विमल गुरूङ पक्रा पर्ने आशङ्का खुल्ला छ

कुणाल घोष


  1. एक समय थियो सीपीएम बनाम घिसिङ। दुइबीच चरम सङ्घर्ष थियो। घिसिङको स्लोगन थियो गोर्खाल्याण्ड। साँठगाँठ गरेरै दुवैको सह अवस्थान थियो। मोटामोटी शान्त स्थिति।
  2. घिसिङ क्रमशः दुर्बल हुँदैगए। विमल गुरुङहरूको उत्थान। स्लोगन त्यही गोर्खाल्याण्ड।
  3. त्यसपछि सीपीएम बनाम गुरूङ। विभिन्न कारणले घिसिङ पहाड़बाहिर। जीएनएलएफ क्रमशः दुर्बल। स्थानीय भावनालाई उपयोग गरेर विमलहरूको गोर्खा जनमुक्ति मोर्चाको ढलीमली।
  4. सीपीएम छेउकुना लाग्यो। मोर्चाको प्रताप प्रबल। सीपीएम नेताहरूलाई पहाड़ चढ़्न पनि कठिन।
  5. यस्तो स्थितिमा सीपीएमविरोधिताको प्रश्नमा मोर्चा-ममताबीच सुसम्पर्क। विमललाई आवश्यक थियो दह्रो समर्थन। ममतालाई आवश्यक थियो पहाड़ चढ़्ने सिँड़ी। मोर्चासित प्रत्यक्ष वा परोक्ष कारणले नै पहाड़मा ममताको पदार्पण रेलमन्त्री छँदादेखि नै।
  6. ‘पहाड़मा शान्ति’, ‘पहाड़ हाँस्दैछ’। यसको सोझो कारण हो – जसले यतिदिन पहाड़मा उत्ताप फैलाए, ममताले उनीहरूलाई साथमा राखिन्। अशान्ति किन हुनु? विमलले पहाड़मा साम्राज्य कायम राखे अनि ममताले सर्वत्र ‘पहाड़ हाँस्दैछ’ भनेर कृतित्व लिइन्। यद्धपि यो एउटा सफल राजनैतिक प्रक्रिया पनि थियो। एक दुइवटा मुद्दाबाहेक नरम गरम रूपमा दुईको सह-अवस्थान चल्यो। विमलको जन्मदिनमा दिदीले ‘सन्देश’ ख्वाइन्। विमलले पनि दिदीलाई प्रमोशन दिँदै ‘आमा’ भने।
  7. जीटीए सम्झौता भयो। ममताले हस्ताक्षर पनि गरिन्। केन्द्रले सही गऱ्यो। मोर्चाले भन्यो – विजयको बाटोमा एकधाप। कारण जीटीएको ‘जी’ शब्दको पूर्ण अर्थ नै हो – ‘गोर्खाल्याण्ड’। यो शब्दलाई मानेरै हस्ताक्षर गरेर समस्याको बीऊ राखिएन र ? ममताले किन यो शब्दलाई फेरिदिइनन् ? त्यसपछि जीटीए चुनाउमा ममता समर्थनले सम्पूर्ण पहाड़ै दखल गरेर बसे विमल।
  8. यो मधुमास पर्वमा शान्ति थियो। त्यो स्वाभाविकै थियो। कारण थियो -ममता-गुरूङबीच बन्धुत्व। यतिखेर पहाड़ प्रायः विरोधीशून्य। एकतिर मदन तामाङको हत्याको मुद्दा ओझल हुँदैथियो अर्कोतिर नगरपालिका वा जीटीएको कुनै अडिटको कुरा नै राज्य सरकारले उठाइरहेको थिएन। प्रकट रूपले कुनै भ्रष्टाचारको आरोप राज्यले लगाएन। पहाड़ हाँस्दैथियो, ममता निरन्तर पहाड़ चढिरहिन्।

 

यहाँसम्म सबै ठीकठाक थियो।

  1. यसपछि शुरू भयो झ्याउला। पहाड़मा गुरूङको पक्षमा सबै छन् भन्ने कुरा होइन। विक्षुब्धी, विरोधी त हुने नै छन्। ममताले यो कुरा बुझिन् र पहाड़मा आफ्नै शैलीमा विमलको साम्राज्य भत्काउँदै तृणमूललाई प्रमोट गर्नतर्फ लागिन्। विकासको नाममा ‘डिभाइड एण्ड रूल’ शुरू भयो। कहिले विभिन्न जातगोष्ठीको विकास बोर्ड, कहिले गुरूङका विधायक हर्कबहादुर छेत्रीलाई नजीक ल्याएर मोर्चालाई कमजोर बनाउनु अनि जीएनएलएफलाई नजीक तान्नु। जीटीएलाई उपेक्षा गरेर घोषणाहरू गर्नु, काम गर्नु, प्रबल जन-उपस्थिति देखाएर इमेज बिल्डिङ गर्नु आदि। फलस्वरूप एकसमय गुरूङलाई उपयोग गरेर पहाड़मा खुट्टा राख्ने ममताले गुरूङलाई कमजोर बनाउने काम सफलतापूर्वक गर्दैथिइन्। उनले गुरूङविरोधीहरूलाई सहायता, पृष्ठपोषकता प्रदान गरिन्, पुलिस-प्रशासन-मन्त्री पठाएर सम्पूर्ण शक्तिले तृणमूललाई प्रमोट गरिन्। गुरूङले शुरू शुरूमा यो कुरा बुझेर पनि केही भनेनन्। त्यसपछि केही दिन शीतयुद्धको पर्व रह्यो। अन्ततः प्रत्यक्ष द्वन्द्व। पहाड़मा गुरूङविरोधीहरूलाई काममा लगाएर नगरपालिका चुनाउ लड़ी केही भोट पाइन् ममताले। मोर्चाभित्रको गुटबाजीलाई उपयोग गरेर अनि नयाँ महकुमालगायत केही चमकदमकपूर्ण प्रशासनिक घोषणा गरेर मिरिक जितिन्। धेरै वर्षपछि स्थानीय शक्तिलाई हराएर बोर्ड गठन गरेको छ कोलकाता सदर दफ्तर भएको राज्य स्तरको दलले। यद्यपि अनेक चेष्टा अनि हकडक गरेर पनि दार्जीलिङ, कालेबुङ र खरसाङ नगरपालिका जित्ने प्रश्नमा धेरै पछि रह्यो तृणमूल। तैपनि गुरूङले बुझे – पानी जोखिमताको स्तरभन्दा माथि बग्न थालेको छ। अहिले जे हुँदैछ त्यो त्यही सङ्घर्षपूर्ण स्थिति हो।
  2. गुरूङ पहिलाभन्दा दुर्बल छन्, त्यसमा कुनै सन्देह छैन। छेउकुना परेका छन्, हत्तु भएका छन्। ममतासित प्रबल राजनैतिक शक्ति छ। गुरूङले उग्र आन्दोलनलाई कतिदिन धान्नसक्ने हुन्, त्यसमा प्रश्न छ। यसबाहेक अशान्ति र बन्दले पर्यटनलाई क्षति पुगे त्यससँग आयले जोड़िएका पहाड़वासीले यो विषयलाई कुन रूपले ग्रहण गर्नेछन्, त्यो पनि हेर्ने आवश्यकता छ।
  3. ममता पहाड़ चढ़ेकी थिइन्, गुरूङको काँधमा भर गरेर। उनीसँग सुसम्बन्ध राखेर आफ्ना हाँगाबिँगा फैलाएकी थिइन्, शान्ति थियो। नीतिगत कुरामा नगई भन्नपर्दा, पहाड़लाई नियन्त्रणमा राख्ने ममताको कौशल ठिकै थियो। तर अतिरिक्त ग्यालेरी शो गरेर आफ्नो इमेज बढ़ाउन बढ़ता हत्तारिँदा यसचोटि अशान्ति निम्ताइपठाइन्। पहाड़बाट यसै पनि पर्यटक फर्केर आएपछि भन्ने गर्थे – ममताको कारण पहाड़ हाँस्दैछ। त्यसका लागि आधा घण्टाको मन्त्रीसभाको बैठकमा लाखौं, करोड़ौं खर्च गरी पार्षद्सहित मन्त्री, नोकरशाहहरूको दार्जीलिङ भ्रमण, पुलिस पाइलटकार, सरकारी राजकीय अनि त्यहीँ अर्कोतिर, समान रूपमा विमलहरूलाई होँच्याएर भरिपूर्ण पर्यटन मौसमको दार्जीलिङलाई राजनैतिक लड़ाईंको मैदानमा रूपान्तर गर्ने के आवश्यकता थियो ?
  4. आज ममता भन्दैछिन् – विमलले गुण्डागर्दी गर्दैछन्, भ्रष्टाचार गर्दैछन्, अडिट गरिनेछ। यत्तिका दिन अडिटको कुरा आएन। जतिखेर सीपीएम वा वाममोर्चा सरकारको समयमा गुरूङहरूले बाहुबल प्रदर्शन गरेका थिए, त्यतिखेर यस प्रवृत्तिको विरोधिता नगरी उनीहरूलाई नै काममा लगाएर पहाड़मा पदार्पण गर्ने काम किन गरियो? आज गुरूङ हठात खराब भए? अहिले अडिटमा भ्रष्टाचार देखाइए त्यसलाई प्रत्याशित राजनैतिक आघात नै ठानिनेछ।

वस्तुतः ममताले केन्द्रविरुद्ध असहयोग र राजनैतिक प्रतिहिंसाको जे जति आरोप लगाउँछिन् , ममताविरुद्ध गुरूङको मुखबाट त्यस्तै सुन्नपाइँदैछ।

  1. समतलको मीडियामा प्रभाव हालेर ममताको छवि निर्माण गर्ने प्रचार चलिरहेछ। पहाड़का स्थानीय च्यानलहरू प्रशासनले बन्द गरिदिएको छ। असङ्ख्य पर्यटकहरू पहाड़मा रहे पनि ममता हठात् रातिको अन्धकारमा कड़ा पहरामा तल झरिन्। गुरूङहरूले बन्द डाकिरहेका छन्, ममताको पुलिसले गुरूङहरूको नाममा विभिन्न धाराहरूमा मामिला लगाइरहेका छन्। गुरूङ पक्रा पर्ने आशङ्का खुल्ला छ। अडिट हुँदैछ, त्यसपछि जीटीएविरुद्ध विभिन्न अभियोग लगाइनेछ। नजीकै जीटीएको भोट छ। ममताले सम्पूर्ण शक्ति लगाउनेछिन्। गुरूङले पनि छुट्टै राज्यको मागलाई चर्को पार्नेछन्। फलस्वरूप शान्त परिवेश पहाड़मा हाल फर्किने सम्भावना कम्ती नै छ।
  2. संवेदनशील विषय, गोर्खाल्याण्ड। छुट्टै सानो राज्य। हामी बङ्गाल विभाजन चाहँदैनौं, त्यो निश्चय नै हाम्रो वक्तव्य हो। तर कसैले पनि आफ्नो माग उठाउन सक्छ। उनीहरू भारतबाहिर नयाँ देश त मागिरहेका छैनन्। देशभित्रै राज्य चाहन्छन्। ‘विच्छिन्नतावादी’ भनेर एउटै शब्दमा उड़ाउन मिल्छ ? विकासको सुविधाका लागि केन्द्र सरकारले नयाँ राज्य बनाएको छैन र? भर्खरै आन्ध्रप्रदेश भत्काएर तेलङ्गना बनाइएन र? ममताले पनि जिल्ला भत्काएर नयाँ जिल्ला बनाएकी छैनन् र? भौगोलिक, भाषा अनि संस्कृतिगत छुट्टै आर्थिक-सामाजिक घरानाका पहाड़वासीले यदि छुट्टै राज्यको माग गर्छन् भने हामी उनीहरूसित भिन्न मत हुनसक्छौं, तर शत्रु भनेर उनीहरूको विवेचना गर्नु भूल हुनेछ। हामी घुमघाम गर्न सिक्किम जाँदैनौं? त्यो पनि त छुट्टै राज्य हो। त्यसो हुँदा के फरक पर्छ? फलस्वरूप राजनैतिक रूपमा गुरूङलाई समाप्त पार्नु अनि पहाड़वासीको भावावेगको मूल्याङ्कन गरेर समस्याको स्थायी समाधानको पद्धतिमाझ फरक नराखिए समस्या धेरथोर जीवित र ज्वलन्त नै रहनेछ। पुलिस र सेना लिएर ममता हिँड़डुल गर्नु अनि समतलको मीडियामा कृत्रिम जयध्वनिले कोलकाता बसेर समस्यालाई ‘सानो’ महसुस गर्नसकिन्छ तर वास्तविकताको माटोमा त्यसलाई अस्वीकार गरिए भविष्यमा अझ धेरै क्षति हुनेछ।

जुन सेनावाहिनीले हुगलीको दोस्रो सेतुमा रूटिन चेकअप गर्न जाँदा ममताले भनिन् – सेना नवान्न दखल गर्न आउँदैछ, कहिले भनिन् – सेनाले पैसा उठाउँदैछ। उनले जतिखेर पहाड़ शान्त पार्न सेनाकै सहायता लिन्छिन्, कि त रातको अँध्यारोमा चुपचाप पहाड़ छोड़्छिन्, त्यतिखेर सबैले बुझ्नु उचित छ – पहाड़नीति सम्बन्धमा नयाँ गरी हेर्ने आवश्यकता छ।

गुरूङ पहिलाभन्दा कमजोर छन्, ठीकै हो। तर आक्रामक प्रशासनिक पदक्षेपको सामयिक सफलता कि विकल्प नीतिको दीर्घमियादी सुफल? राज्यले कुन बाटो ग्रहण गर्छ हेर्ने कुरा यही छ अहिलेलाई।


कुणाल घोष, तृणमूल काङ्ग्रेसबाट निलम्बित सांसद हुन।

साभारः वसुन्धराटीभीडटकम

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया