लालकोठी किन जान चाहँदैनन विमल?

मोहन लामा

दार्जीलिङ, 7 जून 2017


गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-का मुख्य कार्यपाल विमल गुरूङलाई जीटीएको मुख्यालय लालकोठी जानै मन पर्दैन। उनले भने-लालकोठी जान मनै पर्दैन। आज उनले यहाँको गोर्खा रङ्गमञ्च भवनमा आयोजित एक सभालाई सम्बोधन गर्दै यो भनेका हुन्।

यसअघि पनि उनले धेरैपल्ट लालकोठी जान मनै पर्दैन भनेका हुन्। तर यसको मूल कारण के हो, यसको उनले खुलासानै गरेका छैनन्। यसबारे जीटीए सूत्रसित सोध्दा गोजमुमो अध्यक्ष एवं जीटीएका मुख्य कार्यपाल विमल गुरूङ यस वर्ष अर्थात 2017-मा एकै दिन पनि लालकोठी गएका छैनन् अनि उनले जीटीएको प्रायः प्रशासनिक कार्य गोर्खा रङ्गमञ्च भवनमानै बसेर गर्ने गरेका छन्। उनले यसबारे अघि भनेका थिए, यहाँ जनतालाई पैदल हिँडेर आउन पनि सजिलो पर्छ, तर लालकोठीमा मानिसहरुलाई पैदल हिँडेर आउन निकै गाह्रो पर्छ।

यसैले अलग राज्य गोर्खाल्यान्डको गठन भएपछि गोर्खा रंगमञ्च भवनलाईनै विशेष कार्यालयको दर्जा दिइनेछ। यसबारे जीटीए सूत्रसित प्रश्‍न गर्दा प्राप्त भएको जानकारीअनुसार, जीटीएका मुख्य कार्यपाल विमल गुरूङ जीटीएका मुख्य कार्यपाल बनेपछि लालकोठीमा धेरै बसेका छैनन्।

स्मरण गराइन्छ, गोजमुमो अध्यक्ष विमल गुरूङ अगस्त 2013-मा जीटीएका मुख्य कार्यपाल भएपछि लालकोठीमा पूजा-अर्चना गरेर बस्न थालेका थिए, जहाँ उनी केही समयको लागि लगातार बसेर आफ्नो कार्यभार सञ्चालन पनि गरे। तर बिस्तारै उनको लालकोठीमा बसेर आफ्नो कार्यभार सम्हाल्ने क्रम कम्ति हुँदै गयो अनि गोर्खा रंगमञ्च भवनमानै उनको कार्यालय बनिएपछि झनै उनी लालकोठी जानै छोड़े। अहिले अचानक केही समयको लागि उनी लालकोठी गए पनि दिनभरिको लागि बस्न छोड़िसकेका छन्।

यसको मूल अर्थ के हो भन्नेबारे विस्तृत जानकारी प्राप्त हुन नसके पनि यसै लालकोठीमा बसेर गोरामुमो अध्यक्ष सुवास घिसिङले लगभग 21 वर्ष शासन गरेको  कारण उनी यहाँ बस्न नचाहेका हुन् भन्ने धेरैको मत छ। विगतमा गोरीभिल्लाको नामले प्रचलित यो लालकोठी सन् 1988-मा दार्जीलिङ गोर्खा पार्वत्य परिषदको गठन भएपछि यसको मुख्यालय बनेको थियो।  जुन भवन गोरीभिल्लाका महाराज प्रसाद नाथले आफ्नी पत्नी भवानी देवान रायप्रति समर्पित गरेका थिए।

सन् 1978-मा यस गोरीभिल्लामा कनक मुखर्जीद्वारा निर्देशित लालकोठी नामक चलचित्रको सुटिङ भएको थियो, जुन चलचित्र अतिनै चर्चित बनेपछि यस भवनको नाम पनि गोरीभिल्लाबाट परिवर्तन भएर लालकोठीको नामले प्रचलित बनेको थियो। जुन स्थान दार्जीलिङ आउने पर्यटकहरुको लागि एक मुख्य आकर्षणको केन्द्र पनि थियो, दार्जीलिङ आउने पर्यटकहरु अधिकांश यसै भवनमा आइ यहाँबाट देखिने रोमाञ्चक कञ्चनजंघाको दृश्य अनि वरिपरिका मनोरम दृश्यहरुको अवलोकन गरेपछि यहाँदेखि केही माथि अवस्थित जापानिज टेम्पलको दर्शन गर्न जाने गर्थे।

यस भवन परिसरमा जनवरी 2001-को प्रथम सप्ताहसम्म पर्यटकहरुको आगमन यथावत थियो, तर अचानक गोरामुमो अध्यक्ष एवं तत्कालीन दागोपाप अध्यक्ष सुवास घिसिङमाथि 10 फरवरी 2001-को दिन खरसाङमुनि सात घुम्ती नजिक आक्रमण भएपछि लालकोठी परिसर पर्यटकहरुको लागि पूर्णरूपले बन्द भएर गयो। लालकोठी वरिपरि विशाल पर्खाल निर्माण भयो, फलस्वरूप तत्कालीन दागोपाप अध्यक्ष सुवास घिसिङको अनुमतिबिना यस भवनभित्र तत्कालीन दागोपापकै पार्षदहरु पनि जान सक्तैन थिए।

तर दागोपाप हटेर गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा जीटीएको गठन भएपछि जीटीएले लालकोठीलाई आफ्नो मुख्यालय बनायो अनि जीटीएका मुख्य कार्यपाल विमल गुरूङले यस लालकोठीमा आफ्नो कार्यालय बनाए पनि उनको कार्यालय सुवास घिसिङको कोठामा थिएन। दागोपापका तत्कालीन अध्यक्ष सुवास घिसिङको कार्यालय रहेको स्थानलाई जीटीएका मुख्य सचिवको कार्यालय बनाइएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन