कति टाढ़ो छ कश्मीर?

साताको कविता


राजा पुनियानी

 


जब घरको घाँटी निमोठेर हुकुमती हावाको नङ्ग्रे हातले निषिद्ध अङ्गहरू चिथोर्छ

जब मान्छेले मुख खोल्छ कि भनेर सरकारको बन्दुकले खोल्छ चुच्चो

जब तन्नेरी सड़क गह्रुँ समयको ओछ्यान लगाएर दिउँसै घुर्न थाल्छ

जब मध्याह्नमै आइपुग्छ साँझ र उज्यालोको कण्डमको मूढ़ामाथि बसेर

अँध्यारोको षड़्यन्त्र बुन्दै चिया खान्छ –

तब लाग्दैन छेउमै छ कश्मीर?

 

इ यहीँ छ देशको तारमा सुकाउन झुण्ड्याइएको कश्मीरको अण्डरवेयर

इ यहीँ छ कश्मीरको ओभरडोज उल्टी

इ यहीँ छ कश्मीरको ऐतिहासिक खकार

इ यहीँ छ कश्मीरको नपुंसक पारिएको गुप्ताङ्ग

 

जब शान्त पातहरू बहुलाएको फेदाङ्माझैँ हल्लिन्छन्

जब सुनमायाको डोकोबाट दाउराहरू काँचो राजनीतिको घुमाउरो बाटोमा खस्छन्

जब थुतिएको जिब्रोबाट तप-तप खस्छ सपनाको रगत चिच्याइरहेको मौनताको नदीभरि

जब घरभित्रै बसेको आतङ्क सत्ताको कानुनी बारुद सुँघ्दै चेतना भएर खुल्ला चौकमा डुल्छ

जब घरबाहिर निस्किएको गाढ़े घाउ फाटिएकै हाफप्यान्ट लगाएर दबाइको म्याराथन कुद्छ

तब लाग्दैन छेउमै छ कश्मीर?

 

टाढ़ो कहाँ छ र कश्मीर?

एक हात टाढ़ो भूमिमा दागिएको गोलीको आवाज के चर्को सुनिँदैन र?

एक पाइला परको माटोमा खसेको खूनको अनुहार के चहकिलो देखिँदैन र?

 

तँलाई यति नै सोध्दैछु मेरो प्यारो दार्जीलिङ –

के अहिले पनि टाढ़ो छ र कश्मीर?

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया