पार्लरको काम भनेर घरको काम लगाइयो

खबर म्यागजिन, र्जीलिङ, 12 जून।


विदेशमा मात्रै होइन, स्वदेशमा पनि दार्जीलिङका चेलीहरु प्रताड़ित बन्न परिरहेका छन्। यसैले व्यूटी पार्लरमा होस् वा अन्य कुनै पनि कामको लागि देशकै अन्य प्रान्तहरुमा जानअघि विशेष महिला वा युवतीहरुले राम्ररी खोजबीन गर्न आवश्यक रहेको चेन्नईमा पीड़ित बनेर फर्किएकी बिजनबारी निवासी प्रेमिका राई (थामी)-ले सुझाउ दिएकी छन्। उनले बताएअनुसार, गत फरवरी महीनामा उनी चेन्नई निवासी व्यवसायी दिनेश कुमारको पार्लरमा व्यूटिसियनको काम गर्न गएकी थिइन्।

तर उनलाई पार्लरको कामसँगै घरको पनि सम्पूर्ण कामहरु गर्न लगाएको अनि घरको काम गर्न आपत्ति जनाउँदा दिनेश कुमारले उनको निधारमानै ग्यास चुल्हाको बर्नरले हिर्काएका थिए। यसपछि एउटा गैर सरकारी संस्थाको सहयोगमा आफूमाथि भएको घ्टनालाई फेसबुकमार्फत वाइरल गरेपछि आफू यसै पार्लरकी मालिकनीको माध्यमबाट फुत्किएर घर आउन सफल बनेकी छन्। उनले भनिन्-चेन्नई निवासी दिनेश कुमारकी पत्नी दार्जीलिङ निवासी सुषमा थापा (मुखिया) हुन्। उनकै परामर्शमा म चेन्नई गएकी थिएँ, केही समय पार्लरमा काम राम्रैसित भयो, तर सुषमा आफ्नी आमा विरामी भएर दार्जीलिङ आएपछि म-माथि अत्याचार शुरू भयो।

यसअघि पनि दिनेश कुमारले उनको पार्लरमा काम गर्ने अन्य युवतीहरूलाई पनि हिर्काएकै हो, जुन मैले आफ्नै आँखाले देखेकी थिएँ। यसरीनै म-माथि पनि दिनेश कुमारले त्यस्तै शारीरिक प्रताड़ना गरेका थिए, तर यसपछि दार्जीलिङको एक गैर सरकारी संस्थाको सहयोग लिएर आवश्यक पहल गर्ने कार्य भयो। जसको फलस्वरूप म आज सुरक्षितसित घर फर्किन सकेको छु। तरै पनि उनले दिनेश कुमारकी पत्नी सुषमा एकदमै राम्रो रहेको बताउँदै उनलेनै गत केही दिनअघि एनजेपीसम्म ल्याइदिएकी बताइन्।

चेन्नईको गर्मीमा आफ्नो शरीर, हात अनि खुट्टाभरि खटिरा निस्किएको बताउँदै उनले यस्तो हुँदासम्म पार्लर मालिकले कुनै औषधिमूलो नगरेको पनि जानकारी गराइन्। उनले भनिन्-अहिले पनि उक्त पार्लरमा पानीघट्टा निवासी एकजना बहिनी छिन् अनि उनीमाथि पनि शारीरिक प्रताड़ना भइरहेको छ। यसैले देशकै अन्य प्रान्तबाट कसैले पार्लरमा काम गर्न वा अन्य कुनै कामको लागि अनुरोध गरे, त्यसमाथि पूर्णरूपले छानबीन गरेर मात्रै गएको उचित हुनेछ। प्रेमिकाले बिजनबारीमानै व्यूटी पार्लरको काम सिकेकी थिइन् अनि व्यूटी पार्लरमानै काम खोजिरहेकी थिइन्। त्यसै समय उनको सुषमा थापासित सम्पर्क भएको थियो र उनीसितै चेन्नई गएकी थिइन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन