‘पत्रकार दरबारी पनि बन्नु हुन्न, सरकारी पनि बन्नु’

वरिष्ट पत्रकारः विनोद दुआ

अनुवाद-सचिन चाम्लिङ


द वायर हिन्दीका सल्लाहकार सम्पादक हुन् विनोद दुआ। वायरमा जन गण मन की बातकार्यक्रम प्रस्तोता पनि हुन्। उनी भारतका पहिलो चुनाउ विश्लेषकहरूमध्ये एक पनि हुन्। प्रणय रायसित दूरदर्शनमा चुनाउ विश्लेषण गरिसकेका छन्। जनवाणीनामक कर्यक्रममा आम मानिसदेखि मन्त्रीसम्म नै संवाद गरिसकेका हुन्। दूरदर्शन-मा समसामयिक विषयमा विभिन्न कार्यक्रमका प्रस्तोता पनि थिए।  टीवी टुडे-का चीफ प्रोड्यूसर रहिसकेका छन्।  एनडीटीवी इण्डिया-का सम्पादक पनि रहिसकेका विनोद दुआलाई पत्रकारिताको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याए वापत् रेडइङ्क अवार्ड फर लाइफटाइम अचिभमेन्टपुरस्कारले सम्मानित गरिएको थियो।

 7 जून 2017 को दिन मुम्बईको एक समारोहमा उनले दिएका भाषण यहाँ राखेका छौँ-खबरम्यागजिन


तपाईँहरूले हेर्नुभयो उकालो सिँड़ी चढ़ेर आउनु पनि मलाई सहाराको आवश्यकता पर्‍यो। वास्तवमा मैले आफ्नै घुँड़ा चोटग्रस्त पारेको छु। निहुरिन मैले अस्वाकीर गरेँ। म घस्रिने प्रयासमा थिएँ अनि त्यही प्रयासमा मैले आफ्ना घुँड़ाहरू चोटग्रस्त बनाएँ, नत्र म एकदम ठिक छु।

आरम्भमै उठेका दुईवटा विषयबारे म छिटोछिटो भन्नेछु।

प्रथम, हामीले आफैभित्र हेर्नु पर्नेछ अनि दोस्रो, जुन स्थिति मिडियाका लागि बनेको छ, हामीले त्यसतर्फ पनि हेर्नु पर्नेछ। सर्वप्रथम म हर्षा भोगलेको उदाहरण दिन चाहान्छु। हर्षा भोगलेले क्रिकेट राम्ररी बुझ्छन्।

चाहे 20 ओभरको म्याच होस्, 50 ओभरको म्याच होस् अथवा टेस्ट म्याच नै किन नहोस्, उसलाई सबै फरम्याटका क्रिकेट म्याचको विभिन्न पहलुबारे राम्ररी ज्ञात छ। ती पहलुबारे तिनी राम्ररी विश्लेषण गर्छन्। तर तिनी आफै क्रिकेट खेल्छु भन्छन् भने सायदै उनी असल खेलीड़ी प्रमाणित बन्लान्। ठिक त्यसै गरी हामीले आफ्नो ल्याकत र बलबुतामा राजनीतिलाई बुझेका हुन्छौं। अब राजनीतिमा उत्रिँदैमा हामी असल राजनीतिज्ञ प्रमाणित भइहाल्छौं भन्ने हुँदैन। हामीलाई नेताहरूबाट यस्तो दुरी बनाइराख्नु पर्नेछ जसमा हामीलाई उनीहरूको आवश्यकता परोस् अथवा चाहिएको थोक उनीहरूबाट पाउन सकियोस्।

तैपनि उनीहरूको साह्रै नजिक भने जानु हुन्न।

दोस्रो कुरो हो ‘वाइकेरियस सेन्स अफ पावर’ अर्थात् शक्तिको गलत अर्थ लगाउनु। मलाई अहिले पनि याद आउँछ जब स्वर्गीय राजेश पाइलट जिउँदै थिए तब भाजपाको सांस्कृतिक पुनर्जागरण र्‍याली सम्पन्न हुन गइरहेको थियो। राजेश पाइलटले पञ्जाब पुलिसलाई बोलाएका थिए। यो 90 अथवा 92 सालको कुरो हो। मैले उनलाई आफ्नो स्टुडियोमा बोलाएको थिएँ। अन्तर्वार्ता सकियो। तिनी बाहिर निक्ले। मेरो सम्पूर्ण टोली बाहिर खड़ा थियो। बाहिर उभिएका 35-40 जना मानिसहरूलाई देखाउने उद्देश्य र विनोदलाई राम्रो लागोस् भनेर पाइलट साहबले मेरो काँधमा हात राखेर मलाई भने ‘विनोद! बताऊ साथी म कसरी यसलाई सम्हालूँ?’

त्यसपछि मैले भद्र तरीकाले आफ्नो काँधबाट उनको हात हटाउँदै भने, ‘म मूर्ख भए तपाईँलाई कसरी सम्हाल्नु भनेर बताउने थिएँ। यो तपाईँको काम हो। तपाईँसित विशेषज्ञहरू छन्। तपाईँलाई सायद लागेको हुनसक्छ कि मलाई राम्रो लाग्छ भनेर।’

हामीमध्ये धेरै यस प्रकारले शक्तिको गलत अर्थको जालमा फँस्न पुग्छौँ। सायद यसको कारण यो हुनसक्छ कि हामी ती व्यक्तिहरूको सम्पर्कमा अथवा नजिकमा छौँ जससित शक्ति छ। हामीलाई लाग्छ कि हामी पनि शक्तिशाली छौँ। हामीले त्यसको ध्यान राख्नुपर्छ।

तेस्रो, मेरो आवश्यकता एक हजार रुपियाँ छ तर मेरो आम्दानी दस हजार।

त्यो त ठिकै छ। तर दस हजारभन्दा धेर कमाउन यदि मैले अधिक भन्दा अधिक कोसिस चलाएर हात पसार्नु भनेको लोभको सिमानाभित्र पस्नु हो। धेरैजनासित यसप्रकारको घटना भइसकेको छ। गलत तरीकाले धन कमाउनेहरू लोभको सिमानाभित्र पसे। त्यसपछि तिनै कुराहरूले उनीहरूलाई मृत्युपर्यन्त पिछा गरिरहे। त्यस्तो हामीले गर्नु हुँदैन।

चौथो, सुरु सुरुमा टेलिभिजन न्युज च्यानल, विशेष हिन्दी च्यानलमा भूत-भूतनी, नाग-नागिनी, टमाटरमा हनुमान जस्ता कार्यक्रमहरू तपाईँहरूले हेर्नुभयो। वीर सांघवीले भनेका मैले कतै पढ़ेको थिएँ कि यो न्युज होइन तर रियालिटी इन्टरटेनमेन्ट टेलिभिजन हो।

यदि दर्शकहरूलाई मन पर्छ भने उनीहरूलाई हेर्नु दिनुहोस्। तर यसको लाइसेन्स परिवर्तन गर्नुहोस्। यसलाई न्युज च्यानलबाट परिवर्तन गरेर रियालिटी इन्टरटेनमेन्ट टेलिभिजन बनाइदिइयोस्। प्रिन्स खाड़लमा झर्‍यो, तपाईँ दस घण्टादेखि त्यसमाथि नै लागिपर्नु भएको छ। कुनै व्यक्ति टेलिफोनको टावरमा चढ्यो। चार घण्टादेखि उ त्यहाँ छ र तपाईँ पनि चार घण्टा त्यही नै हुनुहुन्छ। तब तपाईँ न्युजबाट हटिसक्नु भएको हुन्छ। इन्टरटेनमेन्ट रियालियी टिभी देखाइरहनु भएको छ तपाईँले। यो पनि गर्नु हुँदैन। यो हाम्रो आन्तरिक कुरो हो अनि स्वाभाविक रूपले सबैभन्दा अहम कुरो हामी दरबारी बन्नु हुन्न, सरकारी बन्नु हुन्न। अब बात गरौँ बाहिरी जो हामीमाथि बादलजस्तै मड़ारिन आइपुगेको छ।

दुष्यन्त कुमारको कविताबाट एउटा छोटो अंश याद आइरहेको छ….

‘‘बोल्नै पनि यति गाह्रो भइदिन्छ कि भाइ

आँधी छ आकाशमा अनि मलाई तोकिन्छ तिमी राष्ट्रदोही हौ’’

यस्तो परिवेशबाट बाँच्नका लागि हामीलाई आवश्यक हुन्छ ताकत, हामीलाई आवश्यक हुन्छ हिम्मत। धेरै मानिसहरूमा ताकत र हिम्मत छ।

मैले देखेको छु मनलाई बाँधेर काम गरिरहेका छन् आज पनि असलभन्दा असल, धेरै शिक्षित, टाढ़ा-टाढ़ाबाट, ससाना गाउँहरूबाट मानिसहरू जो भविष्य बनाउन आएका छन् दिल्ली, दिल्लीको हिन्दी न्युज च्यानलमा। तर पछिल्ला तीन सालमा फरक आएको छ। तीन सालअघि हाम्रा च्यानलहरू सम्पादक अनि सम्पादक टोलीद्वारा सञ्चालन हुन्थ्यो तर अहिले मालिकहरूद्वारा सञ्चालन भइरहेको छ। हामीमध्ये अधिकांशलाई थाहा भएकै कुरो हो मालिकहरूको निष्ठा कतातिर छ? रामनाथ गोयन्का जस्ता अखबार मालिक थोरै छन्।

राजकमल झा (इण्डियन एक्सप्रेसका सम्पादक) अहिले विवेक गोयन्काबारे बताइरहेका थिए। मलाई उनीबारे थाहा छैन। तर रामनाथज्यूले पुरस्कार आरम्भ गरेका थिए आफ्ना स्वर्गीय छोरोको स्मरणमा ‘बीडी गोयन्का अवार्ड’। त्यो पनि एउटा यस्तो अवार्ड थियो जहाँ तपाईँलाई तपाईँकै कर्म क्षेत्रका मानिसहरूले सम्मानित गर्दथे। मेरा लागि यो पनि त्यस्तै क्षण हो अनि पुरै विनम्रताको साथ यस सम्मानलाई स्वीकार गर्दछु। म तपाईँहरूलाई धन्यबाद दिँदछु। यो केवल अवार्ड होइन तर सम्मान हो। मलाई मेरै कर्म क्षेत्रका मानिसहरूले सम्मानित गरे, त्यसका लागि धेरै धेरै धन्यबाद।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया