5 डेसिमल भए आन्दोलनः  डीटीडीपीएलयू / जति जमीन छ, त्यतिनै पाउँछः तृकं

मोहन लामा

दार्जीलिङ, 6 जून 2017


दार्जीलिङ पहाड़ मात्रै होइन, अब पर्जा-पट्टाको लागि तराई अनि डुवर्सवासी चियाश्रमिकहरुका लागि पनि बाटो खोलियो। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले थर्बु चियाबगान अधीनस्थ जमीनमा बसोबासो गर्ने जनतालाई उनीहरु बस्दै आएको जमीनको मालिकाना हक प्रदान गरेपछि तृणमूल काङ्ग्रेससँगै गोजमुमोको श्रमिक सङ्गठनले पनि यसलाई स्वीकार गरेकछ। तर गोजमुमोको श्रमिक सङ्गठनले मिरिकवासी जनतालाई केवल 5 डेसिमल मात्रै जमीनको पर्जा-पट्टा दिने कार्य गरे, यसको विरोधमा कठोर आन्दोलन गर्ने पनि चेताउनी दिएको छ।

यसबारे गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन तृणमूल कङ्ग्रेसको श्रमिक सङ्गठन चियाबगान तृणमूल कङ्ग्रेस मजदूर युनियनले के भनेका छन्, यसको विस्तृत विवरण यहाँ प्रस्तुत गरिएको छ। यसैबीच, चियाश्रमिकहरुका लागि लागू हुनपर्ने न्यूनत्तम रोजी ऐनबारे यी दुइ सङ्गठनको कस्तो अड़ान छ। यसबारे गोजमुमोको श्रमिक सङ्गठनका सहसचिव प्रशान्त प्रधान तृणमूल कङ्ग्रेसको श्रमिक सङ्गठनका अध्यक्ष जेबी तामाङले यसो भनेका छन्-

जेबी तामाङः चियाश्रमिकहरुका लागि न्यूनत्तम रोजी ऐन लागू हुनैपर्छ अनि राज्य सरकार पनि यसको लागि तयार छ। यसैले राज्य सरकारले न्यूनत्तम रोजी ऐनको लागि लगातार बैठकहरुको आयोजना गरिरहेको छ र आगामी 9 जूनको दिन पनि पुनः बैठक हुनेछ। यस मागलाई लिएर आगामी दिनमा फेरि सङ्गठनले चियाबगान मालिक सङ्गठनहरुका कार्यालय घेराउ गर्नेछ। अहिलेसम्म चियाबगान मालिकहरुनै न्यूनत्तम रोजी ऐनको लागि भइरहेको बैठकमा आएका छैनन्, यसैले आगामी दिनमा हुने बैठकमा पनि मालिकपत्र नआए मालिक सङ्गठनका कार्यालयहरु घेराउ गरिनेछ।

प्रशान्त प्रधानः गोजमुमोको श्रमिक सङ्गठनले न्यूनत्तम रोजी ऐन लागू गर्ने मागमा आन्दोलन शुरू गर्दा तृणमूल काङ्ग्रेसको श्रमिक सङ्गठन जन्मिएको पनि थिएन। हामीले 2008-देखिनै यसको लागि आन्दोलन गर्दै आइरहेका छौं। तर यस विषयलाई लागू गर्न राज्य सरकारलेनै ढिलाई गरिरहेको छ। अहिले आएर तृणमूल काङ्ग्रेसको श्रमिक सङ्गठनले न्यूनत्तम रोजी ऐनको लागि केवल नाटक गरिरहेको छ। तरै पनि सरकारमा रहेको पार्टीको श्रमिक सङ्गठनको पनि अहिले आएर यस विषयमा आँखा खोलियो भने यो राम्रो कुरा हो, तर तृणमूल कङ्ग्रेसको श्रमिक सङ्गठनले न्यूनत्तम रोजी ऐनको लागि दुइ नम्बरी काम भने गर्नु हुँदैन।

जेबी तामाङः राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले नगरपालिका चुनाउअघि मिरिकवासी जनतालाई जुन वचन दिएकी थिइन्, त्यो वचन उनले पूरा गरेकी छन्। अब पहाड़का अन्य चियाबगानवासी जनतालाई पनि उनीहरु बस्दै आएको घर-घड़ेरीका साथै उनीहरुको स्वामित्वमा रहेको कोठेबारी आदिको पनि पर्जा-पट्टा दिनुपर्छ। यस विषय लिएर हामीले मुख्यमन्त्रीलाई एक ज्ञापन पनि दिएका छौं।

 

प्रशान्त प्रधानः चियाश्रमिकहरुका लागि न्यूनत्तम रोजी ऐन केन्द्र सरकारद्वारा जारी गरिएको अधिसूचनाको आधारमा हुनपर्छ अनि 9 जूनको बैठकमा पनि यसबारे ठोस निर्णय हुँदैन अनि राज्यको सत्तारूढ़ दल तृणमूल काङ्ग्रेसको श्रमिक सङ्गठनले न्यूनत्तम रोजी ऐनको साटो अन्तरिम रोजीको कुरा उठाउँछ भने 12 र 13 जूनको बन्द कार्यक्रम भएरै छोड़्नेछ। 12 जून पहाड़, तराई अनि डुवर्सका चियाबगानहरु बन्द हुनेछन् अनि 13 जून आम हड़्ताल हुनेछ। यसको लागि सम्पूर्ण श्रमिक सङ्गठनहरुले पनि साथ दिनुपर्छ।

जेबी तामाङः तृणमूल काङ्ग्रेसको श्रमिक सङ्गठनले न्यूनत्तम रोजी ऐन लागू हुनपर्ने, चियाश्रमिकहरु बस्दै आएको जमीनको मालिकाना हक दिनुपर्ने मागसँगै अन्य मागहरु पनि मुख्यमन्त्रीसमक्ष पेश गरेका छौं। तर गोजमुमोको श्रमिक सङ्गठनलेनै चियाबगान मालिकपक्षसित मिलेर न्यूनत्तम रोजी ऐन लागू हुन दिएको छैन। यसलाई चियाश्रमिकहरुले पनि बुझ्नपर्छ।

प्रशान्त प्रधानः मिरिकवासी जनतालाई पर्जा-पट्टा दिने कार्य भयो, यो राम्रै कुरा हो। अब सबै चियाबगानवासी जनताका लागि पनि बाटो खोलिएको छ। तर 5 डेसिमलको मात्रै पर्जा-पट्टा दिइएको हो भने यसलाई हामी विरोध जनाउँछौं अनि यसको विरोधमा कठोर आन्दोलननै गर्नेछौं। चियाबगानवासी जनताको स्वामित्वमा जति जमीन छ, कोठे बारी आदि छन्, त्यो सम्पूर्ण जमीनकोनै मालिकाना हक दिनुपर्छ अनि यो अधिकार मिरिकवासी जनतामा मात्रै सीमित राख्नु उचित हुँदैन।

जेबी तामाङः 5 डेसिमल मात्रै होइन, चियाबगानवासी जनताको स्वामित्वमा जति जमीन छ, त्यो सम्पूर्ण जमीनको मालिकाना हकनै उनीहरुलाई दिने भएको छ, जसको प्रक्रिया हिजो मुख्यमन्त्रीकै हातबाट शुरू भइसकेको छ। यति मात्रै होइन, राज्य सरकारले पर्जा-पट्टा दिने काममा कसैलाई छुट्याएको छैन। गोजमुमोका समर्थकहरुले पनि पर्जा-पट्टाको अधिकार पाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन