सरकारी कार्यालय बन्दबीचै 12 जून चियाबगान, 13 जून आम हड़्ताल

मोहन लामा

दार्जीलिङ, 11 जून।


12 जून सोमबारदेखि गोर्खा जनमुक्ति मोर्चाले सरकारी कार्यालयहरु बन्द बोलाएकै दिन उत्तर बंगालका 26 वटा श्रमिक संगठनले पनि यसै दिन चियाबगान हड़्तालको आह्वान गरेका छन्। यसका साथै यी श्रमिक संगठनहरुले 13 जूनको दिन सम्पूर्ण पहाड़, तराई अनि डुवर्सलाईनै अचल बनाउने पनि घोषणा गरिसकेका छन्। 12 जून चियाबगान बन्द अनि 13 जून आम हड़्तालको आह्वान गर्ने 26 वटा श्रमिक संगठनको समूह जोइन्ट फोरममा पहाड़बाट गोजमुमो, क्रामाकपा, माकपा, गोरामुमो, गोर्खालीगका साथै तराई-डुवर्सबाट भाजपाको श्रमिक संगठन, पीटीडब्लुयू आदि श्रमिक संगठनहरु पनि सामेल छन्।

जसले मूलरूपमा चियाश्रमिकहरुका लागि न्यूनत्तम रोजी ऐन लागू गर्नुपर्ने माग उठाउँदै आइरहेका छन्, तर यसमाथि अहिलेसम्म ठोस निर्णय हुन नसकेपछि जोइन्ट फोरमले 12 जून चियाबगान बन्द र 13 जून आम हड़्ताल गरेर चियाबगान मालिकपक्षसँगै राज्य सरकारलाई पनि गतिलै चापमा पार्ने योजना बनाएको हो। यसबारे गोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले भनेको छ-12 जून दार्जीलिङ पहाड़का 87 वटा चियाबगानसँगै तराई अनि डुवर्सका चियाबगानहरु पनि बन्द रहनेछन्। यसरीनै 13 जून दार्जीलिङ पहाड़, तराई अनि डुवर्स इलाकामा आम हड़्ताल पालन गरिनेछ।

दार्जीलिङ पहाड़को यस नयाँ राजनैतिक मोड़बाट राज्य सरकारमाथि चाप सृजना हुने निश्‍चित छ। एकतर्फ चियाबगान बन्द अनि अर्कोतर्फ सरकारी कार्यालयहरुको बन्दले सरकारमाथि गतिलै चाप पर्ने देखिएको छ। दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका महासचिव सुरज सुब्बाले भनेका छन्-न्यूनत्तम रोजी ऐनको लागू गर्ने दिशामा राज्य सरकारले गम्भीरता देखाएकै छैन। यदि सरकार यसको लागि गम्भीर भएको भए अहिलेसम्म चियाश्रमिकहरुका लागि न्यूनत्तम रोजी ऐन लागू भइसक्ने थियो। यसबारे दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका प्रवक्ता मिलन प्रधानले भने-वर्ष 2011-मा राज्यमा तृणमूल कंग्रेसको सरकार गठन भएपछि यो सरकारले 6 महीनाभित्र चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू गर्छु भनेर वचन दिएको थियो।

तर राज्य सरकारको त्यो वचन वचनमानै सीमित रह्यो, कार्यरूपमा परिणत हुन सकेन। यसपछि जोइन्ट फोरमले आन्दोलन शुरू गर्दा वर्ष 2015-मा मिनिमम वेजेस बोर्डको गठन भयो, तर उक्त बोर्डको 2 वर्षे कार्यकाल पूर्ण हुँदासम्म उक्त बोर्डको केवल दुइपल्ट पनि निष्कर्षविहीन बैठक भएको थियो। राज्यमा तृणमूल कंग्रेसको सरकार गठन भएको यतिका वर्ष बितिसक्दा पनि चियाश्रमिकहरुको समस्यालाई यो सरकारले ध्यान नदिएको अनि न्यूनत्तम रोजी ऐन लागू गर्ने दिशामा बिलम्व गरिरहेको कारणनै 12 र 13 जूनको कार्यक्रम घोषणा गर्नपरेको हो। फलस्वरूप गोजमुमोको सरकारी कार्यालयहरुको बन्द अनि श्रमिक संगठनहरुको चियाबगान बन्दको घोषणाले राज्य सरकारमाथि दोहोरो चाप परेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन