दार्जीलिङ अचल

दार्जीलिङमा पर्यटकहरू
दोकानपाट खोल भन्दै पुलिसद्वारा माइकिङ

दार्जीलिङः आज अनिश्‍चितकालीन पहाड़ बन्दको दोस्रो दिन पनि अचल रह्यो दार्जीलिङ। केही सरकारी कार्यालयहरुलाई आज खुल्ला राखिए पनि कर्मचारीहरुको उपस्थिति निकै कम्ति देखिएको छ भने व्याङ्क, डाकघर, अधिकांश एटीएम, यातायात सेवा ठप्पै बनेका छन्।

यसरीनै आजको बन्दमा अचल रहनेहरुमा विद्यालय, बजार आदि पनि सामेल छन्। यद्यपि, आज मध्यान्ह 12 बजीसम्म दार्जीलिङमा शान्तिनै छ भने कहीं-कतैबाट कुनै अप्रिय घट्नाको जानकारी प्राप्त भएको छैन। यद्यपि, आज सेनाले तकभर चौथो विभागसम्मको परिक्रमा गर्यो भने सिंहमारीस्थित गोजमुमोको पार्टी कार्यालयअघि सीआरपीएफको व्यापक तैनाथी रहेको छ।

लोधोमाको उप-स्वास्थ्य केन्द्र, विद्युत वितरण विभाग कार्यालय, मिरिकको पहिलागाउँमा अवस्थित ग्राम पञ्चायत कार्यालय आदिलाई आगो लगाएर क्षतिग्रस्त बनाउने कार्य भए पनि यसबाहेक अन्य कुनै अप्रिय घट्नाको खबर प्राप्त भएको छैन। तरै पनि दार्जीलिङका साधारण जनता कुनै पनि केही पनि हुनसक्ने आशङ्काले त्रस्त छन्।

यसैबीच, हिजो मध्य राती दार्जीलिङका विभिन्न स्थानहरुमा पुलिसले व्यापक छापामारी अभियान चलाए पनि अहिले कसैको पक्राउ भएको जानकारी पाइएको छैन। यस अवधि दार्जीलिङको ट्राफिक पुलिस कार्यालयअघि व्यापक मात्रामा यहाँबाट सिलगढ़ी तथा अन्य स्थान जाने पर्यटकहरुको थुप्रो लागेको थियो।

जसलाई पुलिस प्रशासनले सिलगढ़ीबाट बस ल्याएर यहाँबाट सिलगढ़ी पठाउने व्यवस्था गरिरहेको छ। दार्जीलिङको यस अस्थिर स्थितिबाट बाँच्ने उद्देश्यले दार्जीलिङ छोड़्न आतुर बनेका यी पर्यटकहरूलाई पुलिसले शान्त गराउने पनि प्रयास गरिरहेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया