हटाइयो जीटीएका वर्तमान प्रिन्सिपल सेक्रेटेरीः दार्जीलिङका च्यानलहरू बन्द

खबरम्यागजिन प्रतिनिधि

कालेबुङ, 8 जुन 2017


आज बसेको क्याविनेट बैठक

पश्चिम बङ्गाल सरकारले जीटीएको प्रिन्सिपल सेक्रेटेरी रवि इन्दर सिंहलाई हटाएर नयाँ प्रिन्सिपल सेक्रेटेरीको रूपमा वरूण रोयलाई नियुक्त गरेको छ। दार्जीलिङमा पश्चिम बङ्गाल पुलिस अनि मोर्चा समर्थकहरूमाझ भएको आजको घटनापछि पश्चिम बङ्गाल सरकारले जीटीएको प्रिन्सिपल सेक्रेटेरीको पदबाट रवि इन्दर सिंहलाई हटाएको हो। जीटीएमा लाग्दै आइरहेको भ्रष्टाचारको आरोपलाई आधार गरेर सिंहलाई यो पदबाट हटाइएको हो।

मिरिकबाट मुख्यमन्त्री ममता व्यानर्जीले जीटीएको स्पेशल अडिट गर्ने निवेदन वित्तमन्त्रालयसित गर्ने बताएकी थिइन्। आज 45 वर्षपछि दार्जीलिङमा भएको क्याविनेट बैठकपछि जीटीएका वर्त्तमान प्रिन्सिपल सेक्रेटेरीलाई हटाएर नयाँ प्रिन्सिपल सेक्रेटेरी नियुक्त गरिएको ममता व्यानर्जीले घोषणा गरेकी हुन्।

जीटीएका नयाँ प्रिन्सिपल सेक्रेटेरीका रूपमा आउने वरूण रोय यसअघि डिभिजनल कमिश्नर जलपाइगढी अनि उत्तर बङ्गाल विकास विभागका प्रिन्सिपल सेक्रेटेरी रहिसकेका छन्।

जीटीए अनि जीटीएसभासद्हरू विरुद्ध भ्रष्टाचारको व्यापक आरोप रहेकोले नै नयाँ प्रिन्सिपल सेक्रेटेरी नियुक्त गरिएको पनि बताइएको छ।

राती शुरुभएको सैन्य गस्ती

आज दार्जीलिङमा भएको तनाउपछि 160 जना सैन्य जवानहरूले राती दार्जीलिङमा गस्ती लगाइरहेका छन्। दिउँसो भएको घटनापछि प्रशासन चङ्खो बसेको छ। रातभरि अरु नोक्सानीपूर्ण घटनाहरू हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर नै सैन्य जवानहरूले गस्ती लगाइरहेको सूत्रले बताएको छ।

च्यानलहरू बन्द

दिउँसो प्रदर्शनकारीहरू भगाउन टियरग्यास फ्याँकेपछि आक्रोसित माहौलमा पुलिसका वाहनहरू जलेको थियो। प्रदर्शनकारी अनि पुलिस प्रशासनबिच भइरहेको द्वन्द्वलाई मिडियाकर्मीहरूले आफ्नो क्यामेरामा कैद गरेता पनि त्यसको प्रसारण भने गर्न पाएनन्।

जिल्ला प्रशासकले दार्जीलिङ जिल्लामा रहेका लोकल च्यानलहरूको प्रसारण बन्द गर्ने नोटिस पठाएका छन्। नोटिस पाएयता दार्जीलिङमा चल्ने सम्पूर्ण लोकल च्यानलहरू एकाएक बन्द भएपछि यसका दर्शकहरू दिनभरिका समाचार र जानकारी लिनबाट बञ्चित बन्न परेका छन्।

यता नेपाली स्याटालाइट च्यानल एबीएनको प्रसारण पनि बन्द गरिएको अनि प्रसारण रोक्न कोलकत्ताबाट दवाब भएको भन्ने हल्ला चलिरहेको थियो, तर सूत्रले बताए अनुसार एबीएनलाई त्यस्तो कुनै दवाब आएको छैन अनि च्यानल प्रसारण भइरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन