सर्वदलीय बैठकमा गोर्खा लीग नजानेः मोर्चाको आन्दोलनलाई हामी पत्याउँदैनौँ : प्रताप खाती

 शैलेन्द्र समदर्शी

खरसाङ, 11 जून।


गोर्खा जनमुक्ति मोर्चाले आउँदो 13 जूनको दिन डाकेको सर्वदलीय बैठकमा अखिल भारतीय गोर्खा लीग (अभागोली) जानेछैन। मोर्चाले डाकेको सर्वदलीय बैठकमा गोर्खालीग उपस्थित नहुने यसका महासचिव प्रताप खातीले स्पष्ट पारेका छन्। ‘‘विमल र रोशनले गरेको बैठकमा गोर्खा लीग जाने प्रश्नै आउँदैन’’, उनले भने, ‘‘सर्वदलीय बैठक मोर्चाको नाटक मात्र हो। चौकी जोगाउने।’’

गोर्खा लीग महासचिवले मोर्चाको आन्दोलनमाथि शङ्का गरेका छन्। उनी भन्छन्, ‘‘बङ्गालको तलब थापेर विमलहरूले गोर्खाल्याण्ड आन्दोलन गर्छ भन्दा अरूले पत्याउला तर हामी पत्याउँदैनौं।’’ यदि मोर्चाको स्थानमा अन्य राजनैतिक पार्टी अथवा कुनै राजनैतिक सङ्घ-संस्थाले यो सर्वदलीय बैठक राखेको भए, गोर्खालीग अवश्यै जाने पनि खातीले बताए। गोर्खाल्याण्डका लागि गोर्खालीगले जति अरू कुनै पार्टीले त्याग नगरेको उनको दावी छ। ‘‘गोर्खाल्याण्डकै लागि हामीले हाम्रा अध्यक्ष मदन तामाङलाई गुमायौं। जीटीएको विरोध गरेकै कारण मोर्चाले उनको हत्या गरेको हो। उनी गोर्खाल्याण्डका साँचो योद्धा थिए।

आज हाम्रा अध्यक्षले भनेको कुरा मानेको भए, मोर्चाको यस्तो अवस्था हुनेथिएन। डीएमले एउटै चिट्ठीमा बन्द गर्नसक्ने सानो व्यवस्था (जीटीए) –मा भुलिएर हेपाई सहँदै बाँच्नुपर्ने थिएन’’, लीग महासचिवले भने। उनले मदन तामाङ हत्याकाण्डलाई लिएर राज्य सरकार र हिल तृणमूल कङ्ग्रेसले राजनीति गरिरहेको आरोप लगाए।

यदि राज्य सरकार मदन तामाङ हत्याकाण्डमा संलग्न दोषीहरूलाई पक्राउ गर्न साँच्चै इमानदार छ भने यो हत्याकाण्डसम्बन्धित डिजिटल फाइल (फोन कल्स रेकर्डिङ) राज्य सरकारले सीबीआईलाई नभए कोर्टलाई सुम्पिनुपर्ने खातीले माग गरे। यसका साथै हिल तृणमूल कार्यकर्ताहरूलाई मदन तामाङ हत्याकाण्डलाई मुद्दा बनाएर सड़कमा ओर्लिनका सट्टामा पार्टी प्रमुख एवं राज्यकी मुख्यमन्त्रीलाई डिटिल फाइल कोर्टमा अथवा सीबीआईलाई सुम्पिन, हाईकोर्टले मोर्चा नेताहरूलाई दिएको बेल सुप्रिम कोर्टमा गएर रद्द गर्नुपर्ने तथा हत्याको दिन सुरक्षा व्यवस्थामा देखिएको फितलोपन र त्यसपछि निकोल निखोज तथा अन्य प्रकरणको सत्यताका लागि जुडिशियल इन्क्वरी गर्ने माग राख्नुपर्ने सुझाए।

‘‘अहिलेका सबै घटनाहरूलाई हेर्दा यी सबै घटनाहरूले ममता र विमलमाझ साँठगाँठको चलखेल देखिरहेको उनले शङ्का गरेका छन्। राज्यका लागि पहाड़को सत्तामा विमललाई बसाउनु नै फाइदा छ। किनभने विमलले सत्ताको हितका लागि राज्यलाई चाप दिँदैन। केवल आफ्नो हित र मोजमस्तीलाई हेर्छ’’, गोर्खा लीग महासचिव प्रताप खातीले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन