बङ्गला भाषा पढ़्न बाध्यता छैनः मुख्यमन्त्रीः क्याविनेट बैठकमा कैयौं प्रस्ताव पारित

मोहन लामा

दार्जीलिङ, 8 जून 2017


दार्जीलिङ पहाड़का विद्यार्थीहरुले जे पढ़्न चाहन्छन्, पढ़्न सक्छन्। पहाड़को लागि बंगला भाषा पढ्नुपर्ने बाध्यता गरिएको छैन। यहाँका जनता वा विद्यार्थीहरुले जे पढ़्न चाहन्छन्, यो उनीहरुमाथिनै निर्भर छ। आज यहाँको राजभवनमा राज्यको क्याविनेट मन्त्री मण्डलको बैठक समाप्त भएपछि राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले पत्रकारहरूसित कुराकानी गर्दै यसो भनेकी हुन्।

उनले भनिन्-तर क्याविनेट मन्त्री मण्डलको बैठक चलिरहेको समय यसलाई बाधा दिनु उचित थिएन। यदि झ्रगड़ा गर्न चाहन्छ भने विकासको लागि झगड़ा होस्। जसको कुनै मुद्दा हुँदैन, उसलेनै यसप्रकारको कार्यहरु गर्छ। यसैबीच, उनले आजको क्याविनेटको बैठकमा दार्जीलिङ पहाड़सँगै समतलका विभिन्न स्थानको लागि विकासमूलक परियोजनाहरु गर्ने विषयमा प्रस्ताव पारित गरिएको बताइन्।

उनले भनिन्-दार्जीलिङ पहाड़मा विकास होस् भन्ने चाहेकी छु। यसैले आज दार्जीलिङमा प्रथमपल्ट क्याविनेट मन्त्री मण्डलको बैठक गरिएको हो। जसमा दार्जीलिङको सर्किट हाउस नजिक तेञ्जिङ नोर्गे शेर्पाको नाममा एउटा मिनि सचिवालयको निर्माण गरिने, मिरिकमा 27 करोड़ मूल्यको पोलिटेक्निक कलेज, स्कील डेवलपमेन्ट सेन्टरको निर्माणसँगै दार्जीलिङदेखि 8 वटा नयाँ बस सेवा मिरिकसम्म चलाउने निर्णय लिइएको पनि उनले बताइन्। उनले सर्किट हाउस नजिक निर्माण गरिने मिनि सचिवालय हिमपुरूष तेञ्जिङ शेर्पाको नाममा समर्पित गरिने बताउँदै यसको निर्माण कार्य आगामी 6 महीनाभित्र शुरू हुने र आगामी क्याविनेट बैठक त्यसै भवनमा गर्ने योजना बनाइएको पनि बताइन्।

उनले दार्जीलिङमा आज भएको घट्नाबारे मत व्यक्त गर्न चाहिनन्। तरै पनि दार्जीलिङ पहाड़मा शान्ति बनाइराख्न जनताले पनि साथ दिनुपर्छ भन्ने अपील गरिन्। यसैबीच, उनले राज्यमा नयाँ नियुक्ति गर्नको लागि आजको बैठकले 1800 वटा नयाँ पद सृजना गरेको पनि जाउनकारी गराउँदै भनिन्-राज्यमा नयाँ जिल्लाहरुको स्थापना भइरहेको छ, अझै नयाँ जिल्लाहरु बनिनेछन्। तर नयाँ जिल्लामा कर्मचारीहरुको अभाव खट्किरहेको छ, त्यसै अभावलाई पूर्ति गर्नको लागि राज्यले आज 1800 वटा नयाँ पद सृजना गरेको हो। यसैबीच, राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले गत केही दिनअघि सोनादामा पैह्रो गएर निधन भएका पीड़ित परिवारलाई 2 लाख अनि घाइते दुइ परिवारलाई 14,300 रुपियाँ सहयोग राशि प्रदान गर्ने घोषणा गरिन्।

आज यहाँको राजभवनमा भएको राज्यको क्याविनेट मन्त्री मण्डलको बैठकमा राज्यका 32 जना मन्त्रीहरू उपस्थित भएका थिए भने राज्यका शीर्ष अधिकारीवर्ग पनि यसमा सामेल थिए। लगभग आधा घण्टा चलेको यस बैठकपछि मुख्यमन्त्रीले पहाड़लाई शान्त राख्ने पनि अपील गरिन्। यद्यपि, अहिलेसम्म राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीलगायत सम्पूर्ण मन्त्रीहरु दार्जीलिङमानै छन् भने मुख्यमन्त्री भोलि मात्रै दार्जीलिङबाट प्रस्थान गर्ने जानकारी पाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन