हस्तक्षेपः  समाज र इतिहासको खिड़्कीबाट

हस्तक्षेप-पत्रिकाबाट साभार


  

टीका ‘भाइ’

 


टुप्पी:

अघाड़ि कम्प्युटर छ। वर्डको एउटा खाली पन्ना तेर्सिएर निहुँ खोजेजस्तो लाग्दैछ – ‘हन ए मान्छे के लेख्छस्? अब लेखेर के नाप्छस्?’ सधैँ यही चुनौतीलाई उत्तर दिन हामी लेख्छौँ लाग्छ।

लेख्नु भनेको यसरी लेख्नु पर्ने यो, यो अनि यो। यतिसम्म। यो भयो, यो भएन। लेख्दै जाँदा रातो कलम बोकेर हाम्रो शब्द जस्तै चेतनामा डल्लो धर्का कोरिदिने एउटा ठुलो ‘योजनाजस्तो’ कुनै महान् शक्तिजस्तो, कुनै अन्तिम निकायजस्तो देखिने व्यवस्थाले हाम्रो मगजभित्र उसको मनपर्ने, उसलाई ठीक लागेको, उसलाई चाहिँदो चेतना भरिदिइरहन्छ। ठूला मान्छे, ठूला मिडिया, ठूला ज्ञानी, यस्ता थुप्रै ठूलाहरू हाम्रो समाजमा निर्मित छन् समाजको चेतनालाई सधैँ गोठाला बसेजस्तो हेरिरहने। यत्तिखेर जनताको खास आवाज र चेतनालाई मुक्त गर्नु निक्कै जोड़ले चिच्याउनु छ। त्यो हामीभित्र भरिदिएको भ्रमपूर्ण धुनहरूलाई जितेर जानु हो भने त्यो धुनभन्दा सुनिने, त्यो धुनभन्दा धेर अनुभूत गर्नसकिने ढङ्गमा सुर-राग-सङ्गीत-ताल जम्मै लगभग बेवास्ता गरेर चिच्याउनु पर्नेजस्तो एउटा उकुस-मुकुसलाई समातेर हिँड़ेको चेतना हो ‘हस्तक्षेप’।

घाँटी:

संसारको इतिहासमै आशाको, ज्ञानको, कलाको, चेतनाको सबैभन्दा सङ्कटपूर्ण समय निर्मित छ। पूँजीवादले १९ र २०-औं शताब्दीको साम्राज्यवादको पाश्विक अनुहार छोपेर आफ्नो स्वार्थ र सङ्कटलाई नयाँ अनुहारमा अघि ल्याएको समय हो अहिले। एक दिन भारत खान अङ्ग्रेज भारत नै पस्थ्यो। आज अमेरिकाले घरमै बसेर अरबको तेल खान्छ। रूप परिवर्तन गरेपनि साम्राज्यवाद ज्यूँदो छ, यसका स्वार्थहरू ज्यूँदो छन् त्यसै र, जातीय समस्या, राष्ट्रिय समस्या र अरू अरू थुप्रै सामाजिक अन्तर्विरोधहरू ज्युँका त्यूँ छन्। छैन त एउटा कुरा। अघि जसरी देशी-विदेशी उपनिवेशको विरूद्ध विरोधको तीव्र अनि स्पष्ट आवाज सुनिन्थ्यो, आजको विरोध अनि आवाजमा त्यो स्पष्टता अनि दम छैन। उसो भए के संसारमा अब परिवर्तनको अनिवार्यता शेष भयो? के अब यही सामाजिक व्यवस्था नै अन्तिम हो त? परिवर्तन हुन्छ भन्नेहरूसम्म चेतना-भ्रमको महान् खाड़लमा छन्। बीसौँ शताब्दीको पछिल्लो समय अनि एक्काइसौँ शताब्दीको शुरूवात आशावादिता र क्रान्तिकारी विश्व दृष्टिकोणको विरूद्ध सबैभन्दा बलियो आक्रमणको समय थियो।

रसियामा वामपन्थीहरूको सुधारवादमा पतन, फ्रान्समा सन १९६०-को दशक विद्याथी अनि कृषकहरूको विद्रोहको असफलतासितै शुरू भयो निराश चिन्तनको शिकारको प्रक्रिया। आम मान्छेको एकमात्र हतियार ‘विचार’-लाई भ्रमपूर्ण अवस्थानमा उभ्याउन ‘उत्तर-आधुनिक’ चिन्तकहरूले कुनै कसर छोड़ेनन्। महा-आख्यानको खण्डन, केन्द्रियताको खण्डन (केवल विचार-केन्द्र), इतिहास, साहित्य सबै-सबैको एक पछि अर्को मृत्युको घोषणा गरिन थालियो। यही सङ्कटपूर्ण अवस्थान नै हाम्रो वास्तविकता, वा समग्रमा मान्छेका चेतना ,बुद्धि र क्षमता नै अब खास केही छैन भन्ने एउटा निराशा स्वीकृतिको धागो जस्तो विभिन्न चेतना लहरबाट संसार प्रभावित बन्यो।

‘उसो भए के?’

‘चुप!’

‘समाजको के हुन्छ?’

‘चुप!’

लेख्नु किन आफ्नो व्यक्तिगत आत्मपीड़ाबाट मुक्ति पाउनु वा क्षणिक आनन्द अनुभूतिकै निम्ति?

(टाउको कन्यायो।)

जब साहित्यले आफ्नो समयका बलिया राजनैतिक केन्द्रको सिर्जनात्मक अनि सांस्कृतिक गुलामी गर्दछ त्यो अवस्था भनेको समग्र समाजको निम्ति एक घातक सङ्केत हो। हाम्रो देशमै एक समय, क्रूर होस्, विलासी होस्, राजा भनेपछि विष्णुको अवतार स्वीकारिरहे ती समयका कलम अनि चेतनाले। अहिले समय बदलियो। अहिले कुरा अनि चेतना ठीक उदार अनि पूँजीवादले निर्माण गरेको राज्य-व्यवस्थालाई चाँहिदो प्रजातान्त्रिक मूल्यसम्मका कुरा हाम्रा पाठहरूमा भेटिन्छन्। यो समयभन्दा परको कल्पना पनि हामीसित छैन। आजबाट अर्को भोलिको सपना पनि छैन। जे छ त्यो हेऱ्यो। जे छ त्यो लेख्यो। हामी जे छ त्यसैमा टक्क अड़िएर समाज हेर्दछौँ। कि हेर्ने बनाइएका हौँ कहिले सोधेनौँ खोजेनौ। विचारको केन्द्र भत्काउन तम्सिएकाहरूले आफ्नो शिरमाथि नाचेको राजनैतिक केन्द्रको साङ्ग्लो चिनेनन् जो वास्तवमा निर्णायक शक्ति भएर आजको समय, मूल्य, स्वार्थलाई जोगाएर राख्न उद्यत छ। मान्छेका चैतन्य राज्य-सत्ताबाट अज्ञात रूपमा, विभिन्न प्रविधिका प्रयोगले एक प्रोग्राम्ड अनि सञ्चालित चेतना बोकेको मसिन बन्दैछ। यस्तोमा समाज परिवर्तनको सपना देख्ने, जीवनलाई उचाइतिर लैजाने सकारात्मक अनि युगान्तकारी चिन्तनलाई बिर्को मारेर हल्लाहरूको कारागारभित्र बन्दी बनाइएको अवस्था हो।

यो समय यो क्रूर बेला। जहाँ सामाजिक, आर्थिक, सांस्कृतिक, ज्ञान मीमांसक आदि सङ्कटहरूको ताँती ताँती देखिरहेका छौँ। हाम्रो चेतना भनेको कुन भवाङ् टाल्नु भनेर ट्वाल्ल परेर हेरिरहेको अवस्था हो।

भुँड़ी:

देश आफूलाई अहिले सकी-नसकी शक्तिमान दर्शाउने होड़मा छ। भारत भनेर जुन भारतको तस्वीर संसारअघि देखाइएको वा देखाइँदै छ, ‘त्यो वैविध्य भरिएको चमत्कारी अनुहार, त्यो बहुराष्ट्रिय अवस्थान’-देखि परको अर्को वास्तविकता देशमा राष्ट्रिय एकता एउटा ढोङ्ग मात्र भएको छ। विकसित अनि राजनैतिक दखल भएका राष्ट्रियता, विकासशील, राष्ट्रियता अनि अविकसित राष्ट्रियताको असमान जीवन र विकास, जातीय अनि साम्प्रदायिक सङ्कट र आर्थिक-सांस्कृतिक असमानता आदि देशका डरलाग्दा बिमारीहरू छन्।

अङ्ग्रेजी अधिन भारतदेखि स्वाधीन भारत हुने प्रक्रिया र सङ्ग्रामपछि भारत साम्राज्यवादीदेखि देशी उपनिवेशवादीहरूको हातमा गयो। देशमा स्वाधीनता र गणतन्त्रको चाबी मुट्ठीभर मान्छेका हातमा पुगे। सन् १९४७-भन्दा अघि देश र जनताले देखेको स्वप्न देशका स्वार्थी अनि मुट्ठीभर धनी उद्योगपती र पूँजीपतीका हातमा गए।

सन् १९७०-को दशकसम्म देशको ठूलो हिस्सामा आफ्नो वर्चस्व स्थापित गरेर बसेको पुरानो सामन्ती जीवन र अर्थतन्त्रलाई बिस्तारै औद्योगिक वा पूँजीवादी अर्थतन्त्रले निल्दै निल्दै लग्यो। अहिले हामी छौँ सन् २०१५ –मा। सोच र संस्कृतिमा सामन्ती प्रवाह देशबाट हटेको छैन तर अर्कोतिर सांस्कृतिक-भूमण्डलीकरणको प्रवाह तेज छ। सूचना-प्रविधिमा आएको तीव्रता, तीव्र तक्निकी विकासको जादूमय संसारमा निम्न-मध्य-वित्तीय, मध्य वित्तीय अनि शिक्षित श्रेणीहरूले आफूलाई अनि मान्छेलाई निरीह देखिरहेको समय पनि यही हो। मान्छेको अदम्य शक्ति दोहन गरेर एउटा ठूलो ‘आर्थिक-सामाजिक-राजनैतिक-सांस्कृतिक’ शरीर गजधम्म सुतेको छ-छ, घुरेको छ-छ, त्यस्को विशालतामा चकित छौँ – जो मान्छेकै सामूहिक शक्तिले निर्माण गरेको हो भन्ने बिर्सिहाल्दछौँ।

(ए! ऐले कति बज्यो? – एकक्षण घड़ी हेर्छु है। दिउँसोको १२ बजेर ७ मिनट गएछ।) – घड़ी हेरिरहनु अभ्यस्त छौँ। समय-समय-समय। हामीले स्कूलदेखि नै घण्टी सुन्ने चेत हुर्काएर आएका छौँ। घण्टीमा उठ्नु, घण्टीमा सुत्नु, घण्टीमा घर जानु, घण्टीमा निदाउनु। जीवनका केही निजी हिस्सा बाहेक अरू सबथोक घण्टीमा, कुनै बेला त लाग्छ नानीहरू पनि कुनै दिन घण्टी ठोक्दा जन्माउने समय हुन्छ कि! (मजाक मात्र) तर वास्तविकता के भने हामीभित्र घण्टी र समयको सजगताजस्तै थुप्रै व्यवस्थाले कोचारिदिएको डरहरू छन्। – जजको छेउमा चुपचाप खड़ा अपराधीजस्तो (हाम्रो स्वाधीनता) – बोल्यो टेबल ठट्टाउँछ। बोल्यो आँखा तर्छ। बोल्यो न्यायालयको अपमान हुन्छ। यो बोल्दा देश विरोधी हुन्छ, राज्य विरूद्ध षड़्यन्त्र हुन्छ। यो बोल्दा मानहानि हुन्छ। यो बोल्दा देशको एकता र अखण्डतामा आँच आउँछ। जहाँ हेऱ्यो, त्यहीँ कुनै अदृश्य चोर अम्लाले लाखेस् भन्दै खेदिबस्छ हामीलाई।

नबोल्ने, चुप बस्ने संस्कृतिजस्तो आदतले समाजका तमाम खराबीहरूलाई उचालिबस्छ – यति नाथे कुरा त ट्याक्क नबोल्नेहरूलाई सबैभन्दा धेर थाहा छ। यो गलत भयो, यो सही भएन, यसो हुनुपर्ने भन्ने आवाज मरेको ठाउँ राज्य-सत्ताको निम्ति शान्तिपूर्ण ठाउँ हुन्छ। यो भएन, यो हुनुहुँदैन भन्दै प्रतिरोधको आवाज उठ्ने ठाउँ देशको सुरक्षाको निम्ति संवेदनशील, रातो दाग परेको ठाउँ। जनताको निम्ति एउटा राज्य वा सत्ता सही हुनुपर्ने ठाउँमा सत्ता र राज्यको निम्ति जनता सही र ठीक बसिदिनुपर्ने स्थिति हाम्रो देशको हो चाहे जनता भोकले मरोस् या महामारीले।

यतिखेर देशमा गरिब किसान, मेहनतकस अनि मजदुरहरूको जीवन केवल राजनैतिक एजेण्डा निर्माण हुने कारखाना मात्र छ। कति किसान आत्महत्या गर्दैछन्। कति मजदुर आफ्नो दैनिक रोजी-रोटीबाट वञ्चित बन्दैछन्। कति गरिब चिकित्सा सुविधाको अभावमा मर्दैछन्। साँचो हिसाब किताब नै छैन। तिनका निम्ति न कानून, न प्रशासन, न मिडिया, न त कुनै प्राज्ञिक केन्द्र या त्यसबाट प्रतिपादित ज्ञान-भण्डार। गरिब जनताको जीवन भनेको रेल्वे प्लेटफार्ममा मैला कागज चाटिहिँड़्ने अनाथ बालकको समान छ। धेरैभन्दा धेरै हाम्रो कोशिश सेवाको हुन्छ तर देशमा यति विघ्न जनता सङ्कटमा छन् कि सेवा मात्र यी सङ्कटलाई केही समय टाल्ने उदार औजार बनेको छ। चाहिएको र केही गर्नसक्ने ठाउँ भनेको त राजनीति नै हुँदोरहेछ। तर त्यस्तो राजनीति होइन, जुन हाम्रो दिमागमा सत्ताले टाँसिदिएको छ। उन्नत राजनैतिक चेतना, उन्नत राजनैतिक संस्कृति यसलाई स्थापित गर्ने सङ्घर्षको हिस्साको रूपमा अनि आजको बेला कुनै कारगर हतियार जनतासित छ भने त्यो भाषा र साहित्य नै हो।

घुँड़ा:

अब देशदेखि यता आफ्नै आँगनमा एकक्षण आऊँ। सामाजिक-राजनैतिक अवस्थानसितै भारतीय नेपाली साहित्यको इतिहासलाई धेरैले पर्गेल्ने यत्न गरेका छन्। स्वाधीनतापूर्वको समय नै हाम्राहरूमा जातीय-उन्मुक्ति र भविष्यको चिन्ता देखिन थालेको हो। सन् १९४० र १९५०-को दशक उल्लेखनीय तीनवटा धारा भारतीय नेपाली साहित्यमा देखा परे। यथार्थवाद (लैनसिंह बाङ्देलको ‘मुलुकबाहिर’ उपन्यासबाट), स्वच्छन्दतावाद (रूपनारायण सिन्हाको ‘भ्रमर’ उपन्यासबाट) अनि प्रगतिवाद वा समाजवादी यथार्थवाद (गणेशलाल सुब्बा, बद्रीनारायण प्रधान आदि कम्युनिष्ट सर्जकहरूबाट)। त्यसताक दार्जीलिङ नै भारतीय नेपाली साहित्यको केन्द्र थियो अनि नेपाली साहित्यमा पनि माथि उल्लेखित साहित्य धारालाई प्रबलतासाथ अघि लाने दार्जीलिङ नै हुनुको कारण दार्जीलिङको राजनैतिक सामाजिक जीवन नै थियो। नेपाल लेख्न-बोल्न दार्जीलिङमा जस्तो स्वाधीन थिएन। दार्जीलिङमा जस्तो शिक्षाको विकास नेपालमा आइसकेको थिएन अनि अङ्ग्रेज शासनअन्तर्गत दार्जीलिङका जनताले बाँच्ने समाज भनेको औद्योगिक समाज थियो जो नेपालको त्यसकालको सामन्ती समाजभन्दा उन्नत नै हुन्छ। त्यसर्थ दार्जीलिङमा लेखकहरू खुलेर अघि आए। अनि सामाजिक राजनैतिक जीवनमा पनि त्यसताकका लेखक-सर्जकहरूले नेतृत्वकारी भूमिका निर्वाह गरे। जातीय मुक्ति र भविष्यप्रति संवेदनशील सन् १९६० अनि सन् १९७०-सम्म नै कवि-लेखकहरू दार्जीलिङे समाजको केन्द्र थियो।

तर एउटा समस्या थियो दार्जीलिङसित मध्यम-अनि निम्न-मध्यम वर्गीय शिक्षित समाजमा निहित अवसरवादिता अनि आफूभन्दा सबलअघि झुक्ने र निर्बल अघि डुक्रिने थरिको नोकरशाही प्रवृत्तिको सांस्कृतिक प्रकोप। अङ्ग्रेजहरूप्रति, राणाहरूप्रति र कहिले भारतीय शाषक श्रेणीप्रतिको आस्था र वफादारीको रूपमा यस्ता परिघटनाहरू दोहोरिरहे। अर्को महत्त्वपूर्ण कुरा, भारतीय नेपालीहरूको सामाजिक राजनैतिक जीवन जातीय उन्मुक्ति होस् चाहे मेहनतकशहरूको मुद्दामा होस्, व्यावहारिक राजनैतिक सङ्घर्षको साटो अति भावुकता र रोमान्सवादी आदर्शको शिकार भइरह्यो, भइरहेछ। कालान्तरमा सन् १९८०-को दशकदेखि शिक्षित अनि लेखक-सर्जकहरू राजनीतिप्रतिको, समाजप्रतिको ठूलो निराशाको भासमा कैद हुनथाले।

सन् १९८६-को सशस्त्र सङ्घर्षपछिको समय भनेको राजनीति, समाज, साहित्य अलग-थलग आ-आफ्नो अस्तित्व धान्ने प्रक्रियाको हिस्सा हुनुपुग्यो। यसकै परिणामस्वरूप राजनीति अनि जन-सङ्घर्ष लिएर सर्जकहरूले हेर्ने दृष्टिकोण पनि केवल कटु-आलोचनात्मक मात्र हुँदैगयो तर त्यसबाट उत्पन्न सवालहरूप्रतिको मौनता र आँखा चिम्ल्याई धेरै स्पष्ट छन्। साहित्यमा समाज भए पनि त्यसमा कुनै आशा, सपना, र सङ्घर्ष चेत विद्यमान नहुनु सन् १९८० -पछिको भारतीय नेपाली साहित्यमा अङ्कित समयको छाप हो। यत्ति हो समय-समय साहित्यले ब्राण्ड फेर्ने काम गऱ्यो। लेख्ने तरिका, सोच्ने र कलालाई हेर्ने तरिकाबारे दुई-चार काम गरिए तर ती सबैसित एउटा सीमितता थियो। सन् १९४०-१९६०-को दशक भारतीय नेपाली साहित्यमा देखिएको उर्वरतामा ह्रास आउनु भनेको तक्निकी विकासको परिणाम एउटा अवश्य हो। मान्छेमा मनोरञ्जनका विभिन्न साधनहरू आए। तर यससितै समाज र जीवनप्रतिको उदासीनता अनि सामाजिक-राजनैतिक जीवनप्रति पनि लेखक-सर्जकहरूको उदासीनता पछिल्लो कालका सर्जकहरू स्वयंले अनुभूत गर्नसक्ने थोकहरू हुन्।

यो स्थिति कहिलेसम्म? एउटा सामूहिक झक्झकाई, एउटा सामूहिक आवाज र एउटा नयाँ लेखन धारको सामूहिक अभ्यास जरूरी भइरहेको धेरैले महसुस गरिरहेकै थिए। भारतीय नेपाली साहित्य केही नयाँ तरिकाले भन्ने, केही नँया, केही समाज र जाति छोएर, केही क्षेत्रीय मुद्दालाई वैश्विक उचाइ दिऊँ भन्नेजस्ता थुप्रै आस्था र स्वरहरूको परिणामस्वरूप विचलन, किनारीकरण आदि साहित्यिक बाटोहरू सन् २००० साल यता लेखिन कोरिन थालिए। तर यिनको एउटा सीमितता के थियो भने यी केवल एक नितान्त ‘साहित्यिक’ बाटो नै थिए। भारतीय नेपाली समाजमा एउटा विशेष दूरीमा वा समानान्तर हिँड़्न नसकिरहेको समाजका बहुपक्ष (राजनीति, संस्कृति, कला-साहित्य)-माझ एउटा सेतु निर्माण गर्ने प्रक्रियालाई, साहित्यलाई समाजसित जोड़्ने प्रक्रियालाई अनि समाजको संवेदनलाई अनुभूत गर्ने अनि एकैसाथ झक्झकाउने ब्युँझाउनेजस्ता अभिप्रायहरूसित एउटा ठूलो योजनाका साथ कुनै साहित्यिक आन्दोलन निर्माण गर्ने प्रक्रिया जरूरी थियो। एकैसाथ बोक्न नसकिने पहाड़ धेरैले बिस्तारै बिस्तारै ठेल्दै अलि अघि लगेर जानुपर्ने एउटा सामूहिक प्रक्रियाको थालनी जरूरी थियो। र सबैले सोच्ने अनि सबैले केही गर्दै जाने अभिप्रायलाई शुरूमा नाम मात्र दिइयो ‘हस्तक्षेप’। यसलाई शुरूमै व्याख्या गरिए शुरूमै मर्छ र  यसैले सबैको मनले ‘केही गरौँ’’ भनी बोध गरिएको हुटहुटीलाई नाम मात्र दिएर केही समय पाक्न दियौँ। जसको स्वरूप सग्लो, अनि एक-रूपको नभएर अन्तर्विरोधपूर्ण छ। केही साझापन छोड़ेर। (जुन अन्तर्विरोध र साझा विषयमाथि पछि अवश्य चर्चा गरिनेछ।)

खुट्टा:

अब हिँड़्ने बेला आयो। साहित्यिक सौन्दर्यशास्त्रीय एउटा मतका रूपमा मात्र होइन। यसलाई विचारसहित, कलात्मक प्रयोग सहित साहित्यले समाजमा गुमाएको गरिमा र महत्त्वलाई सुदृढ़ तुल्याउने अनि आम जीवनमा पनि साहित्यलाई जोड़्ने सेतुको रूपमा साहित्यकार मात्र होइन ‘साहित्यिक-कर्मी’ निर्माण गर्ने उद्देश्य हस्तक्षेपसित जोड़िएको थियो। यसका निम्ति ‘समाज’-लाई नजिकबाट बुझ्ने, यसका अन्तर्विरोध खुट्याउन सक्ने सचेत सर्जकहरूको भूमिका अनिवार्य हुन्छ। आजको समयजस्तो चेतले पुग्दैन। यसभन्दा उन्नत समयचेत अनि डेमोक्रेटिक अभ्यासलाई प्राथमिकता दिँदै साहित्यलाई समाज र जनमुखी बनाउनेजस्ता साझा हाँगा समाएर हस्तक्षेपीहरू अघि आउनेछन्। तर यो आन्दोलन भने एक हिसाबले अनि एकैसाथ राजनैतिक, साहित्यिक, सांस्कृतिक मुहिम पनि भएको हुनाले एउटा लामो कालसम्मको क्रमिक हिँड़ाइ हो। प्रारम्भिक चरणमा हस्तक्षेप स्वतःस्फूर्त बग्ने धार बोकेको लागेपनि यससित समय, इतिहास, समाजको प्रभाव, आवश्यकता र अभिव्यक्ति गाँसिएको छ तथापि यसको मूल उद्देश्य र अभिप्राप्ति एउटा सामूहिक प्रयत्न र शक्तिमा निहित विषय हो।

विमर्श यहाँबाट शुरू गरिएको छ।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया