प्रतिवादी पहलमा उत्रिए कलाकारहरूः भने, सत्ता दमन बन्द गर

कालेबुङः कालेबुङ वरपरका लेखक, कवि, सङागीतकार, नाटककार,चित्रकार, सामाजिक कार्यकर्ता, पत्रकारहरू राज्यसत्ता दमनको विरुद्ध आज गोलबद्ध बने।

टीका भाइ, प्रदीप लोहागुणलगायतका युवा पुस्ताका कविहरूले सोसल मिडियामर्फत कालेबुङका लेखक, कलाकार, कवि, सङ्गीतकर्मीहरूलाई इण्डस्ट्रियल पार्कमा राज्य सत्ताको आत्याचारको विरुद्ध सिर्जनात्मक प्रतिवाद जनाउन भेला बनिदिने आह्वान गरेका थिए। सोसल मिडियामा पाइएको निम्तोकै भरमा चर्चित नाटककार सीके श्रेष्ठ प्रतिवाद कार्यक्रममा उपस्थित थिए। सोसल मिडियामा राज्य सरकारको बर्बरताबारे आफ्ना टिप्पणी निरन्तर लेखिरहेका चर्चित कवि राजेन्द्र भण्डारी, भानु र पालाजस्ता चर्चित नाटक प्रदर्शनी गर्दै आइरहेका नाट्य कलाककारहरू पार्क आइपुगेका थिए।

उपस्थित भेलामा सबैले राज्य सरकारले गणतान्त्रिक मूल्यविरुद्ध चालेको कदमविरुद्ध खुलेर प्रतिवाद जनाए। कवि प्रदीप लोहागुणले दार्जीलिङमा प्रशासन लगाएर आन्दोलनकारीहरूको हत्या गर्नु मानवाधिकारको हनन रहेको भन्दै दार्जीलिङ, कालेबुङका विभिन्न क्षेत्रमा आज लेखक कलाकारहरू राज्य दमन विरुद्ध गोलबद्ध भइरहेको जानकारी दिए।

गोर्खा जनमुक्ति मोर्चाले गरेको शान्ति जुलुस विथोल्न राज्य पुलिस प्रशासनले अश्रु ग्याससितै गोली चलाएपछि चारजना आन्दोलनकारीहरूको मृत्यु भएको थियो। शहिदहरूप्रति श्रद्धाञ्जली चढाउँदै शुरु भएको कार्यक्रममा पत्रकार-कवि डीके वाइवाले शुरुमा नै राज्यसत्तामाथि प्रश्न तेर्साए।

‘तिमीले खतरनाक हतियार भनेको फरुवा

तिम्रै कृषि विभागले वितरण गरेको हो

तिमीले हामीलाई किन आतङ्कवादी बनायौँ  सरकार?

कवि टीका भाइले इण्डस्ट्रियल पार्कजस्तो रमाइलो ठाउँमा नरमाइलो बेला आफूहरू भेला हुनुपरेको अनि कसैको करकापमा आफूहरू यसरी गोलबद्ध नभएको बताए।

‘जातिक मुक्तिको निम्ति पहाड एकबद्ध भइरहेको बेला सर्जकीय दायित्वबोध गर्दै सडकमा आएका छौँ,’  उनले भने, ‘जातिक उन्मुक्तिको मुद्दा नानीजस्तो छ, त्यसैलाई राज्यसत्ताले छोइदियो, त्यसकारण हामी अघि आयौँ। यो हाम्रो दायित्व हो।’

झण्डाको रङदेखिमाथि, वैचारिक मतभेदभन्दा माथि उठेर राज्य सरकारले गरेको प्रायोजित राज्य आतङ्कविरुद्ध सबै नागरिक समाज अघि आउनुपर्ने अनि सबैले साझामञ्चबाट सरकारसामु सिर्जनात्मक प्रतिवाद प्रकट गर्नुपर्ने बताउँदै भोलिदेखि साँस्कृतिक पैदल यात्रा आरम्भ गर्ने अनि कलाकारहरूले यात्राअवधि राज्याततङ्क विरुद्ध सिर्जनात्मक प्रतिवाद जनाइने बताए।

कवि राजेन्द्र भण्डारीले धेरैपल्ट आन्दोलन भएपनि यसपल्टको आन्दोलन प्रौड रहेको बताए। पहाडबाहिरबाटसमेत समर्थन पाइरहेको आन्दोलन, यसपल्ट थाक्नु हुँदैन भन्दै घरघर शहरशहर कविता सुनाए। उनले राज्य सरकारलाई कुटिल देवताको विम्वमा उतार्दै गोर्खाहरूलाई पुलिसको बुटमुनि उम्रिएको दुबो बताए।

जति नै मास्न खोजे पनि जति नै हत्या गरे पनि दुबोजस्तो गोर्खा उम्रिरहने भन्दै उनले यसपल्टको आन्दोलित यात्राले लक्ष्य भेट्ने विश्वास पनि गरे।

कवि सुधिर छेत्रीले पनि राज्यको बर्बरतालाई सर्जकहरूले घृणा गर्ने भन्दै माइला र युद्ध कविता सुनाए।

उनले कवितामर्फत ‘माइला देशको निम्ति टाइमपास न हो, तर माइलाको चेतनामा अहिले भुकभुके चेतना छ, माइलासित छ नयाँ आवाजको जमरा’ भने। गजलकार सुवास श्रेष्ठले पनि गजलमार्फत राज्यले पहाडमा पुलिसको अनुहारमा गुण्डा पठाएको बताए। उनले राज्य सरकारले शान्ति भन्दै आगो लगाएको अनि अब त्यसले सरकार नै जल्ने दाबी पनि गजलमार्फत नै गरे।

कवि सुबास सोताङ, भीमा राई, निशा छेत्रीले सिमान्तको आवाज जति नै थुनेपनि अनेकौं माध्यमबाट प्रकट भएरै छाड्ने बताउँदै कवितामर्फत सरकारलाई खबरदारी गरे।

नाट्यकलाकार सीके श्रेष्ठलगायतका कलाकारहरूले गोर्खालाई आँधीको सन्तान भन्दै गीतमार्फत पिञ्जराको पन्छी भइ जिउनु छैन भन्दै दमन विरुद्ध चट्टान झैं दह्रो उभिने जनाए। कवि पुकार राईले कवितामा सरकारसित सोधे, ‘काँटा कोदालो लिएर के म अदालत आउँ? तर त्योभन्दा अघि तिम्रो सत्ता गाड्ने खाडल खनिराख्छु है?

कवि प्रदीप लोहागुणले पनि राज्य सत्तालाई भने, ‘मेरो भाषाको कुलथानमा छोयौ र आफै बौलायौ। मेरो कुल देवता रिसायो…अब थाहा छैन तिमीलाई के गर्छ।’

अन्य कलाकार कलाकारहरूले आआफ्नो प्रस्तुतिमार्फत राज्यसत्ताको तानाशाहको विरुद्ध आफ्ना आवाज राखेका थिए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन