सकसमा भाषा

  •  मिलन बान्तवा, दार्जीलिङ

ध्वनि त भाषाभन्दा पनि पहिलेको हो। ध्वनिलाई प्रतिनिधित्व गराउनकै निम्ति वर्णको आविष्कार भएको भन्ने कुरोमा त कसैको दुईमत नहोला। ड, ढ अनि ड़, ढ़ को आ-आफ्ना छुट्टै ध्वनि छन्। यसर्थ ड़, ढ़ लाई ड, ढ को संवर्ण भनेर हटाउनपर्ने कुनै आवश्यकता देखिँदैन।


शुद्ध भाषा लेख्न चाहनु भाषाविद् हुन खोज्नु होइन।  मैले आमाको गर्भमा छँदा नै नेपाली भाषालाई अपनाएको हुँ। म जन्मजात नेपाली भाषाको प्रयोक्ता हुँ। यसैले यो भाषासित मेरो लगाव हुनु कुनै अनौठो कुरो होइन। यही लगावकै कारण कहिलेकाहीँ भाषामाथि हेलचेक्राइँ भएको देख्दा अन्तर्मनबाटै स्वतः आवाज निस्किहाल्छ। यस्तो बेला मलाई प्रतिपक्षीबाट एउटा अनौठो प्रश्न गर्ने गरिन्छ।

‘‘के तपाईं भाषाविद् हुनुहुन्छ?’’

अनि मेरो अन्तर्मनले मलाई नै सोध्ने गर्छ- ‘‘के म भाषाविद् हुँ?’’

होइन, म भाषाविद् होइन। म कुनै हिसाबले पनि भाषाविद् होइन। एउटा भाषाविद्मा हुनपर्ने गुण ममा छँदै छैन। भाषाविद्को त कुरै छोड़ौँ,  न त म सम्पादक हुँ, न त शिक्षक नै। यद्यपि, यतिचाहिँ म गर्वसाथ भन्न सक्छु म नेपाली भाषाको गम्भीर प्रयोक्ता हुँ। भाषालाई जतिसक्दो शुद्ध लेख्न चाहने कर्मी हुँ। यहाँ म यो कुरो स्पष्ट गर्न चाहन्छु कि शुद्ध भाषा लेख्न चाहनु भाषाविद् हुन खोज्नु होइन।

सम्पादकहरूको हेलचेक्राईँ

म यहाँ कसैको पनि नाम उल्लेख नगरी एउटा प्रसङ्ग जोड़्न चाहन्छु। एकचोटि फेसबुकमा अचानक एउटा स्टाटसमा मेरो नजर पुग्यो। त्यहाँ नेपालका एकजना सम्पादकलाई कुनै एउटी सिकारू लेखिकाले कथा प्रकाशनको निम्ति आग्रह गरिएको रहेछ। सम्पादकले कथा राम्ररी हेरेपछि त्यसलाई परिमार्जन गरेर ल्याउने सुझाव दिएछन्। तर ती सिकारू लेखिकाले त्यस कथालाई अन्य कतै प्रकाशित गरेर उनलाई हेर्न दिएछन्। त्यसो हुँदा उनले कथा प्रकाशन गरिदिने पत्रिकाप्रति औँला उठाएका रहेछन्। तर विडम्बना के रह्यो भने गुनासो पोख्ने सम्पादकको स्टाटस लगभग 40 शब्दहरूभित्र समेटिएको थियो भने त्यसमा 50 प्रतिशत अर्थात् 20 वटाजति हिज्जेगत भूलहरू थिए। अरू त के कुरो ‘पत्रिका’-को हिज्जे नै ‘पत्रीका’ लेखिएको थियो।

त्यो देखेपछि मेरो कन्सिरी तातियो अनि मैले सोझै उनको कमजोरीमाथि प्रश्न उठाएँ। सम्पादक जो ठहरिए, उनी आफ्नो अड़ानबाट टसको मस भएनन्। नाना प्रकारका गन्थन लेखेर मेरो समय नष्ट गरिदिए। तर मेरो प्रश्नको सही उत्तर उनले लेख्न सकेनन्। त्यसमध्ये उनको एउटा कुरोले भने मेरो मगज धुलाइ गरिदियो। उनले लेखेका थिए- ‘‘सम्पादन र प्रुफ रिडिङ अलग-अलग विषय हुन् भन्ने कुरो बुझ्नुहोस्।’’

उनको कुरो केही हदसम्म सही भए तापनि पूर्ण रूपले सही थिएन। किनभने सम्पादक भनेको भाषाको प्रथम स्तरको प्रयोक्ता हो। यसरी प्रथम स्तरको प्रयोक्ताले नै भाषालाई यसरी हेलचेक्राइँ गर्ने हो भने अरूले के गर्लान्?

यसरी शुद्ध भाषालेखनको दायित्वबोधदेखि सम्पादकहरू नै पन्छिन खोजे अरूको त के कुरा गर्नु!

झण्डा बोक्नेहरू शिक्षक नभएको राम्रो

प्राथमिक अनि माध्यमिक स्तरका भाषा पढ़ाउने शिक्षकहरू हिज्जेगत अनि व्याकरणगत दृष्टिले निकै दक्ष हुनुपर्छ भन्ने मेरो व्यक्तिगत सोच रहेको छ। किनभने विद्यार्थीहरूले त्यही अवस्थामा नै भाषाबारे आधारभूत कुराहरू सिक्छन्। आधार नै बलियो छैन भने उनीहरूलाई भविष्यमा गएर उच्च शिक्षा लिने क्रममा धेरै असुविधा हुन्छ। तर हाम्रो पहाड़मा भाषा पढ़ाउने ज्यादाजसो शिक्षकहरूसित सामान्य भाषाज्ञान पनि छैन। त्यस्ता शिक्षकहरूले पढ़ाएका विद्यार्थीहरूले कस्तो शिक्षा लेलान् भनेर हामीले अपेक्षा गर्नु? अपवादस्वरूप व्याकरणका पुस्तक नै लेख्ने दक्ष शिक्षकहरू पनि विद्यालयहरूमा नभएका भने होइनन्। व्याकरण नलेखे तापनि भाषा अनि व्याकरणप्रति सचेत शिक्षकहरू पनि छन्। तर संज्ञा र सर्वनामको परिभाषाबीच अलमल पर्ने शिक्षकहरूबीच उनीहरूको कुनै महत्त्व नै छैन। कलिला मस्तिष्कका विद्यार्थीहरूले शिक्षकले भनेका कुराहरू ब्रह्मवाक्य नै ठान्छन्। यस विषयमा मसित एउटा रोचक प्रसङ्ग छ।

त्यतिखेर मैले गाउँका ससाना केटाकेटीहरूलाई ट्युशन पढ़ाउने गर्थें। दार्जीलिङको एउटा नामी स्कूलका विद्यार्थीहरू पनि मसित ट्युशन पढ़्न आउँथे। एक दिन गणित पढ़ाउँदै गर्दा यस्तै एकजना विद्यार्थीको क्लासवर्क हेरेँ। उसले गरेको क्लासवर्क देखेर मलाई अचम्म लाग्यो। गुणा गर्ने ठाउँमा उसले योग गरेको रहेछ। खाता जाँच गर्ने शिक्षकले गलत तरिकाले गरिएका समाधानहरूमा सही थपिदिएका रहेछन्।

मैले त्यो देखेर उसलाई प्रश्न भनेँ- ‘‘तिमीलाई यस्तो हिसाब कसले सिकायो? सबै गल्ती नै गल्ती छ त!’’ उसले मेरो कुरो नपत्याएको भाव देखाएर हाँस्दै भन्यो- ‘‘सरले सिकाउनुभएको।’’

उसलाई पुस्तक निकाल्न लगाएर उत्तर खण्डमा देखाउँदै भने- ‘‘हेर त तिम्रो कुनै प्रश्नको पनि उत्तर मिलेको छैन।’’ उसले सहजभावमा भन्यो- ‘‘होइन कि मामा! सरले भन्नुभएको उत्तरमा प्रिन्टिङ मिस्टेक भएको छ अरे।’’ मैले उसलाई सही तरिकाले उक्त गणितका प्रश्नहरू समाधान गर्ने तरिका बताउँदै पुस्तकमा उत्तर सही भएको देखाउँदा पनि उसले पत्याएन। बरू मेरो खिल्ली उड़ाएको भान गर्दै हाँसिदिए। मलाई हुनसम्मको जङ्ग चल्यो। सम्बन्धित स्कूलका प्रधान अध्यापकलाई चिट्ठी लेखेर बताइदिने कुरो सोचेँ तर किन हो त्यसो गर्न पनि मेरो मनले मानेन। लाग्यो, बिचरा बल्लतल्ल पाएको नोकरी होला। मेरो कारणले किन अप्ठ्यारोमा पार्ने। बरू कुनै न कुनै दिन प्रधान अध्यापक आफैले थाहा पाइहाल्लान् नि! गणितजस्तो दूधको दूध पानीको पानी भइहाल्ने विषयमा त यस्तो समस्या हुन्छ भने भाषा त अर्कै कुरो हो। यसमा त कुरोलाई जता बङ्ग्याउँदा पनि भयो। यसैले भाषा पढ़ाउने शिक्षकहरू विशेष रूपले दक्ष हुनु अनिवार्य छ। सम्बन्धित निकायहरूले भाषाका शिक्षकहरूमात्र नभएर अन्य विषयका शिक्षकहरूको नियुक्तिमा विशेष ध्यान दिनुपर्छ। सत्तासीन राजनैतिक पार्टीको झण्डा बोक्नेले नियुक्ति पाउनुपर्छ भन्ने केही छैन। झण्डा बोक्ने गुण भएका मान्छेहरूमा शिक्षक हुने गुण हुँदैन भन्ने बुझे असल हुनेछ। झण्डा बोक्नेहरूलाई शिक्षण पेशामा नियुक्ति दिइएकोले नै पहाड़को शिक्षामा भाँड़भैलो भएको हो। भाषाको स्तरमा ह्रास हुँदै गएको हो। हामी देशका अन्य जातिको तुलनामा सबै क्षेत्रमा कमजोर हुँदै गएका हौँ। हामी सबल र सफल भयौँ भने हामीलाई देशमा चिनारीको समस्या पनि पर्दैन। तर हामी हीरा हुन सक्नुपर्छ। हीरालाई कसैले अफाल्न चाहँदैन। बरू आफ्नो सम्पत्ति हो भन्ने दावी पो गर्छ।

मरौमाथि कात्रो

भाषाको यस्तो दुरावस्था भएको समयमा पारम्परिक र वैज्ञानिक भनिने भाषाविद् अनि भाषा प्रयोक्ताहरूको तानातानीले समस्या अझ बढ़ेको छ। आफ्नो भाषा लेखन पद्धतिलाई वैज्ञानिक भन्नेहरूले सरासर नेपालको सिको गरेका छन्। नेपालबाट जुन पद्धति यता भित्र्याइँदैछ त्यसको नेपालमै पनि कड़ा विवाद चर्केको छ। यहाँसम्म कि उक्त लेखन पद्धतिको अभियन्ता मानिने डा॰ हेमाङ्गराज अधिकारीलाई अन्य भाषाविद्हरूले नेपाल राष्ट्रिय च्यानलबाट खुला चुनौती नै दिइरहेका छन्। लेखकहरूले आफ्नो असन्तुष्टि नेपालका विभिन्न चर्चित पत्रपत्रिकामार्फत जाहेर गरिरहेका छन्। विवादले यतिसम्म चरमचुली छोइसक्यो कि उनीमाथि व्यक्तिगत आक्षेप लगाउन पनि प्रतिपक्षी भाषाविद्हरू चुकेका छैनन्।

यद्यपि, यो राम्रो संस्कार भने होइन। आफूलाई भने नेपालको त्यो आन्तरिक विवादबारे बेसी भन्नु छैन। किनभने नेपालको नेपाली भाषा र भारतको नेपाली भाषामा धेरै साम न्जस्य देखिए तापनि भिन्नता पनि उति नै छ। नेपालका शरच्चन्द्र वस्तीलाई ‘भान्साघर’ लेख्दा रिङ्गटा छुट्छ। तर हामी ‘छाउपडी’ भनेको बुझ्दैनौँ। यहाँ यो पनि स्पष्ट गरिराखौँ कि शरच्चन्द्र वस्ती उनै हुन् जसले वैज्ञानिक भनिने नेपाली भाषा लेखन पद्धतिको विरोध गर्दै आएका छन्। नेपालका नेपालीहरू सहरबाट बच्चाहरूलाई पुतली ल्याइदिन्छन्। भारतका नेपालीहरू शहरबाट नानीहरूलाई गुड़िया ल्याइदिन्छौँ। उनीहरू ढोका थुन्छन्। हामी दैलो थुन्छौँ। यस्ता धेरै भाषिक विभेदहरू छन्, त्यसैले पनि नेपालबाट प्रतिपादित लेखन पद्धतिलाई हामीले अपनाउनु युक्तिसङ्गत देखिँदैन। नेपालमा ड़, ढ़ को कुनै समस्या छैन। हामी यता ड़, ढ़ चलाउँछौँ। मलाई पनि ड़, ढ़ चलाउनैपर्छ भन्ने लाग्छ। किनभने ध्वनि त भाषाभन्दा पनि पहिलेको हो। ध्वनिलाई प्रतिनिधित्व गराउनकै निम्ति वर्णको आविष्कार भएको भन्ने कुरोमा त कसैको दुईमत नहोला। ड, ढ अनि ड़, ढ़ को आ-आफ्ना छुट्टै ध्वनि छन्। यसर्थ ड़, ढ़ लाई ड, ढ को संवर्ण भनेर हटाउनपर्ने कुनै आवश्यकता देखिँदैन।

‘नेपाली लेखन शैली’-का एकजना सदस्य तथा प्रखर भाषाविद् गोकुल सिन्हाले ‘दार्जीलिङ टेलिभिजन’-मार्फत् सार्वजनिक रूपमै हाम्रो भाषामा ड़, ढ़ हुनुपर्छ भनिसकेका छन्। यद्यपि, ‘नेपाली लेखन शैली’-मा ड़, ढ़ बहिष्कार गरिएको छ।

भाषामा अनुशासनहीनतालाई प्रोत्साहन दिनुपर्ने?

202 औँ भानु जयन्तीको पूर्वसन्ध्यामा ‘दार्जीलिङ टेलिभिजन’-द्वारा प्रसारित उक्त कार्यक्रममा मैले पनि एक श्रोताको रूपमा सहभागी हुने मौका पाएको थिएँ। श्रोताहरूलाई पनि बहसमा संलग्न गराइएकाले वक्ताहरू माननीय डा॰ गोकुल सिन्हा अनि आदरणीया डा॰ कविता लामालाई एउटा सामान्य प्रश्न गरेको थिएँ- ‘‘अङ्ग्रेजहरूले विभिन्न समोच्चारित शब्दहरूलाई अलग-अलग ढङ्गले उच्चारण गर्न सक्छन् कारण उनीहरूले आफ्नो जिब्रोलाई अनुशासित तुल्याएका छन्। तर हामी घरमा होस् या समाजमा, राजनीतिमा होस् या अर्थनीतिमा, कलामा होस् या साहित्यमा, शिक्षामा होस् या भाषामा, सबै क्षेत्रमा अनुशासनहीन छौँ। त्यही अनुशासनहीनताको कारण हामी ‘श’, ‘ष’, दीर्घ ईकार, दीर्घ ऊकार उच्चारण गर्न सकिरहेका छैनौँ। यस्तो स्थितिमा हामीले हाम्रो जिब्रोको अनुशासनहीनतालाई कायम राखेर वर्णमालाहरू हटाउँदै जानुपर्ने कि जिब्रोलाई अनुशासित पार्दै सही उच्चारण गर्न सिक्नुपर्ने?

मैले अनुशासनहीनता भनिदिएकोले डा॰ गोकुल सिन्हाले कुरै अर्कैतिर मोड़े। उनले भने, हामी अनुशासनहीन छौँ। भाषा प्रयोगमा अराजकता छ। एउटाले भनेको अर्कोले नमान्ने, अर्कोले भनेको एउटाले नमान्ने। आ-आफ्नै पाराले लेख्ने चलनले यस्तो भएको हो। यस्तो अनुशासनहीनतालाई हटाउनको निम्ति डिक्टेटर चाहिन्छ भन्ने उनको मन्तव्य थियो। कुरो मोड़िएपछि फर्केर आउने कुरै भएन। डा॰ कविता लामा पनि डा॰ गोकुल सिन्हाकै पछिपछि लागिन्। आफ्नो प्रश्नको सही उत्तर पाउन नसकेकोले कुण्ठित त बनेँ तर कुरोलाई अघि बढ़ाउन चाहिनँ किनभने पहिले नै मैले कार्यक्रममा धेरै समय लिइसकेको थिएँ। यसैले यो प्रश्न यहाँ पुनः दोहोराइरहेको छु।

वैज्ञानिक आधारले तत्समलाई किन भेट्दैन?

मलाई लाग्छ, ‘शहीद’-लाई ‘सहिद’ लेखेर शहीद बनाउनु हुँदैन। आकाशको ‘जून’-लाई ‘जुन’ लेखेर जुनसुकै बनाउनुहुँदैन। प्रचलनमा आइसकेका शब्दहरू शुरू, कोशिश, शहीद, होश, जासूसलाई सुरू, कोसिस, सहिद, होस, जासुस बनाउँदैमा भाषाको विकास हुन्छ भन्नु घोर आश्चर्यलाग्दो कुरो हो। त्यसो त स्वाभाविक रूपले अपभ्रंश भएर आएका शब्दहरूलाई त सबैले रूचाएकै छन् नि! नत्र हामी किन अङ्ग्रेजी भाषाका शब्दहरू गोडाउन, बोटल, ह्यामरलाई निर्धक्क गोदाम, बोतल, हम्बर लेख्थ्यौँ र!

हाम्रो जिब्रोले श, ष, दीर्घ ई, दीर्घ ऊ उच्चारण गर्न सक्दैन भने तत्सम शब्दहरूचाहिँ किन जस्ताको तस्तै लेख्ने? बरू लेखिदिऊँ न – सब्द, प्रस्न, अनुसासन, जिजिविसा, जिवन। तद्भव शब्दहरूलाई मात्र किन हेला? उच्चारण गर्न सकिँदैन भनेर संस्कृतबाहेक अन्य अरबी, फारसी, अङ्ग्रेजीजस्ता भाषाका शब्दहरूको हिज्जे परिवर्तन गर्नु वैज्ञानिकता त अवश्य नै होइन होला। त्यही वैज्ञानिकताको आधारले तत्सम शब्दहरूलाई नभेट्नु त झन् अवैज्ञानिकता होइन र?

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया