‘हामी आशावादी हुनसकेनौं भने हामीले एक्टिभिज्म छोड़्न पर्दछ’

Girl in a jacket
कमला भसीनः फोटोः हेराल्ड

संवाद/अनुवाद


भूमण्डलीकरण, भारत-पाकिस्तान सम्बन्ध, दक्षिण एशियामा नारीवाद वा पितृसत्ता आदि विषयमाथि समाजविज्ञानी एवम् नारीवादी चिन्तक कमला भसीनसँग गरिएको यो विस्तृत कुराकानी

कमला भसीन एक सामाजिक कार्यकर्ता हुन्, जो लैङ्गिक समानता, शिक्षा, गरीबी-उन्मूलन, मानवाधिकार र दक्षिण एशियामा शान्तिजस्ता मुद्दामा सन् 1970 –देखि निरन्तर सक्रिय छिन्।

दिल्ली निवासी भसीन आफ्नो नारीवादी विचार र एक्टिभिज्मको कारण चिनिन्छन्। उनी नारीवादी सिद्धान्तलाई जमीनी कोशिशसित जोड़्ने दक्षिण एशियाई नेटवर्क ‘सङ्गत’ -की संस्थापक पनि हुन्।

भसीनको जन्म, 24 अप्रेल, 1946 -मा वर्तमान पाकिस्तानको मण्डी बहाउद्दीन जिल्लामा भएको थियो। उनी आफैलाई ‘आधा रातको सन्तान’ भन्छिन्, जसको सन्दर्भ विभाजनको समय छेउछाउ जन्मिएको उपमहाद्वीपको पीढ़ीसँग मिल्छ।

उनले राजस्थान विश्वविद्यालयबाट एमए गरेकी हुन्। त्यसपछि पश्चिमी जर्मनीको मन्स्टर युनिभर्सिटीमा सोशियोलजी अव् डेवलपमेण्ट विषय पढ़िन्। 1976-2001 –सम्म भसीनले संयुक्त राष्ट्रको खाद्य एवं कृषि सङ्गठनमा काम गरिन्। यसपछि भने उनले आफैलाई पूर्णरूपले ‘सङ्गत’ -को काम र जमीनी सङ्घर्षका लागि समर्पित गरेकी छन्।

भसीनले पितृसत्ता र जेण्डरमाथि अत्यन्त विस्तारपूर्वक लेखहरू लेखेकी छन्। उनका प्रकाशित लेख-रचनाहरू प्रायः 30 वटा भाषामा अनुवाद भएका छन्। उनका मुख्य रचनाहरूमा लाफिङ म्याटर्स (2005; बिन्दिया थापरसँग सहलेखन), एक्सप्लोरिङ म्यास्कुल्यानिटी (2004), बोर्डर्स एण्ड बाउण्ड्रीज : वुमेन इन् इण्डियाज पार्टिशन (1998, ऋतु मेननसँग सहलेखन), ह्वाट इज प्याट्रियार्की ? (1993) र फेमिनिज्म एण्ड इट्स रिलेभेन्स इन् साउथ एशिया (1986, निघत सइद खानसँग सहलेखन) सामेल छन्।

आफ्नो लेखन र एक्टिभिज्ममा यी सामाजिक कार्यकर्ता एउटा यस्तो नारीवादी आन्दोलनको सपना बुन्छिन्, जुन सपनाले वर्ग, सिमाना र सामाजिक र राजनीतिक विभाजनलाई नाघ्न सकोस्।

भसीनले पाकिस्तानका समान विचार र मन भएका मानिसहरूसँग गहिरो सम्बन्ध बनाएकी छन्। दुई देशबीच जारी तनाउको स्थितिमा पनि उनी भर्खेरै पाकिस्तानी नारी अधिकार नेता निगार अहमदको मृत्युमा शोक प्रकट गर्नका लागि लाहौर र इस्लामाबाद गएकी थिइन्। निगार अहमदसित उनको अत्यन्त नजीकको मित्रता थियो। यो मित्रता सन् 1979 –देखिकै हो। भसीन र निगारको पहिलो भेट थाइल्याण्डमा भएको थियो।

मार्चको कुनै एकदिन इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको एउटा फार्म हाउसमा भसीनले हेराल्डसँग दक्षिण एशियामा नारीवादको वर्तमान अवस्था, यसको चुनौती, पीढ़ीगत र राजनीतिक विभाजन तथा भारत-पाकिस्तानबीच कहिल्यै समाप्त नहुने सङ्घर्षको ऐनामा क्षेत्रका मुद्दाहरूमाथि लामो कुराकानी गरिन्। वायरमा अम्मारा दुर्रानीले गरेको हिन्दी अनुवाद अंश शब्द-को निम्ति शैलेन्द्र समदर्शीले नेपालीमा अनुवाद गरेका हुन्।


तपाईं कति वर्षपछि पाकिस्तान आउनु भएको हो?

म गत वर्ष पनि पाकिस्तान आएकी थिएँ। वर्षमा कम्तीमा पनि एकपटक पाकिस्तान आउने गर्छु। मेरो जन्म यहीँ भएको हो। मेरी आमा-बाबा राजस्थानमा बस्थे तर  मेरी फुपूको मण्डी बहाउद्दीन जिल्लाको एक सानो गाउँ शाहीदान वलीमा विवाह भएको थियो। पछि मेरो कामको दिशा तय गर्न यसले पनि भूमिका निर्वाह गरेको छ।

1975 –देखि मैले दक्षिण एशियेली स्तरमा काम गर्दै आएको हुँ। यसभन्दा अघि ४-५ वर्ष जति म भारतमा मात्र सक्रिय थिएँ। आफैलाई भारतको नागरिक भनेर चिनाउनभन्दा दक्षिण एशियेली नागरिक हुँ भन्नमा गर्व गर्दछु।

मेरा लागि दक्षिण एशियेली हुनु भारतीय हुनभन्दा धेरै महत्त्वपूर्ण कुरा हो। जबसम्म हामी सबै मिली राम्रो, शान्तिपूर्ण र सहयोगी छिमेकीको रूपमा रहँदैनौं, तबसम्म मलाई लाग्दैन, कुनै पनि देशले उन्नति गर्नसक्छ।

दक्षिण एशियामा नारीवादी आन्दोलनलाई हेर्दा तपाईंको मनमा तत्कालै आउने विचार र उब्जिने चिन्ता के हो ?

नारीवादी आन्दोलनलाई लिएर धेरै प्रकारका भूल बुझाईहरू छन्। यसको एउटा कारण हाम्रा मीडियाहरूको सम्पूर्ण ध्यान शहर र चर्चित अनुहारको पछि पछि हुनुले पनि हो। यदि निगार अहमद, निघत सइद अथवा कुनै कमला भसीनलाई देखेनन् भने उनीहरूलाई लाग्छ आन्दोलन सेलाइसकेको छ।

तपाईं पाकिस्तानी नारीवादी सङ्गठनको कामलाई हेर्नुहोस्, यो शहरको तुलनामा गाउँमा धेरै जीवन्त छ। उदाहरणका लागि ओकारामा भूमि अधिकारका लागि सङ्घर्षहरूलाई नै लिन सकिन्छ।

तपाईं मलाई लाहौर या कराचीमा भएको यस्तो कुनै आन्दोलन देखाउनुहोस्, ओकाराको समस्या अहिलेको होइन, यो समस्या दश वर्षभन्दा अधिक समयदेखिको हो। र, पनि हरेकपटक यहाँ विरोध हुन्छ, र हजारौं नारीहरू हातमा ब्याटन लिएर बाहिर निस्किन्छन्। म कुनै शहरमा यस्तो आन्दोलनको कल्पनै गर्न सक्दिनँ।

के नारीवादी आन्दोलनमा नयाँ सेलिब्रेटी अघि आइरहेका छन् ?

आखिर हामी सेलिब्रेटिजलाई किन खोज्छौं?  म नारीवादी आन्दोलनमा सेलिब्रेटिज संस्कृतिविरुद्ध छु। सेलिब्रेटी या चर्चित अनुहारले केवल आन्दोलनमा नारा दिन सक्छन्, तर यो नाराको कुनै महत्त्व हुँदैन।

भारतमा धेरै कुरा भइरहेका छन्। उत्तर प्रदेशमा एउटा गुलाबी ग्याङ छ,  जसमा सामेल नारीहरूले गुलाबी रङको साड़ी पहिरिएका हुन्छन्। उनीहरूको हातमा बाँसको लट्ठी हुन्छ, जसले नारीहरूलाई सताउँछ, उनीहरू त्यसलाई पिट्ने गर्छन्। नारीहरू हिंसक हुने कुरामा मेरो सहमति छैन तर गुलाबी ग्याङले नारीहरूमाथि हुने हिंसालाई यतिसम्म कम्ती गरेको छ, एकजना ब्रिटिश महिलाले यसमाथि फिल्म नै बनाएकी छन्।

दुई वर्ष अघि मात्र एकजना हिन्दु नारीले गुनासो दर्ता गरिन्, मन्दिरको पुजारी नारीहरूलाई यसकारण मन्दिरभित्र पस्न दिँदैनन्, किनभने उनीहरूको मासिकधर्म हुन्छ। यसपछि हजारौं नारीहरू एकजुट भए र मन्दिरभित्र बलपूर्वक पसे।

मुस्लिम नारीहरूले मुम्बईमा हाजी अली दरगाहमा यस्तै गरे। उनीहरूले तर्क दिए, 12 वर्ष अघिसम्म दरगाहमा उनीहरू प्रवेश गर्न कुनै रोक थिएन। उनीहरूले १२ वर्षदेखि लागेको प्रवेश रोक हटाइछाड़े।

स्त्री अधिकार आन्दोलन कुन प्रकारले अघि बढ़िरहेको छ, के तपाईं यसबाट सन्तुष्ट हुनुहुन्छ?

म त्यतिबेला पूर्ण रूपले सन्तुष्ट हुन्छु, जतिबेला हामी मात्र यस दिशामा लागेर आन्दोलनलाई अघि बढ़ाइरहनेछौं। तर दुर्भाग्यले यहाँ अन्य मानिसहरू पनि छन्, जसले हामीलाई पछि धकेलेर उनीहरू हामीभन्दा लाखौं गुणा ठूला भएका छन्।

यी मानिसहरू को हुन्?

कर्पोरेट मीडिया, पुञ्जीवादी पितृसत्ता, पोर्नोग्राफी, अरबौं डलरको इण्डस्ट्रीज आदि हुन्, जसले मानिसहरूलाई एक भयावह, यौन-कुण्ठित जनावर तथा नारीलाई केवल शरीर र शरीरका अङ्गहरूमा परिवर्तन गर्ने काम गरिरहेको छ।

कस्मेटिक उद्योग अरबौं डलरको इण्डस्ट्री हो, जसले यस्तो सन्देश दिन्छ, यदि म सुन्दर छुइनँ भने मेरो कुनै मूल्य छैन। जसले दक्षिण एशियेली नारीहरूलाई भन्छ, ‘तिमीहरूको शरीरको रङ्ग सेतो छैन।’

खेलौना उद्योगलाई हेर्नुहोस्, जसले दुई वर्षको नानीको हातमा बन्दूक थमाइदिन्छ। र, १५ वर्षपछि हामी सोध्छौं, ऊ आतङ्की कसरी बन्यो?

तपाईंले उसलाई यस्तो बनिने ट्रेनिङ घरमा दिनुभएको हो। आफ्नो घर जहाँ उसको इच्छा भयो, त्यहीँ शौच गर्ने अनुमति दिनुभयो। तपाईं उसलाई उसको जतिबेला इच्छाअनुसार दुर्व्यवहार गर्न दिनुभयो। तपाईंले नै उसलाई यस्तो बनाउनु भएको हो। ऊ त्यसै बनिएको होइन।

यसबाहेक यहाँ हलिउड र बलिउड पनि छन्। ठीकै हो, उनीहरूले कतिपय  उत्कृष्ट फिल्म पनि बनाउँछन्, जसलाई हेरेर हामी नारीवादबारे केही सिक्छौं। तर यस्ता फिल्मको प्रतिशत धेरै कम हुन्छन्।

रहल फिल्ममा पुरुषहरूका लागि त्यै पुरानो स्टीरियोटाइप्स (जड़ छवि) –लाई दोहोऱ्याउँछ, जसले उनीहरूलाई भयावह, अपमान गर्ने व्यक्तिको रूपमा परिवर्तन गर्दछ। केही वर्ष अघि बनिएको दबङ्ग फिल्मलाई नै हेर्नुसक्नु हुनेछ तपाईं, यसमा एकजना पुलिसलाई थानामा रक्सी खाइरहेको देखाइएको छ। यो फिल्मले १५० करोड़ रुपियाँको कमायो। भारतका उपभोक्ताहरू यस्तो फिल्म हेर्न किन अस्वीकार गर्दैन?

केही मानिसहरूको भनाइ छ, सोशल मीडियामा जनताको मीडिया बन्ने क्षमता छ। के तपाईँले कहिले यसलाई कर्पोरेट मीडियाको विकल्पको रूपमा प्रयोग गर्ने कोशिश गर्नुभयो?

पहिलो कुरा, मीडिया या टेक्नोलजीको आफ्नो कुनै धर्म हुँदैन। यसले उसैको धर्म पालन गर्दछ, जसले यसलाई प्रयोग गर्छन्। यही कुरा कर्पोरेट मीडिया र सोशल मीडियामा पनि लागु हुन्छ।

जब हामी जनताको मीडियाको कुरा गर्छौं, त्यसबेला हामीले यी कुरालाई ध्यानमा राख्नुपर्छ, समाजको एक अंशका लागि इस्लामीकरण पनि जनताको एजेण्डा हो।

सबै कुरा यसमाथि निर्भर गर्दछ, सोशल मीडियाको प्रयोग कसले गरिरहेका छन् – यो कुनै हिन्दुत्ववादी एक्टिभिस्टको हातबाट प्रयोग भइरहेको छ या इस्लामवादीको हातबाट अथवा आईएसआईएसका लागि काम गर्ने कुनै व्यक्तिको हातबाट, जसले सोशल मीडियाको प्रयोग कसैभन्दा कम्ती गरेको छैन।

हाम्रो देशमा यदि कुनै स्त्रीले राजनैतिक पार्टीबारे केही भनिहाल्यो भने केही मिनटमै हजारौं मानिस मिलेर उसको ट्रोलिङ शुरू गरिहाल्छन्। हामीलाई थाह छ, कतिपय राजनैतिक पार्टीले ट्रोलिङ गर्नेहरूलाई आफ्नो पार्टीमा नियुक्ति दिएर राखेका छन्। उनीहरूको काम भनेको कसले के भन्यो, त्यसमाथि दृष्टि राख्नु हो। हाम्रो देशमा केटीहरू सोशल मीडियामार्फत् केटाहरूको प्रेममा पर्छन्।

र ती केटाहरूले केटीको फोटो लिएर त्यसलाई अनलाइन अपलोड गरिदिन्छन्, जसको कारण धेरै केटीहरूले आत्महत्या गर्न बाध्य भएका छन्। कसैलाई थाह छैन, कतिजना केटा-केटीहरूले यसरी आत्महत्या गरिसकेका छन्।

यस्तो किन छ ?

मैले हालै कुनै ‘टेड टक्’ सुनेँ, केही देशमा 12 वर्षदेखि अधिक उमेरका 80 प्रतिशत केटाहरूले पोर्न हेर्छन्।

हामी बस स्टपमा उभिएर बस पर्खिरहँदा ‘शीला की जवानी, मुन्नी बदनाम हुई, मैं तो तन्दूरी मुर्गी हूँ यार, लौण्डिया पटाई ले, मिस कल  से’ -जस्ता गीत हेर्ने निर्णय गर्छौं।

भारतमा हरेक स्त्रीलाई एक ‘लौण्डिया’ –मा रिड्युस गरिएको छ। धार्मिक परिधिमा हामीलाई कम्तीमा लौण्डिया भनेर बोलाइँदैन। हुनसक्छ यस्तो लुकेर भनिने गरिन्छ तर खुल्ला रूपमा भने भन्दैनन्।

म यसका लागि केवल फिल्म निर्माताहरूलाई मात्र दोष दिन्नँ। असलमा हामी नै हौं, जो उनीहरूको फिल्म हेर्छौं। तर हामीले महिला पहलवानमाथि बनिएको फिल्म ‘दङ्गल’ –लाई पनि रूचाएकाछौं। यो फिल्मले इतिहास बनायो। दङ्गलले 400 करोड़ रुपियाँभन्दा धेरै आयआर्जन गऱ्यो।

यसभन्दा अघि ‘बजरङ्गी भाइजान’ –ले 150-200 करोड़ कमाएको थियो। भारत-पाकिस्तानमाथि बनिएको यो एउटा अत्यन्त राम्रो फिल्म हो। यसले पाकिस्तानका एकजना मानिसलाई मानवीकरण गर्दछ।

उनले एउटी बालिकाका र एकजना धार्मिक रूपले हिन्दूको रक्षाका लागि झूट बोलिरहेको देखाइएको छ। नभए हरेक मुस्लिम,  हरेक पाकिस्तानीलाई हाम्रो देशमा नराम्रो व्यक्तिको रूपमा देखाइने गरिन्छ।

मेरो भनाइको अर्थ, धर्म एउटा समस्या हो तर त्यस स्तरको समस्या होइन जुन स्तरको समस्या प्रोपगण्डा छ।

यद्यपि, सिमानाका दुवैतिर धर्मलाई नकारात्मक व्यवहारलाई प्रोत्साहन दिने सबैभन्दा ठूलो दोषीको रूपमा देखाइन्छ नि।

होइन होइन। म यो भनिरहेको छु, दुवै धर्म र पितृसत्ता नराम्रा हुन्। यो तथाकथित सेकुलर, पुञ्जीवादी, उच्चवर्गीय, वैज्ञानिक प्रणाली, जुन सबैभन्दा आधुनिक टेक्नोलजीको प्रयोग गरिरहेको छ….. यसले के गरिरहेको छ –

यसले गोरो बनाउने क्रीमको विज्ञापन बनाइरहेको छ। कसैले पनि एक मिनटका लागि भारतीय टेलीभिजनमा देखाइने धारावाहिक हेर्नसक्दैनन्….यी धारावाहिकहरू यति पितृसत्तात्मक मूल्यले भरिएका हुन्छन्…..यति अश्लील हुन्छन्। धेरैजसो बलिउड फिल्म सेमी-पोर्नोग्राफिक छन्। र, यस्ता फिल्महरूले कम्तीमा भारतमा धेरै संख्याका मानिसहरूलाई प्रभावित गरिरेहका छन्।

म यस्तो पनि सोच्छु, भारत र पाकिस्तानमा धर्म प्रयोगमा अन्तर छ। भारतमा महिनावरी (मासिक धर्म) -को वर्जिततालाई लिएर बलियो आन्दोलन छ। केही युवतीहरूले ‘ह्याप्पी टू ब्लीड’ नामको एक आन्दोलन शुरू गरे। उनीहरूले आफ्नो सेनिट्री प्याडमा सन्देश लेखेर विश्वविद्यालयहरूको दैलोमा टाङ्गने काम गरे।

जब उनीहरूले यही काम जामिया मिलिया इस्लामिया दिल्लीमा गर्न चाहे, विश्वविद्यालय प्रशासनले उनीहरूलाई निष्कासित गर्ने कोशिश गऱ्यो। यद्यपि उनीहरूले सङ्घर्ष गरे। यसपछि विश्वविद्यालय प्रशासनले उनीहरूलाई निष्कासित गर्न सकेन।

यसबारे एउटा मामिला सुप्रीम कोर्टमा चलिरहेको छ। यसमा प्रश्न सोधिएको छ – के कुनै धर्मले महिनावरी (मासिक धर्म) –को कारण स्त्रीहरूको प्रवेशमा रोक लगाउन सक्छ?

हामी धेरै अघि बढ़ेर धर्मलाई चुनौती दिइरहेकाछौं किनभने यता (पाकिस्तान) –को तुलनमा उता (भारत) –मा धार्मिक सङ्गठनहरूको डर अहिलेसम्म उति ठूलो छैन।

भारतमा  धर्म आधारित जुन पार्टीहरू छन्,  भारतीय जनता पार्टी (बीजेपी), राष्ट्रीय स्वयंसेवक सङ्घ (आरएसएस)- उनीहरूलाई धार्मिकभन्दा ज्यादा राजनीतिक सङ्गठनको रूपमा हेरिन्छ। यी पार्टीहरूको मुख्य मुद्दा राजनीतिक छ, तर धर्मको प्रयोग हिन्दु र मुसलमानहरूलाई विभाजन गर्नका लागि गरिरहेको छ।

भारतपाकिस्तान दुवै देशबीच शान्तिको सन्दर्भमा धर्मको के भूमिका छ ?

यसका लागि दुवै देशबीचको अशान्तिलाई लिएर म कुनै एक कारणलाई दायी मान्दिनँ। यो धेरै जटिल मुद्दा हो र, म यसलाई दुइ धर्मबीचको मुद्दामा रिड्यूस गर्न चाहन्नँ।

म यसमा अर्थशास्त्रलाई पनि प्रमुखतासँग सामेल गर्दछु। मेरो बुझाई छ, हाम्रा धेरै तथाकथित साम्प्रदायिक सङ्घर्ष वास्तवमै आर्थिक झगड़ा हो। लड़ाई यस कुरामा छ, संसाधन कसको अधीनमा हुनेछ। भारत-पाकिस्तानबीचको सङ्घर्षमा म संसारका सबै धनी देशहरूको हात देख्छु। मलाई लाग्छ यसको पछि (वैश्विक) सैन्य उद्योगको हात छ।

पाकिस्तानीहरूलाई लाग्छ, भारतलाई अब शान्तिमा कुनै रूचि छैन। यस्तोमा दुई देशबीचको सम्बन्ध कतातिर जाने सम्भावना छ?

जब नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथ लिए, त्यसबेला उनले (यस शपथ ग्रहण समारोहमा) दक्षिण एशियाका सबै नेताहरूलाई निम्तो दिए। यस्तो पहिला कहिले भएको थिएन्। यसपछि उनी टी-पार्टीका लागि लाहौर आए।

तर जुन समय यी सबै कुरा भइरहेको थियो, त्यस समय भारतमा हमला भइरहेको थियो। यसभन्दा अघि सबै दुवै देशको कुराकानी आवश्यक रहेको कुरामा राजी थिए। तर अब भारतमा केही मानिसहरू यस्तो सोच्छन्, सरकारलाई पाकिस्तानसित कुराकानी गर्ने आवश्यकतै छैन।

उनीहरू भन्छन्, भारतले कहिले पनि पाकिस्तानविरुद्ध युद्धको थालनी गरेन। कोही भारतीय, जो पाकिस्तानसँग प्रेमको कुरा गर्छन्, उसलाई आज भारतमा गद्दारको रूपमा हेरिन्छ। यस्तै कोही पाकिस्तानी, जो भारतसँग प्रेमको कुरा गर्छन्, उसलाई पनि पाकिस्तानमा गद्दारको रूपमै हेरिन्छ।

1990  र 2000 को दशकमा दुवै देशबीच पीपल टू पीपल कन्ट्याक्ट (जनतासित जनताको संवाद) धेरै नियमित थियो। तर अहिले यसलाई धेरै ह्रास आएको छ। तपाईंलाई के लाग्छ, यसको कारण ?

जब म जर्मनीमा पढ़िरहेको थिएँ। त्यसबेला पाकिस्तानीहरू मेरो सबैभन्दा राम्रो र नजीकको मित्र थिए। यसको कारण के थियो ? किनभने आफ्नो पासपोर्ट र धर्मबाहेक म सबै कुरा उनीहरूसित साझा गर्थेँ। हाम्रो खाना, हाम्रो सङ्गीत,  हाम्रो फिल्म, क्रिकेट सबै नै एउटै साझापनको सूत्रमा बाँधिएका छन्।

आज पनि भारतीय र पाकिस्तानी युवाहरू विदेशी युनिभर्सिटीमा परस्परमा मिल्छन्। यसमा केहीले विवाह पनि गर्छन्। यसैले भारत-पाकिस्तानबीच सम्बन्ध हाम्रो तुलनामा उनीहरूका धेरै हित जोड़िएको हुनपर्छ।

भारतीय र पाकिस्तानी तेस्रो देशमा मिलिरहेका छन्। उनीहरू आफ्नो देशमा पनि परस्परमा मिल्न चाहन्छन्।

यसको अर्थ तपाईं आशावादी हुनुहुन्छ ?

मेरा मित्र यदि हामी आशावादी हुनसकेनौं भने हामीले एक्टिभिज्म छोड़्न पर्दछ।

के कश्मीर मुद्दाको हलबारे आशावादी हुनपर्ने कुनै कारण छन्, किनभने यस्तो भारतपाकिस्तानबीच शान्तिको बाटोमा यो नै सबैभन्दा ठूलो ढुङ्गा हो?

मैले कश्मीरमा धेरै काम गरेको छुइनँ। मेरो ध्यान मुख्य रूपले नारीवाद र जेण्डरमाथि केन्द्रित छ। तर भारतमा एउटा ठूलो वर्ग हो, जसले कश्मीरमा मानवाधिकार उल्लङ्घन भइरहेको कुरा उठाइरहन्छ।

मानवाधिकार आन्दोलनका आलोचक भन्छन्, भारतका विभिन्न भागमा लगाइने स्वतन्त्रताको नारा कश्मीरसँग जोड़िएको छ। यद्यपि यी दुईबीच परस्परमा कुनै लेनदेन नै छैन।

मैले यो नारा त्यतिबेला (सन् १९८५) सिकेको हुँ, जतिबेला म पाकिस्तान आएकी थिएँ। नारीवादी कार्यकर्ता यस्तो नारा लगाइरेहका थिए – ‘मेरी बहिनीले पाउनेछिन् स्वतन्त्रता’, ‘मेरा छोरीले पाउनेछन् स्वतन्त्रता’ आदि।

मैले यसको अनुवाद अङ्ग्रेजीमा गरेँ र यो नारा बेजिङमा स्त्रीहरूमाथि भएको एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा लगाएँ। अहिले सीमाका दुवैतिरका मानिसहरूले यसलाई एउटा ठूलो मुद्दा बनाएका छन्।

पाकिस्तानमा हामी मान्छौं, भारत सरकार कश्मीरी मुसलमानको स्वतन्त्रताको मागलाई दबाइरहेको छ। तपाईं कश्मीरको समस्यालाई कसरी हेर्नुहुन्छ?

कश्मीरमा एकै समयमा धेरै कुराहरू भइरहेका छन्। एकतिर एक महिलाले नेतृत्व गरिरहेको पार्टी पीपल्स डेमोक्रेटिक फ्रण्ट बीजेपीसँग मिलेर गठबन्धनमा सरकार चलाइरहेको छ, जसले भारतको संविधानको अनुच्छेद 370  अन्तर्गत् कश्मीरलाई दिएको विशेष दर्जाको विरोध गर्दछ। दोस्रोतिर त्यहाँ स्वाधीनताका आन्दोलन पनि छ। हरेक वर्ष यस्तो लाग्छ, कश्मीरमा पर्यटनमा वृद्धि भएको छ। तर यसपछि ठूलो बम विस्फोट हुन्छ र पर्यटकहरूको संख्या घट्छ।

कश्मीरको अवस्था अत्यन्त जटिल छ। त्यहाँ जे पनि भइरहेको छ, त्यो धेरै दुर्भाग्यपूर्ण छ। यो भारतको अर्थव्यवस्थामा पनि ठूलो अवरोध हो। किनभने भारतले कश्मीरको सुरक्षामा धेरै पैसा खर्च गरिरहेको छ।

के तपाईंलाई लाग्छ, भारतमा कश्मीर मुद्दाको हल निस्कन आवश्यक छ भन्ने कुराको बोध बढ़िरहेको  छ ?

म यसबारे सम्पूर्ण भारतको सन्दर्भमा जान्दिनँ तर  उत्तर भारतमा यस्ता बहसहरू चलिरहेका छन्। हामीलाई लाग्छ, कश्मीरीहरूको मानव अधिकारलाई लिएर केही ठोस कार्य गरिनआवश्यक छ। कश्मीरभित्रका राजनैतिक दलहरूबीच यो मुद्दालाई लिएर तनाउ छ। केही राजनैतिक दल स्वाधीनता समर्थक कश्मीरीहरूसँग कुराकानीको पक्षधर छन्।

मलाई पनि लाग्छ, कुराकानी हुनपर्छ। किनभने केही महीनाका लागि स्कुल बन्द रह्यो। अहिले स्कुल खोलिएको छ। यस्तैमा त्यहाँ दुर्भाग्यपूर्ण बाढ़ले विनाशै गऱ्यो, जुन बाढ़ले कश्मीरीहरूमाथि समस्या थप्ने काम गऱ्यो।

के तपाईंलाई लाग्छ, नारीवादी आन्दोलनको परिधि र यसको लक्ष्यबारे समीक्षा गर्न आवश्यक छ ?

मलाई थाह छैन। तपाईं आन्दोलनलाई कसरी परिभाषित गर्नुहुनेछ। यदि परिभाषाको कुरा गऱ्यौं भने आन्दोलन केन्द्रीकृत ढङ्गबाट आयोजित एक्टिभिटी होइन। यसभित्र हजारौं समूह र व्यक्ति हुनसक्छन्।

जब ओकाराका कृषकहरूले विरोध गर्न शुरू गरे, तब के उनीहरू डब्ल्यूएएफ (वुमेन्स एक्शन फोरम) समक्ष यो भन्न आएका थिए, उनीहरू एक आन्दोलन शुरू गर्न चाहन्छन्?

उनीहरूले त्यहाँ भोकमरीको सामना गरिरहेका थिए। यसैले उनीहरूले विरोध गर्न शुरू गरे। के तपाईंलाई लाग्छ, शीमा किरमानीले सेहवान घेर त्यहाँ आतङ्की हमलाको विरोधमा डान्स गर्नभन्दा अघि कसैले सोधेका थिइन्।

नारीवादको जन्म पितृसत्ताको जन्मपछि भएको हो। यसभन्दा अघि यसको कुनै आवश्यकतै थिएन। शान्तिवादी आन्दोलनको जन्म युद्धको कोखबाट हुन्छ। हामी सामान्य रूपमा अघि भेटिएका मुद्दामाथि प्रतिक्रिया गर्छौं। हामीले कहिल्यै सोचेका थिएनौं, 2015  -मा डिजिटल क्राइम हाम्रो एजेण्डा बनिनेछ।

1970 र 80 -को दशकमा लिङ्ग आधारित (सेक्स सिलेक्टिभ) गर्भपातको समस्या थिएन। किनभने गर्भमा भ्रूणको लिङ्ग परीक्षण गर्ने आधुनिक मशीन त्यसबेला उपलब्ध थिएन।

यी दुइ दशकमा भारतमा नारीमाथि तेजाब फ्याँक्ने घटना हुन्थेन। 1980 -को दशकमा मैले पुञ्जीवादी पितृसत्ताको कुरा गरिनँ। किनभने त्यसबेला ग्लोबलाइजेशनले मेरो देशलाई प्रभाव पारेको थिएन।

ग्लोबलाइजेशन आउनभन्दा अघि भारतीय महिला ब्यूटी क्वीन बन्न चाहँदैन थिए। राजीव गान्धीद्वारा भारतीय अर्थव्यवस्थालाई जब ग्लोबलाइज गरियो, त्यससमयदेखि सौन्दर्य प्रतियोगितामा भारतीय प्रतियोगीहरूको संख्या धेरै बढ़्यो।

के हामी त्यसभन्दा अघि सुन्दरी थिएनौं ? यो सौन्दर्य प्रतियोगी मार्केटिङको औजार हो। यसले हाम्रा स्त्री, पुरुष देशलाई बजारको रूपमा प्रयोग गर्दछ।

तपाईंलाई लाग्छ, जेण्डर सम्बन्ध सुध्रिएको छ ?

यसलाई यसरी हेर्नपर्नेछ – भारतमा 1.25 अरब मानिसहरू छन्;  यसमध्ये एक करोड़ मानिसहरूका लागि जेण्डर सम्बन्ध सुध्रिएको छ।

तरै पनि यसमा सुधार भइरहेको छ….

निश्चित रूपले यसमा सुधार भइरहेको छ। हेर्नुहोस्, तपाईं एउटी स्त्री हुनुहुन्छ। र अर्को एउटी स्त्री अर्थात् मेरो अन्तर्वार्ता लिइरहनु भइरहेको छ। यो अन्तर्वार्ता एउटी स्त्रीको घरमा लिइरहनु भइरहेको छ। 50 वर्ष अघि यस्तो सम्भव थिएन।

अवश्यै धेरै कुरा परिवर्तन भइरहेका छन्। र, यो परिवर्तन समाजका हरेक वर्गमा भइरहेका छन्। तपाईंको देशमा एउटी नारी ट्याक्सी चलाइरहेका छन्। अर्कीले ट्रक। हाम्रो देशमा पनि सयौं नारीले ट्याक्सी चलाइरहेका छन्। यस्तो कुनै क्षेत्र छैन, जहाँ नारीले आफ्नो छाप नछोड़ेको होस्। यहाँसम्म कि उनीहरूले हावाजहाज चलाइरहेका छन्। दिल्लीदेखि न्यूयोर्क जाने एउटा फ्लाइटको क्रूमा एकैजना पुरुष छैन। नारी जूनमा गइरहेका छन्। उनीहरू सुप्रीम कोर्टको जज बनिरहेका छन्।

कानूनमा पनि लगातार राम्रोका लागि परिवर्तन भइरहेको छ। तपाईं र मेरो देशमा कुनै पनि नीति त्यसमा जेण्डर मुद्दालाई खाना झैं नुन र खोर्सानी नछर्केसम्म बनिँदैन। पछि यो नीति व्यवहारमा ल्याइन्छ-ल्याइँदैन त्यो बेग्लै कुरा हो।


 (अम्मारा दुर्रानीले क्रेम्बिज विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमफिल गरेकी हुन्। अहिले उनी पाकिस्तानको राजधानी इस्लामाबादमा बस्छिन्।


(यो अन्तर्वार्ता मूल रूपले पाकिस्तानको समाचार वेबसाइट हेराल्डमा प्रकाशित भएको थियो।)

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया