहाड़का प्रत्येक गाड़ीमा पनि कालो झण्डा लगाइदिने उनले अपील गरे। उनले अझै अघि भने-दार्जीलिङमा धेरै होटलहरु बंगाली दाज्यू-भाइलेनै सञ्चालन गरिरहेका छन्।

उनीहरुले राम्रो कमाई गरिरहेका छन्, यो अति उत्तम कुरा हो। तर आज राज्य सरकारले जबर्जस्ती नीति अप्नाएर यी होटल व्यवसायीहरुको पेट मार्ने प्रयास गरिरहेको छ। यसैले दार्जीलिङ पहाड़मा होटल व्यवसाय गर्नेहरु ढुक्कसित नबसे हुन्छ, यदि गोजमुमोको प्रतिवाद जुलूसमाथि कुनैप्रकारको अत्याचार हुन्छ भने पहाड़ अनिश्‍चितकाल बन्द हुनेछ। यसरीनै गाड़ी चालकहरुले पनि आफ्नो परिश्रमको कमाई खाइरहेका छन्, तर उनीहरूको पेट मार्ने कार्य पनि राज्य सरकारले गरिरहेको ंछ। यदि राज्य सरकारले जबर्जस्ती आफ्नो नीति पहाड़मा पनि थोप्न चाहन्छ भने गोजमुमो पनि आफ्नो जबर्जस्ती नीति थोप्न बाध्य हुनेछ।

राज्य सरकारले पहाड़का स्कूलहरुमा बंगला भाषा अनिवार्य गर्छ भने दार्जीलिङ पहाड़मा आउने जिल्लापाल, पुलिस अधीक्षक, महकुमा अधिकारी आदिले पनि नेपाली भाषा अनिवार्यरूपले सिक्नुपर्छ। यदि उनीहरुले पनि नेपाली भाषा बोल्न सक्तैन अनि चाहँदैन भने त्यसको परिणाम नकारात्मक हुनेछ, उनले चेताउनी दिए। उनले भने-गोर्खा जातिमाथि बेसी अत्याचार उचित होइन, अहिले कालो झण्डा लगाएर मुख्यमन्त्रीको विरोध गरिन्दैछ, भोलि अन्य केही देखाउन नपरोस्। यदि गोर्खा जातिको जिब्रो काट्ने कार्य हुन्छ भने यसलाई कदापि सहने छैनौं, अब खरानी होइन, आगो बनेर जिउनुपर्छ। हामीमाथि कति चलाउँछ गोली पर्वाह छैन, पर्वाह छ त केवल जातीय अस्मिता र अस्तित्व रक्षाको। यसरीनै उनले आगामी 8 जूनसम्मको जुलूसमा जनतालाई निर्धक्कसित सामेल भइदिने पनि अपील गर्दै यसमाथि अन्याय भए खुनको खेल हुनसक्ने पनि चेताउनी दिए।

आफ्नो भाषणको अन्तमा उनले जोशसित भाषा हाम्रो प्राण हो, भाषा हाम्रो आमा हो, आमालाई अत्याचार हुन दिंदैनौं, बंगाल हाम्रो चिहान हो-बंगालमा हामी बस्दैनौं, वी वान्ट गोर्खाल्यान्डको नाराम पनि बुलन्द पारे।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन