अमेरिका, हेजिमोनी र कविता

कवि राजा पुनियानी
  • राजा पुनियानी

 

कसरी कुनै देशलाई अर्थनैतिक र सामाजिक रूपले कमजोर र निर्भरशील बनाउनु, त्यसको उपाय अमेरिकासँग थियो – त्यस देशलाई सांस्कृतिक-मानसिक गुलाम बनाउनु। एम.टी.भी., कोक, के.एफ.सी. आदि त्यसैले उत्पाद मात्र नभएर अमेरिकाका सांस्कृतिक हतियार हुन्। ब्राण्ड-अमेरिकालाई विश्वभरि स्थापित गर्न यी उत्पादले उत्पादभन्दा परको काम गरेका हुन्। अति उत्पादन गरिएका सामग्री बेच्न नयाँ बजार दोस्रो र तेस्रो विश्वका राष्ट्रहरू थिए। संस्कृति खुल्ला र सजिलो बाटो थियो कुनै पनि मुलुक पस्नलाई। अमेरिकी जीवनशैली, अमेरिकी सोच, अमेरिकी जीवनदर्शन उपभोक्ताको खुनमा हुल्न यी उत्पादले सुईको काम गर्छन्। कुनै देशको हरेक नागरिकलाई गुलाम मानसिकताको उपभोक्ता बनाउन पाइएछ भने त्यस देशको बजारको प्रभुत्व जमाउन कत्ति सजिलो पर्छ, अमेरिकासँग यसको परीक्षित सिद्धान्त छ।


एक हत्केला धुलोमा

विचार र वास्तव/ गति र कामको दोसाँधमा/ खसेको हुन्छ छायाँ

रूमानी स्वच्छन्दताको भुसभुसे पखेटामा खस्रो यथार्थको तीखो कैंची चलाएका हुन् बेलायती कवि टी. एस. इलियटले।‘द हलोमेन’(सन् १९२५) – मा दोसाँधतिर खसिरहेको जुन छायाँको कुरा गरेका हुन्, त्यो छायाँ खासमा त्यसताक खस्किनलागेको बेलायती उपनिवेश र त्यही उपनिवेशको खण्डहरमा उम्रिनलागेको अमेरिकी साम्राज्यमाझको दोसाँधमा खसेको थियो। भावना, उद्दीपन र सपनामिश्रित लोकको एकोहोरे आख्यानदेखि पर्तिर कविताले कति सूक्ष्मता र जिउँदोपनसाथ समय, इतिहास र संवेदनलाई उत्खनन गरी सामूहिक स्मृतिमा रेकर्ड गरेर राख्न सक्तछ, त्यसको बलियो नमूना आधुनिक कविताको धुरीखम्बा ‘द वेस्टल्याण्ड’ (सन् १९२२)-पछि इलियटको यो कविता पनि हो। ‘द वेस्टल्याण्ड’ – मै पनि यिनले त्यो सङ्क्रमणकालीन छायाँको कुरा यसरी झिकेका थिए –र म तिमीलाई फरक केही देखाउनेछु/ बिहान फड़्को हानिरहेको तिम्रो छायाँ/ वा बेलुकी तिमीलाई भेट्न उदाइरहेको तिम्रै छायाँ/ एक हत्केला धुलोमा तिमीलाई डर देखाइदिनेछु म

कविताकै वंशगत र वाञ्छित तत्त्वको रूप दिएर कवितामा विचारलाई नधकाई हुलिपठाउने कविहरूको अगिल्लो डफ्फामा इलियट, ब्रेख्त र गिन्सबर्गलाई राख्दा समकालीन कविताको चर्चा गर्नु सजिलो हुन्छ। कविता र विचार अलग हुन् तर एकार्काका दुश्मन होइनन् – पछिल्ला समयका समयद्रष्टा लड़ाकू कविहरूले पुष्ट गरेका गरेकै छन्। इलियटको खस्रो छायाँ आजसम्म पनि परिरहेकै हो विश्वभरिका कविहरूमा। नेपाली कवितामा पारिजात, भूपि शेरचन, विमल निभादेखि लिएर वैरागी काइँला, अगमसिंह गिरी, श्यामल, आहुति, विकास गोतामे, भूपाल राई, श्रवण मुकारूङ, विप्लव ढकाल, जीवन थीङ, मनप्रसाद सुब्बा, विनोदविक्रम केसी, सुधिर छेत्री, टीका भाइ, भूपेन्द्र सुब्बा, स्वप्निल स्मृति, केशव सिलवाल, लेखनाथ छेत्री, सरिता तिवारी र भूपिनहरूसम्मको रहरलाग्दो कविता यात्रा कवितामा विचारको प्रवेशलाई मोहोर ठोक्ने गौरवशाली क्रमको साक्षी छ। कवितामा विचार पसेको देखेर रीसले थर्थर काँप्ने काफरे अमेरिकाको सङ्कटलाई कवि मनोज बोगटीले बोल्ड र बिउटीफुल वैचारिक कविताहरूको सङ्गालो ‘काफरे अमेरिका’-मा रेकर्डबद्ध गरेका छन्। कविता र विचार, कविता र राजनीति, कविता र समाजविज्ञान, कविता र लैङ्गिकता, कविता र नारी विमर्श, कविता र विज्ञान, कविता र वर्गमाझको अछुतो समीकरणबाट हरेकपल्ट छोइने अमेरिकाको काफरे संस्करण आज काफरे प्राज्ञ, काफरे गुरू, काफरे चेला, काफरे बुद्धिजीवी, काफरे नेता, काफरे व्यापारी, काफरे नागरिकहरूसम्म सर्दै सर्दै अघि आएको छर्लङ्गै देख्न पाएका हौँ।

एन्तोनियो ग्राम्सीले लेखेरै सिद्ध गरे, पूँजीले मान्छे दबाउन मान्छेलाई नै खेताला लगाउँछ -सत्ताका कमलरी बुद्धिजीवीहरू। सत्तादास बुद्धिजीवीहरूले नै हेजिमोनी अथवा सत्ता-हैकम पैदा गर्ने भएकाले शोषणको त्यो अक्षलाई तोड़्न सत्तारोधी बुद्धिजीवीको जमात चाहिने तर्क राख्छ्न् यिनी। हेजिमोनीलाई लल्कार्न ‘अर्ग्यानिक बुद्धिजीवी’ चाहिने सोच थियो ग्राम्सीको। यो सोचलाई यिनले ‘प्र्याक्सीको सिद्धान्त’ – को अड़ेसो दिएका थिए। मनोजका कविताहरू पढ़ेर लागिरहेको छ, थिचिएको जनताको एक-एक एकाइलाई ग्राम्सीको अर्ग्यानिक बुद्धिजीवी बनाउने प्रतिरोधी कसरत यिनले शब्दहरूमार्फत् गरिरहेका हुन्। यिनलाई लाग्छ, पाठक जनता हो र जनता प्रताड़ित छ। हेजिमोनीको जाँतोमा पिसिएको जनतालाई यिनी कविताको पुल्ठो देखाउँछन्। मनोज हत्केलामा धुलो लिएर डराइरहेको अमेरिकाको हैकमी मखुण्डा हेरिरहेका प्रतीत हुन्छन्। नत्र ‘रङ’ कवितामा मनोजले किन यसो भन्थे होलान्, सोच्नुहोस् त –

हरेक सपनाको मूल्य बजारले तोक्छ / सपनादेखि जीवनसम्म पुग्ने बाटो उनीहरू नै तय गर्छन् / हातमा लिन्छन् पृथ्वी / र पोल्छन् लिपेको भुइँमा राखेर। / अब बिचको बाटो चाहिन्छ यो समयलाई / आफू हिँड्नको लागि / कोही छन् यति बागी?

 

देश कि मिथ?

हो। अमेरिका भनेको एउटा देशकै नाम न हो। हुँदाहुँदै अमेरिका भनेको देशको नामभन्दा बढ़ी एउटा मिथ धरि हो। जुन मिथलाई देश अमेरिकाले आफै पनि थेग्न अबउसो धौ धौ परेको सङ्कटपूर्ण अवस्था छ यो। यो एउटा यस्तो मिथ हो, जुन विश्व इतिहासमा सबैभन्दा बदमाश ठाउँ ओगटेर बस्छ। वैश्विक भूगोलमा अन्यान्य देशको निम्ति खतराको भू-रेखाबीच उभिन्छ। अन्तर्राष्ट्रिय राजनीतिमा सिङ्गै विश्व हाँक्ने डङ्का पिटेर गस्ती लगाइबस्छ। ऊ यस्तो केन्द्र हुने चेष्टा चलाउँछ, जुन केन्द्रमा ऊ एक्लो साम्राज्य बनेको होस् र रहल सीमान्तीकृत मुलुकहरू त्यस मुलुक वरिपरि नारिइने गोरू बनुन्। अमेरिकाको देश भक्षक किल्लाका निरङ्कुस पर्खालहरू अब हल्लाइरहेको दिन हो अरबी जन-उभारका ऊर्जावान वेगहरूले। जिद्दी ल्यटिन अमेरिका र अट्टेरी अफ्रिकाका जुझारू धक्काहरूले।

देश-अमेरिका देशको छविभन्दा पनि बढ़ी ब्राण्ड-अमेरिका भएर तेजिलो तरिकामा रहल मुलुकहरूको दैलो खटखटाउन आइपुग्छ। त्यो ब्राण्ड जन्माउन, हुर्काउन र फैलाउन अहिलेसम्म कसरतरत संसारकै सबैभन्दा खुँखार यो देशको गिद्धे छायाँले अफगानिस्तानहरू, खाड़ी मुलुकहरू, अफ्रिकाहरूमात्र नभएर अर्को ग्रहको भर्जिन भूमि धरि ताकेको छ।

एक्काइसौँ शताब्दीको पूँजीको सबैभन्दा भरपर्दो प्रतिनिधि यो स्वघोषशित दादा-देशलाई खासमा पूँजीकै भोकले बौलाहा बनाएको हो। पूँजीलाई पूँजीकै भोक लाग्छ, अघाउँछ र फेरि भोक लाग्छ। यस्तो जटिल चक्रव्यूहभित्रबाट लड़ाइँ लड़्दै विश्व जित्ने लालसाले अमेरिकाले आफ्ना मखुण्डाहरू एकपछि अर्को उतार्न पनि परेको हो। घरि ऊ अरू देशको नैतिकताको ठिकादार बन्छ घरि अर्थनैतिक बिग ब्रदर। घरि अरू मुलुकको बजारको अङ्कल स्याम बन्छ भने घरि अरू देशको शिक्षा-स्वास्थ्यको मसीहा। तर कुनै छविमा ऊ जमेर टिक्दैन। एउटाबाट अर्को र अर्कोबाट अझ अर्को छविमा सरिरहनु उसको रूचि नभएर बाध्यता छ। त्यसैले ‘अमेरिका’ राष्ट्र-अमेरिका मात्र नभएर पतनशील पूँजीवादी देशको प्रतीक पनि हो।

कथा कच्चा किल्लाको                 

अमेरिका देश र ब्राण्ड हुनको साथ साथै साम्राज्य पनि हो। यस्तो साम्राज्य जसको किल्ला कच्चा भइसकेको अमेरिका आफैलाई पनि राम्ररी नै भेउ छ। किल्लाका देवालहरू हल्लिरहेका छन्। सन् १९८०-को दशक यता उसैले संसारभरि थोपेको ग्लोबलाइजेशन उसैलाई भारी परेको उसका आफ्नै अर्थनैतिक सर्वेक्षणहरूले बताइरहेका छन्। ग्लोबलाइजेशन गाढ़े घाउ नै साबित भएको हो। आर्थिक डाँवाडोल, मन्द विकास दर, तीव्र बेरोजगारी आज अमेरिकाका रोग हुन्। आर्थिक साम्राज्य फैलाउन उसले चलाउने गरेको सांस्कृतिक हेजिमोनीको कसरतले पनि उसको वर्चस्वलाई आज उस्तो साथ नदिएको हो। अमेरिकामै रहेर अमेरिकाकै विश्वनीतिको सैद्धान्तिक विरोध गर्नेहरूमा रङ्गभेद विरोधी नेता मार्टिन लुथर किङ्ग दोस्रो, समकालीन साम्राज्यवादलाई सांस्कृतिक हेजिमोनीको धारणाले बुझाउने अगुवा ग्राम्सी, बिट जेनेरेशन वा पराजित पुस्ता आन्दोलनका कविहरू एलेन गिन्सबर्ग र लुइ फर्लिङ्घेट्टी, भाषावैज्ञानिक नम चम्स्कीको अड़ान किन सधैँ अमेरिकी मूर्तिको उल्टापट्टि उभिएको हो, यस सवालको उत्तर खोज्ने प्रयासमात्रले पनि थाहा लागिहाल्छ, अमेरिका कति पानीमा छ।

विश्वका प्रमुख संसाधनहरूमाथि कब्जा जमाउन अमेरिकाले थुपारेको अस्त्रशस्त्रले अमेरिकाकै शैक्षिक स्तरमा समेत ठूलै धक्का पुगेको हो। ऊ शिक्षा र स्वास्थ्यमा गरिने लगानीको दोब्बर लगानी सैन्य विभागमा गर्दछ। शैक्षिक स्तरको खस्किँदो ग्राफको अवस्था अमेरिकाबाट निस्कने रिसर्च पेपरहरूको घट्दो सङ्ख्याबारे राष्ट्रपति ब्याराक ओबामा स्वयंले व्यक्त गरेको चिन्ताबाट स्पष्ट हुन्छ। अन्धाधुन्ध थुपारिएको अस्त्रशस्त्र उसले अफ्रिकी देशहरू र अरबी मुलुकहरूमा चलाइरहेका बेलगाम सानाठूला युद्धहरूमा चलाएर उसले अस्त्रशस्त्रको प्रदर्शन गर्नमा काम लगाउँदछ। अस्त्रशस्त्रको बजारको मुख्य खेलाड़ी ऊ नै बन्न खोजेको छ। इस्रायल यसमा उसको भरपर्दो शस्त्र कारखाना हो।

विश्वको तेल उत्पादनको कुल उत्पादकमा नगण्य सहभागिता रहेको अमेरिका एक्लैले लगभग ४० प्रतिशत तेल चलाउने गरेको छ। उत्पादन व्यवस्थाको अति उन्नत यन्त्रपाती, अति आधुनिक जीवनशैली र विकसित सामाजिक जीवन तेल बिना कसरी सम्भव छ र? त्यसैले जेरूसलेमको समस्या समाधान नहुनुमा अमेरिकाकै ठूलो भूमिका छ। जेरूसलेमलाई विश्वको क्यान्सर बनाएर राख्न अमेरिकाले हरसम्भव कोशिश चलाउने गरेको हो। अमेरिकालाई सबैभन्दा बढ़ी तेल चाहिन्छ र त्यो पनि लगातार। उसले अरबी तेल उत्पादक मलुकहरूलाई गृहयुद्धको जहर खुवाएको छ। यस अर्थमा इजिप्टको तहरीर चौकको जन-उभार अमेरिकाको निम्ति एउटा ठूलो धक्का थियो। त्यसपछि लगत्तै टर्कीको उभार। दोस्रो विश्वयुद्धअघिको वैश्विक ध्रुवीकरणमा बलियो ध्रुव समाजवादी रसियालाई धुलोपीठो पार्न उसैले हुर्काएको तालिबानले उसलाई फ्र्याङ्केस्टाइन बनाइदिएको ऊ आफैलाई राम्ररी थाहा छ। जति ठूलो शक्ति बन्यो, त्यति ठूलो कमजोरी बन्यो उसको साम्राज्य।

संस्कृतिहेजिमोनीको नयाँ औजार

अमेरिका /लु बरू एकार्कामा उपहार बाँड़ौँ/ तस्करीमा ल्याइएको आफ्नो सिगरेट फिर्ता लैजाऊ/ र हामीलाई फिर्ता देऊ आलू।/ जेम्स बण्डको सुनौलो पेस्तोल लैजाऊ/ र हामीलाई देऊ मर्लिन मुनरोको किशोरी लाज।/ रूखमुनि हालिएको हेरोइनको सिरिञ्ज लैजाऊ/ र हामीलाई देऊ भ्याक्सिन टिका।/ आफ्ना मिशनरीका किताब लैजाऊ/ र हामीलाई कागज देऊ/ जसमा हामी तिम्रो निन्दामा कविता लेख्न सकौँ।

(सादी युसूफ, इराक)

भौतिक उपस्थिति दिएर कुनै देशलाई उपनिवेशित गर्न हम्मे परेको युगमा अमेरिकाले पत्तो लगाएर लागू गरेको उपाय हो – सांस्कृतिक हेजिमोनी। इटालीको फासिस्ट ताकतको शिकार बनेका ग्राम्सीले यस धारणामाथि निक्कै काम गरेका हुन्। मारिनअघि यिनले जेलमै बसेर म्याकियाभेलीदेखि मार्क्ससम्मको दार्शिनक आधारलाई निफने। ‘सिलेक्शन्स फ्रम प्रिजन नोटबुक्स’ (सन् १९७१)-ले अमेरिकी साम्राज्यवादी सत्ताको पोल मज्जले खोलिदियो। उपनिवेशवाददेखि उता पूँजीवादले कुन रूप लिएको हुन्छ, त्यसको निर्क्यौल यत्तिको सशक्त ढङ्गमा कसैले गरेको थिएन। अमेरिका संसारअघि नाङ्गियो। उपनिवेशवादपछिको पूँजीवाद सांस्कृतिक हेजिमोनीको खाल ओढ़ेर आउने कुरा संसारलाई बताए ग्राम्सीले। यता चम्स्कीले अमेरिकाको इराक र अफगानिस्तान आक्रमणकालमा वैश्विक पूँजीको सङ्कटको भण्डाफोर गरेका हुन्।

कसरी कुनै देशलाई अर्थनैतिक र सामाजिक रूपले कमजोर र निर्भरशील बनाउनु, त्यसको उपाय अमेरिकासँग थियो – त्यस देशलाई सांस्कृतिक-मानसिक गुलाम बनाउनु। एम.टी.भी., कोक, के.एफ.सी. आदि त्यसैले उत्पाद मात्र नभएर अमेरिकाका सांस्कृतिक हतियार हुन्। ब्राण्ड-अमेरिकालाई विश्वभरि स्थापित गर्न यी उत्पादले उत्पादभन्दा परको काम गरेका हुन्। अति उत्पादन गरिएका सामग्री बेच्न नयाँ बजार दोस्रो र तेस्रो विश्वका राष्ट्रहरू थिए। संस्कृति खुल्ला र सजिलो बाटो थियो कुनै पनि मुलुक पस्नलाई। अमेरिकी जीवनशैली, अमेरिकी सोच, अमेरिकी जीवनदर्शन उपभोक्ताको खुनमा हुल्न यी उत्पादले सुईको काम गर्छन्। कुनै देशको हरेक नागरिकलाई गुलाम मानसिकताको उपभोक्ता बनाउन पाइएछ भने त्यस देशको बजारको प्रभुत्व जमाउन कत्ति सजिलो पर्छ, अमेरिकासँग यसको परीक्षित सिद्धान्त छ।

सन् १९७०-को दशकमा गरिएका केही समाजवैज्ञानिक अध्ययनहरूले सांस्कृतिक हेजिमोनीको धारणालाई छर्लङ्ग्याउँदै लगेका थिए। सन् १९७५-मा प्रकाशित डर्फम्यान र म्याटलार्टको लेख ‘हाउ टु रीड डोनाल्ड डक’–मा कमिक्स र एनिमेशनजस्ता सांस्कृतिक उत्पादहरूको माध्यमबाट ‘अन्य’ राष्ट्रियताहरूको नस्लीय रूढ़ छविलाई कसरी बजार हितको लागि प्रयोग गरिन्छन् भन्ने चर्चा गरिएको छ। उत्तर ग्लोबलाइजेशनकालमा गरिएका उपभोक्ता संस्कृतिका अध्ययनहरूले पश्चिमी संस्कृतिको श्रेष्ठता स्थापित गराउने पूँजीवादी सांस्कृतिक परियोजनाहरूलाई उदाङ्गो पारेका हुन्।

गब्बर सिंह आफै डराएपछि                                                

डराउँछ अमेरिका।/बाँसघारीमा लागेको आगोदेखि डराउँछ/ कुनै उत्सवमा आकाश च्यात्दै पड़्किने रकेट पटेकादेखि डराउँछ।/ एकबटुको अँध्यारोदेखि डराउँछ अमेरिका। (मनोज बोगटीकाफरे अमेरिका)

डराउँछ अमेरिका। एक समय आफ्नो नाममात्रले विश्वलाई कँपाइदिने अमेरिका अहिले आफै काफरे भएको छ। किन भयो त अमेरिका काफरे? यो सवाल आफैमा चाखलाग्दो छ। गब्बर सिंह बोलाइदिउँ? बलिवुडको प्रभावमा परेको गाउँघरमा सुत्न नचाहने नानीहरूलाई आमाले यसरी गब्बर सिंहको डर देखाउँछिन् र नानी चुपचाप सुत्छ। नेपाल, बङ्गलादेश, श्रीलङ्काजस्ता तेस्रो विश्वको कित्तामा पर्ने देशको लागि भने भारत नै अमेरिका हो। तर भारतको लागि अमेरिका नै अमेरिका हो। अर्थात् दक्षिण एशियामा जताततै दादागिरी देखाउने भारतजस्तो देशको लागि गब्बर सिंह भनेको अमेरिका हो। तर अमेरिका संसारको लागि गब्बर सिंह भएको धेर भएको छैन। शीतयुद्धमा संयुक्त समाजवादी रूसको कुटनैतिक पतनपछि अमेरिकाको पल्ला विश्वमा भारी पर्नथालेको हो।

तर कुराको सिक्काको अर्को पाटो अर्कै छ। सन् १८७३-मा शुरू भएको र घरी घरी आइरहेको वैश्विक आर्थिक सङ्कटले साम्राज्यवादलाई अर्कै अनुहार बनाउने चाप दिएको हो। लगालग पहिलो र दोस्रो विश्वयुद्धले पूँजीको अनुहारलाई एकसाथ अझ खुँखार र अझ नरम बन्ने बाध्यता थोपेको थियो। यसमा समाजवादी ताकतको उदय पूँजीको निम्ति ठूलै ऐतिहासिक चुनौती थियो। ‘स्ट्रक्चरल एडजस्टमेण्ट’ र ‘ग्लोबलाइजेशन’ पूँजीवादका नयाँ कौशल थिए, जसले विश्वलाई ८० प्रतिशत गरीब जनता भएको ग्रह हुनुको भयावह स्थितिमा पछारिदियो। पूँजीवादी मुलुकहरूको अति-उत्पादनको निम्ति सम्भावित नयाँ बजार दोस्रो र तेस्रो विश्वको खस्कँदो क्रय क्षमता पहिलो विश्वको पूँजीको सङ्कटको मुख्य कारण भएर उभियो। अमेरिका ठीक यस्तै सङ्कटको मोड़मा धर्मराउँदै उभिएको वैश्विक पूँजीको डरको प्रतिनिधि अन्तर्राष्ट्रिय अनुहार हो आज।

वाल्ट व्हिट्म्यानहरूले जलाएको राष्ट्रियतावादको राँको समातेर अमेरिकी ‘मदर अफ लिबर्टी’ – ले संसारकै लिबर्टी वा स्वाधीनता खोस्ने पागलपन देखाएको छ-छ। यस्तै सन्दर्भमा अरबी कवि अदूनिस उर्फ अली मोहम्मद सईद अस्बारको अमेरिकाप्रतिको काव्यिक व्यङ्ग्योक्ति यस्तो छ – न्यू योर्क एक स्त्री हो / इतिहासअनुसार / जसको एउटा हातले थामेको छ / स्वतन्त्रता नामको टुक्रा / र अर्कोले थिच्दैछ / धर्तीको सास। (न्यू योर्कको अन्तिम संस्कार) अमेरिकालाई लाग्छ, उसको स्वाधीनता खतरामा छ। खास गरी दोस्रो विश्वयुद्धदेखि लगत्तै शीतयुद्ध र खाड़ी युद्धकाल यता उसले कमयुनिष्ट शक्ति र मुस्लिम राष्ट्रहरूसँग कमाएको दुश्मनी ट्वीन टावर एट्याकबाट स्पष्ट भएको हो। जतिवटा चे गुएभारा, सद्दाम हुसैन र बिन लादेनहरू उसले खोजी खोजी मारे पनि उति नै चे, हुसैन र लादेन जन्मिरहेका छन्। कतिसम्म जोखिमबोध अमेरिकालाई छ भने आज इस्लामको नाममात्रले वा कम्युनिजमको रौँमात्रले पनि उसको सपनाको निद्रा हराउँछ। साहित्य यथार्थको हुबहु चित्रण होइन, पक्षधर लेखन हो भन्छन् बर्तोल्त ब्रेख्त। कवि मनोज बोगटी खस्रो साँचो बताउँछन् –कोही कोही बेला/ हाँस्नु कति खतरनाक हुन्छ।

सेप्टेम्बर, सन् २०११ – को  ट्वीन टावर एट्याकपछि तत्कालीन राष्ट्रपति जर्ज बुशले घोषणै गरेका हुन् -“प्रत्येक देश, प्रत्येक प्रान्तले अब एउटा अड़ान लिनु छ -तिमी कि हामीसित छौ कि आतङ्कवादीहरूसित”। अमेरिकाको यो डर सबै देशले एक एक गर्दै काँध हालिदिनुपर्ने फरमान थियो। यो अमेरिकी डरको सम्भवतः पहिलो अन्तर्राष्ट्रिय आत्मस्वीकृति थियो। कुनै देश ऊसँग उभिनु नउभिनु त्यो देशको नितान्त आफ्नै चुनाउ हो। तर यो चुनाउसम्म गर्न नदिने देशले स्वाधीनताको ठिक्का लिएर राखेको दावा गर्नु कति नसुहाउँदो हो, त्यो उसका यस्ता हैकमी बयानहरूबाट यसै पनि छर्लङ्ग हुन्छ। गब्बर सिंह आफै डराउन थालेको अवस्था छ अब। ऊ जति डराउँछ उसको खुँखार बेहोरा अझ बढ़्दो छ। खेल टिकाइराख्न उसले हरेक जायज नाजायज उपाय अप्नाउने निश्चित छ। उसको यो महङ्गो जोखिम विश्वको हरेक कमजोर मुलुकको कमुलो नाममा अङ्कित छ।

साहित्यमा हेजिमोनीको डिस्कोर्स

सांस्कृतिक हजिमोनी गरिरहेको अमेरिकाको दादागिरीको मञ्च संस्कृति भएकोले कला-साहित्य यस हेजिमोनीले प्रयोग गर्ने मुख्य औजार हुन्छ। अमेरिकाले आफ्नो सांस्कृतिक हेजिमोनी कलालाई समाज र जीवनदेखि सक्दो कटाएर बढ़ी असान्दर्भिक, सरोकारहीन, गैर-जिम्मेवार र सतही बनाउन खोज्छ। जनताको सरोकारदेखि कटेका विभिन्न वाद र लेखनको नाममा साहित्यमा यो हेजिमोनी घुस्रँदछ। होजिमोनीको चरित्र बुझ्न कला-साहित्यको चरित्रलाई बुझ्दा भइजाने हो। त्यसैले साहित्यलाई राजनीतिदखि पृथक् राखेर चर्चा गर्नु एक थरीले धर्मान्धी विशुद्धतावादी वा प्युरिटानहरूको लाइनको कुरा हो, जसको डोरी विश्वलाई रहस्य र कल्पना ठान्ने अधिभूतवादमा गएर गाँसिन्छ।

ग्लोबलाइजेशन केवल अर्थनीति नभएर कलाको सुरुङ भएर पनि छिरेको छ समाजमा। यसैले पनि कला-साहित्य यस्ता मोर्चा हुन्, जुन केही दशकअघिसम्म आजको जस्तो जरूरी र गाह्रो थिएन। कला-साहित्यमाथिको सरोकार आज जनताको जीवनमरणको सरोकार हो। यसरी साहित्य आज केवल साहित्य नभएर राजनैतिक डिस्कोर्स पनि हो। सांस्कृतिक हेजिमोनी सबैभन्दा बढ़ी हावी रहने ठाउँ भनेको कला-साहित्य हो। यसैले जनताको हितको सवाल कला-साहित्यमा विद्यमान यो हेजिमोनीलाई चिन्ने चेतनाको विकास र चिनेर त्यससँग लड़्ने आदर्शको निर्माणको सवालसँग गाँसिएको छ। कुनै समाज त्यो हेजिमोनीबाट कति प्रभावित र कति युद्धरत छ, त्यो थाहा पाउनु त्यस समाजको साहित्यको नाड़ी छाम्नुपर्ने हो।

नेपाली भारतीय साहित्यमा यसखाले सांस्कृतिक हेजिमोनीको पहिचानीकरण र त्यस विरूद्धको चेतना निर्माणको दिशामा लेखिने साहित्य हामीले पाइरहेका छौँ छुटपुट। तर यसैलाई ताकेर लेखिएको कृति भने भारतीय कवि मनोज बोगटीले लेखेको कविताहरूको किताब ‘काफरे अमेरिका’ नआउञ्जेल विशेष गरी कुनै पाइएको होइन। यो किताब अमेरिकाको हेजिमोनीको प्रभाव, विस्तारण, चरित्रमाथि गरिएको गहिरो काव्यिक पड़ताल हो। अमेरिकी मिथको सौन्दर्यगत चिरफार। काव्यिक चेतना र काव्यिक विचारको कसौटीमा आफ्ना पूर्ववर्ती कविता सङ्ग्रहहरूको तुलनामा यो किताबमा निक्कै अक्कासिएका छन् बोगटी। तथापि, विम्ब संयोजन र कलात्मक कौशलको दृष्टिमा ‘विम्बगोष्ठी’ यिनको सशक्त किताब मानिन्छ।

अमेरिका, तँलाई मैले सबथोक दिइसकेको छु / र ऐले म रित्तो छु। / अमेरिका अर्थात् दुइ डलर सत्ताइस सेण्ट १७ जनवरी, सन् १९५६। / म मेरै मनलाई सहन सकिरहेको छैन। / अमेरिका कहिले हामी मानव युद्धलाई सिद्ध्याउँछौँ। / ए अमेरिका, गएर तेरो एटम बमसँग सम्भोग गर्।

नारा नै भइसकेको अमेरिकी कवि एलेन गिन्सबर्गको विख्यात राजनैतिक कविता ‘अमेरिका’ (सन् १९५६) -को यो पङ्क्ति याद दिलाउँछ मनोजको तरोताजा कविताको किताबको प्रतिनिधि कविता ‘काफरे अमेरिका’-ले। दोस्रो विश्वयुद्धको अति सक्रियताले हल न चल भएको अवस्था र शीतयुद्धमा विजेता बन्ने महात्त्वाकाँक्षाको अवस्थामाझ पागल भएको अमेरिकासँग बात मारेको भाषाशैलीमा गिन्सबर्ग अझ भन्छन् –

अमेरिका तैंले कैले देवदूत हुनु?/ कैले तँ आफ्ना कपड़ा उतार्नेछस्?/ कैले तँ आफैलाई चिहानबाट चिहाउनेछस्?/ कैले तँ करोड़ौँ ट्रट्सकिट्स जतिकै मूल्यवान हुने हो?/ अमेरिका किन आँसुले पुरिएका छन् तेरा किताबघरहरू?/ अमेरिका कैले तेरा अण्डाहरू भारत पठाउँछस्?/ तेरा बौलाहा मागहरूदेखि म वाक्क भैसकेको छु।

गिन्सबर्ग खासमा अमेरिकामाथि नै भइरहेको अमेरिकी मिथको हेजिमोनीसँग वाक्क भएका हुन्। अमेरिका कैले तेरा अण्डाहरू भारत पठाउँछस् भन्ने पङ्क्तिमा उनी अमेरिकाको विस्तारवादी अन्तर्राष्ट्रिय हेजिमोनीलाई गाली गर्छन्।

जनताको दिमागमा भइरहेको सांस्कृतिक हेजिमोनीको हस्तक्षेपलाई भण्डाफोर गर्न बोगटी पाठकको दिमागमा सृजनात्मक हस्तक्षेप गर्छन् राजनैतिक विचारले पाकेका कविताहरूको सुइरो लिएर। त्यो सुइरो यति तीखो छ कि पाठकले यिनका कविता पढ़ेपछि संवेदनाको हातले आफ्नै सोचको औजार धार नलगाई धरै छैन। कलालाई कम्प्रोमाइज नगरीकन विचारलाई यति चर्को गरी कवितामा गालिएको यो किताब आफैमा एउटा जनपक्षीय साहित्यिक मुहिम हो। यस अर्थमा अमेरिकी गिन्सबर्गदेखि भारतेली बोगटीसम्मका कविता यात्रालाई हेर्दा भन्नैपर्ने हुन्छ – कविता यस्तो काँड़ हो जसले सांस्कृतिक हेजिमोनीको छात्तीमा सृजनात्मक तवरमा घोंप्ने काम गरिरहेको छ। प्रसङ्गवश मनोज एक ठाउँ भन्छन् –एउटा सनकी वाक्यले शीर्षक खोजेको दिन / कञ्चनजङ्घा ठाउँ सर्छ, होस् राख।

कविताबाट विचार मिसिङ

कवितामा विचार पस्नुहुँदैन भन्ने विचारकहरू पनि छन् हाम्रो साहित्यिक समाजमा। विचारै नभएको कविताले पनि विचारहीनताको विचार बोकेको हुन्छ। विचारहीनताले सदा हैकमी विचारलाई अप्रत्यक्ष पक्षपोषण गर्ने पक्ष पनि छँदैछ। यसो र विचारहीनताको पैरवी गर्नु आफैमा सरोकारहीन र निस्सार सृजनकर्मको व्यवहार हो। अबको लेखन भनेको विचारलाई अँगालो हालेको लेखन हो। समकालीन पुस्ताका साहित्यकारहरू सचेत ढङ्गमा विचारको तारले लेखनमा झङ्कार पैदा गर्न लगातार लागी परिरहेको दिनकाल छ अचेल।

त्यसरी नै कवितामा राजनैतिक तत्त्व हुनुहुँदैन भन्ने राजनैतिक विद्वानहरू हाम्रो समाजमा विद्यमान छन्। तर नजानिँदो चालमा भयावह सांस्कृतिक हस्तक्षेप भोगिरहेको हाम्रो समाजमा के कविताले राजनैतिक हस्तक्षेप नगरी रहनसक्छ? समाजलाई सांस्कृतिक र साहित्यिक मोर्चामा हस्तक्षेप गरी हैकमी संस्कृति थोपिँदै गरेको समयमा साहित्य लेखन सरोकारहरूबाट निर्लिप्त रहिरहन सक्तैन। र पनि निरपेक्ष साहित्यकै पैरवी गरिन्छ भने त्यसरी जन्माइने साहित्य गुँगा साहित्य हो।

अहिलेको कविताबाट समय मिसिङ छ। भन्छन् साहित्यलाई खूबै नजिकबाट हेरिरहेका भौतिकीविद ड. विश्वजीत रायचौधुरी। कविता द्वन्द्वको ठाउँबाट उत्पन्न हुनुपर्छ। आजको कविताले समाजका अन्तर्विरोधहरूलाई समात्न र अभिव्यक्त गर्न नसकिरहेको बुझाइ हो तिनको। कवितामा समय छिर्नुपर्छ भन्ने तिनको विचार हो। मनोज कवितामा सजिलै सकौशल विचार र समयलाई छिराउने उल्लेखनीय कवि हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया