विमल गुरूङ अपराधी होइनन्-अशोक भट्टाचार्य

सिलगढ़ीः माकपा नेता एवं सिलगढ़ी नगरनिगमका मेयर अशोक भट्टाचार्यले दार्जीलिङको वर्तमान स्थितिका लागि ममता ब्यानर्जीलाई दोषी मानेका छन्। बिहीवार संचार माध्यमसँग विशेष कुराकानी गर्दै भट्टाचार्यले ममतालाई पहाड़को तनाउपूर्ण स्थितिका लागि दायी ठहऱ्याएकी हुन्। यसका साथै उनले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –को मुख्य कार्यालय र विमल गुरूङको घरमा पुलिस प्रशासनले गरेको छापामारी कार्यको पनि निन्दा गरेका छन्।

माकपा नेता भट्टाचार्यले पहाड़को स्थिति साम्य गर्न तत्कालै त्रिपक्षीय वार्ता डाकिनुपर्ने माग गरेका छन्। “अहिले पहाड़ र संलग्न क्षेत्रमा जे पनि भइरहेको छ, त्यो ममता ब्यानर्जीको कारण हो”, उनले भने, ‘’पहाड़मा बङ्ग्ला अनिवार्य गर्ने कुनै कारण नै थिएन। यो भावनात्मक मुद्दा हो।”

माकपा नेताले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़मा कुनै विकासकार्य नगरेको पनि दावी गरे। उनले अहिले पहाड़को स्थिति नियन्त्रणबाहिर रहेको बताउँदै यसले छुट्टै राज्यको मागलाई प्रभावकारी ढङ्गमा गति दिइरहेको मन्तव्य प्रकट गरे। भट्टाचार्यले मोर्चाद्वारा आह्वान गरिएको अनिश्चितकालीन बन्दको निन्दा पनि गरे। “बन्दले पहाड़को चिया, पर्यटन र काठ उद्योगलाई क्षति पुग्नेछ”, उनले भने, “पहाड़को मुद्दा संवेदनशील मुद्दा हो। यसलाई सचेतरूपमा सम्बोधन गरिनुपर्छ।” माकपा नेताले पहाड़को समस्या वार्ताद्वारा सुल्झिने बताउँदै भने, “शक्ति प्रयोग गर्दा यो समस्या अझ बढ़्नेछ।”

भट्टाचार्यले दलले कहिल्यै गोर्खाल्याण्डको मागलाई समर्थन नगर्ने पनि दोहोऱ्याएका छन्। “यो व्यावहारिक र युक्तिसङ्गत माग होइन। हामीलाई थाह छैन किन गोजमुमोका नेताहरूले यो मागलाई पूरा गर्न केन्द्र सरकारलाई गुहारिरहेका छन्। यद्यपि गणतन्त्रमा हामी हाम्रो मागलाई अघि बढ़ाउन सक्छौं”, माकपा नेताले भने। यी माकपा नेताहरूले आजको घटनाको निन्दा गर्दै पुलिस प्रशासनले दमननीति त्याग्नुपर्ने बताएका छन्। “विमल गुरूङ अपराधी होइनन्। उनी जनताद्वारा निर्वाचित र जीटीएका चीफ हुन्। पुलिसको कार्य पूर्णरूप अगणतान्त्रिक हो। यस्तो कार्यको आवश्यकतै थिएन। यसले पहाड़को स्थिति अझ बिग्रिनेछ”, उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया