अत्याचार भए अनिश्‍चितकाल पहाड़ बन्दःजीटीए सचिव डन्बस्को हटाएर नयाँ सचिव नियुक्त

दार्जीलिङमा सेना छ्यापछ्याप्ति
रुटमार्च गर्दै सेनाका जवान
सेना र पुलिसको गस्ती दार्जीलिङमा

मोहन लामा


दार्जीलिङः भोलि गोर्खा जनमुक्ति युवा मोर्चाको जुलूसमाथि पुलिसले अत्याचार गरे अनि जुलूसमा सहभागी हुनेहरुमाथि लट्ठीचार्ज भए अनिश्‍चितकालीन पहाड़ बन्द डाक्ने चेताउनी दिएको छ। युवा मोर्चाले भनेको छ-गोर्खा जनमुक्ति मोर्चासँगै युवा मोर्चाले अलग राज्य गोर्खाल्यान्डको लागि गणतान्त्रिक ढङ्गमा आन्दोलन चलाइरहेको छ अनि गोर्खाल्यान्डको माग गर्नु संविधानले दिएको अधिकार हो। यसै मागको लागि भोलि युवा मोर्चाले दार्जीलिङका चारैतिरबाट गणतान्त्रिक अनि शान्तिपूर्ण जुलूस निकाल्ने तय गरेको छ।

तर यस जुलूसलाई पुलिस प्रशासनले रोक्ने, लट्ठीचार्ज गर्ने अनि अत्याचार गर्ने कार्य गर्छ भने युवा मोर्चाले तत्कालै अनिश्‍चितकाल पहाड़ बन्दको घोषणा गर्नेछ। यसैले युवा मोर्चाको जुलूसलाई शान्तिसित पूर्ण हुन दिने युवा मोर्चाले पुलिस प्रशासनसमक्ष अपील पनि गरेको छ। आज यहाँको मालिधुरामा गोर्खा जनमुक्ति युवा मोर्चाको एक सभा भएको थियो, जुन सभाबीचै दार्जीलिङका पुलिस अधीक्षक अखिलेश चतुर्वेदीको नेतृत्वमा व्यापक पुलिस बलले मालिधुराको भ्रमण गरेको थियो अनि यस पुलिस दलले जहाँ युवा मोर्चाको सभा भइरहेको थियो, त्यस भवनको पनि निरीक्षण गरेको थियो।

यद्धपि, पुलिस आएको समय युवा मोर्चाको सभा समाप्त भइसकेको थियो अनि पुलिस पनि यहाँको भ्रमण गरेपछि शहरतिर फर्किएर आएको थियो। यसपछि युवा मोर्चा अध्यक्ष एवं जीटीएका पूर्व सभासद प्रकाश गुरूङले पत्रकारहरुसित कुराकानी गर्दै भने-युवा मोर्चाले अलग राज्य गोर्खाल्यान्डको माग लिएर दार्जीलिङमा जुलूसको आयोजना गर्ने निर्णय लिएको छ, जुन जुलूस दार्जीलिङका चारैतिरबाट निकालिनेछ। तर पुलिस प्रशासनले यस जुलूसमाथि अत्याचार गर्छ भने त्यसको परिणाम कठोर हुनेछ अनि त्यस अत्याचारको फलस्वरूप पहाड़को शान्त माहौल बिग्रिएर गए, यसको सम्पूर्ण जिम्मेवार राज्यको ममता व्यानर्जी सरकार हुनपर्नेछ।

उनले भने-दार्जीलिङमा शान्ति अनि गणतान्त्रिक ढङ्गमा जुलूसहरूको आयोजना भइरहेको छ, तर यसमाथि पुलिसले अन्याय गरिरहेको छ। यदि भोलि युवा मोर्चाले निकाल्ने जुलूसमा पनि पुलिसको अत्याचार जारी रहे पहाड़ अचल हुनेछ। अब पुलिस प्रशासनले गोजमुमोमाथि अन्याय बन्द गर्नुपर्छ, अहिलेसम्म पहाड़का जनताले पुलिसको अत्याचार सहिरहेका छन्, तर जनताको धैर्य टुटे परिणाम असल हुनेछैन।

उनले एक प्रश्‍नको उत्तरमा भने-गोजमुमो अध्यक्ष विमल गुरूङले युवा मोर्चा अनि पार्टीका सम्पूर्ण भ्रातृ संगठनहरुलाई गणतान्त्रिक ढङ्गमा गोर्खाल्यान्डको आन्दोलनलाई अघि बढ़ाउने निर्देश दिएका छन् अनि यसै निर्देशअनुसार, युवा मोर्चाले पनि गणतान्त्रिकप्रकारलेनै आन्दोलन गरिरहेको छ। के अलग राज्य गोर्खाल्यान्डको माग गर्नु अवैध हो? संविधानमानै अलग राज्यको प्रावधान उल्लेखित छ। यसैले हामीलाई संविधानमा आस्था छ अनि हाम्रो मागमाथि केन्द्र सरकारले पनि शीघ्र ठोस पहल गर्नुपर्छ। यसैबीच, जीटीए सचिव डन्बस्को लेप्चालाई हटाएर राज्य सरकारले यस पदमा सी. मुरूगनलाई नियुक्त गरेको जानकारी पाइएको छ। राज्यले यसअघि जीटीएका मुख्य सचिव रवीन्दर सिंहको ठाउँमा बरूण रायलाई नियुक्त गरेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन