शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्न उर्लियो जनसमुद्र

दार्जीलिङः गोर्खाल्यान्ड आन्दोलनका शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्न आज सम्पूर्ण दार्जीलिङ सड़कमा ओर्लियो। जसमा गोजमुमो समर्थकहरुलगायत आम जनता, यहाँका व्यवसायीवर्ग आदि पनि भेला भएका थिए। आज मध्यान्ह लगभग 12 बजीतिर विमल शाशंकरको शव उनको पैत्रिक जन्मथलो गोक कमजेड़बाट दार्जीलिङ शहर ल्याइएको थियो अनि श्रद्धाञ्जली अर्पण गर्नको लागि उनको शव गोर्खा दुःख निवारक सम्मेलन भवनमा राखिएको थियो। जसलाई श्रद्धार्पण गर्न हजारौं संख्यामा मानिसहरू भेला भएका थिए अनि उनीहरुले यहाँको मोटर स्ट्यान्डबाट शान्ति जुलूस निकालेर गोर्खा दुःख निवारक सम्मेलनसम्म यात्रा गरेका थिए।

यसैबीच, रेलिङ निवासी गोर्खाल्यान्डका शहीद सुनिल राईको शव पनि आज उनको कैंजले 8 नम्बरस्थित घरबाट निकालेर कैंजले बजार, बिजनबारी, रेलिङ, पुलबजार आदि स्थान घुमाइयो। यस अवसरमा पुल-बिजनबारी क्षेत्रका व्यवसायीवर्ग साथै आम जनता पनि सड़कमा ओर्लिएका थिए। जसले बङ्गाल सरकार मुर्दावाद, वी वान्ट गोर्खाल्यान्डको व्यापक नाराबाजी गरिरहेका थिए। हात-हातमा राष्ट्रिय झण्डा, कालो झण्डा अनि गोजमुमोको झण्डा बोकेका सुनिल राईको यवयात्रामा निस्किएका जनतालाई पुलिसले कतै पनि बाधा दिएन।

यस्तै अवस्था दार्जीलिङमा पनि देखिएको थियो। सबैले हात-हातमा कालो झण्डा, राष्ट्रिय झण्डा अनि गोजमुमोको झण्डा बोकेका थिए भने उनीहरुले पनि वी वान्ट गोर्खाल्यान्डको नारा लगाउँदै विमलको शव दार्जीलिङबाट उनको घरतर्फ लगेका थिए। दार्जीलिङमा पनि विमल शाशंकरको शवयात्रा निकाल्दा पुलिसले यसलाई कतै रोक्ने कार्य गरेन। तरै पनि यस अवसरमा दार्जीलिङको मोटर स्ट्यान्डमा व्यापक संख्यामा पुलिस बल तैनाथ गरिएको थियो। यसबाहेक तेस्रो शहीद रेलिङ निवासी महेश गुरूङको शव सिलगढ़ीस्थित उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालबाट भर्खरै दार्जीलिङ प्रस्थान गराइएको जानकारी पाइएको छ।

विमल शाशंकरको अन्तिम संस्कार सम्भवतः आजनै उनको पैत्रिक स्थल गोकमा हुनेछ भने सुनिल राई र महेश गुरूङको अन्तिम संस्कार भोलि मात्रै हुने जानकारी पाइएको छ। यसैबीच, गोजमुमो केन्द्रिय समिति सांगठनिक सचिव एलएम लामाले भने-गोर्खा जनमुक्ति मोर्चाको गणतान्त्रिक गोर्खाल्यान्ड राज्य गठनको आन्दोलनलाई दबाउनको लागि राज्य सरकारले बर्बरतापूर्ण नीति अप्नाइरहेको छ। जसको फलस्वरूप गोजमुमोका 3 जना युवाहरु शहीद बनेका छन् भने कैयौं गम्भीर घाइते भएका छन्। राज्य सरकारको यस्तो कालो नीति अनि कालो कानूनको सम्पूर्ण जनताले खुलेर विरोध गरिरहेका छन्, यो राज्य सरकारको लागि गतिलो सन्देश हो। हिजो सिंहमारीमा पुलिसले जुन गोली चलाउने कार्य गऱ्यो, यसको सर्वत्र देशकै गणतन्त्रप्रेमी जनताले विरोध जनाइरहेका छन्।

को थिए शहीदहरु

 

विमल शाशंकर 28 वर्षे विमल गोक कमजेड़ बस्ती निवासी हुन्। घरका मूल कमाउने मान्छे थिए विमल। उनको घरमा वृद्ध-वृद्धा बिरामी आमा-बाबाका साथै पत्नी अनि 8 वर्षे छोरा छन्। तर उनको निधन भएपछि अब उनको परिवारको भविष्य कस्तो हुनेछ, त्यो ठूलो प्रश्‍न चिन्ह बनेको छ। कृषक काम गरेर परिवारको जीवन धान्ने विमलको मृत्युले उनको 4 सदस्यीय परिवारको भविष्य पनि अनिश्‍चित बनेको छ।

सुनिल राईः  23 वर्षे सुनिल राई बिजनबारी बजारदेखि लगभग 2 किलोमिटर टाड़ामा अवस्थित कैंजले 8 नम्बर निवासी हुन्। जसको भरमानै उनको परिवारको जीवन यापन भइरहेको थियो अनि उनका दाज्यूका नानीहरुको जीवन पनि उनकै निर्भरमा चलिरहेको थियो। 10 महीना दूधमुखे बालकका पिता सुनिलले गाड़ी चलाएर घर सञ्चालन गरिरहेका थिए। अब उनको परिवारको भविष्य पनि विमलको परिवार जस्तै बनेको छ।

महेश गुरूङः  23 वर्षे महेश गुरूङ अप्पर रेलिङ गुरूङ गाउँ निवासी हुन्। उनी एक बेरोजगार अनि अविवाहित युवा हुन्। कृषिमानै निर्भर रहने महेशको परिवारमा उनका आमा-बाबा, दुइ दिदीमध्ये एकजनाको बिहे भइसकेको छ भने एक दिदी घरमानै छिन्। जसको निधनले उनको परिवारमा पनि बज्राघात परेको छ। आगामी केही समयपछि केही आय गर्नसक्ने महेशको निधनपछि उनको परिवारसँगै सम्पूर्ण रेलिङ इलाकानै शोकमा डुबेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन