बङ्गाल सरकारको अतिक्रमण र दमननीतिको निन्दाः उत्तराखण्डमा पनि एकजुट बन्दै गोर्खाहरू

शैलेन्द्र समदर्शी


खरसाङः नेपाली भाषामाथि अतिक्रमण र छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई दबाउन बङ्गाल सरकारले अप्नाएको चरम दमनीतिको विरोधमा उत्तराखण्डका गोर्खा समुदाय एकजुट भएका छन्। शनिबार यहाँका विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूलाई बैठक बसिएको थियो, जसमा आज भएको दार्जीलिङको गोलीकाण्ड र नेपाली भाषामाथि अतिक्रमणबारे व्यापक छलफल गरियो भने बङ्गाल सरकारको यस्तो हेजिमनीको तीखो शब्दमा भर्त्सना गरियो।

बैठकमा निर्णय गरेअनुसार उत्तराखण्ड राज्य नेपाली भाषा समितिको ब्यानरमा बङ्गाल सरकारको कालो नीतिविरुद्ध आउँदो सोमवार देहरादुनको गान्धी पार्कमा एकदिने साङ्केतिक हड़ताल गरिनेछ। उत्तराखण्ड राज्य भाषा समितिका अध्यक्ष बालकृष्ण बराल हुन्। उनकै अध्यक्षतामा आजको बैठक बसिएको थियो, जसमा उरानेभासका महासचिव श्याम थापा, मिडिया प्रभारी पूजा सुब्बा, गोर्खा डेमोक्रेटिक फ्रण्टकी अध्यक्ष उमा उपाध्यय, मञ्जु कार्की, राजेन्द्र मल्ल तथा अन्यले सम्बोधन गरेका थिए।

बैठकमा नेपाली भाषामा बङ्गाल सरकारको अतिक्रमणविरुद्ध र छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा उत्तराखण्ड गोर्खा समुदाय एकजुट रहेको र राज्यप्राप्तिको आन्दोलन गरिरहेका प्रस्तावित गोर्खाल्याण्डवासीलाई सहयोग र समर्थन सधैँ रहेको र रहिरहने प्रतिबद्धता जाहेर गरियो।

यता, नेपाली भाषामाथि अतिक्रमण र छुट्टै राज्यको आन्दोलनलाई दबाउन बङ्गाल सरकारले अप्नाएको चरम दमननीतिको गोर्खा डेमोक्रेटिक फ्रण्ट उत्तराखण्डले पनि तीखो शब्दमा निन्दा गरेका छन्। यसकी अध्यक्षा उमा उपाध्ययले भनिन्, भारतीय संविधानको आठौं अनुसूचीमा मान्यताप्राप्त नेपाली भाषामाथिको अतिक्रमण र संविधानकै प्रवाधानअन्तर्गत् गणतान्त्रिक ढङ्गमा माग्दै आएको छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई दबाउन राज्यले जुन चरम अगणतान्त्रिक नीति अप्नाइरहेको छ, त्यसलाई हामी घोर भर्त्सना गर्दैछौं।

उनले दार्जीलिङमा आज भएको गोलीकाण्डको न्यायिक जाँच गरी दोषी पुलिसकर्मीहरूमाथि कार्वाही गर्न सरकारले पहल गर्नेपर्ने माग गरेकी हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares