यसपाली नभए, कहिले हुनेछैनः गोरामुमोः तृणमूल, जापलाई पनि आन्दोलनमा हात मिलाउने अपील

दार्जीलिङः गोरामुमोले हिल तृणमूल काङ्ग्रेस र जनआन्दोलन पार्टीलाई पनि गोर्खाल्यान्डको यस लड़ाईमा एकवद्ध हुने अपील गर्दै विभिन्न जातगत विकास बोर्डका शीर्ष पदाधिकारीवर्गलाई पनि राज्य सरकारले दिएको पद त्यागेर जातीय अस्मिता रक्षाको लागि एकताको सूत्रमा बाँधिने आह्वान गऱ्यो।

गोरामुमो दार्जीलिङ महकुमा समितिका प्रवक्ता सन्दीप लिम्बुले भने-धेरै भयो हामीले आ-आफ्नै टीम बनाएर खेलेको, गोरामुमोले आफ्नै टीमबाट खेल्यो, गोजमुमो, क्रामाकपा, गोर्खालीग, जाप आदि पार्टीले पनि आ-आफ्नै टीमबाट खेले, तर अब जाति र माटोको लागि सबै एउटा टीम भएर खेल्नुपर्छ अनि गोर्खा जातिको अस्तित्व रक्षाको लागि अलग राज्य गोर्खाल्यान्ड ल्याएरै छोड़्नुपर्छ। आज गोरामुमोले अलग राज्य गोर्खाल्यान्डको माग गर्दै यहाँको चौकबजारमा पोष्टरिङ गरेपछि एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो, जसमा पत्रकारहरुलाई सम्बोधन गर्दै लिम्बुले हिजो जीटीएका मुख्य कार्यपाल एवं गोरामुमो अध्यक्ष विमल गुरूङको पातलेबासस्थित पार्टी कार्यालयमा पुलिस छापामारीको घट्नको पनि भर्त्सना जनाए।

उनले भने-बङ्गाल सरकारको दमन नीति वर्तमान समयमा मात्रै होइन, जब गोरामुमो अध्यक्ष सुवास घिसिङको नेतृत्वमा गोर्खाल्यान्डको आन्दोलन भएको थियो, त्यस समय पनि पुलिसले सुवास घिसिङको घरमा यसरीनै छापा मार्ने कार्य गरेको थियो। भारत जस्तो देशमा बङ्गाल सरकारको यस्तो दमन नीतिको गोरामुमोले कठोर शब्दमा विरोध जनाउँछ। यसैले बङ्गालको व्यवस्थालाई अङ्गाल्ने काम भइरहन्छ भने गोर्खा जातिमाथि यस्तै अत्याचार भइरहनेछ।

यसैकारणनै गोरामुमोले जीटीए परित्याग गर्ने, नगरपालिका छोड़्ने जस्ता शर्तहरु गोजमुमोसमक्ष पेश गरेको हो। हामीले बङ्गालको व्यवस्था पूर्णरूपले परित्याग नगरेसम्म देशमा गहन सन्देश जानेछैन। यसैले बङ्गालको व्यवस्थालाई पूर्णरूपले परित्याग गर्नुपर्छ। यसरीनै उनले दार्जीलिङ पहाड़का उत्तेजित जनता अनि गोजमुमो समर्थकहरूलाई पहाड़मा शान्ति बनाइराख्ने अपील गर्दै यसप्रकारका कार्यहरुबाट गोर्खाल्यान्डको मागलाई दबाउने सरकारले अझै मौका पाउन सक्ने पनि आशङ्का व्यक्त गरे।

यसैले जनताले धैर्यधारण गरेर उत्तेजनात्मक कार्य गर्न नहुने पनि उनले अपील गरेका छन्। उनले भने-गोरामुमोका संस्थापक अध्यक्ष आप्पा (सुवास घिसिङ)-को भनाई थियो-पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो। स्व. घिसिङको यसै कथनलाई सम्मान गर्दै आज गोरामुमोले आफूमाथि परेका सम्पूर्ण दुःख, सङ्कट, पीड़ा अनि प्रताड़्नाहरुलाई भुलेर केवल अनि केवल अलग राज्य गोर्खाल्यान्डको एकसूत्री मागमा गोजमुमोसित हात मिलाएको छ। यसपाली नभए, कहिले हुनेछैन-उनको स्पष्ट भनाई छ। यसैले अलग राज्यको माग गर्छु भन्ने पहाड़का अन्य राजनैतिक पार्टीहरुले पनि आ-आफ्ना मनमुटाउ, निजी द्वेश आदि भुलेर जाति र माटोको लागि एक हुनपर्छ। हिजो पातलेबासस्थित गोजमुमोको मुख्य कार्यालयबाट पुलिसले फरूवा, बञ्चरो, धनुकाँड़ आदि जफ्त गरेको विषयको खिल्ली उड़ाउँदै भने-बङ्गाल सरकारलाई गोर्खा जातिको संस्कृति अनि सांस्कृतिक हात-हतियार र औजारहरुको साधारण ज्ञान पनि छैन। बञ्चरो दाउरा काट्न, फरूवा बारी खन्न, धनुकाँड़ एउटा खेलको लागि प्रयोगमा ल्याइन्छ भन्ने कुरा पनि राज्यको पुलिसलाई थाह नहुनु अचम्म र उदेकलाग्दो कुरा हो। गोर्खा जातिको बङ्गालसित केही पनि मिल्दैन भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ र गोर्खाल्यान्डको माग गरिएको हो।

उनले दार्जीलिङमा सेना उतारिएको सम्बन्धमा भने-गोर्खा जाति एक भए कुनै पनि असम्भव कुरालाई पनि सम्भव बनाएरै छोड़्छ भन्ने ऐतिहासिक तथ्यहरु छन्, यसैबाट डराएर राज्य सरकारले गोर्खा जातिलाई गोर्खाल्यान्डको माग फत्ते गर्नबाट अलग राख्न यहाँ सेना उतारिएको हो। यसैले अब सम्पूर्ण गोर्खा समुदाय एक हुनपर्छ अनि आफ्नो राष्ट्रिय चिन्हारीको सवाललाई फत्ते गरिछोड़्नुपर्छ। यसैले गोजमुमोले जीटीए छोड़्नुपर्छ साथै जातगत विकास बोर्डका पदाधिकारीवर्गले पनि बङ्गालले दिएको पद छोड़ेर माटोको लागि अघि आउनुपर्छ, उनले पुनः अपील दोहोऱ्याए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन