स्पेलिङ बी र अमेरिकी नस्लीय चरित्र

 

सौगात


अमेरिका जस्तो अति विकसित राष्ट्रका सुसभ्य, उदार, सुशिक्षित, गणतान्त्रिक, सहिष्णु मानिने नागरिकहरू कोहीबेला यस्तो व्यवहार गर्छन्, लाग्छ उनीहरू जत्तिको असभ्य, अनुदार, अगणतान्त्रिक अनि असहिष्णु संसारमा नै कोही छैनन्। सन्दर्भ भर्खरै विश्वमा नै नामूद खबर च्यानल सीएनएनको एउटा अन्तर्वार्ताको हो।

अमेरिकामा भर्खरै सम्पन्न भएको स्क्रिप्स नेशनल स्पेलिङ् बी प्रतियोगिताकी विजेता १२ वर्षीय अनन्या विनयलाई सीएनएनले एउटा अन्तर्वार्ता लियो। विजेताहरूलाई अन्तर्वार्ता लिनु कुनै ठूलो अनि नौलो कुरा होइन। तर त्यो अन्तर्वार्तामा एङ्करले जुन कुरा सोधिन् अनि जस्तो प्रकारले एउटी छैँटौं कक्षा पढ्ने भारतीय मूलकी बालिकासङ्ग व्यवहार गरिन् त्यसले सारा संसारमा अमेरिकाको मूल अनि नस्लीय चरित्र फेरि एकपल्ट उदाङ्गो बनाइदिएको छ।

सीएनएनको एङ्कर एलिश्यन क्यामेरोटाले अन्तर्वार्ता सकिएपछि टीभी शो चलिरहेकै समय उनलाई कोफेफे (Covfefe) को हिज्जे गर्न लगाइन्। अनन्याले स्वाभाविक  रूपमा यस शब्दको व्युत्पत्ति अनि परिभाषा बताइदिने अनुरोध गरिन्। साधारणतः स्पेलिङ बी प्रतियोगितामा कुनै शब्दको हिज्जे सोधिँदा त्यसको व्युत्पत्ति, त्यसको वैकल्पिक उच्चारण आदि बताइने गरिन्छ। उनको यस अनुरोधलाई अस्वीकार गर्दै दुवै एङ्कर एलिश्यन क्यामेरोटा अनि क्रिश क्यूमोले यो शब्द एउटा बकवास शब्द हो अनि यो शब्द संस्कृतबाट आएको हुनसक्छ अनि तिमीलाई थाहा हुनपर्ने भनेर व्यङ्ग्य कसे।

वास्तवमा यो शब्द भर्खरै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्विटरमा प्रयोग गरेका थिए। उनले प्रयोग गरेको यो नयाँ शब्दले एक प्रकारको हलचल मच्चाइरहेको थियो। अमेरिका जस्तो देशको राष्ट्रपतिको ट्विटलाई बेअर्थको कुरा मान्न सकिँदैन। यसैले यसको अर्थ विभिन्न प्रकारले दिने प्रयास भयो। पछि ट्रम्पले नै यो शब्दको अर्थ आफूलाई पनि थाह नभएको अनि यसको अर्थ कसैले बताउन सक्छ कि भन्ने हल्का फुल्का दिल्लगीको रूपमा यस विवादलाई साम्य गर्ने कोशिश गरे। पछि यो ट्विट नै उनले मेटिदिए। यसरी यो शब्दको कुनै अर्थ नै रहेनछ, केवल एउटा सानो दिल्लगी मात्र रहेछ भन्ने कुरा संसारले थाहा पायो।

दुई एङकरहरूले जब यो एउटा बेअर्थको शब्द संस्कृतमा हुनपर्ने अनि तिमीलाई थाहा हुनपर्ने भन्ने अवहेलनात्मक टिप्पणी गरे, त्यसबेला सारा संसारमा बस्ने भारतीय मूलका मानिसहरू आहत् भए। यसो त भारतीय आर्य भाषाहरूको आमा भाषा संस्कृत आज बोलचालको भाषाको रूपमा छैन। कतिले यसलाई पुरानो भाषा भनेर हेला गर्ने पनि गर्छन्। कतिले यसलाई केवल कर्मकाण्डको भाषाको रूपमा मात्र हेर्छन्। आधुनिक यूरोपीय शिक्षाले सम्पन्न भारतीयहरू संस्कृतसङ्ग आफ्नो सम्बन्ध देखाउनु भनेको पछाडिएको अनि आफूलाई असभ्य, पाखे अनि अन्धविश्वासी देखाउनु सरह मान्छन्। तर संसारभरिका भारतीय मूलका अनि  भारतीय मानिसहरूले किन यसरी संस्कृतमाथि भएको यो टिप्पणीप्रति आफूहरू आहत भएको अनुभव गरे? आज सारा संसारमा सीएनएनका यी दुइ एङकरहरूका व्यवहारलाई नस्लीय व्यवहारको रूपमा हेरिँदै त्यसको भर्त्सना गरिँदैछ। विश्वभरिका सोशल मिडिया मात्र नभएर प्रिन्ट मिडिया अनि टीभी च्यानलहरूले यस कुरालाई गम्भीरतापूर्वक लिइरहेका छन्।

अमेरिकाको नस्लीय चरित्र धेरै पुरानो हो। विशेषगरी यूरोपमा रोमन साम्राज्यको अनि अटोमन साम्राज्यको अन्त भएपछि साना साना देशहरू जन्मिए। ब्रिटानिया, इटालिया, स्पेनिया, जर्मनिया आदि साना साना देशहरू बनिनको पछि वन नेशन थ्योरी वा एक राष्ट्र सिद्धान्तलाई आधार मानिएको थियो।

एउटा भिन्नै राष्ट्र हुनको निम्ति एउटा सिङ्गो भाषा, एउटै संस्कृति अनि एउटै धर्म हुनु आवश्यक ठानेर एउटै प्रकारको धर्म र संस्कृति हुँदा हुँदै पनि केवल भाषाकै आधारमा यी राष्ट्रहरूको निर्माण भएको हो। पछि अङ्ग्रेजहरूले भारतमा मुसलमानहरूलाई पनि यही तर्क र सिद्धान्त राख्दै संस्कृति र भाषा एउटा हुँदा हुँदै पनि दुईप्रकारको धर्म भएकोले तिमीहरू भिन्नै राष्ट्र हौ भनेर हजारौं वर्षदेखि आत्मीयतासङ्ग बसेका भारतीयहरूलाई दुई टुक्रा पारेका हुन्।

आजको अमेरिकामा सङ्ख्यात्मक रूपमा यूरोपबाट गएका अङ्ग्रेजहरूका सन्तानहरू नै बढी छन्। उनीहरूको मनमा पनि कहीं न कहीं यो एक राष्ट्रवादको भावना रहेकै देखिन्छ।  जब अङ्ग्रेजहरूले अमेरिकामा उपनिवेश बसाए, सर्वप्रथम त्यहाँका आदिवासीहरूलाई किनारीकृत गरे। आज पनि अमेरिकाका मूल निवासीहरू विपन्न अवस्थामा जीवन-यापन गर्छन्। वर्षौंदेखि यहाँ दासको रूपमा रहेका कालाहरूलाई अधिकार नदिँदा अमेरिकामा गृहयुद्ध नै सल्किएको इतिहास छ। कालाहरूको पक्षमा उनीहरूको अधिकार दिएकोमा अमेरिकाका तत्कालीन राष्ट्रपति अब्राहम लिङ्कनको हत्या समेत भएको थियो। अमेरिकामा कालाहरूप्रति रहेको हेय दृष्टिकै कारण बराक ओबामाभन्दा अघि कुनै पनि कालाहरू अमेरिकाका सर्वोच्च पदमा आसीन हुनसकेका थिएनन्। आज पनि काला अनि सेताबीचको यो वैमनस्य अनि भित्री लडाइँ जारी नै छ।

अमेरिकामा दिनौंदिन भारतीयहरू अनि दक्षिण एशियालीहरूको बढ्दो वर्चस्वले त्यहाँका अमेरिकली नागरिकहरू आफूलाई असुरक्षित महसुस गर्न थालेका छन्। आई टी, चिकित्सा, शिक्षा अनि विभिन्न तकनीकी क्षेत्रमा बढ्दै गएको उनीहरूको प्रवेशले अमेरिकी नागरिकहरूमा बेरोजगारीको समस्या बढ्दै जाने भयले नै ट्रम्पले आफ्नो शासनकालमा मूल अमेरिकीहरूलाई बढी प्राथमिकता दिने घोषणा गरेका थिए। उनको यो कट्टर अमेरिकी शैलीले नै उनलाई व्हाइट हाउसको बाटो खोलिदिएको हो। भारतीय मूलका बाल-बालिकाहरूको सबै क्षेत्रमा अभूतपूर्व सफलता अनि विकाशले अमेरिका आज भयभीत छ। यही स्पेलिङ बी प्रतियोगिताकै कुरा गर्नु हो भने पनि लगातार तेह्रौंचोटि भारतीय मूलका नानीले विजय प्राप्त गरेपछि भारतीयहरूको बौद्धिक स्तरदेखि अमेरिका डराएको छ। समय समयमा भारतीयहरूमाथि गरिने हमला, हिंसा, नस्लीय कटाक्ष आदिले यो कुरा छर्लङ्ग पारिसकेको छ।

अहिलेको घटनाको जुन प्रकारले निन्दा भइरहेको छ, त्यसले एउटा कुरा अवश्य स्पष्ट पारेको छ, संसारको कुनै कुनामा बसे पनि आफ्नो मूल भाषाको  अगाध माया हुँदो रहेछ। यसलाई कुनै पनि प्रकारले मेट्न नसकिँदो रहेछ। भाषाले कुनै पनि व्यक्तिको परिचय दिँदो रहेछ। संसारको जुनै पनि भाषामा जति नै पोख्त आफूलाई ठाने पनि उसको परिचय उसको आफ्नो मातृभाषा नै हुँदो रहेछ। संस्कृत आज कसैको मातृभाषा नरहे पनि यसलाई भारतीय उपमहाद्वीपको आमा भाषाको रूपमा श्रद्धा गरिने गरिन्छ। हिन्दु, बौद्ध, जैन अनि दक्षिण भारतीय दर्शन अनि साहित्यको  उत्स अनि भण्डार संस्कृतमा नै खोज्नपर्ने हुन्छ।  संस्कृत भाषाको अपमानलाई सबैले आफ्नो आमा, आफ्नो देश, आफ्नो संस्कृति, आफ्नो भाषा अनि आफ्नो परिचयप्रतिको अपमानको रूपमा लिइरहेका छन्  अनि घोर विरोध जनाइरहेका छन्। अमेरिका जस्तो शक्तिशाली देशमा पनि विरोधको जुन तीव्र लहर देखियो त्यसले भाषाप्रति मानिसहरूको कति माया हुँदो रहेछ भन्ने स्पष्ट देखाइदियो।

विश्वमा यसै पनि आज क्षेत्रियतावाद उग्र भइरहेको समयमा समावेशी संस्कृतिको लोप हुँदै ध्रुवीकरणको राजनीति प्रबल भइरहेको छ। चाहे त्यो सात समुन्द्र पारिको अति विकसित मानिने देश अमेरिका होस् वा भारतजस्तो विकाशशील मुलुक। सीमित संसाधन अनि बढ्दो जनसङ्ख्या नै यसको मूल कारक तत्त्व रहेता पनि सत्ताहीन, आर्थिक विपन्न अल्पसङ्ख्यकहरूको निम्ति यस्तो बढ्दो नस्लीय, साम्प्रदायिक अनि असहिष्णु मानसिकता साह्रै चिन्ताको विषय हो। आफ्नो धर्म, संस्कृति, भाषा, जीवनशैलीलाई नै सर्वोपरि ठानेर अरूमाथि हेय दृष्टि राख्नु अथवा अरूको धर्म, संस्कृति, भाषा, जीवनशैलीलाई अपमानको दृष्टिले हेर्नु निश्चय पनि गणतान्त्रिक विचारधारा होइन। विश्व नै एउटा गाउँको रूपमा विकसित भइरहेको समयमा एक-अर्काको सम्मान गर्नु, परस्पर समन्वयको भावना राख्नु, बहुलतालाई स्वीकार गर्नु नै सभ्य समाजको परिचय हो।


फोटोस्रोतः इन्टरनेट

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया