केन्द्रिय केरकार टोली चाँड़ै दार्जीलिङ आउनेः हामी अलग राज्य गोर्खाल्याण्डलाई समर्थन गर्दैनौँ: बङ्गाल भाजपा

खबरम्यागजिन डेस्कः १३ जून, २०१७ चालू महिनाको अन्त्यतिर केन्द्रिय सत्तामा आसीन भाजपा नेतृत्वले दार्जीलिङको वर्तमान राजनैतिक स्थितिको कैरन गर्न एउटा केन्द्रिय केरकार टोली पठाउने फसेलामा छलफल चलाइरहेको थाहा लागेको छ। भाषिक दमनको फेर समातेर पहाड़मा फेरि शिर उठाइरहेको सालौँ साल पुरानो अलग राज्यको माग ज्वलन्त बन्न गएको स्थितिसँग भाजपाको केन्द्रिय नेतृत्व ‘चिन्तित’ रहेको बताइन्छ।

एउटा प्रतिष्ठित अङग्रेजी दैनिकले खुलाएको उपर्युक्त खबरमा भाजपाका वरिष्ठ एक नेताले उक्त पत्रिकालाई भनेका छन्, “यस्ता मागहरूलाई सम्बोधन गर्न केन्द्रिय सरकार सक्षम छ। गोर्खा जनमुक्ति मोर्चा गोर्खाल्याण्डको मागमा अडिग रहेको भए पनि केन्द्र उनीहरूसँग संवादमा जान चाहन्छ। केन्द्रले चाँड़ै एउटा टोली पठाउनेछ, जसले त्यहाँको वर्तमान राजनैतिक स्थितिको जायजा लिनको साथसाथै गोजमुमो नेतृत्वसँग संवाद स्थापित गर्नेछ”।

बङ्गाल भाजपाले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पहाड़को वर्तमान अवस्था सिर्जना गराउनुमा दायी ठहर गरेको छ। राज्य भाजपा अध्यक्ष दिलीप घोषले भने, “पहाड़मा भइरहेको घटना त्यहाँको मुद्दालाई मुख्यमन्त्रीले भूल तरिकाले व्यवहार गरेकोले गर्दा उब्जिएको हो। विकास बोर्डहरू बनाएर मुख्यमन्त्रीले पहाड़ेहरूमाझ फुट हाल्ने काम गरेकी छन्। हामी अलग राज्य गोर्खाल्याण्डलाई समर्थन गर्दैनौँ तर मुख्यमन्त्रीलाई नै पहाड़को आन्दोलित परिस्थितिको सर्जक मान्दछौँ।”

तथापि, आन्दोलन लगातार चलेको खण्डमा केन्द्रिय भाजपा गोर्खाल्याण्डमाथि गम्भीर हुन बाध्य हुनसक्ने सम्भावनातिर भाजपाको उच्चस्तरीय नेतृत्वले इङ्गित गरेको पनि थाहा लागेको छ। “हामीले दार्जीलिङ लोकसभा समष्टिबाट जितेका छौँ। त्यहाँका सांसद मन्त्री समेत हुन्। यसैले गर्दा पनि हामीले गोजमुमोको कुरा सुन्नु हाम्रो दायित्व बन्छ। यसै सिलसिलामा नै केन्द्रको एउटा टोली चाँड़ै दार्जीलिङ जाने भएको हो,” एक वरिष्ठ भाजपा नेताले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन