बङ्गला भाषा र जातिको होइन, संविधान उल्लङ्घनको प्रतिवाद गरेका हौँ- सामुएल गुरुङ

कालेबुङ खबरदाता

कालेबुङ, ८ जुन।

“हामीले बङ्गाली समुदाय अनि बङ्गला भाषाको विरोध जनाएका होइनौँ तर हामीमाथि जबरजस्ती भाषा थोप्ने जुन असंवैधानिक कार्य हुँदैछ त्यसको विरोध गरेका हौँ। राज्यकी मुख्यमन्त्री अनि मन्त्रीहरूले संविधानको विरूद्ध कार्य गरिरहेका छन्। त्यस कुराको हामी विरोध गरिरहेका छौँ।” गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समितिका सह-सचिव सामुएल गुरुङले आज यस प्रकारको मन्तव्य प्रकट गरेका छन्। पहाडका विद्यालयहरूमा बङ्गला भाषा पठन-पाठनको कुरालाई लिएर शुरू भएको विवादपछि गत ४ जूनदेखि क्रमिक रूपमा हुँदै आइरहेको प्रतिवाद जुलूसको आज पाँचौँ दिन डम्बर चोकमा जुलूसमा सहभागी मानिसहरूलाई सम्बोधन गर्दै गुरुङले उक्त मन्तव्य पोखेका हुन्।

“राज्यकी मुख्यमन्त्री अनि मन्त्रीहरूले जुन संविधानलाई शिरमा राखेर सम्पूर्ण राज्यभरिका जाति, सम्प्रदाय, भाषा अनि मानिसहरूलाई समान व्यवहार अनि न्याय दिने कसम खाएकी थिइन् आज त्यही संविधानको उल्लङ्घन गरेर जब्बरजस्ती भाषा थोप्ने काम गरिरहेकी छन्। संविधानले हामीलाई भाषिक अधिकार दिएको छ तर मुख्यमन्त्रीले संविधानको उल्लङ्घन गरिरहेकी छन्”-गुरुङले भने। उनले अझ भने- “हामीले गरेको प्रतिवाद बङ्गाली जाति अनि भाषाप्रतिको होइन। मुख्यमन्त्री अनि मन्त्रीहरूले गरिरहेको संवैधानिक अधिकार उल्लङ्घनको प्रतिवाद मात्र हो। यदि बङ्गाली दाजुभाइहरूले मानवताको हितमा आवाज उठाए अथवा संविधानको उल्लङ्घन हुन दिदैनन् भन्ने ठान्छन् भने गोर्खाहरूमाथि जब्बरजस्ती बङ्गला भाषा थोपिनु हुँदैन भनेर आवाज उठान गर्नुपर्छ।”

गुरुङको सम्बोधनअघि मोर्चा कार्यकर्ताहरूले डम्बर चोकमा मुख्यमन्त्री ममता ब्यानर्जीको पुत्ला पनि दहन गरेका थिए। यसअवधि “बङ्गला भाषा चाहिँदैन”, “ममता ब्यानर्जी गो ब्याक” आदि नाराहरू पनि गोजमुमो कार्यकर्ताहरूले लगाएका थिए। गोजमुमोको आजको जुलूस अनि पुत्ला दहन कार्यक्रममा विभिन्न स्थानका पार्टी कार्यकर्ताहरू लगायत विभिन्न विद्यालयका विद्यार्थीहरूको पनि व्यापक उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन