के हर्कबहादुरको बयान प्रायोजित हो?

बी० पी० बजगाईं


यस चरणको भाषा आन्दोलन लगभग एक महिना पुग्न आँटेको बेला अनि पहाडले राज्य सत्ताबाट पूर्णरुपले विश्वास गुमाएर गोर्खाल्याण्डको माग चर्किएको बेला भर्खरै जुन ९ तारिकको दिन जनआन्दोलन पार्टीका प्रमुख हर्कबहादुर छेत्रीले निम्न बयानहरू दिएछन्:


  • तृणमूल कङ्ग्रेस र गोर्खा जनमुक्ति मोर्चाबीचको वर्चस्वको लड़ाइँले अहिले पहाड़का आममानिसहरूले दुःख भोगिरहेका छन्। पहाड़मा अहिले जे भइरहेछ, त्यो दुइ पार्टीबीचको वर्चस्वको लड़ाइँ हो। एकार्काविरुद्ध आफूलाई बलियो बनाउने लड़ाइँ। र, यसमा निर्दोष जनताले दुःख पाइरहेको छ। यो एकदमै अनुचित हो|’’
  • ‘‘बङ्ग्ला भाषा अनिवार्यभन्दासम्म गरिएको प्रतिवाद ठीकै थियो। हामीले पनि प्रतिवाद जनाएकै हौं। तर मुख्यमन्त्रीले पहाड़मा बङ्ग्ला अनिवार्य हुनेछैन भनिसक्दा पनि प्रतिवाद गरिरहनुको कुनै अर्थै रहँदैन|’’
  • मोर्चा राज्य प्राप्तिका लागि इमानदार छैन। इमानदार नभएकोले नै मैले मोर्चा त्यागेको हो
  • ‘‘पुलिस असफल बनेपछि आर्मी परिचालन गर्न सरकार बाध्य बन्यो|’’

 

हर्कबहादुरको उपरोक्त बयान सुनेर पहाडले हर्क मान्नै सकेन| पहाड झनै विक्षुब्ध बन्यो| किन भयो यस्तो? के हो त हर्क वयान? लौ त हर्कबहादुर छेत्रीको बयानलाई वैचारिक टेबलमा राखेर प्रश्नरूपी छुरीले शल्यक्रिया गरौँ|

 

हर्क भन्छन्: तृणमूल कङ्ग्रेस र गोर्खा जनमुक्ति मोर्चाबीचको वर्चस्वको लड़ाइँले अहिले पहाड़का आममानिसहरूले दुःख भोगिरहेका छन्। पहाड़मा अहिले जे भइरहेछ, त्यो दुइ पार्टीबीचको वर्चस्वको लड़ाइँ हो।

उनले जवाब दिनुपर्छ: यस पटकको आन्दोलन शुरू भयो भाषाको सम्वैधानिक सुरक्षाको मुद्दालाई लिएर| के नेपाली भाषाको सम्वैधानिक सुरक्षाको मुद्दा राजनैतिक वर्चस्वको लड़ाई थियो, छ अनि रहनेछ?

 

हर्क भन्छन्: बङ्ग्ला भाषा अनिवार्यभन्दासम्म गरिएको प्रतिवाद ठीकै थियो। हामीले पनि प्रतिवाद जनाएकै हौं।

उनले जवाब दिनुपर्छ: के अहिले बङ्ग्ला भाषा अनिवार्यताको सङ्कट हट्यो? तराई र डुवर्सले पनि छुट पायो? के तराई डुवर्समा नेपाली भाषी बस्दैनन्? बस्छन् भने उनीहरू प्रति गोर्खा हुनुको नातामा हर्क बहादुरहरूको जिम्मेवारी छ कि छैन? दार्जीलिङमा क्याबिनेट बसिसकेपछि नेपाली भाषा सम्बन्धमा राज्य सरकारले क्याबिनेट प्रस्ताव मिडियालाई ब्ल्याक एण्ड व्हाइटमा किन दिएन? आफुलाई ज्ञानी ठान्ने नेताले यो कुरा नबुझेको हो कि परिस्थितिगत बुझपचाएको हो? हर्कहरूलाई घरभित्र बसेर आफ्नै पार्टीको एक-दुई युवाहरूसँग बात मारेर टेबल राजनीति गर्दैमा हामीले पनि प्रतिवाद जनाएकै हौं भन्नु लाज लाग्दैन? जापले जनताको बिचमा आएर कहिले प्रतिवाद गरेको थियो? प्रतिवाद गरेको स्थान र तारिक बताउन सक्छ जापले?

 

हर्क भन्छन्: यो एकार्काविरुद्ध आफूलाई बलियो बनाउने लड़ाइँ हो। र, यसमा निर्दोष जनताले दुःख पाइरहेको छ। यो एकदमै अनुचित हो|

उनले जवाब दिनुपर्छ: यदि यो लडाई अनुचित हो भने उचित के हो? तर्कसंगत जवाब दिनुपऱ्यो|

 

हर्क भन्छन्: ‘मोर्चा राज्य प्राप्तिका लागि इमान्दार छैन। इमान्दार नभएकोले नै मैले मोर्चा त्यागेको हो|’

उनले जवाब दिनुपर्छ: मोर्चा इमान्दार छैन भने विमल गुरूङलाई जीटीए छोडेर गोर्खाल्याण्डको निम्ति उत्रिनु बाध्य बनाउने भनेर हर्क बहादुरले आफ्नो युवाहरूलाई कालेबुङमा अनशनमा किन राखेका थिए? यो कुरा मैले होइन, हर्क बहादुरलाई उनकै अनशन बसाइएका युवाहरूले सोध्नुपर्ने हो| मोर्चालाई इमानदार छैन भन्ने अनि मोर्चालाई नै जवाब मागेर भोक हड्ताल बस्ने? आफैले नयाँ राजनैतिक दल खोलिसकेपछि त्यस दलले गोर्खाल्याण्डको निम्ति काम नगरेर विश्वास नलागेर त्यागेको दललाई नै आशा गरेर प्रश्न राख्दै अनशन बस्नु हो भने के रह्यो नयाँ दलको आवश्यकता? के हर्कको यो कदम ती अनशन बस्ने युवाहरूको ज्यानसँग खेलवाड होइन?

 

हर्क भन्छन्: ‘‘पुलिस असफल बनेपछि आर्मी परिचालन गर्न सरकार बाध्य बन्यो|’’

उनले जवाब दिनुपर्छ: पहाडमा ठूलो हिंसा नै नभई केवल ढुँगा हाना-हान र दुई-चार सरकारी गाडी जलेको आधारमा आर्मी परिचालित गरिएको कुरा सम्पूर्ण पहाड लगायत देशलाई थाहा छ| आर्मी परिचालन त केवल गोर्खाल्याण्डको आन्दोलनलाई उग्रवाद अनि विछिन्नतावादसँग जोड्न राज्य सरकारले गरेको गहिरो चाल हो| के हर्क बहादुरले पुलिस असफल बनेपछि आर्मी परिचालन गर्न सरकार बाध्य बन्यो भनेर पहाडवासीले देश मै भयानक हिंसात्मक कारवाई गरे भन्न खोजेको हो? उनले यसो भनेर पहाडलाई काश्मिर बनाउने दिशामा राज्य सरकारलाई भरयांग लगाइदिएको हो?

 

सबै कुरा बुझ्दा समग्रमा उनले जवाब दिनुपर्छ: के उनको वक्तव्य पहाडले वर्तमानमा लड्दै गरेको लडाईलाई तृणमूल कङ्ग्रेस र गोर्खा जनमुक्ति मोर्चाबीचको वर्चस्वको लड़ाइँ भनेर जनतामा भ्रम उत्पन्न गराउन दिइएको प्रायोजित वक्तव्य हो?

 

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन