तृणमूलले देखायो मोर्चालाईः मिरिकले पायो मालिकाना हक

मनोहर शर्मा।

मिरिक, 12 जुन।

मिरिक नगरवासीलाई पर्चा-पट्टा वितरण गर्न शुरू गरिएको छ। गत 5 जुनका दिन मिरिक भ्रमणका अवधि मुख्यमन्त्री ममता ब्यानर्जीले नगरवासीलाई पर्जा-पट्टा दिने आश्वासन दिएकी थिइन्। जुन आश्वासनलाई मोर्चाले पत्याउन सकेको थिएन। यसैले ‘मुख्यमन्त्रीले पर्जापट्टा दिएर देखाउन्’’-भनेर मोर्चाले टिप्पणी गरिरहेको थियो। यद्यपि मिरिकमा तृणमूल कङ्ग्रेसको जितको उपहारस्वरूप मुख्यमन्त्रीले घोषणा गरेको पर्चा-पट्टाको कुरा आजदेखि पूर्ण हुने प्रक्रियामा अघि बढेको छ। आज नगरपालिकाको वार्ड नम्बर 3 का मानिसहरूलाई पर्जापट्टा वितरण गरियो। मिरिक नगरवासीको पर्चापट्टाको दीर्घमियादी समस्यालाई समाधान गर्दै आज मिरिक नगरपालिकाद्वारा वार्ड नम्बर 3 अन्तर्गतका पाँचसय जनालाई पर्जापट्टा प्रदान गरियो। वार्ड नम्बर 3 का 11 सय परिवारमध्ये पाँचसय परिवारलाई आज पर्चापट्टा वितरण गरियो भने यसअघिवार्ड नम्बर 4 अनि 5 का लाभार्थीहरूले पर्चापट्टा पाइसकेका छन्।

‘जनताले लामो समयदेखि भोगिरहेको पर्जापट्टाको समस्या समाधान हुँदैछ। यो ऐतिहासिक कार्य हो। जनताका प्रतिनिधिका रूपमा हामी चौकीमा छौँ अनि जनताको सेवा गर्नु नै हाम्रो कर्तव्य पनि हो’-पर्जापट्टा वितरण गरेपछि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले भने।

मिरिक नगरपालिकाको 7 वटा वार्डका 2 हजार 5 सय 42 जनालाई जमीनको मालिकाना हक दिइने भएको छ भने अहिलेसम्म 6 सयभन्दा अधिकले मालिकाना हक पाइसकेका छन्।  1 जुलाईभित्र सबैलाई पर्चापट्टा दिइसक्ने नगरपालिका अध्यक्ष राईले बताएका छन्।

आज लाभार्थीहरूलाई नगरपालिका अध्यक्ष एलबी राई अनि उपाध्यक्ष एमके जिम्बाको बाहुलीबाट पर्चापट्टा वितरण गरिएको थियो। तृणमूल कङ्ग्रेसको बोर्डले नगरवासीको दिर्घमियादी माग पूरा गरिरहेको दावी गर्दै नगराध्यक्ष राईले मिरिकलाई शान्ति राखेर विकासको दिशामा अघि बढाउने आफ्नो योजनालाई सबैले साथ दिनुपर्ने आह्वान गरे।

मिरिक नगरपालिकाको बोर्डमा तृणमूल कङ्ग्रेस आउनेबित्तिकै जमीनको पर्चापट्टा पाउन थालेपछि मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गर्दै लाभार्थीहरूले खुशी प्रकट गरेका छन्।

अर्कोतिर मोर्चाले सम्पूर्ण कार्यालयहरू आजदेखि बन्द डाके पनि मिरिकमा प्रबाव नपरेको बताउँदै भने, मिरिकमा आज सम्पूर्ण कार्यालयहरू खुल्ला रह्यो। नगरपालिका भनेको जनताको सेवा गर्ने स्थान हो। यसलाई बन्द गरेर जनताको हक र अधिकारको हनन गर्नु उचित होइन। हामीले प्रशासन लगाएर कार्यालय खोलेका होइनौँ, प्रशासनको सहयोग बिना नै नगरपालिका कार्यालय खुल्लै रहेको उनले बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन