दार्जीलिङको स्थिति साम्य गर्न मोर्चाले गऱ्यो त्रिपक्षीय वार्ताको माग

दार्जीलिङः दार्जीलिङ पहाड़को वर्तमान स्थितिलाई साम्य बनाउनको लागि गोजमुमोले त्रिपक्षीय वार्ताको माग उठाएको छ। यसका साथै गोजमुमोले क्याविनेट मन्त्री पदमा रहेका जीटीएका मुख्य कार्यपाल एवं गोजमुमो अध्यक्ष विमल गुरूङको पार्टी कार्यालयमा पुलिसले आज गरेको छापामारी अभियानको विरोध जनाउँदै पुलिसको यस्तो व्यवहारले देशको रक्षामा तैनाथ रहने गोर्खा जातिलाई चोट पुगेको बताएको छ।

आज दार्जीलिङ प्रेस गिल्डमा एक पत्रकार सम्मेलनको आयोजना गरी गोजमुमोको स्टडी फोरमका सदस्य एवं जीटीएका मुख्य कार्यपालका मुख्य सल्लाहकार स्वराज थापाले भने-पातलेबासस्थित गोजमुमो कार्यालयबाट जफ्त गरिएका हतियारहरु कृषिको लागि प्रयोगमा आउने औजारहरु हुन्, जसमा फरूवा, हसियाँ, बञ्चरो आदि हुन्। तर यी सामग्रीहरुलाईनै पुलिसले मीडियामार्फत व्यापक अवैध हतियार जफ्त गरिएको कुरा गरिरहेको छ।

यस कार्यालयबाट जुन धनुकाँड़हरु जफ्त गरिएको छ, ती सबै विद्यार्थीहरुका लागि धनुकाँड़ प्रतियोगिताको लागि ल्याइएका सामग्रीहरु हुन्। तर आज पुलिसले गोजमुमो अध्यक्षको मुख्य कार्यालयमा जुन छापामारी अभियान चलायो, यो गोर्खाल्यान्डको मागलाई दबाउनको लागि मात्रै गरिएको हो। तर अलग राज्यको माग संवैधानिक अधिकार हो, यसैको आधारमा गोजमुमोले अलग राज्यको माग उठाउँदै आइरहेको छ।

यसमा राज्य सरकारको दृष्टिकोण अलग हुन सक्छ, तर यसलाई दबाउनको लागि यसप्रकारको दमन नीति अप्नाउनु कदापि उचित होइन। यसैले केन्द्र र राज्य सरकारले शीघ्र यस विषयमा त्रिपक्षीय वार्ता शुरू गर्नुपर्छ। यसैबीच, उनले आज पातलेबासमा मीडियाको एउटा गाड़ी जलाइएको घट्नाको भर्त्सना गर्दै भने-कुनै पनि गणतान्त्रिक आन्दोलनमा मीडियाको भूमिका अहम हुन्छ अनि मीडियालाई गोजमुमोले सधैं सम्मान गर्दै आइरहेको छ। तर आज पातलेबासमा जुन मीडियाको गाड़ी जलाउने कार्य भयो, यसलाई गोजमुमोले भर्त्सना जनाउँछ। उनले अझै अघि भने-गोर्खाल्यान्डको लागि गोर्खा जनमुक्ति मोर्चालाई व्यापक जनसमर्थन छ, यसरीनै पहाड़का विभिन्न पार्टीहरुले पनि यसै मुद्दाको लागि गोजमुमोसित हात मिलाइसकेका छन्। यसरीनै उनले पुनः दार्जीलिङ पहाड़को स्थितिलाई शान्त बनाउनको लागि केन्द्र र राज्य सरकारले शीघ्र त्रिपक्षीय वार्ता बोलाउनुपर्ने माग दोहोर्याए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन