विकास बोर्डका प्रतिनिधिहरू चाहन्छन् शान्तिः मोर्चा चाहन्छ उनीहरूको राजीनामा

कलकत्ताः आज कलकत्ताको नवान्नमा दार्जीलिङ पहाडमा अवस्थित 15 वटा जातीय विकास बोर्डका प्रतिनिधिहरू अनि राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीमाझ बैठक सम्पन्न भयो। पहाड एकातिर आन्दोलित रहेको समय मुख्यमन्त्री ममता व्यानर्जीले आज विभिन्न जातीय विकास विकास बोर्डका प्रतिनिधिहरूसित बैठक गर्दै विकास बोर्डका प्रतिनिधिहरूलाई पहाडमा शान्ति बनाइराख्न विशेष दायित्व सुम्पिएकी छन्। विकास बोर्डका प्रतिनिधिहरूसित बैठक गरेपछि उनीहरूलाई लिएर शान्ति कमिटी गठन गरिएको छ।

मुख्यमन्त्री ममता ब्यानर्जीले कमिटीको घोषणा गर्दै कमिटीको दायित्व लेप्चा विकास बोर्डका अध्यक्ष एलएस ताम्साङलाई सुम्पिएकी छन्।
‘हाम्रो निम्ति गौरवको कुरा हो कि उनीहरू यहाँ आएका छन्’-विकास बोर्डका अध्यक्ष-उपाध्यक्षहरूलाई देखाउँदै मुख्यमन्त्रीले भनिन्, ‘आज संयुक्त रूपमा एउटा निर्णय लिएर कमिटी बनाएका छौँ। कमिटीले पहाडमा शान्तिको निम्ति जे-जति कार्य गर्नुपर्छ उनीहरूले आफ्नो प्रकारले काम गर्नेछन्।’
पत्रकार सम्मेलनलाई नवगठित कमिटीका अध्यक्षका रूपमा चयनित लेप्चा विकास बोर्डका अध्यक्ष एलएस ताम्साङले पनि सम्बोधन गरे।
ताम्साङले पहाडमा अशान्ति गरेर केही नहुने अनि मुख्यमन्त्रीले नेपाली भाषा बाध्यात्मक नगरेको पनि जनाए।

‘हामी पहाडमा शान्ति र विकास कसरी गर्ने भन्नेबारे बैठक गर्न कलकत्ता आएका हौँ अनि सबै बोर्ड पहाडको शान्तिको पक्षमा छ,’ ताम्साङले भने, ‘पहाडमा शान्ति कायम राख्ने कुरामा बहस भएको छ। हामी काम गर्नेछौँ।’
नवान्नमा बोर्डहरूलाई लिएर बनाइएको पहाड शान्ति समितिका प्रवक्ता मिरा लोपप्चनले पनि सबै बोर्डहरूले पहाडमा शान्ति चाहेको बताइन्। तामाङ् बोर्डकी उपाध्यक्ष पनि रहेकी लोप्चनले उनीहरू कोलकाता कुनै षड्यन्त्र गर्नको निम्ति नआएको तर पहाडमा शान्ति बनाइराख्न कुरा गर्न आएकी बताइन्।

एकातिर आज कलकत्तामा विकास बोर्डका प्रतिनिधिहरूलाई लिएर मुख्यमन्त्रीले शान्ति कमिटी बनाएकी छन् बने अर्कोतिर पहाडको अशान्त परिवेशपछि मोर्चाले विकास बोर्डका प्रतिनिधिहरूलाई आफ्नो पद्बाट राजीनामा दिन आग्रह गरेको छ।

‘हामी दार्जीलिङ-पहाड-तराई र डुवर्सका सम्पूर्ण तृणमुल कङ्ग्रेसका नेताहरू, कार्यकर्ता अनि विभिन्न विकास बोर्डका अध्यक्ष र कार्यालय पदाधिकारीहरूले आजको घटनालाई प्रतिवाद गर्दै आफ्नो नैतिक जिम्मेवारी र धर्मलाई बहन गरेर राजीनामा दिने अनुरोध गर्दछौँ’-एक प्रेस विज्ञप्ति जारी गर्दै मोर्चा केन्द्रिय सह-सचिव विनय तामाङले भनेका छन्, ‘यो कुनै राजनीति होइन तर गोर्खा जातिको अस्मिताको लडाईँ हो।’
विज्ञप्तिमा गोर्खाहरूका निम्ति यो गोर्खाल्याण्डको अन्तिम युद्ध रहेको उल्लेख गर्दै विकास बोर्डका प्रतिनिधि अनि तृणमूल कङ्ग्रेस नेतृत्वहरूको राजीनामाको माग गरिएको छ।
‘तपाईँहरू पनि गोर्खे आमाको कोखबाट जन्मेका गोर्खा सन्तानहरू हुनुहुन्छ, तपाईँहरूलाई पनि गोरखाल्याण्ड चाहिन्छ’-विज्ञप्तिमा चेताउनी दिँदै भनिएको छ, ‘86 मा माकपाले जे गरेको थियो 2017 मा तृणमूल र विकास बोर्डका दाजभाइ दिदी-बिहिनीहरूबाट त्यही इतिहास नदोहोरियोस्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन