ममताले गोर्खालाई आतङ्कवादी भनेर कलङ्क लगाएकी छन्, उनलाई जवाब दिन सबै आन्दोलनमा उत्रनुहोस्-विमल गुरूङ

कालेबुङः  ‘संविधानले दिएको हक अनुसार हामी छुट्टै राज्य गोर्खाल्याण्ड मागिरहेका छौं। तर राज्यकी मुख्यमन्त्रीले हामीलाई आतङ्कवादी करार गरिन्, छुट्टै राज्यको निम्ति आन्दोलन गर्ने कसरी आतङ्कवादी हुन्छ? हाम्रो मुद्दा दबाउन हामीलाई मुख्यमन्त्रीले अनेकौं आरोप लगाइरहेकी छन्,’ गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरूङले पत्रकारहरूलाई पठाएको एउटा भिडियोमा भनेका छन्, ‘ममता व्यानर्जीले लगाइरहेको आरोप झुटो हो, हामी आतङ्कवादी होइनौँ, छुट्टै राज्य मागिरहका आन्दोलनकारी हौँ।’

विमल गुरूङले मुख्यमन्त्रीले जस्तै आरोप लगाए पनि आन्दोलनकारी गोर्खाहरू आतङ्कित नबनिदिने अनि हतोत्साही नबनिदिने अपिल पनि गरेका छन्।

‘हामीले गोर्खा जनमुक्ति मोर्चाको लागि मात्र गोर्खाल्याण्ड मागेका होइनौं, आज दार्जीलिङमा गोर्खाल्याण्डको निम्ति आन्दोलनकारी शहिद बनिरहेको बेला मुख्यमन्त्रीसित बैठक गर्ने सबै बोर्ड र जातगोष्ठीको लागि मात्र होइन, हामीलाई आतङ्कवादी भन्ने मुख्यमन्त्रीको पार्टी तृणमूल काङ्ग्रेसमा रहेका गोर्खाहरूको लागि मात्र होइन समग्र गोर्खाहरूको लागि मागेका हौ,’ गुरूङले भनेका छन्, ‘म सबैलाई अपिल गर्छु यतिखेर जसरी सबै दलहरू एकतावद्ध बनेर सडकमा उत्रिएका छन्, गोर्खाहरूलाई आतङ्कवादी भन्ने ममता व्यानर्जीको पक्षमा रहेका बोर्ड, दलमा रहेका समग्र गोर्खाहरू पनि सडकमा उत्रिएर मममता व्यानर्जीलाई जवाब दिनुहोस्।’

उनले सबै दलहरूलाई एकता बनाइराख्ने अनि आन्दोलन सफल बनाउन सडक उत्रिदिने अपिल गर्दै ममता व्यानर्जीले मोर्चालाई होइन समग्र गोर्खालाई आतङ्कवादी भनिरहेको पनि जनाएका छन्।

‘ममता व्यानर्जीले समग्र गोर्खा, जो छुट्टै राज्य चाहान्छन्, उनीहरूलाई देशमा आतङ्कवादीकोरूपमा उभ्याउने कोशिश गरिरहेकी छन्, यतिखेर पनि उनलाई हामीले जवाब दिएनौं भने सधैँको लागि उनको शासनमा गुम्सिएर बस्नुपर्छ,’ उनले अझ भनेका छन्, ‘जबसम्म गोर्खाल्याण्ड हुँदैन हामी थाक्ने छैनौँ। गोर्खालाई आतङ्कवादी भनेर कलङ्क लगाउने ममता व्यानर्जीलाई समग्र गोर्खाले नै विरोध गरेर आन्दोलनको निम्ति सडक उत्रिएर जवाब दिनुपर्छ। म सबैलाई घरबाट निस्किएर आन्दोलनमा सामेल भइदिने अपिल गर्दछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन