बोल्यो मोर्चा तराई डुवर्सको निम्तिः ‘थोपे अशान्ति हुनेछ’

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 6 जुन 2017


दार्जीलिङ पहाड़ अनि तराई डुवर्सका विद्यालयहरूमा बङ्गला भाषालाई तेस्रो भाषाको रूपमा बाध्यतामूलक अध्ययन गराइने एवं सोही विषयसित सम्बन्धित कतिपय बूँदाहरूलाई लिएर आज जीटीएक्षेत्रका तीनजना विधायक क्रमैले अमरसिहँ राई (दार्जीलिङ), डा. रोहित शर्मा (खरसाङ) अनि  सरिता राई (कालेबुङ)लगायत जीटीए शिक्षा विभागका सभासद् रोशन गिरी अनि जीटीएका मुख्य सल्लाहकार स्वराज थापाले पश्चिम बङ्गाल विधानसभाका स्पीकर विमान वसुसित भेटवार्ता गरी एउटा ज्ञापन सुम्पिएको छ।

प्रतिनिधि टोलीले चड़ाएको उक्त ज्ञापनमा पहाड़, तराई- डुवर्सका विद्यार्थीहरूलाई बाध्यतामूलक बङ्गला भाषा पढ़ाइने घोषणाको विरोध गर्दै उक्त निर्णय फिर्ता नलिएर पहाड़ अनि तराई-डुवर्स,क्षेत्रमा अशान्ति सृष्टि हुने सम्भावना रहेको उल्लेख गरिएको छ।

उक्त क्षेत्रका सबै शैक्षिक संस्थान, बुद्धिजीवी एवं समग्र जनताले नै मुख्यमन्त्री ममता व्यानर्जीको उक्त निर्णयको विरोध गरिरहेको उल्लेख गरिएको छ भने पहाड़, तराई- डुवर्सका समग्र मानिसहरूले बङ्गला भाषाको विरोध नगरेको पनि स्पष्ट पार्दै यसको निम्ति स्वेच्छाले भाषा छनौट गर्ने अधिकार प्रदान गरिनुपर्ने सबैको माग रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाली भाषासित उक्त क्षेत्रका मानिसहरूको सांस्कृतिक, सामाजिक अनि राजनैतिक भावना जोड़िएको हुनाले नेपाली भाषीहरूमाथि जबरजस्ती बङ्गला भाषा थोपिँदा नेपाली भाषाको मर्यादामा ठेस पुगिरहेको सबैले बोध गरिरहेको पनि ज्ञापना उल्लेख गरिएको छ।

जीटीएक्षेत्रका तीनैजना विधायकहरूको हस्ताक्षरमा तयार पारिएको उक्त ज्ञापनमा बङ्गला भाषा तेस्रो भाषाको रूपमा बाध्यतामूलक थोप्ने कार्य गरिएको खण्डमा निम्नलिखित समस्याहरू देखापर्ने उल्लेख गरिएको छः-

-पहाड़का शैक्षिक संस्थानहरूमा नेपाल, भूटान, थाइल्याण्डलगायत अन्य विदेशी क्षेत्रहरूबाट विद्यार्थीहरू पढ़्न आउने गर्छन् जसलाई बङ्गला भाषासित कुनै सरोकार रहँदैन। 

-एक्कासी नयाँ भाषा पढ़्न बाल अनि युवा मस्तिष्कलाई धेरै कठीन पर्न जानेछ जसले गर्दा अन्य भाषा अनि पाठ्यक्रमहरू पढ़्न पनि उनीहरूलाई समस्या अनि अरूचि सृष्टि हुन जानेछ। 

-यसक्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरूलाई उनीहरूको भाषाहरू क्रमैले नेपाली, अङ्ग्रेजी, तिब्बती (जोङ्खा) आदिबाहेक राष्ट्रिय भाषा हिन्दी पढ़ाइएको खण्डमा बङ्गालदेखि बाहिर आफ्नो भविष्य निर्माण गर्न धेरै सहज हुनेछ। यद्धपि बङ्गालभित्रै बसेर आफ्नो भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूको निम्ति भने ऐच्छिक तौरमा बङ्गला भाषा पढ़्ने प्रावधान मिलाउन सकिन्छ। 

-बङ्गला भाषालाई तेस्रो भाषाको रूपमा अनिवार्य गरिएको खण्डमा बाहिरबाट बङ्गाली शिक्षकहरू नियुक्त गरिनुपर्ने हुन्छ। ती बाहिरका शिक्षकहरूलाई पहाड़को अभेक क्षेत्रका विद्यालयहरूमा गएर पढ़ाउनुपर्ने हुन्छ। तर उनीहरूमा नेपाली भाषाको ज्ञान नरहने हुनाले अभेकक्षेत्रका विद्यार्थीहरूलाई पढ़ाउन- सिकाउन धेरै समस्या हुन जानेछ। ती विद्यार्थीहरूलाई उत्कृष्ट परीक्षाफल हासिल गर्न असम्भवप्रायः हुन जानेछ।

उल्लिखित समस्याहरूले पहाड़ अनि तराई डुवर्सक्षेत्रका विद्यार्थीहरूको शिक्षामाथि ठूलै आपद आइलाग्ने जनाउँदै यस विषयमा गम्भीरतापूर्वक मनन गरी मुख्यमन्त्री ममता व्यानर्जीसित चर्चा- परिचर्चा गरिदिने ज्ञापनमार्फत् पहाड़का तीनजना विधायकहरूले विधानसभा स्पीकर विमान बोसलाई अपील गरिएको छ।

यसबाहेक गत 3 मईको दिन गोर्खा रङ्गमञ्च भवनमा आयोजित समीक्षा सभामा उपस्थित विभिन्न शैक्षिक संस्थानका प्रधान अध्यापक, प्राचार्यगण, साहित्यिक व्यक्तित्ववर्ग एवं गोजमुमो नेताहरूको विरूद्ध सुओ- मोटो मुद्दा दर्ता गरेकोमा पनि आपत्ति जनाउँदै उक्त मुद्दा फिर्ता लिनुपर्ने विषयमा पनि विधानसभा स्पीकरको पक्षबाट हस्तक्षेप गरिदिने माग गरिएको छ।

उक्त सभामा उपस्थित साहित्यिक व्यक्तित्व एवं शैक्षिक संस्थानका प्रतिनिधिहरूले बङ्गला अथवा बङ्गला भाषाको विरोध गर्ने उद्धेश्यले होइन तर बङ्गला भाषा जबरजस्ती थोप्नु होइन तर ऐच्छिक विषय बनाइनुपर्ने विचार व्यक्त गर्नमात्र आएका थिए भन्ने उल्लेख गर्दै ज्ञापनमा उनीहरूमाथि गैर जमानती अपराधिक मुद्दा थोपेर मौलिक अधिकार हनन गर्ने कार्य गरिएको पनि ज्ञापनमा आरोप लगाइएको छ भने उक्त सबै मुद्दाहरू तुरून्तै फिर्ता लिनुपर्ने माग पनि गरिएको छ।

आजको भेटवार्तामा विधानसभा स्पीकरसँग नेपाली भाषालाई डब्लुबीसीएसलगायत अन्य सरकारी परीक्षाहरूमा वैकल्पिक भाषाको रूपमा मान्यता दिनुपर्ने पनि माग उठाइएको छ।

उक्ति विषयमा लामो चर्चा-परिचर्चापछि विधानसभा स्पीकर विमान बसुले प्रतिनिधि टोलीको तर्फबाट आज राखिएका जम्मै कुराकानी मुख्यमन्त्री ममता व्यानर्जीसमक्ष विस्तारपूर्वक राखिदिने आश्वासन दिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन