अशान्त बन्यो दार्जीलिङः भोलि 12 घण्टा पहाड़ बन्द

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 8 जून 2017


अचानक अशान्त बन्यो दार्जीलिङ। आज बिहान 11 बजी दार्जीलिङका विभिन्न स्थानहरुबाट गोजमुमोले प्रतिवाद जुलूसको आयोजना गरेको थियो। यो जुलूस लगभग मध्यान्ह 12 बजी गोर्खा रङ्गमञ्च भवनअघि आइपुगेको थियो। यसपछि जुलूसमा सहभागी जनता अनि गोजमुमो समर्थकहरु गोर्खा रङ्गमञ्च भवनअघि व्यापक नाराबाजी गर्दै बसेका थिए, जुन नाराबाजी लगभग 3 बजीसम्म शान्तिपूर्वक जारी रहेको थियो। यसको ठीक अर्कोतर्फ व्यापक पुलिस बल तैनाथ थियो अनि पुलिसले यहाँ तीन स्थानमा व्यारिकेड लगाएको थियो।

गोजमुमो समर्थकहरु आफ्नो स्थानमा बसेर राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी विरूद्ध नाराबाजी गरिरहे भने पुलिस बल नाराबाजी सुन्दै बसिरहेको थियो। यसै समय गोजमुमोले रङ्गमञ्च भवनअघि सड़कमा बसेका सम्पूर्ण जनतालाई भवनभित्र पस्ने अनुरोध गरेको थियो। यसपछि लगभग सबै जनता भवनभित्र पसिसकेका थिए अनि यसै क्रममा गोजमुमो समर्थकहरुले मुख्यमन्त्री ममता व्यानर्जीको पुतला ल्याएर उनीहरु बसेको स्थानमानै जलाउन शुरू गरे। तर यस समय अचानक एउटा आवाज आयो, उक्त आवाज के-को थियो, कसैले बुझ्ननै सकेनन्।

यसै समय एकतर्फबाट ढुङ्गाको प्रहार शुरू भयो भने पुलिसले पनि टियर ग्यास छोड़्न शुरू गरेको थियो। फलस्वरूप यहाँको शान्त माहौल एकैक्षणमा रणभूमिको परिणत भयो। यसैबीच, यहाँको चौरास्ता नजिक राखिएका पुलिसका गाड़ीहरु पनि उत्तेजित जनताले जलाइदिए। ढुङ्गाको प्रहारमा परेर पुलिसकर्मीहरु पनि घाइते भएको जानकारी पाइएको छ, तर घाइते पुलिसकर्मीको संख्या अझैसम्म पत्तो लाग्न सकेको छैन। यस समयसम्म उत्तेजित जनताले पुलिसका चारवटा गाड़ी जलाइदिएको छ भने यहाँको मोटर स्ट्यान्डमा पनि एनबीएसटीसी (उत्तर बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेशन)-को एउटा बसमा आगो लगाइयो।

दार्जीलिङको वातावरण एकाएक बिग्रिएपछि शहरका सम्पूर्ण दोकानहरु बन्द भएका छन्। यसैबीच, भोलि 9 जून दार्जीलिङ पहाड़ अचल हुने भयो। दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनअघि भएको किचलोपछि गोर्खा जनमुक्ति युवा मोर्चाले भोलि पहाड़लाई बिहान 6 बजीदेखि साँझ 6 बजीसम्म अचल राख्ने घोषणा गर्यो भने यस अवधि गोजमुमो समर्थकहरुलाई पक्राउ गर्ने अनि उनीहरुमाथि बिनाकारण कार्वाही गर्ने कार्य भए पहाड़ बन्द अझै बढ्नसक्ने पनि चेताउनी दियो। आज यहाँको गोर्खा रङ्गमञ्च भवनअघि भएको ढुङ्गा र टियर ग्यास हानाहानपछि भएको अशान्तिपछि युवा मोर्चा सचिव अमृत योञ्जनले भने-गोर्खा जनमुक्ति मोर्चा समर्थकहरुले शान्तिप्रिय अनि गणतान्त्रिक ढङ्गमा धरना प्रदर्शन गरिरहेका थिए, तर यस धरना कार्यक्रममा सहभागी बनेका गोजमुमो समर्थकहरुबीचै तृणमूल कंग्रेसले आफ्ना समर्थकहरुलाई हालेको थियो। यसैले शान्तिसित पूरा हुनैलागेको उक्त कार्यक्रमबीचै ती तृणमूल कंग्रेस समर्थकहरुलेनै पुलिसमाथि ढुङ्गा हान्न थालेको हो अनि गोजमुमोको यस कार्यक्रमलाई विफल बनाउनका साथै गोजमुमोलाई बद्नाम बनाउने कार्य गरेका हुन्। यसमा गोजमुमोले शान्ति भङ्ग गर्ने प्रयासनै गरेको थिएन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन