सिक्किमले गऱ्यो बङ्गाल सरकारको बर्बरताको विरोधः गणतान्त्रिक जनआन्दोलन समर्थन समिति गठित

गान्तोकः दार्जीलिङमा भइरहेको गोर्खाल्याण्डको गणतान्त्रिक जनआन्दोलनलाई समर्थन जनाउन सिक्किम राज्यका नागरिक समाजका अगुवा, बुद्धिजीवी, पत्रकार, साहित्यकार, प्राध्यापक, समाजसेवी एवं राजनीतिज्ञहरू एक ठाउँमा उभिएका छन्। उनीहरूले छिमेकी पहाड़मा भइरहेको आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाएका छन्।

सिक्किमका सबै तह र तप्काका मानिसहरूको सहभागितामा जनआन्दोलनलाई समर्थन जनाउन ‘गणतान्त्रिक जनआन्दोलन समर्थन समिति, सिक्किम’ गठन गरिएको छ। समितिमा सिक्किमका पूर्व मन्त्री थुकचुङ लाचुङ्पा अध्यक्ष रहेका छन् भने पत्रकारद्वय रूपेश शर्मा र प्रवीण खालिङ सचिव मनोनित भएका छन्।

यसैगरी, उपाध्यक्षमा वरिष्ठ भाषाविद् तथा नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष रूद्र पौड्याल, सिक्किम सरकारका पूर्व सचिव केएन शर्मा, सिक्किम कलाकार संघका अध्यक्ष चुनिलाल घिमिरे र वरिष्ठ पत्रकार केके छेत्री मनोनित भएका छन्। सहसचिव पदमा प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउत, पत्रकार अम्बर गुरुङ र सामाजिक कार्यकर्ता खगेन्द्र ढकाल रहेका छन् भने कोषाध्यक्षमा महिला सामाजिक कार्यकर्ता चन्द्र राई र कवि दीपा राई मनोनित भएका छन्।

मीडिया प्रकोष्ठ हेर्ने जिम्मा राज्यका प्रतिष्ठित पत्रकारहरू निर्मल मगर, विशाल गुरुङ, प्रकाश अधिकारी, जगन दाहाल र योगेन तामाङलाई सुम्पिएको छ। सिक्किमका पूर्व सांसद पहलमान सुब्बा र साहित्यकार एवं सिक्किम विश्वविद्यालयकी प्राध्यापक डा. पुष्प शर्मा सल्लाहकार मनोनित भएका छन्।

यसैगरी, दार्जीलिङको जनआन्दोलनमा कानुनी सल्लाह र सहयोगका लागि सिक्किम उच्च न्यायालयका वरिष्ठ अधिवक्ता के.टी.भोटिया र नाम्चीका अधिवक्ता याङ्जी पिनासाले कानुनी सहयोग पुऱ्याउनेछन्। कमिटीमा सिक्किम विश्वविद्यालयका प्राध्यापकगण, विद्यार्थी प्रतिनिधि, विभिन्न सामाजिक संगठन, संस्था र एनजीओका प्रतिनिधि, राज्यका स्थापित राजनीतिज्ञ, बुद्धिजीवी, सामाजिक कार्यकर्ता एवं महिला नेतृहरूलाई कार्यकारी सदस्यको रूपमा समावेश गरिएको छ।

कार्यक्रमको शुरुमै दार्जीलिङको गणतान्त्रिक जनआन्दोलनको क्रममा हिजो पुलिसको गोलीको बर्बरतापूर्वक शिकार भएका शहीदहरू विमल सशांकर, महेश गुरुङ र सुनिल राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।

गणतान्त्रित जनआन्दोलन समर्थन समिति, सिक्किमको गठनसँगै संगठनबाट तत्कालै गर्नुपर्ने कार्यभारको रूपमा केही महत्वपूर्ण प्रस्तावहरू पनि ग्रहण गरिएको छ, जसमा प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा चलिरहेको न्यायप्रिय, संवैधानिक र गणतान्त्रिक जनआन्दोलनप्रति ऐक्यबद्धता, समर्थन र सहयोग पुऱ्याउने; आन्दोलन कुल्चने नाममा पहाड़मा भइरहेका प्रशासनिक दमन, आतङ्क र मानवाधिकारको तीव्र हननको विरोध जनाउँदै संवैधानिक निकाय र राष्ट्रिय मानवाधिकारवादी संगठनहरूको ध्यानाकर्षण गराउने एवं दार्जीलिङमा स्थलगत निरीक्षणका लागि आइदिन आग्रह गर्ने; सिक्किमका मुख्यमन्त्रीलाई यसबारे बोलिदिन, सहयोग र सुझाउ राखिदिन आग्रह गर्ने; सिक्किमका दुई सांसदसहित असमका सांसदलाई संसदमा आवाज उठाइदिन आग्रहसहित पत्र लेख्ने; देशका प्रधानमन्त्री, राष्ट्रपति, गृहमन्त्री अनि पश्चिम बंगालकी मुख्यमन्त्री र राज्यपाललाई पत्राचार गरेर दार्जीलिङको समस्याको सैनिक होइन राजनैतिक समाधान खोज्न आग्रह गर्ने; पहाड़, तराई, डुवर्ससहित गैर-बंगाली मातृभाषीहरूका आफ्नै भाषामा पढ्न पाउने मौलिक अधिकार पश्चिम बंगाल सरकारले सुनिश्चित गर्नुपर्ने; दिल्ली रेडियो स्टेशनबाट नेपाली भाषामा हुँदै आएको रेडियो प्रसारण अन्यत्र सार्ने निर्णय फिर्ता लिनुपर्ने माग राख्दै केन्द्रिय सूचना एवं प्रसारण मन्त्रीलाई पत्राचार गर्ने र दार्जीलिङको संवैधानिक जनआन्दोलनलाई सहयोग पुऱ्याउन आम सिक्किमेली जनता र नागरिक समाजलाई आग्रह गर्ने जस्ता महत्वपूर्ण निर्णय लिइएको छ।

दार्जीलिङमा न्यायप्रिय जनआन्दोलनलाई दबाउन पश्चिम बंगाल सरकारले दमन नीति चलाएपछि दार्जीलिङको तत्काल छिमेकीको रूपमा रहेको सिक्किमले छिमेकीलाई खुलेर समर्थन गर्ने निर्णय गरेको हो। चिया कविता समूहको तत्परतामा आज गान्तोकको जिरो पोइन्टस्थित भानु उद्यानमा एक महत्वपूर्ण बैठकको आयोजन गरियो, जसलाई वरिष्ठ साहित्यकार रूद्र पौड्यालले अध्यक्षता गरेका थिए। बैठकमा बुद्धिजीवी, साहित्यकार, पत्रकार, ऐनजीवी, शिक्षक, राजनीतिज्ञ, सामाजिक कार्यकर्ता तथा विद्यार्थीहरूको बाक्लो प्रतिनिधिमूलक उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम उच्च न्यायालयका वरिष्ठ अधिवक्ता के.टी.भोटियाले देशले जनताको संवैधानिक अधिकारलाई न्याय दिनुपर्ने बताए। सिक्किम सरकारका पूर्व मन्त्री तथा सिक्किम सिटिजन फोरमका अध्यक्ष थुकचुक लाचुङपाले एक छिमेकीको हैसियतमा दार्जीलिङमा भइरहेको बर्बरता सहन गर्न नसकिने मन्तव्य गरे।

“दार्जीलिङको जनआन्दोलनलाई हाम्रो पूर्ण समर्थन छ। हाम्रो राजनैतिक सीमाना अलग छ, तर हामी धेरै कुराले एकार्कामा बाँधिएका छौं। दार्जीलिङका जनताले यो आन्दोलनलाई लामो समयसम्म टिकाउने र फत्ते नहुन्जेल निरन्तरता दिने काम गर्नुपर्छ”, लाचुङ्पाले सुझाए। सिक्किम लिबरेशन पार्टी (एसएलपी)-का चेयरमेन डूकनाथ नेपालले दार्जीलिङका नेताहरूले अब कुनै अस्थायी व्यवस्थामा हस्ताक्षर गर्न नहुने सुझाउ राखे। सिक्किमका पूर्व सांसद पहलमान सुब्बाले भने,“एक समय सिक्किममा आन्दोलन हुँदा दार्जीलिङले हामीलाई सघाएको थियो। हामीले 1988 मा पनि आन्दोलनलाई सघाएका थियौं र अब पनि सहयोग गर्छौं। तपाईंहरू आन्दोलन गर्नुहोस्, हामी साथमा छौं। हामी चाहन्छौं, दार्जीलिङमा तपाईंहरूको आफ्नै मुख्यमन्त्री होउन्।” सिक्किम विश्वविद्यालयकी प्राध्यापक तथा वरिष्ठ समालोचक डा. कविता लामाले युवा पुस्ता अग्रजहरूको मुख मात्र ताकेर बस्न नहुने, अब उनीहरूको बोल्ने समय आएको मन्तव्य गर्दै एक सशक्त र आन्दोलित भावनाले युक्त कविता पठन गरिन्।

भाजपा सिक्किम राज्यको प्रतिनिधिको हैसियतमा बौल्दै पदम शर्माले भाजपाले केही वर्षदेखि दार्जीलिङको जनआकांक्षा र लामो माग गोर्खाल्याण्डलाई लिएर विभिन्न तहमा छलफल गरिरहेको बताए। सिक्किम सब्जेक्ट कमिटीका उप-संयोजक नवीन किरण प्रधानले आवश्यक परे जस्तै समर्थन गर्न पनि पछि नहट्ने बताए भने पहाड़का सबै जात-जातका बोर्ड अध्यक्ष र उपाध्यक्षहरूले तत्काल राजीनामा दिएर जनभावनाको कदर गर्नुपर्ने पनि प्रधानले सुझाए। प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउतले दार्जीलिङमा मानवाधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रताको तीव्र हनन भएको भन्दै राष्ट्रिय रूपमा यससँग काम गर्ने निकायहरूमा पत्राचार गर्ने जानकारी दिए।

यसैगरी, प्रतिष्ठित कवि तथा साहित्यकार प्रवीण राई ‘जुमेली’-ले अब बिलासीताको होइन, तर व्यावहारिक जीवन र संघर्षका कविताहरू लेख्नुपर्ने आह्वान गरे। सिक्किम विश्वविद्यालयका नेपाली भाषाका प्राध्यापक डा. समर सिन्हाले सरकारले भाषिक दमन नीति अपनाएर जातिमाथि नै दमन गरेको बताए।

“भाषा मान्छेको अस्तित्व र पहिचानको वाहक हो। भाषाको अर्को महत्वपूर्ण पक्ष हो-पुनर्जागरण। यो प्रक्रियामा गोर्खाल्याण्ड भूमि र भाषा दुवै अन्योन्याश्रित छन्। त्यसैले भाषालाई दमन गर्दा जातिको अस्तित्व संकटमा पर्छ”,उनले भने। कार्यक्रममा डा. पुष्प शर्मा, अमर बानियाँ ‘लोहोरो’, दीपा राई आदिले पनि कविता वाचन गरेका थिए भने सिक्किम विश्वविद्यालयका प्राध्यापक डा. सुदर्शन तामाङ, बुद्धिजीवी केएन शर्मा, अधिवक्ता याङ्जी पिनासा आदिले पनि सम्बोधन गरेका थिए।

कार्यक्रममा चिया कविता समूहका संयोजक प्रवीण खालिङले उद्घाटन वक्तव्य राखे भने सम्पूर्ण कार्यक्रमलाई पत्रकार रूपेश शर्माले सञ्चालन गरेका थिए। नवगठित समर्थन समितिले भावी रणनीति तयार गर्न आगामी 20 जूनका दिन गान्तोकमा एउटा बैठकको आयोजन गरेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन