कश्मिरपछि कालेबुङमा ट्युलिफ

फुलाएर पर्यटक लोभ्याउँछौँ- विमल गुरूङ

  • खबरम्यागजिन संवाददाता

‘जीटीए ट्युलिपलाई लिएर गम्भीर त छँदैछ, जीटीए क्षेत्रका खेतीवालाहरूको लागि आर्जनका नयाँनयाँ बाटोको खोजमा पनि निरन्तर छ।’

पत्रकारहरूसित बोल्दै हिमालयन फ्लोरिकाका निरज छेत्री

हिमालयन फ्लोरिका (दिल्ली)-का निर्देशक निरज छेत्रीलाई दार्जीलिङ र कालेबुङको कठ्याङ्ग्रिने जाडोको हेक्का छ। सामान्य मानिसलाई जाडो बढेपछि कि त ताता लुगाहरूको सम्झना हुन्छ, कि सेन्तेरेम, कि त मधेश। निरजको सवालमा भने यस्तो हुँदैन। उनलाई त यो कठ्याङ्ग्रिने जाडोलाई पनि कसरी प्रयोग गर्न सकिन्छ? भन्ने प्रश्नले गरम बनाउँछ। देशविदेश ओहोरदोहोर गरिरहने निरजको दिमागमा पहिले त चिसो माने ‘कश्मिर’ आयो। त्यसपछि आयो कश्मिर माने ‘ट्युलिफ’।  

दिमागमा यो कुरा आएको तीनमहिनापछि उनी कालेबुङको चर्चित पर्यटन स्थल डेलोमा भेटिए। उनीसितै थिए गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-का सभासद् विनय तामाङ अनि सामुएल गुरुङ।

‘नमूनाको लागि 40 हजार बल्ब हल्याण्डबाट झिकाइएको हो, दार्जीलिङको सर्वरी, लालकोठी र डेलोमा ‘टेस्ट’-को लागि लगाइएको हो,’ ढकमक्क फुलेको सेतो, पहेंलो ट्युलिफबीच बसेर निरजले भने, ‘प्रयोग सफल भयो, अब जीटीएको जिम्मा।’

भारतमा कश्मिरमा मात्र ट्युलिफ फुल्छ। यसको अन्तराष्ट्रीय मूल्य त राम्रै छ, राष्ट्रीय मूल्य पनि गज्जबकै छ। कटफ्लावर बेचेर नाफा कमाउने कुरा त छँदैछ, फूल नै देखाएर पर्यटक लोभ्याउँदा पनि फाइदा छ। निरजलाई लाग्छ, दार्जीलिङ, कालेबुङ फ्लोरिकल्चरको निम्ति ‘फिट’ ठाउँ हो। तर यहाँ अन्तराष्ट्रीय बजार छिर्न मिल्ने कुन खेती फाफ्छ, त्यसमाथि प्रयोगहरू चलिरहनुपर्छ। ‘हुन्छ कि हुँदैन’-भन्ने कुरा नै खर्चालु त छँदैछ, विशेषज्ञहरूको लागि अनुसन्धानखर्च अर्कै कुरा हो, लगानी अर्कै कुरा। यी सबै कुराको तालमेल मिलाउन निरज एक्लैको बुताको कुरा होइन पनि। यसै कारण जीटीएले केन्द्रको सहयोगमा ट्युलिफ-माथि काम गर्न सक्छ भन्ने उनलाई लाग्छ। जीटीएलाई उनले कश्मिरपछि दार्जीलिङ, कलेबुङमा ट्युलिफ हुने प्रमाणसितै योजना पनि हातमा थमाइदिएका छन्।

डेलोमा फुलेको ट्युलिफ निरिक्षण गर्दै सभासदद्वय विनय तामाङ अनि सामुएल गुरूङ

‘हिमालयन प्लोरिका-ले एउटा उदाहरणीय काम गऱ्यो, हामीलाई यो योजनाले आकर्षित गरेको छ,’ सभासद् विनय तामाङ भन्छन्, ‘जीटीए ट्युलिपलाई लिएर गम्भीर त छँदैछ, जीटीए क्षेत्रका खेतीवालाहरूको लागि आर्जनका नयाँनयाँ बाटोको खोजमा पनि निरन्तर छ।’

सभासद् सामुएल गुरूङले विनय तामाङको कुरामा नै जोडे, ‘ट्युलिप खेतावालाहरूको आर्जनको अर्को विकल्प त बन्न सक्ने नै छ, यसले दार्जीलिङको पर्यटन व्यावसायमा पनि ठूलो टेवा दिने छ। हामी काम गर्ने छौँ।’

दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर फर्किएपछि पहिलोपल्ट केन्द्रिय बैठक गर्न डेलो पुगेका जीटीए प्रमुख विमल गुरूङ डेलोमा फुलिरहेको ट्युलिफ हेरेर मक्ख परे। ‘यो निक्कै उत्साहजनक कुरा हो कि कश्मिरपछि कालेबुङमा ट्युलिफ फुल्यो। हामी यसको वृहत खेती गर्नेछौँ,’ उनले भने, ‘ट्युलिप फुलाएर पर्यटकहरूलाई लोभ्याउनेछौँ। यसले पर्यटन व्यवसायलाई पनि फाइदा हुन्छ, खेतीवालाहरूलाई पनि।’

जीटीएको कृषि एवं वागवानी विभागले अब कालेबुङ र दार्जीलिङमा ट्युलिफको खेती गर्न शीघ्र नै एक टोली बनाउनेछ। जसले पहाडको सुन्दरीकरणसितै ट्युलिफ लगायतका अन्तराष्ट्रीय मूल्यका फुलखेती र यसबाट हुने फाइदाबारे रिसर्च गर्नेछ र त्यसको निष्कर्षलाई आधार गरेर योजना कार्यान्वय गर्नेछ। विमल गुरूङको यस्तो निर्णयले निरज छेत्रीलाई ‘अब केही हुन्छ कि’-लागेको छ।

‘पहाडको अर्थनितिक प्रश्न माटोसित जोडिएको छ, समाधान पनि माटोमा नै खोज्नुपर्छ,’ उनी भन्छन्, ‘अनि त्यसको आरम्भ भइसकेको छ।’

यसो भन्दैगर्दा तिनको आँखा फक्रिएका पहेंला ट्युलिपका लहरतिर थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया