जल्यो मुख्यमन्त्रीको पुतलाः ममता व्यानर्जी ‘गो व्याक’-को नारा ­

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 6 जून 2017


ममता व्यानर्जी गो व्याकको नारासितै गोजमुमोले थप्यो भोलिदेखि राँके जुलूसको कार्यक्रम पनि। यसरीनै आज गोजमुमो समर्थकहरुले मुख्यमन्त्री ममता व्यानर्जीको पुतला पनि दहन गरे। तर आज गोजमुमोले जुन ठाउँबाट प्रतिवाद जुलूस शुरू गर्यो, त्यहाँदेखि अन्त भएको चौकबजारसम्मनै आज पुलिसकर्मी एकैजना पनि देखिएन। यद्यपि, आज गोजमुमोले यहाँको गोर्खा रङ्गमञ्च भवन परिसरबाट जुलूस निकाल्नअघि राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले सिंहमारी इलाकामा पैदल भ्रमण गरेकी थिइन्। तरै पनि आज उनलाई कसैेले कालो झण्डा देखाएर विरोध गरेको जानकारी पाइएन। गोजमुमोको निर्धारित कार्यक्रमअनुसार, आज तेस्रो दिन पनि गोजमुमोले यहाँको गोर्खा रङ्गमञ्च भवन परिसरबाट प्रतिवाद जुलूसको आयोजना गरेको थियो, जसले गान्धी रोड, काकझोड़ा आदि स्थान हुँदै चौकबजारमा आएर एक जनसभाको रूप लिएको थियो।

यसै जनसभालाई सम्बोधन गर्दै गोजमुमो दार्जीलिङ महकुमा समिति अध्यक्ष एवं दार्जीलिङ नगरपालिकाका अध्यक्ष डीके प्रधानले भने-बंगाल सरकारले दार्जीलिङ पहाड़, तराई अनि डुवर्स इलाकामा बंगला भाषा थोप्ने प्रयास गरेको यो प्रथम घट्ना होइन। गोर्खा जातिमाथि दमन गर्नको लागिनै बंगाल सरकारले बंगला भाषा थोप्ने प्रयास गरिरहेको छ। जसलाई कुनै पनि स्थितिमा स्वीकार गरिनेछैन। यसैबीच, उनले अब यो भाषा आन्दोलनलाई गोर्खाल्यान्डको आन्दोलनमा परिणत गरेर लाने पनि जनतासमक्ष अपील गरे। उनले भने-जबसम्म गोर्खा जाति बंगालको प्रशासनिक व्यवस्थाभित्र रहनेछ, तबसम्म यस जातिमाथि अन्याय र अत्याचार भइरहनेछ। यसैले गोर्खा जातिको लागि अलगै राज्यको निर्माण हुनपर्छ। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले हिजो मिरिकमा आयोजित जनसभालाई सम्बोधन गर्दै कालो झण्डाले कञ्चनजंघा छेलिन सक्तैन भन्ने दिएको बयानमाथि कटाक्ष प्रहार गर्दै उनले भने-मुख्यमन्त्री व्यानर्जीको कालो कानूनले कञ्चनजंघा छेलिन सक्तैन।

गोजमुमोले कालो झण्डा उनकै कालो नीतिको विरोध गर्न लगाएको हो, यसलाई उनले बुझ्नपर्छ। यसैबीच, उनले पहाड़का विद्यार्थीहरुलाई पनि ममता व्यानर्जीलाई हामी बंगला पढ्न चाहँदैनौं भनेर पत्र लेख्ने होमवर्क दिंदै भोलिको प्रतिवाद जुलूस यहाँको दार्जीलिङ सरकारी महाविद्यालयमुनिदेखि बिहान 10.30 बजी शुरू हुने पनि जानकारी गराए। यसका साथै उनले भोलि र पर्सी हुने जुलूसमा प्रत्येक घरबाट एकजना अनिवार्यरूपले सामेल हुनैपर्ने पनि आह्वान गरेका छन्। यसरीनै गोजमुमो केन्द्रिय समिति सदस्य एवं पार्टीका कानूनी सल्लाहकार तिलकचन्द रोकाले पनि यस जनसभालाई सम्बोधन गर्दै यस आन्दोलनलाई अब गोर्खाल्यान्डको आन्दोलनमा परिणत गरेर लानुपर्ने सुझाउ पेश गरे।

उनले भने-अब बंगाल सरकारको अधीनमा हुने नोकरीका परीक्षाहरुमा पनि नेपाली भाषामा प्रश्‍न पत्र आउनुपर्छ अनि यसको उत्तर नेपालीमानै दिन पाउनपर्छ भन्ने आन्दोलन पनि गर्नुपर्छ। यदि बंगला भाषाले संवैधानिक मान्यता पाएको हो भने नेपाली भाषाले पनि संवैधानिक मान्यता पाइसकेको छ। यसैले बंगाल सरकारले बंगला भाषाको सम्मान गर्दै यसलाई राज्यभरिका विद्यार्थीहरुको लागि पढ़्न अनिवार्य गर्छ भने बंगाल सरकारले नेपाली भाषालाई पनि यस्तै सम्मान दिनुपर्छ। उनले भने-राज्यमा कुै नोकरी पाउनको लागि तृणमूल कंग्रेसको झण्डा समात्नैपर्छ भन्ने कहाँ लेखिएको छ? तब किन यस सरकारले तृणमूल कंग्रेसको झण्डा समात्नेहरुलाई मात्रै नोकरी दिने कार्य गर्छ। यसैबीच, उनले भोलि साँझ 6.30 बजी यहाँको गोर्खा रङ्गमञ्च भवन परिसरबाटै राँके जुलूस निकाल्ने तय गरिएको पनि जानकारी गराए। स्मरण गराइन्छ, राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी हिजोनै दार्जीलिङ आएकी छन् र उनी आगामी 8 जूनसम्म यहाँनै बस्ने भएकी छन्। उनी दार्जीलिङमा भएको समय गोजमुमोले आफ्नो आन्दोलनलाई तीव्र पारिरहेको छ, तरै पनि यस विरूद्ध पुलिस प्रशासनले कुनै कार्वाही गरेको छैन।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन