राज्यसित होइन, केन्द्रसित वार्ता गर्न चाहन्छ गोजमुमो

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा केन्द्र सरकारसित वार्ता गर्न तयार छ, तर राज्य सरकारसित कदापि वार्ता गर्न चाहँदैन। आज दार्जीलिङका विधायक अमरसिंह राईले पार्टीको अड़ान स्पष्ट पार्दै भने-केन्द्र सरकारसित पनि गोजमुमोले केवल अलग राज्य गोर्खाल्यान्ड गठनको मुद्दामा वार्ता गर्नेछ। यसैबीच, उनले दार्जीलिङ पहाड़को वर्तमान अवस्थामाथि केन्द्र सरकार र भाजपाको मौनता साथै अस्पष्ट अड़ानमाथि पनि असन्तोष प्रकट गरे अनि भने-यदि राज्य सरकारले गोर्खा जनमुक्ति मोर्चासित वार्ता गर्न चाहन्छ भने पनि केवल गोर्खाल्यान्ड राज्य गठनको मुद्दामा वार्ता हुनपर्छ। तर यसअघि राज्य सरकारले दार्जीलिङमा ओइराएको व्यापक पुलिस बल, अर्द्धसैनिक बल अनि सेनालाई दार्जीलिङ पहाड़बाट फिर्ता गर्नुपर्छ।

त्यसपछि मात्रै गोजमुमोले राज्य सरकारसित पनि कुरा गर्छ, तर यो कुरा पनि केवल गोर्खाल्यान्ड राज्य गठनको लागि हुनपर्छ। आज उनले पार्टीको स्पष्ट अड़ान सार्वजनिक गरे। यसैबीच, राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खा जनमुक्ति मोर्चालाई पूर्वोत्तरको आतङ्कवादी संगठनसित साँठगाँठ छ भन्ने लगाएको आरोपको कठोर शब्दमा भर्त्सना जनाउँदै भने-मुख्यमन्त्रीको यो बयान हाँसउठ्दो छ अनि दुर्भाग्यपूर्ण छ। हामी आतङ्तवादी होइनौं, देशभक्त गोर्खा जातिलाई आतङ्कवादीको संज्ञा दिएर मुख्यमन्त्रीले ठूलो भूल गरिरहेकी छन्।

उनले आफ्नो यो बयानलाई शीघ्र फिर्ता लिनुपर्छ। उनले भने-दार्जीलिङ सधैं शान्त थियो, तर मुख्यमन्त्रीलेनै यस शान्त दार्जीलिङलाई अशान्त बनाएकी छन्। बंगालभरिका स्कूलहरुमा बंगला भाषाको पठन-पाठन अनिवार्य  गरिनेछ भनेर राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीले बयान नदिएका भए अनि मुख्यमन्त्रीले पनि यसै विषयमा आफ्नो फेसबुकमा यस विषयलाई जोड़ दिने कार्य नगरेकी भए, पहाड़ अहिले पनि शान्तनै हुनेथियो। यदि राज्य सरकारले यस विषयलाई लिखितरूपमा फिर्ता लिएको भए पनि पहाड़मा अशान्ति हुनेनै थिएन।

गोर्खा जाति अशान्तिको पक्षमा कहिले छैन, तर गोर्खा जातिलाई उत्तेजित बनाउनमा स्वयं राज्य सरकारकै हात छ। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङमा पुलिसले गोली चलाएको छैन अनि गोजमुमो समर्थकहरुको मृत्यु गोजमुमोतर्फबाटै चलाइएको गोलीको कारण भएको बताएको सम्बन्धमा पनि विधायक राईले भने-अचम्म छ। गोजमुमोको तर्फबाट गोली चलाएको देख्ने मुख्यमन्त्रीले आफ्नै पुलिसले खुलेआम बन्दुक चलाउँदै गरेको कसरी देखिनन्। के पुलिसको ड्रेसमा गोली चलाउँदै गरेका कर्मीहरु गोजमुमो समर्थकहरु हुन्? कि तृणमूल कंग्रेसका? उनले सिंहमारीमा भएका यस काण्डमा पुलिसका गाड़ीहरु जलाइएको, पुलिसकर्मीहरुमाथि आक्रमण गरिएको विषयको विरोध जनाउँदै भने-गोजमुमोलाई बद्नाम गराउनको लागि धेरै दुष्कर्मीहरु पनि भीड़मा पसिरहेका छन्। यस्तै दुष्कर्मीहरुको कारण यहाँ पुलिसमाथि आक्रमण गर्ने, गाड़ी जलाउने जस्ता कार्यहरु भइरहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन