अडिटको डरले कार्यालय बन्द गरिएको हो-राजेन मुखिया

निर्माण थापा

खरसाङ, 11 जुन।


हिल तृणमूल काङ्ग्रेसले आज खरसाङमा जिल्ला कमिटीको बैठक गरको छ। गोर्खा जनमुक्ति मोर्चाले घोषणा गरेका कार्यक्रमहरूबारे बैठकले समिक्षा गरेको छ। बैठकपछि हिल तृणमूल काङ्ग्रेसका अध्यक्ष राजेन मुखियाले गोर्खा जनमुक्ति मोर्चाका नेताहरूले आफ्नो भ्रष्टाचार सार्वजनिक हुने डरले कार्यक्रमहरूको घोषणा गरेको आरोप लगाएका छन्।

‘शुरुबाट नै मोर्चाले जनतालाई धोकामा राखिरहेको छ। ममता व्यानर्जीले बङ्गला अनिवार्य हुँदैन भनिसक्दा पनि मोर्चाले त्यसको विरोध गरेर जनतालाई भ्रममा राख्यो,’ मुखियाले भने, ‘वास्तवमा मोर्चाका नेताहरू खुस्किएको जनविश्वास फर्काइल्याउने नाकाम कोशिशमा छन्। अशान्ति गरेर केही प्राप्त हुँदैन।’

सोमबारबाट हुने मोर्चाको कार्यक्रमबारे तिखो प्रतिक्रिया गर्दै उनलले मोर्चाका नेताहरू अथवा जीटीएका सभासद्हरूले आफू बाँच्न जनतालाई असुविधामा पारिरहेको आरोप लगाए।

‘मुख्यमन्त्री ममता व्यानर्जी जीटीएको स्पेशल अडिट गर्न चाहन्छिन्, किन भने जीटीएमा व्यापक भ्रष्टाचार छ,’ उनले भने, ‘आफ्नो भ्रष्टाचारको खुलासा हुने डरले कार्यालयहरू बन्द गर्ने भन्दैछन्। तर हामी उनीहरूलाई यति सजिलै छोड्ने छैनौं, उनीहरूको भ्रष्टाचार सार्वजनिक हुनेछ।’

मुखियाले मङपूमा जलेको आइटी कलेजको अस्थायी कार्यालयलाई पनि भ्रष्टाचारसितै जोडेका छन्। ‘आफ्नो भ्रष्टाचारको फाइल जलाउन अस्थायी कार्यालय जलाइएको हो,’ उनले भने, ‘मुख्यमन्त्रीको कार्वाहीदेखि उनीहरू अत्याधिक डराएका छन्।’

कार्यालयमा नआउने कर्मचारीहरूलाई कार्यालय आउने अपिल गर्न सोमबारदेखि हिल तृणमूलले गाउँ पस अभियान थाल्ने पनि बताइएको छ। ‘सरकारी पहल जे होस्, हामी पार्टीको पक्षबाट सबैलाई कार्यालय आउदिने अनुरोध गर्न गाउँ पस अभियान थाल्नेछौं,’ उनले भने, ‘कार्यालय चलेन भने दुःख हाम्रै मानिसहरूले पाउनेछन्, आफ्ना मानिसलाई दुःख दिएर मोर्चाका नेताहरूले गरेको भ्रष्टचार लुकाउनमा कसैले सहयोग नगरिदिने अपील गर्नेछौँ।’

मुखियाले 4 हजार करोडको घोटलाको कुरा अघिबाट नै सार्वजनिक भइसकेको अनि अब त्यसको स्पेशल अडिट हुने बताउँदै विमल गुरूङलाई डक्टरेडको उपाधि पनि दिए।

‘विमल गुरूङ झुटका राजा हुन्, उनले झुटमा पीएचडी नै गरिसकेका छन्,’ मुखियाले गुरूङको खिल्ली उडाए, ‘यसकारण उनलाई डा. विमल भन्दा हुन्छ।’

हिल तृणमूलका प्रवक्ता बिन्नि शर्मा, कार्यकारी अध्यक्ष शान्ता छेत्री, चेयरम्यान प्रदीप प्रधान, शारदा सुब्बा लगायकतको उपस्थितिमा मुखियाले पत्रकार सम्मेलन गरेर प्रतिक्रिया दिएका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन