मोर्चा टोलीले किरण रिजिजुसित राखे दुइवटा कुरा, एउटा गोर्खाल्याण्ड चाहन्छौँ, अर्को कुनै कुरामा सम्झौता गर्दैनौँ

गान्तोकः छुट्टै राज्य गोर्खाल्याण्डलाई लिएर देशव्यापी जनआन्दोलन चर्किरहेको समय आज आधिकारिक रूपमा सिक्किमको भ्रमणमा यहाँ आइपुगेका केन्द्रीय गृह राज्यमन्त्री किरण रिजिजूसित गोर्खा जनमुक्ति मोर्चाको एक प्रतिनिधि टोलीले भेट गर्‍यो। केन्द्रीय मन्त्रीसितको भेटवार्तामा आफूहरूले वर्तमानमा दार्जीलिङ र तराई-डुवर्स क्षेत्रमा कसरी पश्चिम बङ्गाल सरकार र मुख्यमन्त्री सुश्री ममता व्यानर्जीले पुलिस बल प्रयोग गरेर गोर्खाहरूको 110 वर्ष पुरानो संवैधानिक माग गोर्खाल्याण्डलाई कुल्चने प्रयास गरिरहेको छ भन्ने बारे अवगत गराएको प्रतिनिधि टोलीका एकजना सदस्य डा. आरबी भूजेलले बताए।

‘हामीले केन्द्रीय मन्त्रीलाई हालको समय दार्जीलिङको ‘ग्राउण्ड रियालिटी’ बारे अवगत गरायौं। कसरी पुलिसको अत्याचार र क्रूरताको कारण तीनजना निहत्था गोर्खा युवाहरूको ज्यान गयो भन्ने बारेमा मन्त्रीलाई बतायौं’, उनले भने। राजभवनमा भएको केन्द्रीय मन्त्रीसितको कुराकानीमा आफूहरूले केवल दुईवटा बुँदामा कुरा राखेको डा. भूजेलले पत्रकारहरूलाई बताए। ‘हामीले केन्द्रीय मन्त्रीसित केवल दुईवटा विषयमा कुरा राख्यौं। पहिलो हो गोर्खाल्याण्ड। हामीले मन्त्रीलाई स्पष्टसित भन्यौं कि अब हामी केवल गोर्खाल्याण्ड चाहन्छौं। जबसम्म गोर्खाल्याण्ड प्राप्त हुँदैन तबसम्म हाम्रो आन्दोलन निरन्तर रहने छ। हामी कुनै पनि व्यवस्था स्वीकार्ने छैनौं। कारण नेताले स्वीकारे पनि अब जनताले स्वीकार्ने छैन। यसरी नै दोस्रो बुँदामा हामीले केन्द्रीय मन्त्रीलाई यहाँबाट गएर भारत सरकारसित गोर्खाल्याण्ड राज्य गठनको निम्ति पहल गर्न अनुरोध गरेका छौं’, उनले भने।

आफूहरूको कुरा सुनेपछि जवाफमा केन्द्रीय मन्त्री रिजिजूले गोर्खाल्याण्ड आन्दोलनबारे भारत सरकारलाई पूर्णरूपमा जानकारी भएको बताएको डा. भूजेलले पत्रकारहरूलाई बताए। ‘यसको साथै केन्द्र सरकारले गोर्खाल्याण्ड आन्दोलनको विरोध नजनाएको पनि मन्त्रीले स्पष्ट पारे भने यहाँबाट फर्केर गएर वरिष्ट मन्त्रीलाई यहाँको अवस्थाबारे वृतान्त बताउने कुरा गरे’, उनले भने। अर्कोतिर केन्द्रीय मन्त्रीले हिसात्मक आन्दोलन नगरेर अहिंसात्मक र शान्तिपूर्ण आन्दोलनमा विश्वास राख्ने अपील गरेको पनि डा. भूजेलले थप बताए।

उल्लेख्य, आज दार्जीलिङबाट गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि टोली केन्द्रीय मन्त्रीलाई भेट्न गान्तोक आएको समय यहाँका सचेत नागरिक समाजद्वारा गोर्खाल्याण्डको पक्षमा विराट जुलूस निकालेको थियो। गोर्खाल्याण्डको पक्षमा सिक्किमवासीको सहयोग र मसर्थन देखेर आफूहरू अचम्भित बनेको डा. भूजेलले बताए। यसको साथै उनले समर्थनको निम्ति सिक्किमका सत्ताधारी एसडीएफ, विपक्षी एसकेएम लगायत सबै राजनीतिक पार्टी, सङ्घ संस्था, विद्यार्थीहरू र सम्म्पूर्ण नागरिक समाजप्रति आभार प्रकट गरे। यसरी नै गोर्खाल्याण्डको निम्ति पद र पार्टी त्याग्ने पूर्व टीएमसी सिक्किम प्रदेश अध्यक्ष पीटी लक्सम र महासचिव छिरिङ वाङ्चुक लेप्चा प्रति पनि उनले आभार प्रकट गरे। पाँच सदस्यीय प्रतिनिधि टोलीमा डा. आरबी भूजेलको साथमा शुभ प्रधान, दावा लेप्चा, बारुद थापा र कमल शर्मा रहेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन