शिक्षामा लोदर

विद्यार्थी पढाउने मात्रै होइन, शिक्षक पढाउने शिक्षिकाहरू पनि अस्थायी

  • मोहन लामा, दार्जीलिङ

एलडी भोटिया, सुलोचना थापा कालेबुङ अनि फाल्मूबा शर्मा र विमला राई दार्जीलिङले एकै स्वरमा भने-जसलाई हामीले प्राथमिक शिक्षणको प्रशिक्षण दियौं, उनीहरु स्थायी बनेर कार्य गरिरहेका छन्‌। तर हामी स्थायीकरणको माग गर्दै मीडियामा आउनुपर्दा लाज पनि लागिरहेको छ।

 

एक समय चियासँगै शिक्षाको लागि पनि गौरवमय मानिएको दार्जीलिङ पहाड़को शिक्षा व्यवस्थामा अहिले लोदर लागेको छ। यो लोदरले दार्जीलिङ पहाड़को प्राथमिक स्तरका विद्यार्थीहरु मात्रै होइन, विद्यार्थीहरुलाई शिक्षादान गर्ने शिक्षक-शिक्षिकावर्ग पनि कठोर समस्यामा पारेको छ। यसरीनै यो लोदरले दार्जीलिङ पहाड़मा विद्यार्थीहरु पढाउने शिक्षक-शिक्षकावर्ग मात्रै होइन, शिक्षक-शिक्षिकाहरुलाई पढाउने शिक्षक-शिक्षिकाहरुनै पनि समस्याको चेपारोमा परेका छन्‌।

स्थायीको मागमा आन्दोलनरत अस्थायीहरू

यसै लोदरको कारण अहिले दार्जीलिङ पहाड़को शिक्षा व्यवस्था लथालिङ्गै छ अनि एकपछि अर्को गर्दै शिक्षा क्षेत्रका रीड़ शिक्षक-शिक्षिकाहरुको समस्या अघि आउँदै गइरहेका छन्‌। यी समस्याहरु सार्वजनिक हुन थालेपछि दार्जीलिङ पहाड़का विद्यार्थीहरुलाई असल मानिस बनाउन आफ्नो जीवनको मूल अंश खर्चिने लगभग 50 प्रतिशत शिक्षक-शिक्षिकावर्गको भविष्यनै अनिश्चित रहेको स्पष्ट भइरहेको छ।

यसको दायी को हो? के पहाड़का विद्यार्थीहरुको भविष्य निर्माण गर्न स्वयंसेवी शिक्षकको रूपमा काम गर्न राजी बन्ने शिक्षक-शिक्षिकावर्गको निर्णयनै दोष हो? कि राज्य सरकार र स्थानीय क्षेत्रीय व्यवस्थामाझको अमेलपन हो? के पहाड़को शिक्षा व्यवस्था यस्तै चलिरहन्छ? अस्थायी शिक्षकहरुको भरमानै पहाड़का विद्यालयहरु सन्चालन भइरहनेछन्‌? के यसको कुनै समाधान सूत्र निस्किने सम्भावना छैन? कि समाधान सूत्र निकाल्ने प्रयासनै हुँदैन? आखिर कहिलेसम्म? अहिले पहाड़को शिक्षा व्यवस्था विषय लिएर यस्ता कैयौं प्रश्नहरुको ओइरो लागिरहेका छन्‌, तर जवाब कसैको पक्षबाट आउने छॉंटनै देखा परेको छैन।

हाल पहाड़मा विद्यार्थीहरुलाई शिक्षा दिने शिक्षक-शिक्षिकावर्ग मात्रै अस्थायी, स्वयंसेवी, एड्‌हक छैनन्‌, शिक्षक-शिक्षिकाहरुलाई शिक्षादान गर्ने प्रशिक्षकवर्ग पनि अस्थायी छन्‌। जसमा दार्जीलिङको जुनियर बीटी कलेज वा पीटीटीआई (प्राइमेरी टीचर्स ट्रेनिङ इन्स्टीट्यूट)-का दुइजना शिक्षिका अनि कालेबुङको पीटीटीआईका दुइजना शिक्षिकाहरु सामेल छन्‌।

यसबाट दार्जीलिङ पहाड़को शिक्षा व्यवस्था कस्तो ढङ्गले चलिरहेको छ भन्ने कुरो खोतलिरहनुपर्छ जस्तो लाग्दैन। तरै पनि पहाड़का स्वयंसेवी (भोलेन्टियर) शिक्षक-शिक्षिका, न्यू सेटअप अप्पर प्राइमेरी स्कूलहरुमा कार्यरत शिक्षक-शिक्षिकावर्ग, सरकारी मान्यता पाउन नसकेका विद्यालयहरुमा काम गर्ने एड्‌हक शिक्षक-शिक्षिकावर्ग अनि प्राइमेरी टीचर्स ट्रेनिङ इन्स्टीट्यूटमा कार्यरत शिक्षिकावर्गको मात्रै हिसाब निकाले हाल पहाड़मा 950 जना शिक्षक-शिक्षिकावर्ग अस्थायी छन्‌। जसमा स्वयंसेवी शिक्षक-शिक्षिकावर्गको संख्या 515, एड्‌हक 131, न्यू सेट्‌अपमा 300 अनि पीटीटीआईमा 4 जना सामेल छन्‌। तर यसबाहेक पनि अझै धेरै अस्थायी शिक्षक-शिक्षिकावर्ग पहाड़का विद्यालयहरुमा कार्यरत छन्‌, जसले अहिलेसम्म आफ्नो स्थायीकरणको आवाज उठाएकै छैनन्‌।

स्थायीकरणको आशामा घरि मोर्चा घरि तृणमूल गर्दै अस्थायीहरू

यस सम्बन्धमा पहाड़का धेरै शिक्षक-शिक्षिकाहरुलाई प्राथमिक शिक्षामा अध्यापक गराउने प्रशिक्षण दिने क्रमशः एलडी भोटिया, सुलोचना थापा कालेबुङ अनि फाल्मूबा शर्मा र विमला राई दार्जीलिङले एकै स्वरमा भने-जसलाई हामीले प्राथमिक शिक्षणको प्रशिक्षण दियौं, उनीहरु स्थायी बनेर कार्य गरिरहेका छन्‌। तर हामी स्थायीकरणको माग गर्दै मीडियामा आउनुपर्दा लाज पनि लागिरहेको छ। तरै पनि बाध्यता अनि समस्याबाट ग्रस्त बनेपछि लाज मानेर के गर्ने? यी चारजना शिक्षिकाहरूले विगत धेरै वर्षदेखि विशेष पहाड़का हजारौं प्राथमिक शिक्षक-शिक्षिकावर्गलाई प्राथमिक पाठशालाका विद्यार्थीहरुलाई कसरी अध्यापन गराउनुपर्छ भन्नेबारे प्रशिक्षण दिइसकेका छन्‌। जसलाई उनीहरुले प्रशिक्षण दिए, उनीहरु स्थायी शिक्षक-शिक्षिकाहरुनै थिए अनि धेरै स्थायी हुनको लागि प्रशिक्षण लिन आउनेहरु थिए।

आफ्नो स्थायीकरणको पर्वाह नगरी अन्य शिक्षक-शिक्षिकहरूलाई मात्रै स्थायी बन्न सक्षम बनाउँदै पठाउने यी शिक्षिकाहरु अहिले भने आफूमाथि अन्याय भएको अनुभव गर्दै न्यायको आवाज उठाउन बाध्य बनेका छन्‌। यति मात्रै होइन, उनीहरुमाथि दार्जीलिङको शिक्षा विभागले पनि अन्याय गरेको छ। यसबारे एलडी भोटिया भन्छिन्‌-पीटीटीआईका शिक्षक-शिक्षिकाहरु ए श्रेणीका कर्मचारीहरु हुन्‌। तर हामी जुन समय पीटीटीआईमा नियुक्त भएर आएका थियौं, त्यस समय हामीलाई विभागले बी श्रेणीमा राख्ने काम गर्‍यो, त्यस समय हामीलाई पनि केही थाह थिएन अनि न यसबारे प्रशिक्षण केन्द्रका प्राचार्यलेनै हामीलाई ए श्रेणीमा राख्नको लागि विभागसित कुरानै गरे।

यसरीनै हामी बी श्रेणीका रूपमानै कार्य गरिरहेका थियौं, तर अचम्मको कुरा हामीलाई बी श्रेणीमा राखिए पनि सी श्रेणीका कर्मचारीको वेतन दिने गरियो। यो पनि ठीकै थियो, तर 2016-मा जब सी र डी श्रेणीका कर्मचारीहरूलाई पे-व्याण्डमा अन्तर्भुक्त गरेर उनीहरुको वेतन वृद्धि गर्ने कार्य भयो, तर यसमा हाम्रो वेतन भने बढेन। यो के हो? उनीहरुले प्रश्न गरे। यसबाहेक पहाड़का मोठ 129 वटा उच्च अनि उच्चत्तर विद्यालयहरूमा कार्यरत 515 जना स्वयंसेवी शिक्षक-शिक्षिकावर्गको समस्या एक ठाउँमा छ भने पहाड़का 31 वटा सरकारी मान्यता पाउनबाट छुटेका उच्च विद्यालयका 131 जना एड्‌हक शिक्षक-शिक्षिकावर्गको समस्या कॉंचै छ।

यसरीनै पहाड़का 27 वटा न्यू सेटअप अप्पर प्राइमेरी स्कूलका लगभग 300 जना शिक्षक-शिक्षिकावर्ग पनि आफ्नो माग लिएर आन्दोलनको मार्गमा उत्रिसकेका छन्‌। शिक्षा विभाग जीटीए (गोर्खाल्यान्ड टेरेटिोरियल एड्‌मिनिस्ट्रेशन)-मा हस्तान्तरित विभाग हो, जसको कारण यी समस्याहरुमा जीटीएकै दोष अनि असक्षमता देखा परिरहेको छ। तर यसमा राज्य सरकारले पनि राजनीतिनै गरिरहेको स्पष्ट छ। जीटीएको विभागमा राज्यले सोझै कसरी हस्तक्षेप गर्नसक्छ? तर यस्तै भइरहेको छ।

पहाड़का 129 वटा उच्च अनि उच्चत्तर विद्यालयहरुमा कार्यरत 515 जना स्वयंसेवी शिक्षक-शिक्षिकावर्गमध्ये 476 जनाको दस्तावेज अनि दक्षता जॉंच गरेर उनीहरुको स्थायीकरणको निम्ति राज्यको एसएससी (स्कूल सर्भिस कमिशन)-ले अनुमोदन पत्र पठाउन थालेको छ। विभाग जीटीएकै भए पनि यसमाथि राज्यलेनै नियुक्ति गर्नसक्ने पहल भएपछि गोजमुमोमाथि पनि गतिलै चाप पर्न थालेको छ। एकपछि अर्को शिक्षक संगठनका सदस्यहरुले गोजमुमो छोड़िरहेका छन्‌ अनि स्थायीकरणको आशामा तृणमूल कंग्रेसको झण्डा समात्ने कार्य गरिरहेका छन्‌। तर के दार्जीलिङ पहाड़को शिक्षा व्यवस्थामा यसप्रकारको राजनीति ठीक हो? यहॉं धेरैले यस्ता प्रश्न गरिरहे पनि राजनीतिलेनै स्थायीकरणको जवाब पनि दिइरहेको सबैअघि छर्लङ्गै छ।

तृणमूल कंग्रेसको झण्डा समात, स्थायी शिक्षकको नियुक्ति लेऊ भन्ने स्थितिलाई पहाड़का सम्पूर्ण शिक्षक-शिक्षिकावर्गले बुझे पनि यसैलाई समस्या समाधानको विकल्प बनाउन पहाड़का सयौं अस्थायी, स्वयंसेवी, एड्‌हक शिक्षक-शिक्षिका बाध्य छन्‌।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया