मोर्चाले गऱ्यो पुलिस अधीक्षक, राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी विरुद्ध मुद्दा दर्ताको मागः न्यूज च्यानलहरु पनि बन्द

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा सहसचिव विनय तामाङले गत 17 जूनको दिन सिंहमारी घट्नामा तीनजना गोजमुमो समर्थकहरूको निधनको विरोधमा पुलिसले उल्टै गोजमुमो अध्यक्ष विमल गुरूङ, उनकी पत्नी आशा गुरूङ अनि गोजमुमोका अन्य शीर्ष नेतृत्वहरु विरूद्धनै मुद्दा दर्ता गरेको आरोप लगाउँदै गोजमुमो समर्थकहरुको हत्याको विरोधमा दार्जीलिङका पुलिस अधीक्षक, राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी आदि विरूद्धनै मुद्दा दर्ता हुनपर्ने माग गरेका छन्।

तामाङले आज मोबाइल फोनमार्फत सम्पर्क गरेर पत्रकारहरुलाई बताएअनुसार, सिंहमारीमा गत 17 जूनको दिन पुलिसले गोली चलाएको स्पष्ट छ, प्रायः सबै न्यूज च्यानलहरुमा पुलिसले गोली चलाउँदै गरेको दृश्य देखाइएको छ। तब गोजमुमो समर्थकहरुको मृत्युको आरोप गोजमुमो अध्यक्ष विमल गुरूङ, आशा गुरूङहरु विरूद्ध कसरी लगाइँदैछ? पुलिसले यस्तो नीतिको गोजमुमोले घोर विरोध जनाउँछ भन्दै उनले पार्टीको तर्फबाट यस विरूद्ध ठोस पहल शुरू गरेको बताए। यसरीनै उनले दार्जीलिङमा बंगला, हिन्दी अनि स्थानीय न्यूज च्यानलहरु पनि बन्द गरिएको विषयको पनि विरोध जनाउँदै राज्य सरकारको यसमा ठूलो षड़्यन्त्र हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। यसैले उनले जनतालाई यस समय सक्दो सतर्क बनेर बस्ने पनि आह्वान गरेका छन्।

उनले भने-दार्जीलिङको पुलिस प्रशासनले कुनै पनि ठूलो घट्ना गर्नसक्छ, जसको समाचार कतै प्रसारण नहोस् अनि यसबारे कसैले थाह नपाओस् भनेरनै सरकारले यस्तो चाल चलेको हुनसक्छ। यस विरूद्ध पनि पार्टीले आवश्यक पाइला चालिरहेको तामाङले बताए। यसैबीच, गोर्खाल्यान्डको वर्तमान आन्दोलनलाई भारतका विभिन्न प्रान्तहरुबाट सहयोग र समर्थन प्राप्त भइरहेको बताउँदै राज्य सरकारको दमन नीतिको पनि विरोध भइरहेको बताए। यसैको लागि भोलि त्रिपुरामा विराट जुलूस हुने, 23 जूनको दिन आसामका गोर्खा र बोड़ो समुदायले बंगाल चलो अभियान शुरू गर्ने योजना तयार पारेको पनि जानकारी गराए।

उनले भने-अब गोर्खाल्यान्ड लिएर मात्रै यो आन्दोलन थामिनेछ अनि यसको लागि जीटीएका सम्पूर्ण सभासदहरु पनि राजीनामा दिन तयार बनिसकेका छन्। उनले एक प्रश्‍नको उत्तरमा भने-जीटीए केन्द्र, राज्य सरकार र गोजमुमोमाझ त्रिपक्षीय सम्झौता भएर गठन भएको अस्थायी व्यवस्था हो, जसलाई गोजमुमोले आज वा भोलिनै त्याग गर्न चाहन्छ। तर यसमा कतिपय तकनिकी औपचारिकताहरु पूर्ण गर्नुपर्ने बाध्यता भएको कारण जीटीए त्यागिहाल्न केही समय लागिरहेको छ।

तरै पनि जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-का सम्पूर्ण सभासदहरु सभासद पदबाट राजीनामा दिन तयार भइसकेको पनि उनले जानकारी गराए। यसरीनै उनले दार्जीलिङ पहाड़का सरकारी कर्मचारीहरु अहिले लुकीलुकी कार्यालय गइरहेको बताउँदै उनीहरुलाई आफ्नो घरमानै बसेर गोर्खाल्यान्डको यस आन्दोलनलाई साथ दिने पनि अपील गरेका छन्। यसका साथै उनले गोर्खाल्यान्ड राज्य गठन आन्दोलनको लागि एक बनेका सर्वदलका नेतृत्वहरुलाई राज्यको एजेन्ट भएर मीरजाफर जस्तो काम नगर्ने पनि आह्वान गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन