
- मनोज बोगटी
‘मलाई घरमा कवि भएर बस्न मुनासिब लागेन,’ भन्छिन् अहिले पनि, ‘स्वास्नी, आमा, बुहारी भएर निभाउनुपर्ने जुन जुन कर्त्तव्य थियो, मेरोलागि त्यही प्रमुख थियो।’
‘तपाईँले त जीवनलाई मज्जैले भोग्नुभयो,’ मैले आमालाई सोधेँ, ‘के रहेछ हँ जीवन?’
मलाई मायाले हेरिन्, ‘चिया खा,’ भनिन् र सोधिन् ‘बुझ्न मन लाग्यो जीवन?’
‘लाग्यो,’ मैले भनेँ।
मलाई निक्कै अघिदेखि सोध्न मन लागेको थियो। मैले भेट्दा उनको आँखामा कुनै पीडा थिएन। घर छेउको बारी कोपरिरहेको बेला पनि पोल्टोबाट निकालेर ‘ला, नानीलाई मिठाइ किनेर लग्दे’ भन्नुहुन्छ।। कत्तिपल्ट त आरोहणलाई मिठाई किनेर लगिपनि दिएँ। कोहीबेलाचाहिँ गोजीमा कौडी हुँदैनथियो। कापकुप पारिदिन्थेँ। अर्कोपाली जॉंदा ‘लगिदिस्?’ भनेर सोधेको भए पक्कै म ढॉंट्ने थिएँ। आमालाई जीवनबारे बोल्न मन त लाग्छ तर बोली काम्छ। कुनै पनि कार्यक्रममा बोल्नुहुन्न। कोहीबेला मैले नै उनको प्रतिनिधित्व गरेर उनले लेखेको चिर्कटो पढेर सुनाइदिएको छु कार्यक्रममा। कतिठाउँमा कथाकार विन्द्या सुब्बा, सुधा गुरूङ, सुधा राई वा कालेबुङकै कुनै लेखिकाले पढिदिन्छन्। निक्कैदिन देखा परिनँ भने फोनमा त्यही कॉंपेको स्वरमा हकार्नुहुन्छ-
‘काँ छस्? याँ आइज।’
म लुरुलुरु जान्छु।
‘नराम्रो सपना देखेको थिएँ,’ यसो भन्नुहुन्छ त्यसपछि, ‘बिरामी पो भइस् कि भनेर…।’
मैले कविता लेखेको अनि पढेको खुब मनपर्छ आमालाई।
उनलाई देखेपछि कुन्नि किन मलाई आफ्नै आमुई(हजुरआमा) लाग्यो। अनुहारमा आमुईका झैँ चाउरीहरू छन्। त्यो मुसार्छु अनि आमुईलाई सम्झिन्छु। हातको छाला तान्छु। छाला तनन तन्किन्छ।
‘नगर् न,’ आमुई भन्नुहुन्थ्यो, ‘बुढी भएँ। तँ पनि बुढो हुँदा यसरी नै तन्किन्छ।’
आमाको जत्रो कद् छ, आमुईको उत्रै थियो। उनलाई भेटेपछि मलाई आमुईको याद आउँथ्यो। त्यहीँमाथि आमा कवि। 40 को दशकदेखि नै भारतीय नेपाली साहित्य विकासमा लागेको योद्धा। त्यसैपनि आकर्षित बनेँ।
आमा कुनै पनि साहित्यिक कार्यक्रममा जानुहुन्थ्यो, पहिलो ‘कल’ मलाई।
‘हिँड् तँ पनि,’ भन्नुहुन्थ्यो, ‘चिनाजान हुन्छ साहित्यकारहरूसित।’
आमासित हिँडेपछि मेरो पैसा खर्च नहुने। आमालाई सम्मान गर्न साहित्यिक संस्थाहरूले बोलाउँथ्यो, म नै हुन्थेँ पुच्छरे।
‘यो मेरो छोरा हो,’ भेटेजति सप्पैलाई भन्नुहुन्थ्यो, ‘राम्रो कविता लेख्छ।’
सुन्नेहरूले मेरो नाम सुनेकै हुन्थे तर सशरीर देखेका हुन्थेनन्। देख्नेहरूले चिन्थे मलाई। आमाले यसो भनिदिएपछि भने उनीहरूको अनुहारमा एउटा प्रश्न हुन्थ्यो, त्यो यस्तो छ-
‘कवयित्री सानुमति राईको छोरा कसरी मनोज बोगटी?’
म कालेबुङ बजार पत्रकारिता गर्न कालेबुङकै पल्लोछेउको कुलैन बगानबाट छिरेको केटो। गाउँमा आमा, स्वास्नी र छोरो छोडेर आएको म। मेरो नाम त सुनेका तर मलाई नचिनेकाहरू धेरै थिए सहरमा। उमेश उपमा, शिबु छेत्री, असिम सागरहरूसित कालेबुङमा साहित्यिक काम गरिन्थ्यो। हाम्रा सबै कार्यक्रमका मुख्य अतिथि आमा नै। आमासित कविताले नै म नजिक भएँ। गाउँमा आमा छोडेर आएको मैले सहरमा पनि आमा भेटेँ। मेरो लेखनमा सम्भावना देखेर नै रहेछ, मलाई छोरो बनाइन्। साहित्यिक छोरो।
नेपाल र दार्जीलिङमा मलाई चिन्नेहरूलाई आमाले मलाई डोहोर्याएको कुरा थाहा छैन। हो, आमाले मलाई कविता लेख्न र सर्जकहरूसित सम्बन्ध स्थापित गर्न सिकाउनुभयो। आमाको हात समातेर हिँड्दाहिँड्दै कवि बनेँ म। गइरहन्छु उनको घर। जब जान्छु, कोठामा बसेर घन्टौँ हामी सँगै साहित्यको सुर्ता गर्छौँ। जीवनको सुर्ता गर्छौँ। समाजको सुर्ता गर्छौँ।
‘यो गर्, त्यो नगर्, यो पढ्, त्यो नपढ्,’ आमा भन्नुहुन्छ। म खुरुखुरू मान्छु।
‘यो खा, त्यो नखा, यो बोल्, त्यो नबोल्,’ आमा भन्नुहुन्छ। म सप्पै फेरि खुरुखुरु मान्दिनँ।
म काम पनि बिगार्छु। आमाले मन नपराउने कामहरू पनि गर्छु। देख्नेहरूले पोल सुनाइहाल्छन्। गयो, हपाई खायो, आयो। आमाको हपाई साह्रै मिठो हुन्छ। हपाईभित्र जुन स्नेह, माया र ममता हुन्छ, त्यो केहीमा हुँदैन।
‘…त्यसो नगर् न,’ रिसाउनुहुन्छ, आमा। ‘हुन्छ, गर्दिन हौ,’ मज्जैले भन्छु र हॉंस्छु।
म त यति प्यारी आमाको अट्टेरी छोरा पो हुँ।
तर कवि छोरा हुँ।
‘जीवन त आफूले चाहेजस्तो जिउन नपाइँदोरहेछ,’ उनले बुझाइन् ‘नचाहेको जिउनु पनि तर जीवन हो।’
मलाई आमाको यस्तो कुरामा अचम्म लाग्छ।
‘तपाईँ असन्तुष्ट हुनुहुन्छ जीवनसित?’ मैले त ‘छु’ भन्ने उत्तरको आशा हन्ड्रेड पर्सेन्ट गरेको थिएँ।
आमाको अनुभव रहेछ, जीवन भनेको सम्झौता गरेर जिउनुपर्ने कुरा हो।
‘मैले ठानेको जीवन मैले बॉंच्न खोजेको भए म जीवन भेट्ने थिइनँ,’ बोलिरहिन् आमा,‘जीवन त कतिबेला भेटिन्छ भन्ने कुरा नै थाहा हुन्न।’
जीवनबारे त जीवन भोग्नेहरूले नै भन्न सक्दारहेछन्। आमाको कुरा सुन्दै जॉंदा म बुझ्दै जान्छु, म त अहिले जीवनबारे बोल्ने मान्छे होइन रहेछु।
नभोगी कसरी बताउनु जीवनबारे?
‘अनुमान लगाएर जिउने कुरा होइन जीवन,’ भन्नुहुन्छ आमा, ‘जीवनको धागो कहॉं खुस्किन्छ, कहॉं गॉंठो पर्छ बताउन कसले सक्छ?’
आमाले पनि सम्झौता गरिन्। पाउनुभन्दा धेर गुमाइन्। गुमाउनुभन्दा धेर पाइन्।
के पाइन्? के गुमाइन्? यसको उत्तर आमाको परिवारिक जीवन र कवितीय जीवनभित्र नै छ।
स्यानुमा आमा
आमाको आमा पवित्र राई धेरै स्ट्रिक्ट। तर गरिब दुःखीलाई हेर्ने। बाबा हर्कबीरचाहिँ धेरै सोझो। बाजेले गाली गरेको आमालाई याद छैन। आमाहरू चार बहिनी। एक दाजु। बिहान निक्कै अबेरसम्म सुत्यो भने,
‘गधे लोग, उठो’ भन्नुहुन्थ्यो रे बाजेले। आमालाई यत्ति थाहा रहेछ।
‘अहिले त सप्पै गइसके,’ आँखामा कुनै नैराश्य नदेखाई भन्नुहुन्छ आमा, ‘बॉंचेको मै मात्र हुँ।’
गएकाहरू सप्पैको त याद आउँदैन, बाबाको यादचाहिँ उनलाई आउँछ रे।
‘त्यतिखेर,’ भन्नहुन्छ उनी, ‘मैले लेखेकोमा व्याकरण र हिज्जे भूल हुने। सच्याउने बाबा मात्र।’
काइँला बढाका छोरा भरत राई पनि लेखक थिए। (उनी कथाकार सम्पूर्णा राईकी बाबा हुन्।) बाजेको हिमचिम पण्डित बाहरूसित। धर्म, राजनीति र साहित्यबारे तर्कातर्की हुने। चर्काचर्की हुने।
‘बाबाहरू कुरा गरेको सुन्थेँ,’ भन्छिन्, ‘साहित्यमा त्यसरी नै आकर्षण बढ्यो।’
भर्तिमा आमा
गर्ल्स हाई स्कूल पढ्दै थिइन्। आफू 13 की इत्रु फुच्ची। सातमा पढ्दैगरेकी। क्लासमा बाह्र साथी थिएछन्, उस्तै उमेरका। साहित्यकार पारसमणि प्रधानले अङ्ग्रेजी सेनामा महिला भर्तिको ठेक्का पाएछन्। ‘केटीहरू जानुपर्छ,’ भर्ति के हो भनेर नजानेकी आमाको क्लासको 12 जना छात्रामाथि आदेश भयो।
‘के हो हो जस्तो लाग्यो पहिले त,’ सुनाइन् आमाले, ‘केटीहरू पनि चम्किए। हामी रॉंची गयौँ। 1944 सालमा।’
भर्तिको डाइरेक्टरचाहिँ कालेबुङमा बसेका डा. ग्राहम्स होम्सकी छोरी साइँली, मिसेस वर्लिङलाई आमाको बाबाले सोधेछन्, ‘पछि रिटायर्ड भएर के गछेर्र्, यल्ले?
मिसेस वर्लिङले भनिछन्, ‘टेसको डिम्मा मेडोे।’
तीन महिना वायरलेस, टेलिफोन विभागमा खटिन् रॉंचीमा। त्यसपछि फर्किन्। कलकत्ता गइन् र टेलिफोन एक्सचेञ्ज विभागमा ‘ओपरेटर’ बनिन्।
‘त्यतिखेर सोह्रको त थिएँ नी म,’ सुनाउँछिन् आमा, ‘बङ्गाली आइमाईहरूले कम माया गर्थेनन्। नानी भन्थे, काखमा राख्थे।’
देशमा हिन्दू-मुस्लिमबिच द्वन्द्व चर्किएपछि छोडेर आइछन्, कामसाम।
‘पल्टनमा हुँदा इन्चार्जहरूले सेतो टोपी लाउने देख्यो भने लुक्नू भन्थे,’ अहिले सम्झिन्छिन्, ‘सेतो टोपी लाउनेहरू त अङ्ग्रेजसित लडिरहेका काङ्ग्रेसी पो थिएछन्।’
1947 मा भर्ति भङ्ग भयो। त्यही वर्ष अङ्ग्रेजहरू हारे। भारत स्वाधीन भयो। आमा पनि फर्किइन्।
कवि आमा
आमाले 44 का ती नै दिनहरू सम्झिएर 46 मा कविता लेखिन्। त्यसको शीर्षक ‘मन’ थियो।
‘मन उदास-अशान्त
निर्जन दुःखदायी प्रवास
खोज्छ नित्य पुग्न त्यहॉं
छन् सम्पूर्ण जन जहॉं।’
भारत स्वाधीन भएको अघिल्लोवर्ष उनको ‘गोर्खा’-मा कविता छापियो, पहिलोपल्ट। त्यसको दुई वर्षपछि ‘फिलिङ्गो’ हस्तलिखित पत्रिकामा कथा छापियो ‘अदृश्य उपहार’। त्यसपछि उनी लेखक बनिन्। समकालीन थिए नरबहादुर दाहाल, डा. लक्खिदेवी सुन्दास, रुपनारायण दाहाल, कृष्ण गुरूङहरू। पछि थपिए बद्रिनारायण प्रधान, भाइचन्द प्रधानहरू पनि।
घर आउँदा दाजु भीमदल राईहरूको साहित्यिक माहौल पाइन्। उतिखेर स्वच्छन्दवादी साहित्यकारहरूको गतिलो जमात थियो। त्यही जमातमा थिइन् उनी पनि। त्यसपछि उनी 1954 मा ‘नवप्रभात’-को सम्पादक बनिन्। कविताहरू लेखिन्। जीवनमा लगभग पॉंचवटा मात्र कथा लेखिन्। त्यसमा पनि तीनवटा मात्र प्रकाशित छ। एउटै निबन्ध लेखिन्। कविताहरू सयभन्दा धेर लेखिन्। उद्गार (2001) कविता सङ्ग्रह छापेको ठीक दस वर्षपछि ‘मनपीडा’ कविता सङ्ग्रह छापिन्। एउटा गतिलै फाइल जल्यो। भारतीय नेपाली साहित्यिक संस्थाहरूले दिने पुरस्कार प्रायः जम्मै पाइन्।
‘त्यतिखेर लेख्नको लागि भवानी भिक्षु, भीमनिधि तिवारी, पारणमणि प्रधान, बद्रिनारायण भट्टराईहरूले चिट्ठी लेखेर ‘इन्करेज’ गर्थे,’ सम्झिन्छिन् अहिले, ‘अहिलेको जस्तो बाक्लो थिएन जमात।’
बुबासित आमा
भर्तिबाट फर्किएपछि उनले दाजु भीमदलहरूसित आफ्नो घर आइरहने एक युवक देखिन्। खुब राम्रो स्वभावका। बेलुका बेलुका आउने। परिवारका ठूला सदस्यहरूसित कुरा गर्ने, जाने।
‘त्यसरी आइरहने, राजनीति, साहित्य र अरू ज्ञानगुणका कुराहरू गरिरहने,’ आमा विगततिर गइन्, ‘मलाई पनि लेख्न हौस्याइरहने।’
युवकको घरमा कोही थिएनन्। दाजुहरू बाहिर थिए। आमाबाबा बितेका। घरमा एक्लै बस्ने युवकको अर्को घर थियो भने आमाको घर थियो। आमाको घरमा आएर युवक आमालाई ट्युसन पढाउँथे। आमामाथि चढेको म्याट्रिक गर्ने भूत जो थियो।
आइरहने युवक तीनदिनदेखि देखा परेनन्।
‘साथीहरूले बिरामी छन् भने,’ पुराना दिन सम्झिन्, ‘म डाक्टर लिएर गएँ।’
आमाले देखिन् सुतिरहेका। बिरामी पर्दा पानी तताएर दिने पनि कोही नभएका। पानी तताइन्। डाक्टरले जॉंचे। खाजाभुजा बनाइदिइन्। यो क्रम जारी रह्यो।
‘तिनलाई पनि मेरो सहयोगको बानी पर्यो,’ आमाले सम्झिन्, ‘हामी नजिक भयौँ।’
त्यसपछि उनीहरूको बिहे भयो।
युवक थिए प्रसिद्ध साहित्यकार भाइचन्द प्रधान।
बुबाको घरमा देवरहरूले तिनलाई ‘अजातकी’ भन्थे। तिनको मन दुख्दैन थियो। दुख्यो भने पनि देखाउँदैन थिइन्। दुःख नदेखाउने पनि बानी बस्यो। मन पोख्ने एउटा ठाउँ थियो आमाको, कविता। बुबासित गएपछि आमालाई लाग्यो, अब जीवन भेट्ने ठाउँ यही हो। तर तिनले त्यही घरमा कविता पनि भेटिन्। भेटेका कविता लेखिन् तर छापिनन्। आमाका कविताहरू पढ्दा तिनको जीवन छर्लङ्गै हुन्छ।
‘महादान’-मा लेखिन्,
‘माया ममताको यहॉं
महादान दिनुछ तिमीले
लिनुभन्दा दिनु
बढी कर्त्तव्य तिम्रो।’
आमाको जीवनको सार नै यति नै हो।
दुइ छोरा दुइ छोरी। बुबा। छर छिमेक। आफन्त। कर्तव्य। यी जम्मैले आमालाई कवितादेखि टाडा लग्यो जीवनदेखि नजिक। बुबासित पर्याप्त सम्पति पनि थिएन, अभाव पनि थिएन। नानीहरूलाई जुन कर्म, संस्कार र जीवन दिनुथियो त्यो कविताभन्दा सुन्दर लाग्थ्यो। आफैलाई कविता मान्थिन्। जसरी कविता पाठकमा पसेर जीवनबारे बोल्छ, उसरी आमा परिवारमा पसिन् अनि जीवनबारे बोलिन्। समाजमा पसिन् अनि जीवनबारे नै बोलिन्।
बुबा अलिक छिटो रिसाउने। पॉंच मिनट खाना ढिलो भयो भने खाना नै फर्काइदिने। आमालाई बुबाको चित्त दुखाउन राम्रो कहिल्यै लागेन। किनभने आमाले बुबालाई जत्ति चिन्थिन्, उत्ति त बुबाका पाठकहरूले पनि चिनेनन्। तिनी जान्दथिन्, बुबा अब परिवारको मात्र होइन सारा नेपाली संसारका भए। समाजका भए। बुबासित परिवारको भन्दा धेर नेपाली समाजको सुर्ता छ। साहित्यको, भाषाको, समाजको सुर्ता बोकेर आफैसित लड्ने बुबालाई घरेलु कुरामा अल्झाइराख्नु आमालाई कहिल्यै राम्रो लागेन। यसैकारण तिनले घर सम्हालिन्, बुबाले साहित्य र समाज सम्हाले। भाइचन्द प्रधानले नेपाली साहित्यमा जुन ठाउँ बनाए, त्यसको लागि आमाले जीवन नै लगानी गरिन्। आमाले जीवनमा पाएको सन्तुष्टिभित्र यो सङ्घर्ष पनि पर्छ।
‘मलाई घरमा कवि भएर बस्न मुनासिब लागेन,’ भन्छिन् अहिले पनि, ‘स्वास्नी, आमा, बुहारी भएर निभाउनुपर्ने जुन जुन कर्त्तव्य थियो, मेरोलागि त्यही प्रमुख थियो।’
घर सम्हाल्दा सम्हाल्दै जीवनबाट लेखिन पर्ने कति कविता छुट्यो। कति कथा हरायो। कति निबन्ध मनमा नै बिलायो। तिनी घरभित्र रमाइन्।
‘2 बजी उठिएन भने सारा दिनको हिसाब गडबड हुन्थ्यो,’ सुनाउँछिन्, ‘अहिलेसम्मै त्यही बानी छ।’
बुबा बुद्धिष्ट।
‘बुबाले बुद्धबाट पाएका ज्ञान भनेकै कर्म थियो,’ बुबाबारे भन्छिन्, ‘यसकारण तिनको जीवन नै ‘सेवा’-मा बित्यो। तिनी समाजका भए। म घरको।’
राईनी भएपनि हिन्दूको प्रभावमा हुर्किएकी आमालाई घरमा पूजा गर्न मन लाग्थ्यो। बुबालाई पूजापाठ मन नपर्ने।
‘हत्तारसित पूजा गर्थेँ, दीयो बलिरहेको हुन्थ्यो,’ आफूलाई लागेको कुरा भन्छिन्, ‘बुबा घरमा हुँदा दीयो देख्ला भनेर डर लाग्थ्यो, बुबाले देख्नअघि दीयो निभिहाल्नु नी जस्तो लाग्थ्यो।’
कोही बेला उनलाई आफ्नो निर्णय गलत हो कि भन्ने पनि लाग्थ्यो तर जब काखमा नानी र समाजमा बुबाको सफलता सामु हुन्थ्यो जीवन रङ्गीन लाग्थ्यो। रहेको जति पनि पीडा मनमा हुन्थ्यो, त्यो नै कविता बन्थ्यो। ‘मनपीडा’ त्यही पीडाका कविताका सङ्ग्रह हो। रोदन, महादान, व्यथा छ, जल्नदेऊजस्ता कविताले आमालाई बुझ्न सबैलाई सहयोग गर्ला।
कखरासित आमा
जीवन आफ्नै हातले चलाउने आमालाई लाग्थ्यो, बुबाको कामले मात्र परिवार चल्दैन। यसो सोच्ने भएदेखि जीवनको जस्तै जटिल हिसाब पनि मिलाउँछु भन्ने लाग्यो।
त्यसपछि तिनी तीनवटा भइन्।
पहिलो स्वास्नी, दोस्रो आमा र तेस्रो गुरूआमा।
पहिलो र दोस्रो भूमिका त तिनले निभाइरहेकै थिइन्, जब तेस्रो भूमिका निभाउन हिँडिन् घरबाहिरको समाजसित जम्काभेट भयो। 1964 मा तिनी जुबिली स्कूलकी नेपाली भाषा पढाउने गुरूआमा भइन्। ठाकुरबाढीमा रहेको अङ्गेरजी स्कूललाई हिन्दी रहेको जुबिलीमा लगेपछि तिनले देखिन्, पढ्ने नेपाली, स्कूल हिन्दी।
‘नेपाली विद्यार्थीहरू धेरै छन्,’ प्रधान अध्यापक डीसी रोयलाई भनिन्, ‘आफ्टर स्कूल म विद्यार्थीहरूलाई सित्तैमा नेपाली पढाउँछु।’
मानेनन् प्रधान अध्यापक। भन्न छाडिनन्।
जोरजबरजस्तीमा पढाउन त थालिन् तर बिस्तारै आमालाई ‘हिन्दी विरोधी’ भन्न थालियो। स्वाधिन भारतमा हिन्दी विरोधी हुनु निक्कै ठूलो आरोप थियो।
‘हिन्दीमा नै आइए गरेको म,’ भन्नुहुन्छ आमा, ‘मैले नेपाली भाषाको माग गरेँ भनेर प्रताडना शुरु भयो।’
आफ्नो भाषामा आफ्नै ठाउँमा पढाउन नपाउनु, विद्यार्थीहरूले पढ्न नपाउनु, उनको लागि मुनासिब कुरा भएन। भाषाप्रेमी आमाले 1954 देखि सम्पादन गरेको ‘नवप्रभात’-पत्रिकाको एउटा सम्पादकीयमा ‘नेपाली भाषालाई सरकारले मान्यता दिनुपर्छ’ भन्ने आशय लेखिन्।
डा. जीवन नाम्दुङ यही सम्पादकीयलाई भाषा सङ्ग्रामको पहिलो लिखित लडाईँ रहेको अनुमान गर्छन्।
आमाले हिन्दी स्कूललाई नेपाली बनाउने आन्दोलन गरिरहँदा देशभरि नै गोर्खाहरूले भाषा आन्दोलन शुरु गरिरहेका थिए।
अध्यापकलाई झापट
आमालाई लाग्थ्यो हिन्दी जुबिलीलाई ‘नेपाली’ बनाउनुपर्छ। आमाको यो कुरा थाहा पाएदेखि प्रधान अध्यापक चिडिन थाले।
श्रेणीहरू रित्तो हुनथाल्यो। यो षडयन्त्र थियो।
प्रधान अध्यापकले भने, ‘दोस्रो श्रेणीमा विद्यार्थी छैन, श्रेणी बन्द गर्छु।’
विद्यार्थी ल्याउने, पढाउने काममा दत्तचित्तले लागेको आमालाई यो कुरा पचेन। भनाबैरी चल्यो। राईनी झोंक बाहिर निस्कियो। आमाले हानिन् प्रधान अध्यापकलाई झापट। हालिन् जेल।
त्यिसबेला पहाडका नेता देवप्रकाश राई राज्यमा मन्त्री थिए। आमाले तिनीसित कुरा राखिन्। त्यसपछि 1968 मा हिन्दी जुबिली भयो नेपाली।
जीवनसित आमा
‘जीवन भनेको सङ्घर्ष हो मनोज,’ अब आमाले मेरो प्रश्नको उत्तर दिन थालिन्, ‘जीवन पाउनु र गुमाउनु दुइटैमा छ।’
उनलाई लाग्छ, आफूले चाहेको पाउनु ठूलो कुरा होइन। समाजले चाहेको पाउनु ठूलो कुरा हो। आफूसित जीवन थियो र नै पो जीवनसित सम्झौता गर्न पाइयो। सम्झौता पनि ठूलै प्राप्तिको हिसाब राखेर गर्नुपर्छ। आफ्ना ठूलाठूला खुशी हराएर समाजले पाएको सानो खुशीजति चहकिलो कुनै रङ हुँदैन।
‘मैले जीवनसित सम्झौता गरेँ, परिणाम सामु छ,’ भन्नुहुन्छ यसरी, ‘लाग्दैन कि म असफल भएँ। जीवनको सबै परीक्षामा उत्तीर्ण भएँ।’
व्यक्तिगतरूपमा आमालाई पाउनुमा भन्दा दिनुमा मजा लाग्छ।
‘वास्तवमा भएर दिने होइन मनोज,’ भन्नुहुन्छ, ‘अभावमा दिनसक्नुको मजै अर्को हुन्छ।’
आमाका उत्तरहरूले मलाई धेरै टाडो पुर्याउँछ। कविताबाट टाडिएकी आमाले साहित्यलाई जति दिएकी छन्, त्यो अभावमा नै त दिएकी हुन्। भारतीय नेपाली साहित्य निर्माणमा आफ्नो हिस्साको योगदान आमाले मज्जैले दिएकी हुन्। त्यही संस्कार थियो र त आज हामी लेखिरहेका छौँ। आमाहरूले बिज रोपेकी थिइन् र त्यसको सियॉंलमा छौँ हामी। आमाको कविता पढ्दा पनि उबेलाको समयलाई मज्जैले चिन्न सकिन्छ। चिनेर भन्न सकिन्छ, ‘स्वच्छन्दवादीहरूले हिँडेको त्यो बाटो अहिले पनि त छ, जहॉं उभेर हामी भनिरहेका छौं, भारतीय नेपाली साहित्यिकले ‘भारतीय नेपाली’-को समय, जीवन र समाजबाट ‘विचार’ टिपेर देखाउनेहरूको हूल कति सानो छ। त्यो हूल विकासौँ।’
आमालाई अहिलेको माहौल लोभ लाग्दोरहेछ। तर नारी लेखकहरूको अभावमा सुर्ता पनि गर्छिन्। अहिले लेखकीय उचाइँ अग्लिएकोमा रमाउँछिन्। युवा पुस्ताको सक्रियतामा हर्षित बन्छिन्।
‘अघि अघि कविता घुुमाउरो हुन्थ्यो। लेखनाथ ‘सुगा’ भन्थे। ‘सुगा’ त जनता रहेछ,’ भन्नुहुन्छ, ‘अहिले राणाहरू छैनन्। सरकार छ त्यसको ठाउँमा। तर अचेल कविता त्यस्तो घुमाउरो छैन।’ आमालाई पनि कवितीय मर्यादा नमारी कविहरूले ‘जनता’-लाई उठाउने कविता लेखेको मनपर्दोरहेछ। चेतना निर्माणमा कविताले काम गरिरहेकोमा सन्तोष लागेको रहेछ।
‘एउटा विचार र दर्शन एउटा समयसम्म रहन्छ,’ भन्नुहुन्छ, ‘त्यसकारण विचार गर्न छोड्नु हुँदैन। त्यही भोलिको बाटो खन्ने कॉंटा हुन्छ।’
‘बुझिस् जीवन?’ मलाई सोध्नु भयो।
‘पहिले भोग्छु त्यसपछि भन्छु’, मैले पनि भनेँ, ‘तपाईँको जीवनबाट यति बुझेँ।’
‘स्याबास’, हाँसेर भन्नुभो, ‘कुरा बुझेछस्।’
मैले पनि हाँसेर भनेँ, ‘जीवन सिकाउने किताब नै तपाईँ जो ठहरिनु भयो मेरो लागि।’